ताराकान्त पाण्डेयको दोस्रो वार्षिक स्मृति दिवश कार्यक्रम

काठमाण्डौ । ताराकाण्त पाण्डेयको दोस्रो वार्षिक स्मृति दिवश तथा पुरस्कार वितरण कार्यक्रम २०८२ माघ २ गते इच्छुक साँस्कृतिक प्रतिष्ठानमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव तथा प्रतिष्ठानका सल्लाकार सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यता,सदस्य सचिव मोदनाथ मरहट्टाको सञ्चालन र कार्य समितिको सदस्य गौरी देवकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु क्रान्तिकारी कम्युष्टि पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’,साहित्यकार गोपिन्द्र पौडेल ,प्रा.डा. जगदीशचन्द्र भण्डारी ,  ताराकान्त स्मृति पुरस्कार बाट पुरस्कृत व्यक्तित्व रोशन जनकपुरी, माक्र्सवादी अध्ययता गोपीरमण उपाध्याय ,ताराकान्त पाण्डेकी जीवन संगिनी शिला योगी रहनु भएको थियो ।

कार्यक्रममा साहित्यकार रोशन जकपुरीलाई ‘ताराकान्त पाण्डेय स्मृति’पुरस्कारबाट सम्मान गरिएको थियो । ताराकान्त पाण्डेको दोस्रो वार्षिक स्मृति दिवस एवम् पुरस्कार–सम्मान समारोह २०८२’ कार्यक्रममा माक्र्सवादी साहित्यकार तथा चिन्तक रोशन जनकपुरीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । प्रमुख अतिथि गौरवले दोसल्ला ओढाएर रोशन जनपुरीलाई सम्मानित गर्नुभयो र १ लाख राशीको तारा स्मृति पुरस्कारबाट पुरस्कृत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेलले वर्गीय समाजमा साहित्य वर्गीय हुन्छ भन्नु भयो । वहाँले प्रतिक्रियावादीले साहित्यमा विकल्पको कुरा गर्छन् तर त्यो सबै विकल्प होइनन् । विकल्पहरु हामीहरु हौं भन्दै वास्तविक विकल्प क्रान्तिकारीहरु नै हुने बताउनु भयो । वहाँले क्रान्ति प्रतिक्रान्तिका बदलिएको बताउँदै प्रतिक्रान्तिमा बदलिएको अवस्थामा क्रान्तिको झनै आवश्यकता रहेको बताउनु भयो । वहाँले भेनेजुयलाको अमेरिकी हस्तक्षेपको प्रसंग उठाउँदै अमेरिकी साम्राज्यवादबाट कोही पनि सुरक्षित नरहेको बताउनु भयो । अमेरिकी साम्राज्यवादलाई ठीक पार्न साम्राज्यवाद विरोधीलाई उठाउनु पर्ने कुरामा जोड दिनु भयो । वहाँले पार्टीले कार्यक्रमहरु योजनाहरु बनाएर अगाडि बढिरहेको बताउनु भयो । अहिले निर्वाचन बहिस्कारको सन्दर्भमा पार्टीहरुसँग सहकार्य भइरहेको कुरा पनि उल्लेख गर्नु भयो ।उहाँले पुरस्कृत स्रष्टा जनकपुरीलाई बधाई दिंदै क्रान्तिकारी आन्दोलनमा संगठित हुन आग्रह पनि गर्नुभयो । जनयुद्धको समयमा मधेशमा जनकपुरीको माध्यमबाट जानलाई निकै सजिलो भएको बताउनु भयो । क्रान्तिकारीहरु छरिएर होइन एकताबद्ध भएर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ भन्ने भनाई प्रमुख अतिथिको रहेको थियो ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले ताराकान्त पाण्डेको स्कूलिङ भनेको चैतन्य स्कूलिङ भएको चर्चा गर्दै उहाँको समालोचनाले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।ताराकान्त पाण्डेयमा वर्गदुश्मनप्रतिको कठोरताको अभाव रहेको भन्दै उहाँको जीवन र कर्मको सकारात्मक र नकारात्मक दुवै पक्षबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी, पुरस्कृत स्रष्टा जनकपुरीले आफू बाँकी जीवनभर माक्र्सवादी साहित्य र सर्वहारावर्गी पक्षधरताप्रति प्रतिबद्ध रहेको भनाइ राख्दै सर्वहारावर्गीय क्रान्तिकारी रुपान्तरण नै आजको आवश्यकता भएको बताउनु भयो । उहाँले कम्युनिस्ट आन्दोलनले मजदुर र किसान केन्द्रित एजेण्डालाई प्राथमिकता दिनुपर्ने विचार पनि व्यक्त गर्नुभयो । मजदुर र किसान बिना कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने वहाँको थप कथन रहेको थियो ।
पुरस्कार छनोट समितिका प्रा.डा.जगदिशचन्द्र भण्डारीले आख्यानकार, निबन्धकार, सांस्कृतिक आन्दोलनका नेताको माक्र्सवादप्रतिको निष्ठा र सर्वहारावर्गीय पक्षधरताप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गरेर नै उहाँलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

२०३३ बाट राजनीतिक जीवन सुरु गर्नुभएका जनकपुरी २०५० को दशकदेखि नै माओवादी जनयुद्धमा सरिक हुनुभएको र शान्तिप्रक्रियापछि पनि निरन्तर क्रान्तिकारी आन्दोलनमा सरिक रहँदै आउनु भएको जानकारी दिनुभयो । उहाँले निरन्तर रुपमा संशोधनवाद र दक्षिणपन्थी अवसरवादका विरुद्धको प्रखर रुपमा कमल चलाउँदै आउनु भएकोले पनि छनौट समितिले तारा स्मृति पुरस्कारका लागि उहाँलाई छनौट गरिएको जानकारी दिनुभयो ।
ताराकान्त पाण्डेयकी जीवनसंगिनी तथा साहित्यकार शिला योगीले तारा स्मृति पुरस्कारले वैचारिक निष्ठालाई सम्बोधन गर्ने बताउनु हुँदै रोशन जनकपुरीलाई आफूले मधेसको उत्पीडित समुदाय, सर्वहरावर्गको प्रतिनिधित्वको रुपमा बुझेको बताउनु भयो । उहाँले यो पुरस्कार व्यक्तिकेन्द्रित नभएर विचारकेन्द्रित पुरस्कार हो भन्नु हुँदै मधेसका उत्पीडनहरुलाई, वर्गीय विभेदलाई रोशन जनकपुरीले सुक्ष्म रुपमा विश्लेषण गर्नुहुनेछ ,बाहिर ल्याउनु हुनेछ र सबैमा चेतनाको विकास गराउनु हुनेछ भन्दै पुरस्कृत जनकपुरीलाई बधाईका साथै शुभकामना दिनुभयो ।

कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयसँग ३८ वर्ष लामो सहकार्य गर्नुभएका प्रा.डा. गोपिन्द्र पौडेलले पाण्डेयको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । पौडेलले ताराकान्तको माक्र्सवादप्रति अटल आस्था र प्रतिबद्धता, वर्गीय एवम् सांगठानिक प्रतिबद्धता, मानव सैद्धान्तिक ढाँचाको निर्माण, जनयुद्धको नयाँ यथार्थको सैद्धान्तिक व्याख्या, जनयुद्धको सौन्दर्यप्रति असीम आस्था र निष्ठा, आतंक र आनन्दको सौन्दर्यशास्त्रको निर्माण, अनुसन्धान कर्म र पद्धतिमा रुचि, उत्तरआधुनिकतावादी विभ्रमको आलोचना लगायतका क्षेत्रमा अमूल्य योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँले कृष्णसेन इच्छुक र ताराकान्त पाण्डेयको व्यक्तित्वमा धेरै समनता रहेको चर्चा गर्दै २२ जनाभन्दा बढीको पिएचडी शोध निर्देशक रहेर काम गरेको पनि बताउनु भयो । प्राज्ञिक क्षेत्रमा पनि उहाँको योगदान अतुलनीय रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले प्रतिष्ठानद्वारा प्रकाशित इच्छुकको १३ औं अंक पनि विमोचन गर्नुभएको थियो ।विमोचित कृति तथा पठन संस्कृतिको बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै कवि तथा साहित्यकार मित्रलाल पंज्ञानीले प्रकृति, जीवन र संस्कृतिको समग्र अध्ययन नै पठन भएको भन्दै दुःखको कारण र निराकरणको खोजीको क्रममा नै माक्र्सवाद र बुद्धवाद जन्मिएको बताउनु भयो । पठन संस्कृतिको विकास गर्न सकिएन भने लेखन र आन्दोलनले गति लिन नसक्ने भन्दै पठन संस्कृति विकासमा जोड दिनु भयो । कार्यक्रममा ताराकान्त पाण्डेयकी छोरी तितिक्षा शर्माले लेख्नुभएको कविता गौरी देवकोटाले वाचन गर्नु भएको थियो भने कविता राय, रुपेश कर्ण, युवराज नास्तिक, र केशव सिलवालले कविता प्रस्तुत गर्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित