हिउँ परेको बेला

मनु वि.क.
पौष महिनाको बेला छ । बाहिर निकै जाडो छ । सबै सबै जीवहरुलाई जाडोसँग संघर्ष गर्न गाह्रो भइरहेको छ । तलतिर खोला छङछङ गरेर एकहोरो बगेको आवाज आउँछ । खोलाको चिसो बतास हान्निँदै माथितिरै दौडिरहेको आभास हुन्छ । खोलाको चिसो बतासको सिरेटोले मुटु नै छेड्न खोज्छ । गोठमा गाई, भैंसीहरु चिसोले हानेर लुगलुग कामिरहन्छन् । पुस महिना त्यसै पनि घामको मुख देख्न गाह्रो हुन्छ । घाम लागिहाले पनि माथिल्लो डाँडाले घाम दिउँसै छेकिदिन्छ,बिहान उदाउँदा पनि ११ बजे घटि घाम देख्न पाइँदैन । यसो उसो सुकाउने,उठाउने गर्नलाई दिनको दुई बजे भित्र नै गर्नु पर्छ । दिउँसो दुइ बजेपछि घाम अस्ताए सरह ओझेल आएर लमतन्न परेर भोलि बिहान ११ बज्दासम्म बसिरहन्छ ।
बुढाबुढी र केटाकेटीहरुलाई निकै सास्ती हुन्छ । लुगाहरु धोएका सुक्न आधा महिना जति लाग्छ । आगोमा सुकाएर आधा सुकेको आधा चिसो जस्तो पनि लगाउनु पर्छ । चिसोबाट जोगिन निकै गाह्रो छ । घर भन्दा केही तल बाँसघारीमा चराहरु कल्याङ मल्याङ गरिरहन्छन् । पुस महिना बाँसघाँस काटेर बाँस रित्तो रित्तो हुँदैछ । चराहरु चिसो सिरेटोले हानेर आत्तिएका हुन्छन् । चराहरुका भूवाहरु चिसो सिरेटोले फुरुरु उडाउँदा च्याप्प डाली समाएर चराहरु धानिने कोशिश गदर्छन् । बचेराहरु होस या चराहरुको समुह सिरेटोबाट बच्न बास बस्ने बेलामा एक अर्कामा टाँसिएर बस्छन् । एक अर्काले ढाकेर,ओतेर बस्छन् ।
दुइदिनदेखि वर्षासँगसँगै गाउँमा हिउँ सेताम्मे भएको छ । माथि लेकमा हिउँ निकै बाक्लो परेको छ । पहिले पहिले त हिउँ तलसम्म नै बाक्लो पथ्र्यो रे, तर अचेल तलतिर कहिलेकाहीँ मात्रै पर्ने गरेको छ । बाक्लो हिउँ पर्दा खेती हुन्थ्यो रे,तर अचेल हिउँ कम पर्न थालेपछि खेती पनि कम भएको हो रे भनेर बुढापाकाले भन्ने गरेका छन् । हिउँ सँगै आएको सिरेटो सहेर जुनमति घरबाहिर पिँढीमा बसिरहेकी छ । उससँग चारवर्षे छोरी पनि छ । केटाकेटी स्वभाव छोरी काखमा मात्रै बस्न चाहँदिन्न । कहिले यता हेर्छे ,कहिले उता हेर्छे । उसको लोग्ने अर्कै ठाउमा काम गर्न गएको छ ।
छोरीले ढोकामा उभिएर भित्र हेर्न खोज्छे । ढोकाबाट भित्र अगेनोमा आगो बलिरहेको छ । अगेनाको वरिपरि सबै जना झुम्मिएका छन् । आगोमा जान पाए हुने थियो जस्तो छोरीले गर्दा जुनमति टोलाइरहन्छे । छोरी ढोकाको दुइपट्टि हात राखेर यसो चियाउँछे । चियाउँदा भित्रबाट एउटा आवाज आउँछ “बोक्सा छ,बोक्सा नहेर,उता जा” त्यो आवाजपछि छोरी ह्वात्तै जुनमतिको काखमा आउँछे । सायद आवाजले डर लाग्यो होला । आवाज सुनेर छोरीले आमा के भनेको? भन्दै सोध्छे । जुनमति केही नबोलेर टोलाईरहन्छे ।
भित्र निकै गुन गुन गरेको, कहिले हाँसेको, हल्ला गरेको आवाज एकहोरो पिँढीमा आएर ठोक्किन्छ । छोरीले फेरी के हो? भनेर ढोकामा हेर्न जान्छे,फेरी भित्र रहेको बच्चाको आवाज आउँछ “यहाँ बोक्ठा ठ, टिमी नहेर”।(यहाँ बोक्सा छ तिमी नहेर) छोरी फेरी जुनमतिको काखमा आउँछे । आगोको तातोसँगै निस्केको हल्ला र आवाज फेरी ढोकाबाट बाहिर पिढीमा बसेको जुनमति र उसको छोरीभएको ठाउँमै आउँछ । छोरीलाई के भयो भन्ने लाग्दो हो फेरी ढोका मै हात राखेर भित्र हेर्न थाल्छे । जुनमति के बोल्ने ,के नबोल्ने अल्ल न मल्ल परिरहन्छे । भित्रबाट ढोका ढ्याम्म बन्द हुन्छ । छोरी फेरी जुनमतिको काख मै लुटपुटिन्छे ।
यतिकैमा निकै अँध्यारो भयो । हिउँसँगै आएको पानी र चिसो हावाले ढाड नै खाला जस्तो भयो । जुनमतिले छोरीलाई काखमा अँठ्याएर राखी । पिँढीमा म्याउँ म्याउँ गर्दै बिरालो आयो । विरालो ढोकानिरै गएर म्याउँ म्याउँ गरेर करायो । बिरालो कराएको सुनेर जुनमतिको छोरीले पनि चासो दिएर सुनी । बिरालो जुनमति र छोरी भएकोतिर आएन,ढोकामा नै कराइरह्यो। बिरालो कराएको आवाज सुनेर भित्रबाट ढोका खोलियो । बिरालो भित्र पसेर अगेनो छेवैमा बसेको आगोको उज्यालोले देखियो । बिरालोले चिसो जीउ चाटी चाटी ततायो । भित्र बसेका जुनमतिको ससुराले उसलाई च्याप्प समातेर काखमा राखे । बिरालो सन्च मान्दै उनको काखमा बस्यो । बिरालो काखमा बसेको छोरीले पनि हेरिरही ।
भित्र अगेनोमा आगोसँगै मीठा मीठा भोजनहरु मासु सहित पाक्दै थियो । अघिसम्म बाहिर बसेको कुकुर भित्र जान खोज्यो । उसलाई“आइज” भन्दै बोलाइयो । उ पुच्छर हल्लाउँदै भित्र गयो र ढोकैनिर बस्यो । उसलाई कसैले बाहिर जा भनेनन् । जुनमतिको छोरीले हेरिरही ।
भित्र खाना पाक्यो । सबैले खाना खाए । जुनमतिको छोरी र आमा बाहिर बसिरहे । चिसो आएर कमाइरहेको थियो । हिउँ पर्न केही रोकिएको थियो । भित्रबाट थालमा भात राखेर जुनमतिको नन्दले बाहिर ल्याइन् र भात राखिदिँदै भनिन् “भात ल” । भात, भनेपछि जुनमतिको छोरीले ‘म खान्छु’ भनी बाहिर धारामा हात धोएर दुवै जनाले एउटै थालमा भात खान लागे । भात उत्तिखेरै चिसो भइसक्यो । जुनमतिले छोरीलाई छिटो छिटो खुवाइ । छोरीले पुग्यो भनेपछि आफूले खान थाली । भात निकै चिसो थियो । त्यही पनि खानु त प¥यो भात पेटमा पुग्दा अझै चिसो भयो ।
भात खाएर आफुले खाएको भाँडा माझेर आफुनिरै राखी । अब भित्र सबै सुत्ने तरखर गर्न थाले । जुनमति र छोरी बाहिर सुत्नु प¥यो । जुनमतिले बच्चालाई सकभर न्यानो पार्ने कोशिश गरी । आमाको काखको न्यानो पाएर छोरी छिट्टै निदाइ । जुनमतिलाई रातभरि निन्द्रा लागेन । सिरेटोले हानिरह्यो । रातभरि चिसो आइरह्यो । चिसोले सताएर बाँसघारीका चराहरु गल्याङगुलुङ गरेको आवाज पटक पटक आइरहे ।
जुनमतिको दिमागमा अघिसम्म देखिएका कुराहरु एक एक गर्दै घुमे । जुनमतिको मन कहिले रोयो । कहिले निकै निराशियो । कतै आशाका तानाहरु पाइन्छन् कि भन्दै मनमा खेलाउँदै पल्टिइ । जुनमतिले सोची–“किन यसरी ठूलो जातिकोमा बिहे गरे हुँला ? किन यसरी घरकाले बुहारी र आफ्नै नातिनीलाई पनि यस्तो व्यवहार गरेका होलान् ? हेर त मानिसलाई मानिस नसोचेको किन होला ? मत तल्लो जातको छोरी रे,उनको नातिनी त आफ्नै छोराको छोरी त हो नि ! आफ्नै नातिनीलाई पनि“भित्र बोक्सा छ” भन्दै छिर्नै दिएनन् । हेर त मन कस्तो, किन नसोचेको होला ? हैन मान्छेले मान्छेलाई यस्तो व्यवहार कहिलेसम्म गर्ने हुन् ? के हाम्रो मन दुख्दैन ? ओहो यो समाजमा,सानो जात भनिएकाहरुले कति विभेद सहनु परेको होला? कहिलेदेखिको विभेद होला ? मत ठूलो भएँ,बच्चालाई त के थाहा त्यसो नगरेको भए हुने थियो नि ! हैन यो त अब कसरी सहने ?
जुनमतिको मनमा रातभरि प्रश्न,पीर उथलपुथल भयो ।
एकातिर बाहिर सुत्नु जाडोले कमाएको छ । अर्कोतिर बाहिर केही,कोही आएर आक्रमण गर्ने हुन् कि भन्ने डर लागिरह्यो । रातको समय पारीको जंगलबाट एकहोरो हुँहुँ, हुँहुँ ……गरेको आवाज आइरह्यो । आक्रमण गर्न आएमा के गरेर लड्ने होला र जीउ बचाउने होला भन्ने भइरह्यो ।
रातको सन्नटामा ढोका भित्र मस्तसँग घुरेको आवाज बाहिरसम्मै आइरह्यो । जुनमति कहिले यता कहिले उता कोल्टिँदै पल्टिँदै रही । डर र पीर मान्दा मान्दै रात उज्यालो हुन लाग्यो । उज्यालो त आयो अब रातमा लागेको डर त भाग्ने भो भन्दै जुनमति मन मनमा सोची ।
रातभरि बाँसघारीमा चिसोसँग संघर्ष गरेका चराहरु कराउन थाले उज्यालो फुरुर्रु भयोे । भित्र सुतेकाहरु उठेर यता उता काम गर्न थाले । जुनमति पनि उठेर बसी । बुहारी मान्छे घरको काम गर्न पर्ने तर भित्र पस्न छैन । काम अह्राउने पनि छैनन् । दिए खायो । नदिए पिँढीमा बस्यो । यता उता हिँड्नु हुँदैन । सबै छोइन्छ । वस्तुनजिक जानु हुँदैन छोइन्छ । सकभर मान्छे बोल्नै चाहँदैनन् । बोलेमा पनि एक वचन, दुइवचन बाहेक बोली नै छैन । एक वचनको प्रश्न एक वचनमा नै सकिन्छ । एक वचनको उत्तर एक वचनमा नै सकिन्छ । लाग्छ यहाँ बोल्न र हृदय खोल्न हुँदैन त्यो पनि ‘अछुत’ छ ।
मान्छेहरु एक एक उठ्छन् । भित्र जान्छन् बाहिर आउँछन् । बिरालो बिहानै निस्कयो । भित्र बसेको कुुकुर पनि बाहिर निस्क्यो ।
जुनमतिको छोरी उठी । मानिसहरु भित्र बाहिर गरेको हेरेर उसलाई अचम्म लाग्छ । मानिसहरु भित्र बाहिर गरेको हेरेर छोरी निकै ध्यान दिन्छे । बोल्न केही आउँदैन । जुनमतिको ससुरा खोक्दै उठेर बाहिर आएर भने “हैन राटि टिमीहरु कसरी सुट्यौ,राटिमा डर लाग्यो कि लागेन ?” (राति तिमीहरु कसरी सुत्यौ ? राती डर लाग्यो कि लागेन?) जुनमति केही बोलिन । के बोल्ने ?, डर लागे पनि जाडो भए पनि ,जे भए पनि जुनमति र जुनमतिको छोरीलाई नै भएको थियो । जुनमतिले मात्र ससुराको मुखमा हेरिरही । छोरीले चरा जस्तै बोलेर भनी “हजुबा मत निदाउने बेलामा धेरै डर लागेको थियो तर निदाएपछि त थाहा भएन ।” नातिनीको कुरा सुनेर टाउको हल्लाएर हजुरबा भित्र पसे । भित्र बिहानको खाना नास्ता बन्यो । हिउँ पर्न छोडेपनि चिसो भने गएको थिएन । चिसोले मुटुमै घोचिरहेको थियो । भित्र हिजो जसरी मान्छेहरु आगोको तापमा बसिरहेका थिए ।
आगोमा तापिएर मात्रै भएन,गाइवस्तुलाई खुवाउनु प¥यो । दुइदिनदेखि हरियो घाँस खान नपाएका गाइवस्तुहरु घाँस खान आत्तिएका छन् । बाख्राहरु पनि चराउन पाइएको छैन । बुढाले ख्वाक्क खोक्दा पनि बाख्राहरुले खोरबाट म्याँ,म्याँ गर्दै कराउँछन् ।
सबैले भात नास्ता खाए । जुनमति र छोरीलाई पनि बाहिरै खाना आयो । दुइ जनाले बाहिर बसेर खाए । घाम आउला आउला जस्तो भएको छ ,आकाश उघ्रिएको छ । रातभरि बाँसघारीमा कराउँदै बसेका चराहरु ओल्लो पल्लो डाँडामा उडिरहेका छन् । खानाको खोजीमा जमिनमा झर्दै डालीमा बस्दै गरेका छन् । जुनमति एकहोरिएर त्यही चराहरु हेरिरहन्छे । चराहरु एकैछिनमा पारी पुग्छन् ,एकैछिनमा वारी पुग्छन् । जुनमति मनमा अनेक कुरा सोचिरहन्छे । मान्छे नबोले पनि कुरा सोच्ने गर्दछ । मान्छे चेतनशील प्राणी हो । मान्छे बाहिर दुःख नदेखाए पनि उसको मनमा पीर भएको हुन्छ । खुशी देखिएपनि भित्र भित्रै जलन हुन्छ । मान्छेले मान्छेमाथि गरेको विभेद सहनु पर्दा सहनेवालाको मनमा अनेक रीस,आवेग र आक्रोशको जन्म हुन्छ ।
जुनमति टोलाउँदा टोलाउँदै घरका कोही घाँँँस, दाउरा गर्न जंगलतिर हिँडे । कोही बाख्रा चराउन जाने भए । सबै जना काममा जान थाले पछि सानी छोरीलाई घरमै छोडेर जाने भए । ढोकामा ताल्चा लगाएर सबै जना हिँडे । बाख्रा खोरबाट निकालियो । बाख्राका दुइटा पाठापाठीलाई त्यही डोकाले थुनेर राख्ने चलन थियो । चराउन जाने बेलामा बाख्राको पाठा पाठीलाई डोकाबाट छोडियो । माउ बाख्रीले चराउन जाने बेलामा बच्चाहरुलाई दूध चुस्न दिइ । दुइटाले खुबै रमाउँदै,साना पुच्छर हल्लाउँदै,अगाडिका दुइ खुट्टा टेकेर दूध चुसे । जुनमतिको छोरीले बाख्राको बच्चाले दूध चुसेको निकै ध्यानपूर्वक हेरी । जुनमतिको छोरीले बाख्राका पाठापाठीलाई दूधचुसेको हेर्दा पाठापाठीको मुखको काप कापमा सेतै भएको थियो ।
बाख्राहरुलाई चराउन लखेट्दै निकै पर पु¥याइयो । माउले म्याँ …म्याँ… गरी । पाठापाठी आमालाई स्वरले पछ्याइरहे तर डोकाभित्र मात्रै । बाख्राको माउ र अन्य बाख्राहरु धेरै पर पुगे । घर सुनसान भयो । घरकी सानी छोरीले बाख्राको पाठापाठीलाई पालैपालो काखमा राखेर खेलाउन थालिन् । उनले जुनमतिको छोरी तिर हेरेर भनिन् “टिमी पनि खेलाउँछौ ?” (तिमी पनि खेलाउँछौ ?)जुनमतिको छोरीलाई के खोज्छस् कानो आँखो भने जस्तो भयो । मनले धेरै खेलाइसकेको बाख्राको पाठापाठी खेलाउन पाउँने भए भनेर फुरङ्ग पर्दै घरकी सानी छोरी नजिकै गएर भनी “देउ मलाई”जुनमतिको छोरीले एउटा र घरकी सानी छोरीले एउटा पाठापाठी काखमा राखेर खेलाउन थाले । जुनमतिको छोरीलाई बाख्राको बच्चा पाउँदा सारा संसारै पाए जस्तो भयो । बाख्राको बच्चा मुसार्दै जुनमतिको छोरीले भनी “मुनेको कान त कस्तो राम्रो है” छोरीले आफ्नै कान निरै लगी र मुनेको मुख गालामा टाँसी । घरकी सानी छोरीले पनि त्यस्तै गरी खेलाइन् । जुनमतिले पिँढीको छेउमा बसेर हेरीरही ।
उनीहरु आफ्नै तालमा खेल्न थाले । उनीहरु बाख्राको पाठापाठीलाई कहिले खेलाए कहिले उनीहरुलाई खेल्न छोडिदिए । बाख्राको पाठापाठीहरुसँगै मिलेर सुते,उठे,कुदे,खेले बाख्राका पाठा पाठी घाँसका पातहरुमा चरे । बाख्राको पाठापाठी जस्तै जुनमतिको छोरी र घरकी सानी छोरी पनि खेल्न थाले । घाम घरको पाखामा आएर तातो भयो । जुनमति पनि रातभरिको चिसो जीउलाई तताई । घाम ताप्दै माथि माथि डाँडामा हेरिरही । आँखाहरुले नजिक मात्रै हेर्न खोज्दैनन् ,पर पर पनि हेर्न खोज्छन् । जुनमतिले आफ्नै मनलाई सम्हाल्दै नागवेली परेका पहाडका थुम्काहरु छिचोल्दै क्षीतिजमा हेरेर कुरा सोचिरही । सुसाउँदै बगेको खोलाले पारेको खोलाको डोरो हेरेर,बाङ्गाटिङगा बाटोहरु हेरेर मनमा अनेक कुरा खेलाइरही ।
दिनभरि दुइ जना बच्चाहरु सबै कुरा भुलेर आफ्नै संसारमा खेल्न थाले । उनीहरुलाई खेल्नमा रोक्ने कोही थिएन । उनीहरु धारामा गए । पानीमा साना साना हातले माटो भिजाए । पानी धेरै भएर माटो बगाउन थाल्दा सानो सानो हातले माटोलाई रोकेर माटो मुछे । दुवै जना मिलेर चरी बनाए । दुवै जनाले दाउराको दुइटा सिन्का भाँचेर माटोको चरीमा गाडे । अब चरी उभियो । चरी उभिएको देखेर दुवै जना एक अर्कालाई हेरेर मुस्कुराए । उनीहरुको मुस्कान हेरेर जुनमतिको मन धेरै खुशी भयो । चरी उभिएपछि घरकी सानीले भनिन् “कस्टो राम्रो चरी बन्यो है”(कस्तो राम्रो चरी बन्यो है ) जुनमतिको छोरीले भनिन् “हो ,हामी दुइ जनाले मिलेर कस्तो राम्रो बनाउन जान्यौं है” दुवै जना रमाए ।
उनीहरुलाई माटोको चरी बनाउन पुग्यो । उनीहरु भात पकाइ खेल्न थाले । भात धूलो माटोको थियो,थाल पातको थियो । चलाउने डाडु ,पनियो दाउराको थियो । उनीहरुले एक आपासमा मिलेर भात पकाए । भात पकाएजस्तो गरेर खाए जस्तो पनि गरे । यस्तैमा जुनमतिको छोरीले भनिन् “तिम्रो दिदी,आमाले हामीलाई भात किन बाहिर दिन्छन् ? तिमी र म भित्र बसेर अहिले सँगै खाए झै खान कति मिठो हुन्छ होला है ?”जुनमतिको छोरीको कुरा सुनेर घरकी सानी छोरीले भनिन्“होटनी सँगै खान मिठो हुन्छ टर आमा ,डिडीले डिडैनन् । बाले पनि डिडैनन् ।”( हो त नी सँगै खान मिठो हुन्छ तर आमा दिदीले दिँदैनन् बाले पनि दिँदैनन् ) यत्तिकैमा तिम्रो भित्र त विरालो पनि छ ,जान्छ है ? भनेर जुनमतिको छोरीले भनिन् । घरकी सानी छोरीले भनिन् “हाम्रो भिट्र ट कुुकुर पनि जान्छ ।”(हाम्रो भित्र त कुुकुर पनि जान्छ )
उनीहरु यस्तै यस्तै खेल्न थाले । उनीहरु खेलेको देखेर जुनमति खुशी भइन् । बाख्राको पाठापाठी म्याँ म्याँ गरेर कराउन थाले । पाठापाठी कराएको आवाज सुनेर आमाले पारीबाट मायालु पारामा म्याँ म्याँ गरी । आमा आउने आसले बच्चाहरु निकै खुशी भए । उनीहरु उस्तै पारामा कराउन थाले कराउँदा कराउँदै उनीहरु आमालाई नै भेट्न केही पर बाटासम्म पुगे । पुगेर उनीहरुले आमाको दूध बाटामा नै चुसे । पाठापाठी कता गए भनेर जुनमतिको छोरी र घरकी सानी बोलाउन थाले “आउ मुने आउ ।” जुनमतिले यो सबै हेरेर बसेकीथिइ । जंगलबाट आए पछि सबै बाख्रा खोरमा थुनियो । पाठापाठीले आमाको दूध चुसे र आनन्द मानेर बाहिर छुनुछुनु खेल्न थाले । माहारा गएका मान्छे आएर ढोका खोलेर भित्र पसे । ढोका खोलेर भित्र पस्दा कुखुराको माउले चल्लालाई बोलाउँदै भित्र पसी । भित्र पसेको मान्छेले उनीहरुलाई मकैको आँटो ल्याएर बाहिर राखिदिए । उनीहरुले खुशी हुँदै खाए । जुनमतिको छोरी र घरकी सानी त्यही खेलेको बेलामा आमाले भित्रबाट बोलाइन् “भिट्र आइजा” (भित्र आइजा) घरकी सानी नबोलेर भित्र गइन् । भित्र गए पछि आमाले भित्र राखेको खाना खान दिइन् । खाना खाएको जुनमतिको छोरीले बाहिरबाट हेरेर बसी । आमा छोरी बाहिर परतिर हेरेर बसे । रात परिसक्यो । साँझको खाना पाक्ने बेला भयो । वनमा गएकाहरु पनि सबै आए । सबैले बाख्रा, कुखुरा थुने । बाख्रा कुखुरा थुने पछि सबै जना घर भित्र पसे । जुनमति र छोरी पिँढीमा बसे । आज हिजोजस्तो जाडो अलि थिएन । पारी जंगलमा लागेको हिउँ अलिकता हरियो भएको थियो । जाडो भने हराउने कुरा भएन ।
रात प¥यो । उनीहरु हिँजो जस्तै बाहिर बस्नु प¥यो । उनीहरुलाई भात बाहिर आयो । उनीहरु आमाछोरीले भात खाए । भाँडा माझे । छोरी आमाको छातीमा टाँसिएर सुती हिँजोजस्तै । हिँजो रातभरि ननिदाएकोले आज खाना खानेबित्तिकै निन्द्रा लाग्यो । निदाउँदा जुनमतिले सपना देखी । घरभित्र सबै जना सँगै बसेको । सबै जना सँगै खाएको । उसले आफ्नो श्रीमान पनि सँगै भएको र श्रीमानले आफूलाई समाउँदै हिँडेको सपना देखी । सपनाबाट झल्याँस्स बिउँझिइ । बिउझिए पछि उ रातभरि निदाउन सकिन । उसको मनमा एक एक गरी कुरा खेल्न थाले । ठूलो जातिको छोरासँग विवाह गरेको । विवाहको बेला आफ्नो श्रीमानले सम्झाउँदै हिँडेको र घर जाँदा भोग्नु परेको अछुतको व्यवहार एक एक गरी रातभरी मनमा घुमिरह्यो । मनमा कुरा खेल्दा खेल्दै उज्यालो भयो । जुनमतिको श्रीमान पनि घरमा आउने दिन पनि नजिकै आएको थियो । जुनमतिको मनमा अनेक आशाका फूलहरु फुलिरहे । २०८२ कार्तिक २९ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित