विपदको तीज पर्व

मनु वि.क.
तीज पर्व नेपालीहरुको घर आँगनमा आएको छ । तीज पर्वलाई नेपाली महिलाहरुले हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । तीज पर्वलाई चेली माइतीको सम्बन्ध सुमधुर राख्ने पर्वको रुपमा लिने गरिन्छ । साथै तीजलाई पराइ घरमा गएकी छोरी चेलीले आफ्नो माइतीलाई सम्झँदै माइती आएर मिठो मसिनो खाने ,दर खाने ,नाँचगान गर्ने पर्वको रुपमा मनाउने गरिन्छ । तीजको पर्वको पौराणिकताको कुरा गर्दा हिमालयकी छोरी पार्वतीले शिवलाई पति मान्न पाउँ भन्दै कठोर वर्त गरेको र त्यही व्रतबाट शिवलाई पार्वतीले पाएको कारण अविवाहित महिलाहरुले असल पति वा श्रीमान पाउँ भन्दै व्रत बस्ने, नाँच गान गर्ने गरेको परम्परा रहेको छ ।

समाजमा तीजलाई प्रगतिशील तरिकाले कम खर्चमा पनि मनाउने गर्दै आइएको  पनि छ । तीज पर्वलाई वामपन्थी विचारमा आस्था राख्ने महिलाहरुले राजनैतिक चेतना उठाउने , महिलाहरुमा सामाजिक तथा राजनैतिक परिवर्तनमा चेतना भर्ने खालका गीत नाँच गरेर मनाउने गर्दै आएको पाइन्छ । महिलाहरु माइतमा जाने र नाँच गान गर्ने भन्दा पनि जो जहाँ सम्भव हुन्छ महिला संगठनको आयोजनामा विभिन्न स्थानमा कार्यक्रमहरु हुने गर्दथे । तीजको कार्यक्रमहरुमा महिला जागरणका गीत गाउने, महिला चेतनाको गीत नाँच गर्ने सबैको सामुहिकतामा कार्यक्रम गर्ने नाँचगान गर्ने चलन रहँदै आएको छ । जनतासँग जोडिनलाई पनि प्रगतिशील तीज कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विगतमा प्रगतिशील ढंगले तीज कार्यक्रम मनाउँदा देशको राजनीति,महिला एकता,महिला सचेतना र परिवर्तनको पक्षमा गीत नाचहरु हुने गर्दथे।

तीजको परम्परा जे जस्तो भए पनि तीज पर्वले महिलाहरुमा उत्साह थप्ने ,भेटघाट हुने एक अर्कामा भावनात्मक सम्बन्ध विकास गर्ने कार्य गर्दछ । अहिले बजारमा तीजका गीतहरु आएका छन् । नेपाली समाजमा तीज आउनुभन्दा एक महिनासम्म दर खाने,महंगो होटेल तथा क्याटरिङहरुमा दर खाने चलन चलेको कुरा नयाँ होइन । अहिलको वर्ष नेपाली बजारमा तीजले तात्न थालेको अवस्थामा भोटेकोशीमा अचानक आएको बाढीको कारण देशमा महाविपत्ति आइलागेको छ । यो विपत्तिमा परेर १३ सय भन्दा बढीको ज्यान गएको पुष्टि भएको छ भने ५ हजार भन्दा बढीको संख्यामा वेपत्ता हुन पुगेका छन् । बाढीका कारण हज्जारौंको संख्यामा घरबार विहीन हुन पुगेका छन् । उद्धार तथा राहत कार्य जारी नै छ । तीजमा दर खान माइत बोलाउन जाने माइतीहरु आउने बाटो ,पुलपुलेसा बाढीले बगाएको छ । चेलीको घरबार उडेको छ । माइतीको पनि सबै सकिएको छ । बाढीबाट कतिपयको चेली माइती नै प्रभावित हुन पुगेका छन् कतिपयको माइतीमात्रै प्रभावित हुन पुगेका छन् । कतिपय चेली माइतीलाई नै सोहोरेर लगेको छ । चेली माइती आउ जाउ गर्ने बाटो पुल पुलेसाको कुनै नामो निसान छैन । बासस्थान गुमेका,आफन्ती गुमेका तथा घाइते,अपाङ्ग भएकाहरुको अवस्था कहाली लाग्दो छ । परिवार गुमाएर विह्वल हुन पुगेका आफन्तीहरुको अवस्था अत्यन्तै कारुणिक छ । बाढीका कारण आर्जन गरेको सबै सम्पत्ति गुमेको अवस्था छ । उद्धार पछि होल्डिङ सेन्टरमा रहेकाहरुको कहाँ जाने ? कता जाने ? के गर्ने भन्ने अन्यौलता छ । कमाएको सबै गुमाएको अवस्था बाढी प्रभावितहरुको छ । विपत्तिको कारण देश एक किसिमले शोकमा डुबेको छ ।

देशमा आएको यो प्राकृतिक विपत्ति सीमाना उत्तर देखि दक्षिणसम्म पुगेको छ । हज्जारौं नागरिकको भविष्य अनिश्चित बन्न पुगेको छ । आँसु, पीडा, रोदनमा देश डुबेको छ । यो विपदको बेला देश विदेशबाट राहत रकम आइरहेको छ । बाढी प्रभावितहरुको पुनस्र्थापना के हुने भन्ने अनिश्चितता रहेको छ । बाढीले वितण्डा मच्चाएको यो वर्षको तीजले खासै रौनकता ल्याउने वा तामझाम हुने अवस्था छैन ।यो अवस्थामा तीजलाई भव्यताको साथ मनाउने भन्दा पनि घोषित कार्यक्रमहरु स्थगित हुन पुगेका छन् । मान्छेहरुको मन दुखेको छ । देशमा आँसु बगेको छ । बाढीले जीवनको नै अन्यौलता थपेको छ ।
यो अवस्थाको तीज निकै भव्यताको साथ मनाउन देश विदेशमा रहनु भएका नेपालीको मनले मानिरहेको छैन ।  वैदेशिक रोजगारीका लागि जानु भएका दाजु–भाइ, दिदी – बहिनीहरुले पनि आयोजित तीज कार्यक्रम समेत स्थगित गरेर राहत संकलनमा लागेको अवस्था छ । अखिल भारत नेपाली एकता समाज अन्तर्गत केन्द्रीय महिला विभागले घोषणा गरेको तीज कार्यक्रम स्थगित गरेर बाढी पीडितकोलागि राहत संकलनलाई अगाडि बढाएको छ । देशमा आपत विपद आइपरेको यो अवस्थामा यो कार्य निकै नै सह्रानीय छ ।त्यस्तै अन्यत्र पनि यही अगाडि बढाउन छलफल, काम र योजना भइरहेका छन् । यो वर्षको तीजमा दर खाने पैसा र रंग रमाइलो गर्ने पैसा , महिलाले सिंगार बटारमा खर्च गर्ने पैसा राहत संकलनमा दिनु पर्छ भन्ने किसिमका बहसहरु पनि भइरहेका छन् । सक्नेजति सबैले राहत संकलनमा हालिरहेको अवस्था छ । प्राकृतिक विपदको यस घडीमा प्रभावितहरुलाई साथ सहयोग गर्नु सबैको महान जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारी देश विदेशमा रहनु भएका दिदीबहिनी दाजुभाइले पूरा गरौं । त्यो नै असली तीज मनाएको हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित