लोकनारायण सुबेदी
पछिल्लो समय बंगलादेशमा लाखौ मजदुर सडकमा उत्रेका छन् । ती मजबंगलादेशमा जटिल समस्याहरुका बीच मजदुरहरुको संकट अझ बढदैदुर तयारी कपडा(गार्मेण्ट्स) कारखाना बन्द भएकोले ठूलो कठिनाईमा परेका हुन् । अनि जुन कारखानाहरु धुकुर धुकुर चलिरहेका छन् तिनमा काम गरिरहेका मजदुरहरुले पनि तलब पाउन सकिरहेका छ्रैनन् । मजदुरहरुको लगातारको बिरोध प्रदर्शनका कारणले समेत धेरै कारखानाहरु बन्दको अबस्थाबाट गुज्रिरहेका छन् । बाहिरका लगानीकर्ताहरु यतिबेला बंग्लादेशबाट निस्किरहेका छन् । यता मजदुरहरु भने कारखाना पुनः खोल्न र बाँकी तलब र बोनस दिन सरकारसँग माग गर्दै देशभरी नै प्रदर्शन गरिरहेका छन् । अर्को समस्या के पनि रहँदै आएको छ भने बंगलादेशमा अहिले पनि ठूलो संख्यामा मानिसहरु गरीबीको रेखामुनि जीवन यापन गर्न बाध्य छन् ।
त्यहाँ ग्रामीण इलाकाहरुमा रोजगारीको कमी, स्वास्थ्य सेवाको कमजोर उपलब्धता तथा शिक्षाको गुणस्तरमा कमी रहेको छ । ठूलो संख्यमा बंग्लादेशहीहरु कृषि, कुटीर उद्योग लगायत असंगठित क्षेत्रमा काम गर्दछन् । त्यहाँ उनीहरुले उचित जिउनयोग्य पारिश्रमिक पाउँदैनन् । सुबिधाहरु पनि नगन्य मात्रै छन् । अहिलेका बंग्लादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद यूनुसलाई सत्तामा ल्याउने बिद्यार्थी संगठनहरुले पनि अब उनको बिरोध गर्न थालेका छन् । बंग्लादेशका नयाँ राजनीतिक दल तथा मूलतः बिद्यार्थी राजनीतिबाट जन्मेको सिटीजन पार्टीले यूनुस र सेनामाथि निशाना लगाएर तिनमाथि भारतको प्रभावको आरोप लगाएको छ । यसरी बंग्लादेशको आन्तरिक स्थिति यतिबेला निक्कै नै चूनौतिपूर्ण बनेको देखिन्छ । त्यहाँ कट्टरपन्थीहरुको पनि निक्कै नै प्रभाव रहेको पाइन्छ । त्यसले पनि समस्या अझ बढाएको छ । केही बर्ष पहिलासम्म एशियाली टाईगरको नामले चर्चामा रहेको बंग्लादेशमा शेख हसिना सरकारबाट बहिर्गमान गर्न बाध्य भए पछि थप बढ्दो अन्यौल र अस्थिरताका कारण त्यहाँ यतिबेला बिदेशी लगानी पनि रोकिएको अबस्था छ । यूनुसको नेतृत्वको अन्तरिम सरकारका निर्णयहरुले बिबादहरु प्नि बढाइरहेको देखिन्छ ।
बिश्लेषकहरु भन्दैछन् कि बंगलादेशका समस्याहरु बिबिध र जटील पनि छन् । ती समस्याहरुमा मूलतः राजनैतिक,आर्थिक, सामाजिक, धार्मिक, पर्याबरणीय तथा सुरक्षा सम्वन्धि समस्याहरु नै हुन् । तिनको सही समाधान गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता हुन्छ नै । तर अहिलेको युनुसको सरकारको प्राथमिकता भने मुस्लिम देश खाशगरी पाकिस्तान जस्ता देशहरुसँग अझ राम्रो सम्वन्ध बनाउनमा मात्र सीमित र केन्द्रित देखिदै आएको एकथरी औल्उँछन् । यद्यपि बंगलादेशका राजनीतिक दलहरुका बीच पाकिस्तानलाई हेर्ने समान र साझा दृष्टिकोण नभएर बिबिधता छ । आवामी लीग जस्तो दलले पाकिस्तानसँगको सम्वन्धलाई उचित ध्यान दिने गरेको पाइदैन भने अन्य दलहरु पाकिस्तानसँगको सम्वन्धलाई पुनः सबल तुल्याइनु पर्दछ भन्ने पक्षमा रहेका छन् । बंग्लादेशको प्रमुख इस्लामि पाटी,जमात–ए–इस्लामी पाकिस्तानसँग ऐतिहासिकरुपले राम्रो सम्वन्ध राख्दै आएका छन् । त्यो पार्टीले पाकिस्तानसँग राजनीति तथा धार्मिक सम्बन्धलाई महत्व दिन्छ । बंग्लादेशमा पनि इस्लामी कट्टरताबादी र धार्मिक दलहरुको पाकिस्तानकाप्रति समर्थन प्राय सधै नै एउटा जटील मुद्दा जस्तै बन्ने गरेको छ । कट्टरपन्थी तथा प्रतिबन्धित संगठन हिजबुत तहरीरहरुको बढ्दो खुल्ला प्रदर्शनले काननु ब्यवस्थाको चूनौति त्यहाँ अझ बढेको बताइन्छ । त्यो संगठनले बंग्लादेशमा सरिया कानुन लागु गर्नका लागि आन्दोलन चलाइरहेको छ । १९९०को दशकमा सैन्य तानाशाहीको पत्तन पछि तथा लोकतान्त्रिक शासनको पुनस्र्थापना पछि सैन्य हस्तक्षेपको स्थितिमा बंग्लादेशमा केही कमी आएको देखिन्छ । तर पनि सैन्य शासनको काल खण्डका घटनाहरु अहिले पनि बंगलादेशको राजनीति र समाजका लागि एउटा चेतावनी जस्तै बन्ने गरिरहेका देखिन्छन् । बंग्लादेशको राजनीतिमा पनि सैन्य सत्तापल्टा र लोकतान्त्रिक सरकारका बीच संघर्षको लामो इतिहास रहेकै छ ।
यद्यपि बंगलादेशमा बर्तमानमा सैन्य शासनै त छैन । तर त्यहाको सेनाको प्रभाव राजनीति र सामाजिक रुपबाट अहिले पनि कायम रहेको बिश्लेषकहरु औंल्याउँदछन् । शेख हसिनालाई सत्ताबाट हटाएपछि बिद्यार्थी संगठनको प्रभावमा देशको कानुन ब्यवस्थाको स्थितिले गहिरो चूनौतिको सामना गरिहेको छ । मोहम्मद यूनुस देशमा राजनीतिक स्थिरता कायम गर्न असफल बनिरहेका छन् । उनले पनि बदलाको त्यही राजनीति ग्रहण गरेको देखिन्छ जुन देश बर्षौदेखि यस प्रबृत्तिबाट अभिशप्त छ ।बंगलादेशमा सर्सरी हेर्दा कट्टरपन्थ र उदारबादी समाजका बीच अन्तरबिरोध देखिन्छ । तर यथार्थमा त्यो सामन्तबाद र नब उपनिबेशबादका बिरुद्धको त्यहाँका सम्पूर्ण बंग्लादेशी जनता र राष्ट्रको अन्तर बिरोध नै हो । यसलाई सही किसिमले परिचालन र सञ्चालन गर्न नसक्दा त्यहाँ त्यहाँ कट्टरपन्थ, यथास्थिति र सैनिक शासन जस्ता प्रबृत्तिहरुको हालीमुहाली देखिन्छ । अहिले आइरहेको स्थितिको अनिश्चितता र जटीलतताको अन्तर्यमा यही कुरा रहेको छ । यस स्थितिलाई देशको सार्बभौमिक अखण्डतासँग जोडेर सेनाले बंगलादेशमा सत्ता नियन्त्रणको संकेत पनि दिन थालेको देखिदैछ । साधारणतया सैनिक शासन त्यतिबेला लागु हुन्छ जब सेनाले सरकारको नियन्त्रण हत्याएको हुन्छ । त्यस प्रकारको सैनिक सत्ता सैनिक बिद्रोह सत्ता पल्टाइदा या अन्य कारणले उत्पन्न संकट उत्पन्न हुँदा लागु गर्ने गरेको पाइन्छ । बंग्लादेशमा सैनिक शासनको इतिहास मिश्रित र संघर्षपूर्ण रहेको देखिन्छ । १९७१ मा पाकिस्तानसँगबाट छुट्टिए पछि पनि बंग्लादेशको राजनीतिमा सैनिक सत्ता पलट र लोकतान्त्रिक सरकारका बीच संघर्ष चलेको पनि देखिएको छ । यद्यपि पछिल्लो शेख हसिनालाई सत्ताबाट बेदखल गर्दा भने बंग्लादेशको सेना निकै संयमित देखिको सैन्य बिश्लेषकहरु बताउँदछन् । तर अब भने त्यहाँ बढ्दो अराजकताका बीच सेनाको धैर्य टुट्न पनि सक्ने अनुमान गरिदै छ ।
बंगलादेशको अर्को समस्या भनेको भारतसँग सीमा जोडिनुको पनि छ । भारतसँग सीमा जोडिएका सबै ठूला साना देशहरुको भारतसँग सीमा बिबाद रहेकै छ ।हस्तक्षेपका हर्कतहरु पनि हुने गरेकै छन् । बंग्लादेश पनि यो समस्याबाट मुक्त छैन । अर्कोतिर बंग्लादेशमा आतंककारी कट्टरपन्थी घटनाक्रम पनि बेला बेलामा देखिने गर्दछन् । त्यसले उसको आन्तरिक मामिलामा मात्रै असर गर्ने होइन कि वरिपरीका छिमेकी देशहरुलाई पनित्यसले समस्या पर्दछ । अर्को कुरा बंग्लादेश अबैध लागु औषधी तस्करीको पनि मूल बाटो मानिन्छ । त्यो पनि उसको राष्ट्रिय सुरक्षा र कानुन ब्यवस्थाका लागि निकै गम्भीर चासो र चिन्ता बिषय रहेकै छ । अनि यस प्रकारको आन्तरिक र बद्लिदो बाह्य परिस्थितिको परिप्रेक्षमा बंग्लादेश अझ थप समस्यामा पर्ला कि सह्मालिएला गम्भीर चूनौति र चिन्ताको बिषय बनिरहेको छ । त्यसमा पनि मजदुरी गरेर दैनिक जीवन गुजारा गर्ने मजदुरहरुको बढ्दो नाजुक स्थितिले त्यहाँ के कस्तो परिस्थिति सिर्जना गर्ला अन्यौल र अनिश्चित नै छ ।

