काठमाडौं — ने.क.पा. (बहुमत)काठमाडौं जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सिना पक्राउ पर्नु भएको छ । ने.क.पा. (बहुमत)केन्द्रीय समितिले २०८२ फागुन १६मा जारी गरेको प्रेस वक्तव्यअनुसार फागुन १५ गते बेलुका करिब ४ बजे काठमाडौं जिल्लाको कीर्तिपुरस्थित आफन्तको कोठाबाट तिमिल्सिनालाई सुरक्षाकर्मीले पक्राउ गरेको हो । वक्तव्यमा व्यक्तिको हिँडडुल गर्न पाउने आधारभूत अधिकार कुण्ठित गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको आरोप लगाइएको छ । पार्टीले उक्त गिरफ्तारीलाई “गैरन्यायिक र दमनकारी” कार्य भन्दै घोर निन्दा तथा भत्र्सना गरेको छ । पक्राउ परेका नेता तिमिल्सिनाको तत्काल स–सम्मान रिहाइ गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
यसैबीच, पक्राउको क्रममा सुरक्षाकर्मीले उहाँको कोठामा छापा मार्दा बालबालिकाको मानसिक अवस्थामाथि नकारात्मक असर पर्ने गरि व्यवहार गरिएको दाबी पनि वक्तव्यमा गरिएको छ । कोठाभित्र रहेका सामग्री तोडफोड गरिएको, किताबकापी च्यातिएको र बालबालिकामाथि त्रास सिर्जना गरिएको आरोप पार्टीले लगाएको छ । पार्टीले यस्ता गतिविधिलाई “राज्य आतंक”को संज्ञा दिँदै तत्काल यस्ता कार्य बन्द गर्न र मानवअधिकारको सम्मान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

