“महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा विरुद्ध सुरक्षाको बाटो”विषयक अनलाइन गोष्ठी सम्पन्न

काठमाण्डौ । “महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा विरुद्ध सुरक्षाको बाटो”विषयक अनलाइन गोष्ठी जुलाइ २४ अर्थात साउन ८ गते भव्यताको साथ सम्पन्न भएको छ । श्रीलंकाको कम्युनिष्ट पार्टी निकट महिला संगठन ‘फ्रि वुमन’को आयोजनामा सम्पन्न गोष्ठीमा दक्षिण एसियामा क्रियाशील कम्युनिष्ट पार्टी निकटका महिला संगठनहरुको सक्रिय सहभागिता रहेको थियो । गोष्ठीमा महिला र बालबालिकाहरुले भोग्नु परेको हिंसा,आधुनिक अवस्थामा साइबर अपराध ,सामाजिक संजाल तथा अनलाइनहरुको माध्यमबाट हुने हिंसा,लागूऔषधको कुलत जस्ता विषयहरुमा व्यापक मात्रामा छलफल भएको थियो । गोष्ठीमा हिंसाको कारण र तिनीहरुका विरुद्ध महिला संगठनहरुले गरेको प्रतिरोधको बारेमा छलफल भएको थियो । संसारभरका महिलाहरुले महिला तथा बालबालिका विरुद्ध हुने हिंसाको सामुहिक र संगठित तरिकाले प्रतिरोध गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
कार्यक्रममा नेपालबाट क्रान्तिकारी महिला संगठन नेपालको तर्फबाट राष्ट्रिय एकता सम्मेलन आयोजक समितिका संयोजक शारदा महतले नेपालमा महिला तथा बालबालिकाहरुमाथि हुने हिंसामा कमी नआएको बताउनु भयो । वहाँले अहिले महिला अधिकारहरु संविधानमा उल्लेख भएको भएता पनि कार्यान्वयनको अभाव रहेको बताउनु भयो । वहाले निर्मला पन्तको बलत्कार पछि हत्या गरियो तर अझैसम्म अपराधी पत्ता लाग्न नसकेको उल्लेख गर्नु भयो । हिंसापीडित महिलाहरुले न्याय पाउन नसकेको कुरा बताउँदै वहाँले अहिलेको जेन्जी सरकारले सुकुम्बासी ,गरिब किसान मजदुरहरुमाथि एक पछि अर्को हिंसा थोपरिरहेको औंल्याउनु भयो । हिंसाको विरोधमा मालेमावादी विचारधाराको आधारमा संघर्षलाई तीव्र पार्नु पर्ने र त्यसमा अन्तर्राष्ट्रिय एकताको आवश्यकता रहेको कुरामा जोड दिनु भयो ।
वैज्ञानिक समाजवादी महिला संगठनका संयोजक राजेश्वरी सुवेदीले महिला तथा बालबालिकाहरुमाथि हुने हिंसाको मूल जड निजी सम्पत्ति र पितृसत्ता भएको बताउनु भयो । वहाँले महिलाहरु दोहोरो तेहेरो शोषणमा रहेको बताउँदै त्यसको अन्त्यकोलागि जोड दिनु भयो । कार्यक्रममा अल इन्डिया साँस्कृतिक संगठनका सोवी मोहोती, फ्रन्ट लाइन कम्युनिष्ट पार्टीका हेमाली ,वेष्ट वंगाल कम्युनिष्ट पार्टीका सुक्ला भूमाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरुले महिला हिंसा विरुद्ध र महिला अधिकारको पक्षमा सामुहिक तरिकाले लड्नु पर्ने,विचारधारात्मक रुपमा स्पष्टता विना संघर्षलाई अगाडि बढाउन गाह्रो हुने र मालेमावादी विचारको आडमा नै संघर्षलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
श्रीलंकाको समाजवादी पार्टी फ्रण्टलाइन निकट रहेको फ्रि वुमनका सिथरा कुलरत्नको संचालनमा कार्यक्रम अगाडि बढेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित