बैतडी, २० भदौ । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो ।
दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको बताइएको छ ।
पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा प्रदेशमा छ सय ८० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भइसकेको छ । प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
यस्तै दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
अरु महिनाभन्दा अगस्तमा डेङ्गु सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षातको समय भएकाले बिरामीको सङ्ख्या बढेको हो । डेङ्गुबाट सङ्क्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।
डेङ्गु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्दछन् । यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ ।

