काठमाण्डौ । काठमाण्डौबाट ओखलढुङ्गाको पोकलीको लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका– ६, त्रिवेणीघाटस्थित तामाकोशी नदीमा खसेको छ । दूर्घटनामा परी यो समाचार तयार पार्दासम्म १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा सात पुरुष र पाँच महिला रहेका प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुलेको छैन। दूर्घट्नामा परेकाहरुको खोजी कार्य जारी छ । बस पानीमा डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको छ ।
घाइते हुनेहरूमा मन्थली– १२ बस्ने ३३ वर्षीया देवकी खड्का, रामेछाप– ११ बस्ने ३१ वर्षीय सुशान्त थापामगर, उमाकुण्ड नगरपालिका– ५ बस्ने ५२ वर्षीय सोनातेन्जी शेर्पा, ६ वर्षीया निश्मा शेर्पा, लिखुतामाकोशी गाउँपालिका– ४ बस्ने ७१ वर्षीय ओलकबहादुर थापा, खाँडादेवी गाउँपालिका– ३ बस्ने २१ वर्षीय समीर श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका– ७ बस्ने १७ वर्षीया नीलिमा तामाङ र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका– २ बस्ने ४५ वर्षीय जयबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन
घाइतेमध्ये सातजनालाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रे ल्याइएको छ भने चालक सुशान्त थापामगर तामाकोशी अस्पताल मन्थलीमा उपचार पछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
तामाकोशी नदीमा बस खस्यो
Comments

