मोहन वैद्य ‘किरण’
धर्मप्रतिको माक्र्सवादी दृष्टिकोणको उल्लेख गर्ने प्रक्रियामा सर्वप्रथम धर्म के हो भन्नेबारे चर्चा गर्नु आवश्यक छ । यो विषय धेरै विस्तृत छ, परन्तु यहाँ संक्षिप्तमा जाने प्रयास गरिएको छ । हिमाली उपमहाद्वीप र पश्चिममा धर्मबारेको बुझाईमा अथवा भनौं धर्म शब्दको अर्थ र परिधिबारे केही भिन्नता पाइन्छ । उत्पत्तिको हिसावमा पश्चिमको रिलिजन र यहाँको धर्मबीच अन्तर देखा पर्दछ । पश्चिममा धर्मको कुरा गर्ने वित्तिकै मुख्यतः ईश्वरको कुरा आउँछ । परन्तु यहाँ त्यस्तो छैन ।
धर्मबारे विभिन्न विचारकहरुले आ–आफ्ना धारणा प्रस्तुत गर्दै आएका छन् । भारतीय उपमहाद्वीपमा धर्मलाई विभिन्न रुपमा परिभाषित गर्ने र त्यसलाई विभिन्न श्रेणीमा राखेर हेर्ने काम गरिएको छ । यस सन्दर्भमा निम्न कुरामा ध्यान दिन जरुरी छ ।
पहिलोः धर्मलाई वस्तुको स्वभाव र लोकमान्यताका आधारमा ग्रहण गर्ने दृष्टिकोण । यो दृष्टिकोण अनुसार कुनै वस्तुको स्वभाव, प्रकृति वा गुणलाई धर्म भन्ने गरिन्छ, जस्तो पानीको गुण चिसो, आगोको गुण तातो, खुर्सानीको गुण पिरो आदि । त्यस्तै, कतिले परापूर्वकालदेखि समाजमा प्रचलित रहिआएको लोकमान्यतालाई धर्मका रुपमा लिने गर्दछन् । जस्तो कि महाभारतमा धारणात् धर्ममित्याहु अर्थात् जुन धारण गरिन्छ त्यही धर्म हो भनिएको छ । यसलाई अझै स्पष्ट शब्दमा चाणक्यनीतिमा धर्मो धारयति लोकः अर्थात् लोकले जुन धारण गर्दछ, त्यो धर्म हो भनिएको छ । शायद प्रारम्भमा यसैलाई सनातन धर्म भनिन्थ्यो होला ।
दोस्रोः धर्मलाई कर्मको उत्प्रेरणा वा विधिविधानका रुपमा लिने दृष्टिकोण । यो पूर्वमीमांसामा आधारित दृष्टिकोण हो । पूर्वमीमांसा दर्शनमा भनिएको छ–चोदना लक्षणोर्थो धर्मः । अर्थात् कर्मबारे प्रेरणा दिने र विधिविधान प्रस्तुत गर्ने काम नै धर्म हो । यो दर्शन वेदनमा आधारित रहेको छ । मनुस्मृतिले पनि वेदलाई नै मूल मानेर चलेको छ । त्यसमा भनिएको छ–बौखिलो धर्ममूलम् अर्थात् वेद नै सबै धर्मको मूल हो । धर्मबारे मनुस्मृतिको वास्तविक धारणा यस्तो छ–आचारः परमो धर्म, श्रुत्युक्त स्मार्त एव च । अर्थात् श्रुति र स्मृतिमा बताइएको आचार नै परमधर्म हो । यसले धर्मको परिधिलाई बेदमा र मुख्यतः मनुस्मृतिमा उल्लिखित आचारमा कैद गर्दै त्यसैलाई परम्धर्म अर्थात् सबैभन्दा उच्च धर्म घोषित गरेको छ ।
तेस्रोः धर्मलाई लोकको उन्नति र कल्याणका रुपमा लिने दृष्टिकोण । यो श्रेणीमा वैशेषिक दर्शन आउँछ । वैशेषिक दर्शनमा भनिएको छ–यतो भ्युदय निः श्रेयससिद्धिः स धर्मः । अर्थात् जुन चीजबाट लोकको उन्नति र कल्याण हुन्छ त्यही धर्म हो ।
उपर्युक्त परिभाषाहरुमध्ये धर्मको सबैभन्दा कठोर परिभाषा मनुस्मृतिको परिभाषा हो । स्मरण रहोस्, मनुस्मृतिमा दिइएको परिभाषासम्ममा पनि धर्मका सन्दर्भमा ईश्वरको उल्लेख गरिएको छैन । यी भनाइहरुबाट के बुझिन्छ भने यहाँ धर्म मूलतः ईश्वर नभई अलौकिक शक्तिमा विश्वास र नैतिक आचरणसँग सम्बन्धित देखिन्छ । राहुल साङ्कृत्यायन भन्दछन्–“धर्मको सार हो कुनै अलौकिक शक्तिमा विश्वास ।” धर्मबारे प्रस्तुत राहुल सांकृत्यायनको यो भनाई मूलतः ठीक छ ।
