सामाजिक सद्भाव कायम गरी नेपालको सार्वभौम सत्ता तथा अखण्डताको रक्षाका लागि दह्रोसँग उभिन अनुरोध

काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जको घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै देशको अखण्डताको रक्षा गर्न र सामाजिक सद्भाव कायम राखी साम्राज्यवादका विरुद्ध एकताबद्ध भएर रहन उक्त क्षेत्रका दुवै समुदायसहित आम नेपाली जनतामा विशेष अनुरोध गरेको छ ।

पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “समान सङ्ख्यामा रहेका दुवै समुदाय, हिन्दु र मुश्लिम, मिलीजुली बसोबास गर्दै आएको बस्ती हो । उक्त बस्तीमा २०८३ श्रावण ११ गते बिहान ४ बजे अचानक बत्ति निभ्दछ र गोली चल्दछ । अघिल्लो दिन साँझ हिन्दु समुदायबाट बाजा गाजासहित चतराधाममा जल चढाउन जाने प्रक्रियामा ‘बाजाको आवाज कम गरौँ’ भन्ने कुराबाट विवाद शुरु भएको भन्ने स्थानीय बासिन्दाको भनाइ छ । यस घटनामा देवानगन्ज ४ का ओमप्रकाश मेहताको मृत्यु भएको छ र कैयौं घाइते भएका छन् । यो घटनालाई लिएर अन्य विभिन्न ठाउँमा पनि प्रदर्शन भएका छन् । यो घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।”

वक्तव्यमा अगाडि भनिएको छ, “हाम्रो पार्टी कठपुतली बालेन्द्र सरकारलाई उक्त घटनाको मूलकारण पत्ता लगाई दोषीमाथि कार्वाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निशुल्क उपचार व्यवस्था मिलाउन माग गर्दछ । यसका साथै हामी आम जनसमुदायलाई कठपुतली सरकार र यसका मालिकहरुले चाहे अनुसार होइन, सामाजिक सद्भाव कायम गरी नेपालको सार्वभौम सत्ता तथा अखण्डताको रक्षाका लागि दह्रोसँग उभिन अनुरोध गर्दछौँ । हामी हाम्रो राज्यसत्ता भित्र नै पराइका मित्रहरु छन् भन्ने कुरामा सधैं सतर्क रहनु पर्दछ । अमेरिकी राम्राज्यवाद र भारतीय विस्तारवाद आन्तरिक कलह भड्काएर हाम्रो देशमा आफ्नो साम्राज्य कायम गर्न चाहन्छन् । त्यसैले हाम्रो पार्टी देशको अखण्डताको रक्षा गर्न र सामाजिक सद्भाव कायम राखी साम्राज्यवादका विरुद्ध एकतावद्ध भएर रहन उक्त क्षेत्रका दुवै समुदाय सहित आम नेपाली जनतामा विशेष आह्वान गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित