मनु वि.क.
चल्दासम्म चल्छ जिन्दगी
चल्न छोडे ढल्छ जिन्दगी
ढलेपछि जल्छ जिन्दगी
जलेर खरानी बन्छ जिन्दगी ।
ढल्नुभन्दा अगाडि चल्नु छ
जल्नुभन्दा अगाडि केही गर्नुछ
खरानी बन्नु अगावै रेखा कोर्नु छ
ढल्नु अगावै कर्म गर्नुछ ।
ढल्नु अगावै मानव मुक्तिमा लाग्नुछ
जल्नु अगावै सब जन जाग्नु छ
जाग्न र जगाउन चौदिशा लाग्नु छ
चौदिशाको बन्धन फाँड्नु छ ।
नजाग्दा अन्धकार छाएको छ
अन्धकारमा शकुनी मडराएको छ
मुक्तिको मर्म मुर्झाएको छ
मुक्ति मार्गमा यात्री सुर्ताएको छ ।
मुक्ति मार्गको यात्री अल्मलाएको छ
जिन्दगी चौबाटोमा ढलमलाएको छ
यात्रीको पाइला लरबराएको छ
उज्यालो र अँध्यारो बिर्सेर बर्बराएको छ ।
ढल्नु भन्दा अगावै द्वन्द्व चिन्नु छ
झलमल र अलमल भिन्न छ
झलमल मै जिन्दगी बित्दछ
अलमल मै जिन्दगी बित्दछ ।
जिन्दगी केमा बिताउने
झलमलमा कि अलमलमा
गोरेटो आफ्नै हातमा छ
जिन्दगी सरर्र साथमा छ ।
चल्दासम्म जिन्दगी चल्नेछ
मुक्तिको दियो जल्नेछ
जीवनको लाली फुल्नेछ
आँगनमा जीवन खुल्नेछ ।
मुक्तिको दियो जल्नलाई
जिन्दगीको महिमा चिन्नु छ
जल्नु अगावै हिँड्नु छ
ढल्नु अगावै जीवन चिन्नुछ ।
२०८३ साउन २१

