कविता ः आमा र हाँसो

 

मनु वि.क. 

संसार भरका आमाहरु
संसारै दुःख सहेर
आफ्ना रहरहरु मारेर
रहरहरुलाई सन्तानमा सारेर
रहरहरुलाई सन्तानमा उमारेर
सन्तानकै प्यारा आँखाहरुमा खुशीका कण खोजिरहन्छन्
खुशीका प्रकाश रोजिरहन्छन् ।

संसार भरका आमाहरु
आफ्नै मेरुदण्ड भाँचियोस तर
आफ्नै मुटु टुक्रियोस तर
दुःखले धुजा धुजा पारोस् प्रत्येक क्षण सन्तानको मुहारमा मुस्कान सोचिरहन्छन्
दुःख जति सबै आफ्नै हृदयमा लुकाइरहन्छन्,आँसु र वेदना छुपाइरहन्छन् ।

दश महिना कोखमा राखेर
प्रसव वेदना सहेर
दशधारा दूध ख्वाएर
कहरको थुप्रोलाई हाँसी हाँसी पन्छाएर
नयाँ जीवनलाई ताती ताती गराउँदै भविष्यको गोरेटोमा डोर्याइ रहन्छिन्
चारैतिरबाट बिछ्याइएका विघ्न र बाधा पन्छाइ रहन्छिन्
जीवनरुपी घाम छायाँमा सन्तान कै खुशीमा रमाइरहन्छिन् ।
आमाले चाहन्छिन् सबै सन्तान खुशी होउन्
आमाले चाहन्छिन् संसारका सन्तान मुक्त भै चल्न,डुल्न र उड्न पाउन्
आमाले चाहन्छिन् सबै सन्तानहरुको मनमा खुशी र मुस्कान छाओस्
तर आमाको कामना भन्दा यहाँ फरक भइरहेछ सँधै
आमाको चाहना भन्दा उल्टो भइरहेछ संसारमा आमाहरु युद्धको मारमा छटपटाइरहेका छन्
सन्तानहरु ड्रोन र अत्याधुनिक हतियारबाट मारिँदा
बासस्थान खरानीको थुप्रो पारिँदा
सन्तानको प्राण क्षेप्यास्त्रले उड्दा
प्रकृतिको खुला आकाशमुनि
क्षतविक्षत शरीर र रगतको भलमा
हाँस्नु न रुनु
मर्नु न बाँच्नु
बनाइएका छन् ।

चाहे तिनी आमा गाजाको होउन्
चाहे तिनी आमा लेवनान, यमन र इरानको होउन्
चाहे तिनी आमा संसार भरका उत्पीडित देश र भूमिका होउन्
जो सन्तानको मुहारमा हाँसो खोजिरहेछन्

सन्तानको जीवन रोजिरहेछन्
सन्तानलाई केही नहोस् भनेर अनेकौं कामना गरिरहेछन्
युद्ध,धम्की र हतियारको होडको विरोध गरिरहेछन्
यस धर्तीमा जीवन छ र त संसार सुन्दर छ
आमाहरु संसारमा हाँसो खोजिरहेछन् ।
मितिः २०८३ वैशाख  ४ काठमाण्डौ ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित