काठमाण्डौ । वीरगन्ज महानगरपालिका– १०, आदर्शनगरको ट्रान्सपोर्ट एरियामा छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समुहले आक्रमण गरेको छ । माघ २६ गते बिहान उक्त क्षेत्रमा गएको सशस्त्र प्रहरी बल नेपाल नं .१३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार भन्सार कार्यालयको संयुक्त टोली गएको थियो । व्यापारी मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा नियन्त्रणमा लिने क्रममा तस्करहरुले प्रहरीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट दुईवटा गाडीको सिसा फुटेको छ भने तीनजना सशस्त्र प्रहरी सामान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साले जनाएको छ।
कपडा नियन्त्रणमा लिने क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा गरेको थियो । ढुङ्गामुढाबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले जानकारी दिए।
आक्रमणमा परेर सशस्त्र प्रहरी सहायक निरीक्षक महमद मुस्ताक अली, सहायक हवल्दार जितेन्द्रप्रसाद सहनी र सहायक हवल्दार जितेन्द्र पासवान सामान्य घाइते भएका छन्। छापा मार्ने क्रममा व्यापारी मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डार गरी राखेको सात लाख मूल्यबराबरको कपडा प्रहरीले बरामत गरेको छ ।
वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण
Comments

