७ चैत्र, विरेन्द्रनगर सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले “राष्ट्रका लागि सङ्गीत अभियात्रा “ऐतिहासिक कार्यको थालनी भएको बताएका छन् । मुख्यमन्त्री निवास विरेन्द्रनगरमा चैत्र ७ गते विहान अभियान टोलीलाई स्वागत गर्दै मुख्यमन्त्री शर्माले सो कुरा बताएका हुन् ।
“कला क्षेत्रले राजनैतिक परिवर्तनमा दिएको योगदान अतुलनीय छ ।” – मुख्यमन्त्री शर्माले भने –“वाम आन्दोलनमा अहिले शुद्धीकरणको आवस्यकता छ । सङ्गीत अभियात्रा ऐतिहासिक कार्यको थालनी हो ।” हिजो संघर्षका समयमा गाउँदै र नाँच्दै गरेका साथीहरु एक चिहान भएको सम्झिँदा कार्यक्रममै भावुक बनेका शर्माले त्यही बलिदानबाट देशमा धेरै ठूलो परिवर्तन भएको बताए । तर सहज परिस्थितिमा आइपुग्दा वामशक्तिहरु रौचिरा हुनु दुःखद रहेको उनको भनाइ थियो । “गाउँदै र नाँच्दै गरेका साथीहरु एक चिहान भएको सम्झिँदा म अलि भावुक हुन्छु । बलिदानबाट धेरै ठूलो परिवर्तन भएको छ तर सहज परिस्थितिमा आइपुग्दा हामी नौ चिरा किन हुने ??” – शर्माले भने – “हामी स्वार्थ केन्द्रयी भयौँ तर अब हामी जनतातिर, गाउँतिर फर्किनु पर्छ । वाम आन्दोलनमाथी अहिले भैरहेको हमलाको प्रतिकार हामीले संयुक्त रुपमा मिलेर मात्र गर्न सक्छौ ।”
सम्बोधनका क्रममा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा साँस्कृतिक सम्मेलन गर्ने सोच आफुले बनाएको बताए । – कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताउँदै शर्माले आफू नेता भन्दा पनि जनताको एउटा कामदार भएको प्रष्ट पारे ।
अभियान टोलीका तर्फबाट स्वागत समारोहमा मन्तव्य राख्दै वरिष्ठ जनगायक जीवन शर्माले आफुहरुको अभियानले विभिन्न चिरामा विभक्त रहेका वाम पार्टीहरुलाई एकढिक्का हुन अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । अभियानले साझा विषय मात्र लिएर हिडेको स्पष्ट पार्दै जनगायक शर्माले स्वागत र सत्कारका लागि मुख्यमन्त्री शर्मालाई अभियान टोलीका तर्फबाट हार्दिक आभार ब्यक्त गरे । समारोहमा वरिष्ठ जनगायक उदय श्रेष्ठ, मणि थापा र चिरण सिले समेत बोलेका थिए ।
समारोहमा मुख्यमन्त्री शर्माले अभियान टोलीका अभियात्रीहरु जीवन शर्मा, उदय श्रेष्ठ, मणि थापा, चिरन सि, नारायण शर्मा, कुस्मिता दर्लामी, निलिमा पुन, कर्ण गौतम “बिद्रोही”, मोहित श्रेष्ठ, लक्ष्मी रिजाल “उदय”, लक्षमण पाख्रिन, अनु शर्मा, सन्ध्या घर्ती मगर, कबिता पुन, हिमशिखर र लक्ष्मी केसीलाई ढाकाको खादा लगाइदिँदै स्वागत र सम्मान गरेका थिए । समारोहमा नेकपा (माओवादी केन्द्र) का नेताहरु काली बहादुर मल्ल र भिम प्रसाद शर्मा लगायतको समेत आतिथ्यता रहेको थियो ।
“राष्ट्रका लागि सङ्गीत अभियात्रा” अन्तरगत आज चैत्र ७ गते दिउँस २ बजे देखि विरेन्द्रनगरस्थित आँखा अस्पताल नजिक रहेको सिटि सभा हलमा” जनसाङ्गितिक कार्यक्रम” प्रस्तुत हुनेछ ।

