काठमाडौं । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षणका लागि विद्यार्थीसंगठनहरुले आम जनसमुदायलाई अपील गरेका छन् । २०८३ साउन १४ गते संयुक्त प्रेस वक्तव्य जारी गर्दै सो अपील जारी गरेका हुन् । वक्तव्य यसप्रकार छ –
“सुनसरी, सिराहा लगायत पूर्वी तराईका विभिन्न जिल्लाहरूमा केही दिनयता घटिरहेका दुःखद हिंसात्मक घटनाप्रति संयुक्त विद्यार्थी संगठन गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दछ । यस घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।
नेपाल सदियौँदेखि विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिबीच आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक हो । तर, देशको पूर्वी क्षेत्रमा केही दिनयता भएका घटनाले हाम्रो धार्मिक सहिष्णुता र सामाजिक सद्भावको गौरवमय इतिहासमा गम्भीर आघात पु¥याएको छ । हिंसा र द्वन्द्वले हाम्रो विगतको गौरव, वर्तमानको स्थिरता र भविष्यको समृद्धिलाई गम्भीर क्षति पु¥याउँछ । त्यसैले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व हो ।
घटनाको प्रारम्भिक चरणमै सरकार र प्रशासनले देखाएको गम्भीर लापरबाहीका कारण परिस्थिति थप जटिल र संवेदनशील बनेको हाम्रो ठहर छ । त्यसपछिका सुरक्षा व्यवस्थापन, सेना परिचालन तथा बल प्रयोगसँग सम्बन्धित गतिविधिहरूले पनि तनाव बढाएकोप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं । प्रधानमन्त्री र गृहमन्त्रीको गैरजिम्मेवार कार्यशैलीका कारण देशले ठूलो मूल्य चुकाइरहेको हाम्रो निष्कर्ष छ । देश गम्भीर संकटमा रहेका बेला जिम्मेवार र प्रभावकारी नेतृत्व दिन असफल भएको भन्दै गृहमन्त्रीले घटनाको सम्पूर्ण नैतिक जिम्मेवारी स्वीकार गर्दै तत्काल पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ ।
हामी सम्पूर्ण नेपाली जनसमुदायमा शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गर्दछौं । साथै, सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, नागरिक समाज, राजनीतिक दल तथा सबै सरोकारवालालाई संयम अपनाई शान्ति र स्थिरताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दछौं । सुनसरी लगायत सम्पूर्ण प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी सुरक्षा व्यवस्था कायम गरी शान्ति पुनःस्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
यसैबीच, संयुक्त विद्यार्थी संगठन को आयोजनामा मिति २०८३ साउन १५ गते शुक्रबार दिउँसो ३ः०० बजे माइतीघर मण्डलामा “सद्भाव ¥याली” आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा सहभागी भई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको पक्षमा ऐक्यबद्धता जनाइदिन सम्पूर्ण विद्यार्थी, नागरिक समाज तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं ।

