संशोधनवाद (क्लास नोट)

रामबहादुर बुढा

शब्दनिर्माण 
संशोधन शब्दमा“वाद”शब्द प्रत्यय लागेर संशोधनवाद शब्द निर्माण भएको हो । संशोधनवाद शब्दको अंग्रेजी रुपान्तरण Revisionism हुन्छ । अंग्रेजी Vision शब्दमा Re उपसर्ग र  Ism प्रत्यय जोडिएर Revisionism बनेको हो ।

शब्द परिचय
संशोधनको अर्थ बदल्नु,फेर्नु भन्ने हुन्छ । “वाद” भनेको कुनै शिलशिलाबद्ध ,समष्टिगत विचार हो ।
कम्युनिष्ट पार्टीको मूलभूत सिद्धान्तलाई बदल्नु संशोधनवाद हो। कम्युनिष्ट पार्टीका मूलभूत सिद्धान्त बदल्नेवाला व्यक्ति, समूह ,पार्टी संशोधनवादी हुन् ।

“क्रान्तिकारी मजदुर आन्दोलन अन्तर्गत एक अवसरवादी विचारधारा संशोधनवाद हो । यसले माक्र्सवाद लेनिनवादको मूल प्रस्थापनाहरुलाई अवैज्ञानिक ढंगले संशोधन गर्दछ । दक्षिणपन्थी संशोधवाद वुर्जुवा सुधारवादी विचारहरुको नजिक हुन्छ । जबकि “वामपन्थी” संशोधनवादको अभिलाक्षणिकता, अराजकतावादी तथा संकल्पवादी विचार हो । ” (दर्शनकोश,(१९८८) ,प्रगति प्रकाशन मास्को , पृष्ठ ,६५८)

“प्रत्येक नयाँ परिस्थिति अनुसार आफ्नो आचरण निर्धारण गर्न,वर्तमान घटनाहरु,सानातिना राजनीतिक तिकडमहरु अनुसार आफूलाई बदल्नु, ढाल्नु, सर्वहारा वर्गको मूल हित र सम्पूर्ण पूँजीवादी व्यवस्थाका आधारभूत लक्षणहरु,सम्पूर्ण पूँजीवादी विकासबारे बिर्सिदिनु,वास्तविक अथवा अनुमानित क्षणिक लाभको लागि यी मूलभूत हितहरुको बलिदान गर्नु–यही हो संशोधनवादी नीति” । (लेनिन, ।१९८५। माक्र्सवाद र संशोधनवाद,संकलित रचनाभाग–१ नेपाली संस्करण पृष्ठ ३३)

मुलभूत विशेषता
माक्र्सवाद–लेनिनवाद र दक्षिण पन्थी संशोधनवादमा भिन्नता
१. माक्र्सवादी लेनिनवादीका दर्शन– द्वन्द्वात्मक तथा ,ऐतिहासिक भौतिकवाद हो । तर दक्षिणपन्थी संशोधनवादले यदाकदा यस दर्शनलाई स्वीकार गरेजस्तो गर्दछ । यो दर्शनलाई नै असफल सिद्ध गर्ने कोशिश गर्दछ ।
२. माक्र्सवाद–लेनिनवादका अनुसार राजनीतिमा वर्गसंघर्ष,बलप्रयोगको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्व,निरन्तर क्रान्ति,सर्वहारा अन्तर्राष्ट्रवाद मूलभूत सिद्धान्त हुन् । तर दक्षिणपन्थी संशोधनवादले यी सबै कुराको अस्वीकृति गर्छ । यसले वर्ग समन्वय र अन्धराष्ट्रवादलाई मान्दछ ।
३. माक्र्सवाद लेनिनवादले अर्थप्रणालीमा सामुहिक हितलाइ जोड दिन्छ तर दक्षिणपन्थी अवसरवादले निजीत्व/व्यक्तिगत स्वामित्वलाई प्राथमिकता दिन्छ ।
४.माक्र्सवाद लेनिनवादले संगठनको सिद्धान्तमा जनवादी केन्द्रियतालाई मान्दछ तर संशोधनवादले जनवादी केन्द्रीयतालाई मानेजस्तो गरेर यात निरंकुशता यात वुर्जुवा स्वतन्त्रता अनुसार संगठन चलाउन खोज्दछन् ।

संशोधनवादको श्रोत
१.समाजमा विद्यमान निम्न पुँजीवादी स्वामित्व
२.पूँजीवादी विचार –चिन्तन, संस्कृतिको प्रभाव

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संशोधनवाद
एडवर्ड वर्नस्टिन (१८५०–१९३२) – उनी जर्मन सामाजिक जनवादी पार्टी तथा दोस्रो अन्तर्राष्ट्रियका नेता थिए ।
उनले १८९६ देखि १८९८सम्म ‘दिन ईजेट्स पत्रिका” मा “समाजवादका समस्याहरु” शीर्षकमा धारावाहिक लेख लेखे । माक्र्सवादको दार्शनिक/आर्थिक / राजनीतिक मान्यताहरुमा संशोधन गर्ने विचार राखे । वर्गसंघर्षको सिद्धान्त पुरानो भइसकेको र मतपेटिकाबाट समाजवादमा जान सकिने धारणा राखे । वर्नस्टीनलाई संशोधनवादको पिता नै मानिन्छ ।

कार्ल काउत्स्की(१८५४–१९३८)– उनी शुरुमा माक्र्सवादी,त्यसपछि मध्यपन्थी र अन्त्यमा दक्षिणपन्थी भए । दोस्रो विश्वयुद्धमा साम्राज्यवादी युद्धलाई समर्थन गरे ।

एलेक्जेण्डर मिलेराँ (सन् १८५९–१९४३) – उनी फ्रान्सेली राजनीतिज्ञ थिए । १८९९मा शुरुमा प्रतिक्रियावादी वुर्जुवा सरकारमा सामेल भए । पेरिस कम्युनका हत्यारा जर्नेल गालीफेसँग एउटै मन्त्रीमण्डलमा बसेका थिए ।

आधुनिक संशोधनवाद
मार्सल टिटो (१८९२–१९८०)युगोस्लाभिया–यिनले अन्य कम्युनिस्ट मुलुकहरुको कुरालाई अस्वीकार गर्दै अमेरिकी सहयोग लिन थाले ।

निकिता ख्रुस्चेभ (१८९४–१९७१) सोभियत संघ– यिनले स्टालिनको मृत्युपछि शान्तिपूर्ण संक्रमण र शान्तिपूर्ण सहअस्तित्वको संशोधनवादी बाटो समाए ।

लिउ साओ ची (१८९८–१९६९) चीन– यिनले चीनमा लामो समयसम्म पुँजीवाद (नयाँ जनवाद) रहनुपर्छ, हतारमा समाजवादमा जानु हुन्न भन्थे ।

देङ साओ पिङ (१९०४–१९९७) चीन–यिनले माओको मृत्युपछि ल्यू शाओकै लाइनमा देशको राजनीति र पार्टीलाई डो¥याए ।

संशोधनवाद विरुद्ध संघर्ष
१. संशोधनवादका विरुद्ध क्रान्तिकारीहरुले गरेको संघर्ष जस्तै चीनमा सञ्चालन गरिएको महान सर्वहारा सास्कृतिक क्रान्ति ।
२. क्रान्तिकारी विचार राख्ने व्यक्ति,समुह,पार्टीसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्पर्क सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्छ । आवश्यकता अनुसार अन्तर्राष्ट्रिय स्तरमा क्रान्तिकारीहरुको सहयोग समन्वयकालागि संयन्त्र निर्माण र विकास गर्ने । स्वदेशमा क्रान्तिकारीहरुको बीचमा सकभर पार्टी एकता ,पार्टी एकता हुन नसकेमा संयुक्त मोर्चा,कार्यगत एकता, आपसी सहयोग, समन्वयको विकास गरेर जाने गर्नुपर्छ ।
३. संशोधनवादी विचार,प्रवृति र तीनका व्यवहारलाई जनताकाबीचमा लेखेर ,बोलेर भण्डाफोर गर्नुपर्छ ।
४. कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले संशोधनवादीविचार, चिन्तन, आचरणबाट मुक्तहुँदै क्रान्तिकारी विचार,आचरण र संस्कृतिको निर्माण गर्नेतिर ध्यान दिनुपर्छ ।
५. योजनाबद्ध र सुविचारित ढंगले वर्गसंघर्षको विकास गर्नुपर्छ । वर्गसंघर्ष र सच्चा कम्युनिस्ट आन्दोलन विकास भएमा संशोधनवाद कमजोर हुँदै जान्छ ।

नेपालमा संशोधनवाद
नेपालमा संशोधनवादको स्रोत
१.अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन भित्रको संशोधनवादीधाराको प्रभाव ।
२. प्रतिक्रियावादी सत्ता स्वार्थले संशोधनवादलाई मलजल गर्छ । (जस्तैः विगतमा पञ्चायती व्यवस्था र अहिले संसदीय व्यवस्थाले )
३. निजी स्वार्थ/आर्थिक लाभ/पदीयलाभ/ निम्नपुँजीवादी चिन्तन ।

नेकपाको एकीकृत /अविभाजितकाल
० २०१० साल माघ १३–१७मा सम्पन्न प्रथम महाधिवेशनमा २००८ सालको प्रथम राष्ट्रिय सम्मेलनबाट पारित “ नयाँ जनवादको निम्ति नेपालमा जनताको बाटो” शीर्षकको दस्तावेजमा उल्लेखित नीति तथा कार्यक्रमलाई परिमार्जन गरिएको थियो । मनमोहनअधिकारीले दस्तावेजमा “ राज्यको प्रधानलाई कुनै विशेष अधिकार नदिइयोस्” भन्ने कुरा राखेर वैधानिक राजतन्त्रलाई मान्यतादिने किसिमले संशोधनवादी विचार राखेका थिए ।” वैधानिक राजतन्त्रको लाइन पारित नभएपनि नेतृत्वमा राजावादी रायमाझी आए र उनले पार्टीलाई दरबारमा बुझाउने कोशिश गरे ।
० “राजाको वैधानिक नायकत्वलाई स्वीकार गर्ने तथा कानुनको परिधिभित्र रही शान्तिपूर्ण तरिकाले समाजवादको स्थापना गर्न सकिनेमा विश्वास रहेको ” भन्ने व्यहोराको वक्तव्य तत्कालीन नेकपाका महासचिव मनमोहनअधिकारीले जारी गरेपछि २००८ माघ १० गतेदेखि प्रतिबन्धित नेकपालाई सरकारले वि.सं २०१३ वैशाख ४ गते प्रतिबन्ध फुकुवा गरेको थियो ।
० २०१४ जेष्ठमा नेकपाको दोस्रो महाधिवेशन खुला रुपमा काठमाण्डौमा सम्पन्नभएको थियो । त्यो महाधिवेशमा केसरजंग रायमाझीले वैधानिक राजतन्त्रको प्रस्ताव राखेका थिए । उनको प्रस्ताव पारित नभएपनि उनी नै महासचिव निर्वाचित भए र पार्टीलाई दक्षिणपन्थी दिशामा हिंडाउने सक्दो प्रयास पारे ।
० २०१९वैशाख ४ देखि १५ गतेसम्म भारतको वनारसमा नेकपाको तेस्रो महाधिवेशन सम्पन्नभएको थियो । त्यो महाधिवेशनमा सोवियत संशोधनवादीधाराको “राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम”लाई तुलसीलालअमात्यले प्रस्तुत गरी पारित भएको थियो ।

झापाविद्रोहदेखि एमालेको वर्तमान अवस्थासम्म संशोधनवादको विकास
० नेकपाको २०१९ सालको तेस्रो महाधिवेशन पछि विभिन्न समुहमा विभक्तहुँदै जाने क्रममा मनमोहनअधिकारीको सल्लाह सुझावमा भरतमोहन अधिकारीको नेतृत्वमा पुष्पलाल ,तुलसीलालको भन्दा बेग्दै पार्टी पूर्व कोशी कोअर्डिनेशन कमिटी २०२५ तिर पूर्वी नेपालमा पुनर्गठन गरिएको थियो ।
० २०२८ तिर पूर्व कोशी कोअर्डिनेशन कमिटी अन्तर्गतको झापा जिल्ला कमिटीले त्यस कोअर्डिनेशन कमिटीबाट अलग भइ भारतमा सञ्चालन भइरहेको चारु मजुमदारको नक्सलवादी विद्रोहलाई पूर्वी नेपालमा अनुसरण ग¥यो ।
० वन एरिया,वन युनिट ,वन स्क्वाड , वन एक्सनको सूत्र प्रयोग गर्दै व्यक्तिहत्याको राजनीतिलाई त्यो समुहले अगाडि बढायो ।
० २०२९साल फागुन २१ गतेको सुखानी हत्याकाण्ड लगायतको सरकारी दमन पछि २०३१जेष्ठ १४ गते नेकपा झापा जिल्ला कोओर्डिनेशन कमिटी र नेपाल क्रान्तिकारी युनियन माक्र्सवादी लेनिनवादी मोरङले संयुक्त अपिल निकालेका थिए । २०३२ जेष्ठ २४देखि २५ गते १ वर्ष पहिले जारी संयुक्त अपिल अनुसार मोरङको विराटनगरमा भेला भइ अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी (माक्र्सवादी लेनिनवादी) गठन भयो । त्यतिन्जेलसम्म पनि त्यो समुह चारु लाइनबाट प्रभावित थियो । कोओर्डिनेशन केन्द्र गठन पछि जारी पर्चामा माक्र्सवाद लेनिनवाद माओ त्सेतुङविचारधारा,चारुलाइनलाई सिद्धान्तका रुपमा मान्ने र संघर्षमा सशस्त्र संघर्षको स्वरुप अपनाउने भनिएको छ ।
०उक्त समुहले२०३४ सालमा सम्पन्न धनुषाको मुडिवा बैठकबाट चारुलाइनलाई हटाएको थियो ।
० त्यसपछि २०३५ साल पौष ११ मा मोरङको इटहरामा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी–लेनिनवादी)को आयोजनामा राष्ट्रिय भेला गरी नेकपा(माले)को गठन भयो ।
० २०३६ सालको अन्त्यतिर यस समुहले नेकपाको स्थापना र विकास अन्तर्राष्ट्रिय साम्राज्यवादी षडयन्त्र अनुसार भएको हो भन्ने दृष्टिकोणलाई फेरेर पार्टीको स्थापना र विकासलाई सकारात्मक ढंगले हेर्ने निर्णय गरेको थियो ।
० २०३७ सालमा सम्पन्न नेकपा(मा.ले.) को सातौं बैठकले झापा विद्रोहका बेलामा मान्यताहरु परिवर्तन गर्ने निर्णय ग¥यो ।
० २०४६ भाद्रमा सिराहामा सम्पन्न नेकपा (मा.ले.)को चौथो राष्ट्रिय महाधिवेशनले “हाम्रोमार्गदर्शक सिद्धान्तबारे” भन्ने दस्तावेज नै पारित गरेर पथप्रदर्शक सिद्धान्तबाट “ माओत्सेतुङ विचारधारा” लाई हटाएको थियो । तथापि, त्यस महाधिवेशनले नेपालीक्रान्तिको वर्तमान कार्यक्रम शीर्षकको दस्तावेज पारित गरेर सशस्त्र संघर्ष र बल प्रयोगको अनिवार्यतालाई स्वीकार गरेको छ । त्यस दस्तावेजमा लेखिएको छ,“हाम्रो क्रान्ति शान्तिपूर्ण तरिकाले सम्पन्नहुने कुनै सम्भावना छैन । यसले हिंसात्मक रुप लिनु अनिवार्य र अवस्यम्भावी छ ।
छ ।……शस्त्र बलबाट नै जमिन्दार वर्ग र दलाल– नोकरशाही पुँजीपति वर्गको शोषण टिकेको छ । राष्ट्र माथि एकाधिकार पुँजीवाद र साम्राज्यवादको उत्पीडन कायम रहेको छ । अब हुने क्रान्तिकारी परिवर्तन पनि शान्तिपूर्ण उपायबाट हुन नसक्ने पक्का छ र जनताले हतियार बोक्नु र हिंसात्मक बाटो अंगाल्नु अनिवार्य छ ।”
० २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकताबाट नेकपा (एमाले) बन्यो ।
० २०४९ माघमा नेकपा (एमाले) को पाँचौ महाधिवेशन सम्पन्न भयो। त्यस महाधिवेशनले जनताको बहुदलीय जनवाद कार्यक्रम पारित गरेको थियो । त्यस कार्यक्रमले क्रान्तिको बाटोको सन्दर्भमा वर्ग समन्वयबाट हैन वर्ग संघर्षबाट जानुपर्छ भन्यो तर बल प्रयोगको अनिवार्यतालाई अस्वीकार ग¥यो । द्वन्द्ववादलाई पुँजीवादी बहुदलीय प्रतिश्पर्धासित जोडेर माक्र्सवादी दर्शन माथि हमला ग¥यो ।सामन्तको जग्गा नखोसेर उनीहरुलाई फकाई फुलाई उनीहरुको जग्गाको मूल्य तिरेर राज्यले लिनेपञ्चायती भूनीति जस्तो कार्यक्रम प्रस्तुत ग¥यो ।
० २०५४ माघमा सम्पन्न एमालेको छैठौं महाधिवेशनले वर्ग संघर्षको कुरा हटाउँदै गयो ।
० २०५९ माघमा सातौ महाधिवेशन भयो । त्यस महाधिवेशनले वर्गीय आधारमा राजनीतिक दलहरुको विश्लेषण गर्ने कार्य त्याग्यो ।
० २०६५ फागुनमा सम्पन्न आठौं महाधिवेशनले नेपालमा पुँजीवादी क्रान्ति पूरा भएको निष्कर्ष निकालेको थियो । २०६२–२०६३ को जनआन्दोलनलाई शान्तिपूर्ण जनक्रान्ति भनी मूल्यांकन ग¥यो ।
० २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनले बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त भनेको छ ।नेपाललाई “अर्धऔपनिवेशिक”शब्दप्रयोग नगर्ने निर्णय गरियो ।
० २०७५ मा एमाले र मा.के. को एकता । एमालेको बहुदलीय जनवाद र मा.के.को एक्काइसौं शताब्दीको जनवादलाई मिलाएर “  जनताको जनवाद ” भनियो । पार्टी विभाजित भएर कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रतिक्रियावादमा पतन हुन्छ भन्ने मान्यता रहँदै आएको छ । २०७७ मा तीन पार्टी भए पछि एमालेको बहुदलीय जनवाद, मा.के. को एक्काइसौ शताब्दीको समाजवाद र एकीकृत समाजवादीले वैज्ञानिक समाजवाद भने ।

माओवादी केन्द्रको दक्षिणपन्थी अवसरवादमा पतन
०हेटौडा महाधिवेशन (२०६९) ः एकीकृत नेकपा (माओवादी)को यस महाधिवेशनले नेकपा (एमाले) को २०६५ को आठौं महाधिवेशनले पारित गरेको नेपाली समाजको चरित्र मूलतः पूँजीवादी भयो ,नेपालमा पूँजीवादी क्रान्ति सम्पन्न भयो भन्ने निश्कर्ष सित मिल्दो जुल्दो निश्कर्ष निकाल्यो । यो महाधिवेशनले एकीकृत नेकपा (माओवादी) को दक्षिणपन्थी संशोधनवादी विचारलाई संस्थागत ग¥यो ।० २०७५ मा एमालेसँग पार्टी एकता गर्दा माकेले पथप्रदर्शक सिद्धान्तबाट माओवाद फालेको थियो ।
० मा.के. र ए.स.लगायतको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले २०८२कार्तिक १८ गते एकता घोषणा गर्दा मा.के.ले  “माओवाद” पुनः त्याग्यो ।

0 कम्युनिस्ट आन्दोलनमा यो मान्यता स्थापित भएको छ कि संशोधनवादको पतन प्रतिक्रियावादमा गएर हुन्छ ।

000000000000

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित