लोक नारायण सुवेदी
हाम्रो देश अनेक जैविक विविधता र महत्वपूर्ण प्राकृतिक श्रोत साधनहरुले सम्पन्न भइकन पनि तिनको उचित सदुपयोग बिना विकासले सार्थक परिणति ल्याउन र पाउन सकेको छैन । बरु वित्तीय पूँजीवादले गाँजेर विकासलाई गलत बाटोमा हिडाए को छ र जनता र देशका आधारभूत दैनिक जीवनका समस्या पनि हल गर्न नसक्ने र दिनप्रति दिन परनिर्भताको पासोमा परेर निरन्तर पंगु, कुण्ठित र कमजोर हुनु पर्ने स्थितिमा धकेलिदिएको छ । देशले १६औं पञ्चवर्षीय योजनाको कालावधि पार गर्न लागि सक्दा पनि देश र जनतको गिर्दो र कमजोर हुँदो जीवन स्तर, घट्दो क्षमता र श्रोत साधनको सही सदुपयोग हुन नसकेर खेर गइरहेकै विडम्बनापूर्ण अवस्थाबाटै हामी गुज्रिरहेका छौं । यसो हुनुमा मूलतः हाम्रो अर्थतन्त्रमा जबर्जस्तरुपमा भित्रिएको वित्तीय पूँजीवाद हो भन्ने यथार्थलाई न बुझ्नु या बुझेर पनि बुझ पचाउनु आजको दीनहीन अवस्थाको कारक, कारण र दुष्परिणाम सबै हो । त्यसैले यस स्थितिबाट बाहिर ननिस्कीकन हामीले जतिसुकै योजना, परियोजनाको गफ चुटे पनि फेरि पनि राष्ट्रिय विकासको सही मार्गमा अघि बढ्न सक्ने छैनौं । यो आजसम्मको देश र जनताको अनुभवको तितो यथार्थ हो ।
नेपालको अर्थतन्त्रमा बित्तीय पूँजीवाद को प्रभाव पछिल्ला वर्षहरूमा अझ गहिरो रूपमा देखिएको छ। यसको मुख्य विशेषता भनेको उत्पादनशील क्षेत्रभन्दा बढी वित्तीय क्षेत्र (बैंक, बीमा, शेयर बजार, ऋण प्रवाह) मा पूँजीलाई केन्द्रित गर्नु हो। यसले गर्दा अर्थतन्त्रको क्षेत्रमा निम्न प्रकारका संकटहरू उत्पन्न गरेको छः
उत्पादनशील अर्थतन्त्रको क्षेत्र व्यापकरुपमा उपेक्षित
उद्योग, कृषि, र रोजगारी सिर्जना गर्ने हरेक क्षेत्रहरूमा लगानी कम हुँदै र गरिदै गएको छ । त्यसले गर्दा पूँजी मुख्यतया आयात–उन्मुख व्यापार, रियल इस्टेट, र उपभोगमा केन्द्रित हुँदै गराइदै लगिएको छ । यसको सोझो र प्रत्यक्ष असर राष्ट्रिय उत्पादनमा कमी र परनिर्भरता बढाउनमा पुगेको छ र यो अत्यन्तै गम्भीर र चिन्ताजनक छ ।
बढ्दो ऋण र बढ्दो उपभोगमाथि निर्भरता बढ्दो
यस प्रकारको नीतिले गर्दा नै वास्तवमा बैंकिङ प्रणालीले ऋण विस्तार गरेर उपभोग बढाएको छ, तर यसले उत्पादनमा योगदान नगर्ने भएकाले बढ्दो ऋण असन्तुलन र वित्तीय असुरक्षा अझ बढ्न पुगेको छ । यसले राष्ट्रिय क्षमतामा अभिवृद्धि गर्न मद्दत गरेको छैन र गर्न पनि सक्तैन भन्ने यथार्थ औंल्याइरहेको छ ।
बढ्दो वैदेशिक निर्भरता उत्पादनशील निर्यातमा कमी
रोजगारीहीन र यथार्थतः जीवनहीन यस्तो बिकास स्थितिले गर्दा हाम्रा देशका ऊर्जाशील यूवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् र त्यो नै हाम्रो राष्ट्रिय आमदानीको मूल श्रोत जस्तो बनेको छ । त्यसले गर्दा विप्रेषण अर्थात् (रेमिट्यान्स)ले विदेशी मुद्रा भण्डारलाई त बढाएर फुलाइ राखेको र टिकाइरहेको छ, तर यो केवल क्षणिक र एकदमै अस्थिर स्रोत मात्र हो। यसरी उत्पादनशील निर्यात कमजोर भएकाले गर्दा दीर्घकालीन संकटको सम्भावना कम हुनुको साटो अझ बढ्ने सम्भावना बढी रहन्छ र बढिरहेको छ । यो यथार्थ वास्तबिकता हो ।
असमानता बढ्दो र चुलिदो सामाजिक असन्तोष
यस्तो स्थितिमा वित्तीय पूँजीवादले सानो वर्गलाई अवश्य लाभान्वित गरेको छ, जबकि असंख्य युवाहरू अर्थात वर्षेनी नेपालको श्रम बजारमा आउने ६ लाख यूवाहरु बेरोजगार र असन्तुष्ट रहुनु परेको हो । मूलतः यही कारणले गर्दा हालैका आन्दोलनहरू खासगरी २०८२ भदौको तेश्रो सातमा भएको नवयूवा(जेन जी) आन्दोलनको पछाडि बढ्दो आर्थिक असमानता र अनिश्चित भविष्य प्रमुख कारण बनेको कुरा औंल्याइने गरेको हो ।
अन्तर्राष्ट्रिय अनिश्चितता र आन्तरिक अस्थिरता
आन्तरिक रुपमा देशका शासक वर्गले लिने गरेको गलत नीति र अन्तर्राष्ट्रिय वित्तीय उतार–चढाव, त्यसबाट आयात–निर्यात उत्पन्न हुने असन्तुलन तथा घरेलु राजनीतिक अस्थिरताले समेत यो संकटलाई थप बढाउन मलजल गरेको र अझ गहिरो बनाएको आजको यथार्थ हो । राजनीति अस्थिरता यसरी वित्तीय पूँजीवादको उपजकोरुपमा आइरहेको यथार्थलाई नबुझेसम्म फेरि पनि सही बाटो पक्रिन सकिने छैन । यो यथार्थ हो ।
संकटको सही निराकरणका उपायहरू र समाधान
यस बढ्दो र विकराल बन्दो संकट समाधानका लागि केवल वित्तीय नियन्त्रण गरेर मात्र होइन र पुग्दैन । यस कदमले मात्र पार लाग्दैन । यसका अरिरिक्त र मूलतः संरचनात्मक र नीतिग परिवर्तन नै आज सबैभन्दा बढी आवश्यक छ । यसका लागि केही प्रमुख उपायहरू यहाँ उल्लेख गरिएको छ ।
उत्पादनशील क्षेत्रमा अनिवार्य लगानी नीति र कार्यन्वयन ः
मूलतः नेपालको कृषिमा उत्पादन सम्वन्धका समस्या हल गरेर यस क्षेत्रका साथै उद्योग, ऊर्जा, र प्रविधि क्षेत्रमा दीर्घकालीन लगानी बढाउनुपर्छ। यसले रोजगारी सिर्जना गर्ने र निर्यात क्षमता बढाउँने मात्र होइन अर्थतन्त्रप्रति आन्तरिक र बाह्य बिश्वासपनि बढाउँदछ र यसले थप आन्तरिक र बाह्य लगानीका लागि समेत उपयुक्त बातावरण तयार गर्दछ ।
वित्तीय नियमन र पारदर्शी नीति निर्माण र कार्यान्वयन ः
यसका लागि सही, ठोस र प्रभावकारी नीति बनाएर बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनमुखी ऋणमा सर्बोपरी प्राथमिकता दिन बाध्य पार्नुपर्छ। वित्तीय नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। ज्सले गर्दा आत्म निर्भरता बढ्नुका साथै लगानीयुक्त वातावरणको पनि सिर्जना हुन्छ । यसले राष्ट्रिय बजार अभिवृद्धि र राष्ट्रिय लगानीको निम्ति बातावरण बढाउने पनि काम गर्दछ ।
