–सी.पी. गजुरेल गौरव, महासचिव
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल
० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चौथो पूर्ण बैठक मंसीर १६–१७ गते सम्पन्न भएको जानकारी भयो । चौथो पूर्ण बैठकको मुख्य उद्देश्य के थियो ?
–हाम्रो पार्टीको तेस्रो पूर्ण बैठक गत असोजमा सम्पन्न भएको थियो । त्यस बैठकमा हामीले सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन २१को आम निर्वाचनबारे निर्णय लिएका थिएनौं । पछिल्लो अवधिमा यो सरकार गठन गर्न भूमिका खेलेका अमेरिका र भारत ती दुवै पक्ष चुनाव गराउन खोजेको हो कि जस्तो देखियो । हामीले पनि त्यसबारेमा एउटा निर्णयमा जान जरुरी ठान्यौं । चौथो पूर्ण बैठकको मुख्य उद्देश्य नै त्यही चुनाव थियो हामीले २ दिनसम्म गम्भीरतापूर्वक छलफल ग¥यौं र आगामी फागुन २१को संसदीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छौं ।
० सबै पार्टीहरू चुनावको तयारीमा लागेका छन् । तपाईंहरूले आगामी निर्वाचनलाई किन बहिस्कार गर्नु हुन्छ ? जनताले प्रश्न सोध्लान, बहिस्कार गर्नुको कारण के हो ?
– देशमा देखिएका तमाम समस्याहरूको हल निर्वाचनले गर्न सक्दैन । निर्वाचन हल होइन । जेनजी विद्रोह पछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकार राष्ट्रिय हितकालािग गठन भएको होइन । यो कठपुतली सरकार हो । निर्वाचनको विषयमा जनतामा ठुलो भ्रम पार्ने कोशिश भएको छ । सबै समस्याहरूको समाधान भने कै निर्वाचन हो भन्ने कुरा प्रवाहित गर्ने काम भइरहेको छ । हामीले भनिरहेका छौं कि निर्वाचन सबै कुराको हल होइन ।
यो सरकार राष्ट्रिय हितको निम्ति बनेको सरकार हैन । यो कठपुतली सरकार हो । नेपालको भूराजनीतिक अवस्थाका कारण नेपालप्रति अमेरिकी र भारतीयहरूको चासो बढिरहेको छ । अहिले चीन र अमेरिकाको बीचमा द्वन्द्व भएको जस्तो छ, यदि भविष्यमा चीन र अमेरिकाको बीचमा युद्ध भयो भने नेपाललाई प्रयोग गर्न सक्ने सम्मको खतरा पैदा भएको छ ।
चुनावमा भाग लिँदा कुनै न कुनै रूपमा यिनीहरूको (अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको) योजनामा बल पुग्न जान्छ । त्यसकारण हामीले आगामी चुनावमा भाग लिैदैनौ । हामी भण्डाफोर गरेर अगाडि बढ्छौं । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले बनाइदिएको कठपुतली सरकारले बनाएको चुनाव हामी मान्दैनौं । विदेशी कठपुतली सरकारले गराएको चुनावमा भाग लिने भनेर जनतामा भ्रम पैदा हुने भएकाले पनि हामी चुनावमा भाग लिंदैनौं । यो कठपुतली सरकारको विरोध गर्न बहिस्कार गर्दा जति सजिलो हुन्छ, भाग लिंदा हुँदैन ।
वैचारिक रूपले त हामी अहिले पनि पनि वैकल्पिक राजनीतिक शक्ति हौं । हामी भौतिक रूपले वैकल्पिक शक्तिका रूपमा तयार हुने दिशामा अगाडि बढ्नुपर्दछ । यो कुरा जनतालाई बुझाउन निर्वाचन उपयोग गरेर भन्दा बहिस्कार गरेर नै सजिलो हुन्छ ।
० तपाईंहरू विरोधी वा आलोचकहरूले चुनाव जित्न नसक्ने भएर बहिस्कारको सजिलो बाटो अपनाए भन्छन् । यसबारे के छ तपाईंको भनाइ ?
–चुनावमा भागै नलिने भएपछि त्यहा हार्ने र जित्नको कुरा कसरी रह्यो र ? यदि चुनाव उपयोग गर्दा जनताको हित हुन्छ, देशलाई फाइदा हुन्छ, क्रान्तिलाई मद्दत पुग्छ भने चुनाव उपयोग गर्दा हुन्छ । तर अहिलेको परिस्थिति नेपाल नव औपनेवेशिकरण भएको छ । यो चुनाव विदेशीहरूको स्वार्थ अनुसार घोषणा भएको छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा प्रायोजित चुनाव हुँदैछ ।
क्रान्तिको तयारी गर्न चुनावमा भाग लिँदा बढी फायदा हुने भएको भए भाग लिन हुन्थ्यो । तर त्यसरी जाँदा त्यसले फाइदा पुग्ने वाला छैन ।कसले चुनाव जित्यो वा जितेन, कसले कति सिट जित्यो ? यी प्रश्न गौण भएका छन् । चुनाव उपयोेग गर्दा कठपुतली सरकारलाई समर्थन गरेको जस्तो जनतामा भ्रम पर्न जाने हुँदा हाम्रो क्रान्तिकारी पहिचानलाई जनतामा स्पष्ट पार्न निर्वाचन बहिस्कार गर्नु नै अहिलेको अवस्थामा उपयुक्त हुन्छ । चुनाव उपयोग गरेको पनि इतिहास छ । २०४८मा हाम्रो पार्टी नेकपा –(एकताकेन्द्र)ले चुनाव उपयोग ग¥यो । २०६४मा नेकपा (माओवादी)ले पनि चुनाव उपयोग गरेर संविधानमा सबैभन्दा ठुलो पार्टी भएको थियो । चुनाव लड्न नसकेर वा जित्न नसकेर बहिस्कारमा गए भन्ने पुष्टि हुँदैन । त्यसकारण यो पूर्वाग्रही भनाइ हो ।
० निर्वाचन बहिस्कार गर्ने अन्य पार्टी वा समूहसित पनि संयुक्त भएर वा कार्यगत एकता गरेर जाने नीति पनि छ कि?
– निर्वाचन बहिस्कारमा जाने पार्टी, समूह व्यक्तिसित सहकार्य गर्ने हाम्रो नीति छ । हामी केही समूहसित त्यसबारे छलफल गरिसकेका छौं । बहिस्कारलाई हामीले आन्दोलनको रूपमा अगाडि बढाउने छौं । यो आन्दोलन भएकाले प्रगतिशील, क्रान्तिकारी विचार राख्ने सबैलाई साथमा लिएर जाने हाम्रो सोचाइ छ । विचार मिल्ने शक्ति, व्यक्ति सबैसित मिलेर अगाडि बढ्दा नै आन्दोलन पनि व्यापक हुन्छ ।
० लोकनारायणहरूको नेकपासित केही कुरा भयो क ?
– उहाँहरू हम्रो निर्णयप्रति सकारात्मक नै हुनुहुन्छ । उहाँहरूसँग द्विपक्षीय भेटघाट भएको छ ।
० पार्टीको आगामी कार्यक्रम के छ?
– महाधिवेशनले निर्दिष्ट गरेको कार्यक्रम छँदैछ । तर दुइ ढाइ महिना हामी बहिस्कार र भ्रष्टाचार विरोधी आन्दोलनमा नै जान्छौं ।
० बहिस्कारको स्वरूप कस्तो हुने छ ?
–बहिस्कारको स्वरूप जनआन्दोलनको रूपमा हुने छ । जनतालाई तर्साउनलागि यिनीहरूले सेना समेत प्रयोग गर्दैछन् । चुनाव नहुने वातावरण यिनीले तयार पार्दैछन् । बहिस्कार गर्नु त संविधानले नै दिएको अधिकारअन्तर्गत छ । “नो भोट ”को समेत चर्चा भइरहेको बेलामा उनीहरूले बहिस्कार विरोधीलाई दमन गर्न मिल्दैन । हामी जुलुश सभा गर्छौँ, पर्चा वितरण, घर दैलो । जनभेटघाट लगायतका कार्यक्रम गर्छौँ जनतालाई शान्तिपूर्ण तरिकाले आफ्ना कुरा बताउँछौं ।
० विगतमा शान्तिपूर्ण तरिकाले चुनाव बहिस्कार गर्नेहरूलाई सरकारले अनावश्यक दमन गर्ने, शारीरिक, मानसिक यातना दिने गरेको इतिहास पनि छ । यदि सरकार त्यसरी आयो भने के हुन्छ ?
– यो व्यवस्था, यसका नेताप्रति जनताको आक्रोश छ । ती सबै आक्रोश चुलिएर विस्फोट हुन सक्छ । त्यो मुख्र्याइँ नगरोस भन्छु म । यदि सरकारले जनताले राखेको मागमाथि निरंकुशता देखायो, दमन ग¥यो भने ओलीले निरंकुशता देखाउँदा हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति आयो र यसपछिका सरकारहरूले पनि जनतामाथि त्यसरी नै दमन गर्ने, निरङ्कुशता लाद्ने काम गरे भने उनीहरूको पनि हेलिकप्टर चढेर भाग्ने स्थिति जनताले बनाइदिनेछन् । जनताले विगतमा गरेका क्रान्तिकारी आन्दोलनहरू, जनताका विशाल जनसङ्घर्षहरू, जनयुद्ध देखेका छन् । त्यसको प्रभाव अहिले पनि जनतामा छँदै छ । त्यसकारण जनता चुप्प लागेर बस्दैनन् । निरङ्कुशता लाद्न खोज्नेहरूको विरुद्धमा जनता उठ्नेछन् । यदि सरकारले त्यो बाटो अपनायो भने आफ्नो पतन आफै निम्ताएको ठहरिनेछ । म त अहिले नै के भन्छु भने हामीले बहिष्कार भनेको आतङ्क मच्चाउने होइन, बहिष्कार भनेको त यो एउटा आन्दोलन हो । म अहिले पनि भन्छु कि बहिष्कारको आन्दोलनमाथि खबरदार ⁄ दमन गर्न पाइँदैन । पञ्चायतले दमन ग¥यो, ऊ समाप्त भयो बहुदल आएपछि पनि दमन गर्न खोजियो । उनीहरूलाई जनताले सबक सिकाए । फेरि बहिष्कारको आन्दोलन दमन गर्न खोजिन्छ भने उनीहरूले पतनको बाटो रोजेको ठहरिनेछ । यो हाम्रो आन्दोलन न्यायसङ्गत आन्दोलन हो । बोल्न पाउने, जुलुस गर्न पाउने, आफ्नो मत राख्न पाउने जनताले लडेर ल्याएको अधिकार हो । हामी त्यसलाई प्रयोग गर्र्छाैं ।

