काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका – ३ स्थित कप्तानगञ्जमा साउन १० गते घटेको घटनास्थल पुगी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १५नं व्यूरोले घटनाको अध्ययन गरेको छ ।१५ नं व्यूरो इन्चार्ज सीताराम बुढाथोकी र सो व्यूरोका सचिव डिल्लीराम बोहोरासहितको टोली साउन ११ गते घटनास्थलको अध्ययन गर्न पुगेको हो । घटनासथलको अध्ययन पछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको उक्त अध्ययन टोलीले सरकारको लाहपर्वाहीको कारण उक्त हिंसात्मक घटना हुन पुगेको निश्कर्ष निकालेको छ ।
इन्चार्ज सीताराम बुढाथोकीले हाँक साप्ताहिकसँग कुरा गर्दै भन्नु भयो –“सेनाको गस्तीले गाउँघरमा आतंक सिर्जना भएको छ । जनतालाई निरंकुश तन्त्रको आभाष भएको छ । दैनिक आवश्यकताका उपभोग्य सामानहरु किनमेल गर्न पनि जनताले पाएका छैनन् । जनजीवन त्रसित छ । त्यहाँको अवस्था हेर्दा शान्ति कायम गर्न सरकार पुरै असफल भएको देखिन्छ ।”
बुढाथोकीले जनताबाट प्राप्त गरेको घटनासम्बन्धी जानकारी दिँदै हाँक सित भन्नु भयो ,“ हिन्दु समुदायका मानिसहरुले शिवका मन्दिरमा नाँचगान गरिरहेको साउन १० गते बेलुकी ८ बजे ,नाँच्नेहरुलाई गर्मी भयो भनेर दर्शकहरुले पानीको फोहोरा दिइरहेको, नाँचगान स्थल नजिकैबाट हिँडिरहेका मुस्लिम समुदायका मानिसहरुलाई पानीका फोहोराले छोएको र त्यसबाट विवाद सिर्जना भइ साम्प्रदायिक झगडामा परिणत भएको देखिन्छ । त्यसै शिलसिलामा साउण्ड बक्सको आवाज चर्को भएको भन्ने विवाद पनि थपिन्छ । यो विवादलाई भड्काउनमा नेपालमा अस्थिरता चाहने शक्तिहरुको हात रहेको हुनसक्छ भन्ने स्थानीयको आशंका छ । विवाद भइरहेको बेला बिजुलीको लाइन गएको थियो । त्यही बखत प्रहरीले अन्धाधुन्द गोली चलाएको थियो भन्ने स्थानीयहरुको भनाइ छ । सरकारको यो हदैसम्मको लापर्वाही हो ,सिडिओले घटनाबारे थाहा छैन, गोली चलाउन आदेश पनि दिएको छैन भन्छन्, यो उनको गैरजिम्मेवार जवाफ हो ।प्रहरीलाई पूर्णरुपमा निस्क्रिय बनाइ सेना परिचालन गर्नुले सरकारको नियतमाथि शंका गर्ने ठाउँ छ ।”
समस्याको समाधानबारे इन्चार्ज बुढाथोकीको भनाइ यसप्रकार छ –“हामीले जनतालाई पार्टीको तर्फबाट धैर्य रहन आह्वान गरेका छौं । सरकारले घटनालाई उत्तेजित बनाई कुनै निरंकुश उद्देश्य हासिल गर्न खोजेको हो कि भन्ने पनि देखिन्छ । हामीले पार्टीको तर्फबाट घटनाको निश्पक्ष छानविनको माग गर्दछौं ।दोषीहरुलाई कारवाही गर्न, मृतकहरुलाई यथोचित क्षतिपूर्ति दिन, घाइतेहरुको यथोचित यथाशीघ्र उपचार गर्न माग गर्दछौं ।”
१० गते बेलुकी ८ बजे बोलबमको डिजे कम आवाजमा बजाउनु पर्ने विषयमा स्थानीयहरु बीचमा विवाद भएको थियो । विवादले चर्को रुप लिँदै जाँदा दुइ पक्षबीच झडपको स्थिति सिर्जना भयो । दुइ पक्षबीच भएको विवादलाई साम्य पार्न पुगेको प्रहरीले अन्धाधुन्द गोली चलाउँदा देवानगञ्ज ४ का ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ । ९ जना स्थानीय युवाहरु घाइते भएका छन् भने नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरीका ५ जना घाइते हुन पुगेका छन् । घाइतेहरु अधिकांशको घुँडाभन्दा माथि चोट लागेको बताइएको छ ।
१० गते राति घटना भए पनि ११ गते दिनभर र १२ गतेसम्म पनि व्यापक रुपमा तोडफोड ,आगजनी र प्रदर्शन भएको छ । सो घटना पछि प्रशासनले निशेधाज्ञा जारी गरेको भए पनि निशेधाज्ञाको वास्ता नगरी स्थानीयहरुले प्रदर्शन गरेका छन् । सरकारले सो क्षेत्रमा सेना समेत परिचालन गरेको छ । सो घटनाबाट सामाजिक सद्भाव कायम राख्ने निर्णय सर्वपक्षीय बैठकले गरेको छ । सरकारले सुनसरीको सिडिओ, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कोशी प्रदेश प्रहरी नेतृत्वमा व्यापक हेरफेर गरेको छ । गृहमन्त्रालयले घटनाको सत्य तथ्य छानविन गर्न सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
१२ गते सम्म पनि सेना परिचालन गरेको अवस्था र निशेधाज्ञा जारी छ । कप्तानगञ्जको घटना पछि स्थिति कता जाने हो ? भन्ने अनेक आशंका सिर्जना भएको छ । जतासुकै लुटपाट, आगजनी भएको छ । १२ गते यो समाचार तयार पार्दा सम्म पनि घटनाको स्थिति सामान्य बन्न सकेको छैन ।

