काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सरकार गठन भएको १७ औं दिनमा चैत्र २९ गते विवरण सार्वजनिक गरिएको हो । सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चलाएको अभियान अर्थात जेनजी युवाहरुको संघर्षबाट आएको सरकारका मन्त्रीहरुको सम्पत्ति र सुनको विवरण देखेर अहिले सबैतिर व्यापक प्रश्न उठिरहेको छ ।
मन्त्रीहरुको सम्पत्तिको स्रोत के हो ? प्रधानमन्त्री वालेन्द्र साहको बैंक खातामा १ करोड ४६ लाख आम्दानीको स्रोत सामाजिक संजाल,फेसबुक युट्युव टिक टक स्पोर्टिफाइ माइयुन्स देखाएका छन् ।उनको श्रीमतीको नाममा १९० तोला सुन पैत्रिक सम्पत्तिबाट आएको बताइएको छ । के त्यति धेरै सम्पत्ति सामाजिक सञ्जालबाटै गाह्रो भएको छ ।
यदि सामाजिक संजालबाट कमाएका हुन् भने आम्दानीको रकम प्राप्त गर्दाको प्रमाण र कर तथा आयकर तिरेको प्रमाण पनि छ कि छैन । त्यसको स्वतन्त्र परीक्षण हुन आवश्यक छ ।
गृहमन्त्री सुधन गुरुङको धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । धनकुटामा उनकै नाममा १९ रोपनी १५ आना जग्गा रहेको छ । उक्त जग्गा लगानीबाट प्राप्त पैसाबाट किनिएको उनले विवरणमा खुलाएका छन् ।
त्यस्तै बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा जमिन , हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जमिन ,मन्त्रीकै नाममा ८९ तोला सुन र चाँदी ६ किलो ,विभिन्न बैंकमा ६१ लाख ६० हजार रुपैयाँ बचत, होप होल्डिङ्ग्स प्रालिमा ३० हजार थान सेयरको ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालि ५७ हजार थान सेयरको ५७ लाख रुपैयाँबराबरको सम्पत्ति ,एडभेन्चर भिल्ला प्रालिको नाममा ७० लाख रुपैयाँ बराबरको र विभिन्न कम्पनीको गरी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँबराबरको सेयर रहेको र गुरुङको नाममा ४८ लाख रुपैयाँ बराबरको एमजी–एस फाइभ कारसमेत रहेको विवरण सार्वजनिक भएको छ । ३५ वर्षकै उमेरमा यति धेरै सम्पत्ति कसरी कमाउन सके ? त्यति ठूलो सेयर लगानीमा आएको रकमको स्रोत के हो ? गुरुङमाथि पनि प्रश्न उठेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको ४ अपार्टमेन्ट र घर, ११ रोपनी जग्गा, ललितपुर ,काभ्रे र तनहुँमा १२ करोड ७५ लाख रुपैयाँ बराबरका ४ वटा घर गोरखा र तनहुँमा १३ लाख ५० हजार रुपैया बराबरका ११ रोपनी पारिवारिक तथा रोजगारीबाट जोडेका ४५ तोला सुन र बैक खातामा श्रीमतीको आय एवम् सापटी सहितको १९० लाख मौजदात रहेको विवरण छ । वाग्लेले विदेशमा काम गरेको कमाईलाई स्रोत बताएका छन् । के यो सबै आम्दानी नेपालमा विधिवत घोषणा गरिएको छ ? भनी प्रश्न उठेको छ ।
कानुन मन्त्री सोविता गौतमको बैंकमा साढे १० लाख रहेको ,गाडी खरिदका लागि ४५लाख ऋण लिएको ,१५ तोला सुन र एक तोला हिरा र ९ तोला चाँदी रहेको विवरण रहेको छ । उद्योगमन्त्री गौरी कुमारीसँग १७० तोला सुन व्यापार गरेर जोडेको ,काठमाण्डौमा एउटा घर तथा ६ ठाउँमा जग्गा रहेको र केही जग्गा बिग मार्टलाई लिजमा दिएको जसबाट ९० हजार मासिक आउने विवरण छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीको बैंकमा ५० हजार, श्रीमानको खातामा १५ लाख, तीन ल्यापटप ,२ मोबाइल, २० कुखुरा,१८ तोला सुन र १५ तोला चाँदी रहेको विवरणमा उल्लेख छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले नौ लाख १३ हजार ८४ रूपैयाँ नगद ,८ वटा विभिन्न कम्पनीमा शेयर ,सुन २२ तोला र चाँदी २३ तोला, श्रीमतीको नाममा १४ कम्पनीमा शेयर रहेको विवरण छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सुन १५ तोला र चाँदी ५० तोला,चार आना पैतृक जग्गा ,उनले शेयरमा एक करोड ४५ लाख ४८ हजार ४२० लगानी रहेको विवरणमा छ ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले खेत र बारी गरी ३० रोपनी पैतृक सम्पत्ति, ११ कठ्ठा २५ धुर जमिन ,३० तोला सुन र ५तोला चाँदी र विभिन्न बैंकमा ९० लाख रूपैयाँ मौज्दात रहेको उल्लेख छ ।
खानेपानी मन्त्री सीता मेहताले काठमाडौंमा सात आना र महोत्तरीमा १० बिघा जग्गा ,सुन ३० तोला, चाँदी ५० तोला र एउटा हिराको औँठी,करिब १७ लाख नगद रहेको विवरण छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यका लगायत अन्य स्थानमा करिब २२ करोड बराबरको पैतृक जग्गा ,सुन २५ तोला र चाँदी १ किलो र करिब पाँच लाख नगद रहेको विवरण छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले ११ तोला सुन र पाँच तोला चाँदी , विभिन्न स्थानमा जग्गा ,करिब २५ लाख नगद रहेको उनले उल्लेख छ ।
सञ्चार तथा सूचना मन्त्री विक्रम तिम्लसिनाले नागार्जुनमा जग्गा ,करिब तीन तोला सुन र चाँदी १० तोला ,१० लाख २५ हजार नगदको रहेको विवरण छ ।
कृषिमन्त्री गीता चौधरीले राजापुर र सैनामैनामा जग्गा रहेको ,सुन पाँच तोला र चाँदी सय तोला रहेको विवरण छ ।
उद्योग वाणिज्य मन्त्री गौरी कुमारी यादवले काठमाडौंमा २५ आना र महोत्तरीमा २९ कठ्ठा जग्गा रहेको उल्लेख छ
सुन १८० तोला र चाँदी २ किलो रहेको उनको विवरण छ । मन्त्री रामजी यादवले राजविराजमा ११ कठ्ठा १३ धुर जमिन रहेको उल्लेख गरेका छन् । ८० तोला सुन र १५० तोला चाँदी रहेको उनको विवरणमा उल्लेख छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण पारदर्शी रूपमा बुझाउनुपर्ने कानुनी प्रावधान भए तापनि वर्तमान सरकारका मन्त्रीहरूसँग भने पारदर्शिताको आधार नै नभएको पाइएको छ । उनीहरुसँग व्यक्तिको आय र कर तिरेको विवरण लेखांकन हुने स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर नै नभएको बताइएको छ ।
मन्त्रिपरिषदका आधा दर्जन मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउँदा प्यान नम्बर नै उल्लेख नगरेको पाइएको छ ।
करोडौं रूपैयाँका घरजग्गा, सवारी साधन, सेयर र उल्लेख्य बैंक मौज्दात विवरणमा देखाए पनि करको दायरा पहिचान गर्ने मुख्य कडी मानिने प्यान नम्बरको महल भने उनीहरूले खाली नै छोडेका छन् ।
नेपाल सरकारको नियमानुसार स्थायी लेखा नम्बर विभिन्न आर्थिक क्रियाकलापका लागि अनिवार्य गरिएको छ । कुनै पनि सरकारी वा निजी संघ–संस्थामा काम गरी तलब थाप्ने कर्मचारी वा कामदारका लागि प्यान नम्बर अनिवार्य छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री निशा मेहताले पान नं. खुलाएका छैनन् ।
अर्थमन्त्री स्वर्णीम वाग्लेले घरजग्गा तथा सेयर लगानीको स्रोत अन्तर्राष्ट्रिय रोजगारी र श्रीमतीको आम्दानी बताएका छन्। तर, सम्भावित विदेशी आम्दानीसँग सम्बन्धित डलर खाताबारे कुनै उल्लेख नगरेपछि पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ।
सम्पत्तिको स्रोत बताएर मात्र हुँदैन । सम्पत्ति आर्जन वैध हो वा होइन भनेर स्वतन्त्र छानवीन हुनुपर्दछ भनेर आवाज उठिरहेको छ । केवल वर्तमान मन्त्रीहरुको मात्र नभएर विगतका मन्त्री, उच्च पदस्थ कर्मचारीहरुको समेत सम्पत्तिको छानवीन गर्ने आवाज उठिरहेको छ ।
जनताको यो आवाजलाई सम्मान गर्दै पारदर्शिता प्रदर्शन गर्न सक्नुपर्दछ ।
मन्त्रीहरुको सम्पत्तिको स्रोत के हो ?
Comments