विप्रेषण रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नु आवश्यक ः
मूलतः नेपालका किसानका छोराछोरीले वैदेशिक रोजगारबाट कमाएर पठाएको विप्रेषण(रेमिट्यान्स)लाई उपभोगमा मात्र होइन, उद्योग र कृषि आधुनिकीकरणमा लगानी गर्ने नीतिगत व्यवस्था र त्यसको कडाईकासाथ कार्यान्वयनको आवश्यक छ । नत्र भने यो उपभोगमा नै समाप्त भएर जाने अहिलेसम्को गलत बाटोकै फेरि पनि शिका हुने कुरा निश्चित छ ।
समान वितरण र सार्थक सामाजिक न्याय सर्वोपरी ः
त्यसैले समान बितरण र सामाजिक न्यायलाई सर्बोपरी राखेर विश्वासपूर्वक र दृढताकासा अघि बढ्नका लागि कर प्रणालीलाई प्रगतिशील बनाउँदै र ठोस कार्यान्वययन गर्दै सम्पन्नशाली वर्गबाट बढी योगदान लिने र त्यसलाई सामाजिक सुरक्षा कार्यक्रमलाई प्रत्याभूत गर्न र बलियो बनाउनमा लगानी गर्ने गरिनु पर्दछ ।
सचेत युवा नेतृत्व र उपयुक्त सहभागिता ः
यसका लागि युवाहरूलाई सचेततापूर्बक नीति निर्माणमा सहभागी गराउने,उद्यमशीलतामा प्रोत्साहन गर्ने, र शिक्षा–रोजगारीलाई उत्पादनसँग जोड्ने दीर्घकालीन रणनीति अनिवार्य र अति आवश्यक छ । अन्ततः कुनै पनि देशको नब निर्माण गर्ने युवा पुस्ताले नै हो । त्यसैले यूवाहरु सही ढंगले सचेत, संगठित, अनुशासित र संघर्षशल बन्नै पर्छ । जुनसुकै देशमा पनि यूवाहरु नै चातुर्दिक राष्ट्र निर्माण गर्न बिकासको रथ हाक्ने उदीयमान शक्ति हुन् भन्ने कुरा बिशवमा जहाँ पनि एकदमै प्रष्ट छ ।
निष्कर्श ः
यसरी सार संक्षेपमा भन्नुपर्दा, नेपालमा वित्तीय पूँजीवादले उत्पादनभन्दा वित्तीय सट्टेबाजीलाई प्राथमिकता दिँदा आज देशमा विकराल असमानता, भयावह बेरोजगारी, र निरन्तर अस्थिरता शिकार भइरहेको छ र त्यो क्रम बढेको छ । यसले गर्दा समेत निरन्तर बाह्य दबाब र अवाञ्छित हस्तक्षेप निम्त्याउने काम गरिहेको छ । त्यसैले,यो स्थिति आउन नदिन र रोक्न मूलतः यसको समाधान भनेको तत्कालै वित्तीय क्षेत्रलाई उत्पादनसँग जोड्ने, विप्रेषण(रेमिट्यान्स)लाई दीर्घकालीन लगानीमा रूपान्तरण गर्ने तथा सामाजिक न्यायलाई सुनिश्चित गर्ने वृहत संरचनात्मक परिवर्तन अत्यावश्यक छ । अरु तिर अल्मलिएर र भौंतारिएर जतिसुकै टाउको ठोके पनि समस्याको कुनै समाधान नभेटिने अहिलेसम्मको अनुभवले एकदमै प्रष्ट पारिरहेको छ । यस कुरामा देशका ऊर्जाशील यूवाहरु सबैभन्दा बढी सचेत, सक्रिय र संगठितरुपमा अग्रसर हुनु अत्यावश्यक छ । अन्यथा निरन्तरको बाह्य पलायनको स्थितिले हाम्रो देश झन कमजोर र अझ परमुखापेक्षी हुने स्थितिलाई नै बोझकोरुपमा झेलिरहनु पर्ने निश्चित छ ।
नेपालमा वित्तीय पूँजीवादले निम्त्याएको संकट र यसको समाधान
Comments