परन्तु यसको अर्थ के होइन भने यहाँ ईश्वरको कुनै महत्व छैन । वास्तविक कुरा त के हो भने यो उपमहाद्वीपमा जति ईश्वर अन्यत्र कतै छैनन् । यो तेत्तीस कोटी देवताहरु भएको थलो हो । लाग्छ, यहाँ देवताहरुको यति ठूलो संख्या भएको समयमा मानिसहरुको संख्या त्यो भन्दा कैयौं कम थियो । त्यो बेला एउटा मान्छेको हिस्सामा तीन चार वटासम्म देवताहरु पर्न सक्दथे । यसको अर्थ ती देवताहरुद्वारा यहाँ मानिसहरु आतंकित थिए भन्ने पनि होइन किनभने ती देवताहरु सुरुमा बढी प्राकृतिक र मानिसजस्तै थिए । यो स्थितिमा देवताहरुमा एक परमदेवता वा परमेश्वरको अवधारणा विकसित गरियो । साङख्य, बौद्ध, जैन, चार्वाक लगायतका वैचारिक मतहरु त्यसप्रकारको ईश्वरवादका विरोधी रहे । त्यो स्थितिमा यहाँ धर्मको परिभाषाको केन्द्रविन्दु वेदलाई बनाइयो र बेद मान्नेहरुलाई आस्तिक वा धार्मिक र नमान्नेलाई नास्तिक वा अधार्मिक बताइयो । जस्तो कि मुनस्मृतिमा भनिएको छ–नास्तिको वेद निन्दक ः । अर्थात् वेदको निन्दा गर्ने नास्तिक हो । परन्तु,यसरी मात्र पनि धर्मको आम परिभाषा खुल्न सक्दैन र यहाँ धर्मको कुनै सर्वसम्मत परिभाषा पनि छैन । त्यो स्थितिमा के भन्न सकिन्छ भने यहाँ धर्म ईश्वरसँग मात्र सीमित नरही आध्यात्मिक विचारसम्म फैलिन पुगेको छ । यस अर्थमा भारतीय उपमहाद्वीपीय सन्दर्भमा धर्म भनेको कुनै अलौकिक वा आध्यात्मिक शक्तिमा विश्वास गर्नु हो । परन्तु यत्ति मात्रले पनि यहाँ धर्मको समग्र ऐतिहासिक सन्दर्भलाई समेट्न सक्दैन । यसरी हेर्दा निष्कर्षमा के भन्न सकिन्छ भने यहाँ प्राकृतिक शक्तिमा बढी विश्वास गर्ने अलौकिक मान्यता र नैतिक आचरणदेखि लिएर ईश्वर र लौकिक शक्तिसम्मको विशाल परिधिलाई धर्मको रुपमा समेट्न खोजिएको देखिन्छ । धर्मस्थिर होइन निरन्तर विकसित हुँदै आएको छ । हरेक धर्मका आ–आफ्ना विश्वास, मान्यता र विधिविधान हुने गर्दछन् ।
माक्र्सले आफ्नो प्रसिद्ध रचना पुँजीको पहिलो खण्डमा भन्नुभएको छ–धार्मिक संसार वास्तविक संसारको प्रतिबिम्ब मात्रै हुन्छ । धर्म के हो त ? एंगेल्स भन्नुहुन्छ–“हरेक प्रकारको धर्म मानिसको मस्तिष्कमा ती बाह्य शक्तिहरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले उनीहरुको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शक्तिहरुले अलौकिक शक्तिहरुको रुप धारण गर्दछन् । इतिहासको प्रारम्भमा पहिले प्रकृतिका शक्तिहरु यसरी नै मानिसका मस्तिष्कमा प्रतिबिम्बित भएका थिए । अगाडि जुन विकास भयो त्यसै सिलसिलामा तिनै शक्तिहरुले विभिन्न जातिहरुका बीचमा विभिन्न प्रकारले मूर्त रुप धारण गरे । … ती काल्पनिक आकृतिहरु जसले सुरुमा केवल प्रकृतिका रहस्यमय शक्तिहरुलाई नै प्रतिबिम्बित गर्दथे, यो विन्दुमा आएर सामाजिक विशिष्टतालाई ग्रहण गर्दछन् र इतिहासको शक्तिका प्रतिनिधि बन्दछन् । विकासको अझै अगाडिको अवस्थामा अनेक देवताहरुको सबै प्राकृतिक तथा सामाजिक गुण एक परम् शक्तिशाली ईश्वरमा स्थानान्तरित गरिदिने काम हुन्छ, जो केवल अमूर्त मानिसकै प्रतिबिम्ब हो । एकेश्वरवादको उत्पत्ति यसरी नै भएको थियो ।” धर्म र ईश्वरबारेको एंगेल्सको यो विचार अत्यन्तै सटीक र वैज्ञानिक रहेको छ ।
नेपालको प्राचीन धर्म प्राकृतिक धर्म हो । यसलाई बोन धर्म, धामीबाट, झाँक्रीवाद पनि भनिन्छ । यो तन्त्र, मन्त्र, जादुटुना, झारफुक, बलि, पुजाआजालगायतका मान्यतामा आधारित छ र यसमा नारीलाई आद्यशक्तिका रुपमा ग्रहण गर्ने मातृसत्तात्मक कबिला–समाजका मान्यता पनि सन्निहित रहेका छन् । नेपालको दोस्रो धर्म वैदिक धर्म हो । यो यज्ञ, बलि, कर्मकाण्डमा आधारित रहेको छ । सर्वप्रथम यो विदेह क्षेत्र र तराईमा फैलिएको अनुमान गर्न सकिन्छ । त्यसपछि यहाँ क्रमशः बौद्ध, जैन, शाक्त, शैव, वैष्णव धर्म र पछि इस्लाम तथा इसाई धर्मको प्रभाव परेको पाइन्छ ।
हिमाली उपमहाद्वीपमा हिन्दुधर्मले एउटा उत्पीडक धर्मको भूमिका खेल्दै आएको छ । हिन्दुधर्म वैदिक औपनिषदिक कर्मकाण्ड तथा स्मृतिहरुमा विकसित ब्राहमणवाद र शाक्त, शैव, वैष्णव धर्मको संश्लेषणबाट विकसित भएको छ । यो धर्म वर्णाश्रमव्यवस्था, जातपात, छुवाछूत, पितृसत्तावाद, पूर्वजन्म पुनर्जन्म, ईश्वर, दैव, भाग्यवाद, अवतारवाद लगायतका मान्यतामा आधारित छ । लिच्छविकालदेखि प्रारम्भ भई मध्यकालमा व्यापक रुपमा विस्तारित हुँदै सामन्तवादी केन्द्रीकरणको प्रक्रियाका बीचबाट राणाकालसम्म आउँदा यसले उत्कर्ष प्राप्त ग¥यो र पंचायती कालमा संविधानमै हिन्दुधर्मलाई राज्यको धर्म घोषित गरियो । यो धर्म नेपाली सामन्तवादका प्रतिनिधि संस्थाका रुपमा विकसित राजतन्त्रको संरक्षक तथा तल्लो वर्ग, महिला, दलित एवं जनजातिहरुका लागि उत्पीडक रहिआएको छ । वर्तमानमा यहाँ मूलतः हिन्दु, बौद्ध, जैन, इस्लाम, शिख र ईसाई धर्म पाइन्छन् । यहाँको सर्वप्राचिन धर्म प्राकृतिक धर्म हो र जसका केही अवशेषहरु अहिले पनि विद्यमान छन् । नेपाली सामन्तवादी समाजमा धर्मको बर्चश्व रहे पनि वैज्ञानिक चेतनाको विकाससँगै धर्मको प्रभाव पनि कम हुँदै गएको देखिन्छ ।
माक्र्सवादका प्रवर्तक माक्र्स र एंगेल्सले धर्मबारे निकै गहन विचारहरु प्रस्तुत गर्नुभएको छ । उहाँहरुका धर्मबारेका विचारहरु मूलतः यहुदी, इसाई र इस्लाम धर्मसँग सम्बन्धित अध्ययनमा आधारित रहेका छन् । माक्र्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो र धर्मप्रतिको माक्र्सवादी दृष्टिकोण पनि द्वन्द्वात्मक भौतिकवादी नै रहेको छ । तदनुसार विश्वको आदिकारण कुनै अलौकिक शक्ति अर्थात् आत्मा परमात्मा, आदि नभई प्रकृति अर्थात् पदार्थ हो । यो विश्व गतिशील पदार्थबाट बनेको छ । गतिशील पदार्थ नै यो विश्वको निर्माणका लागि कारण भएकोले यसको लागि कुनै अर्को अलौकिक कारण मान्नुपर्ने आवश्यकता छैन । मानिसले संसारको निर्माणका लागि जुन ईश्वर वा अलौकिक शक्ति परिकल्पना ग¥यो, त्यो उसको प्रारम्भिक समयको प्राकृतिक रहस्यप्रतिको अज्ञानताकै कारण हो ।
माक्र्सवाद वैज्ञानिक सिद्धान्त तथा विश्व दृष्टिकोण हुनुको कारण त्यसले कुनै अलौकिक शक्तिप्रति विश्वास गर्दैन । माक्र्स भन्नुहुन्छ–“धार्मिक व्यथा एक साथ वास्तविक व्यथाको अभिव्यक्ति तथा वास्तविक व्यथाको प्रतिवाद दुवै नै हो । धर्म उत्पीडित प्राणीको सुस्केरा हो, हृदयहीन संसारको मर्म हो तथा साथै निरुत्सााह परिस्थितिको उत्साह पनि हो । यो जनताका लागि अफिम हो ।” माक्र्सले धर्मलाई अफिम बताउनु भएको छ । अफिमको नशाले लट्ठिएको मानिसले एकछिनका लागि अनेकौं दुःख, कष्ट र चिन्ताबाट मुक्ति र त्राण त पाउन सक्दछ, परन्तु त्यो वास्तविक त्राण वा मुक्ति भने होइन । अफिम मानिसको असली त्राण वा मुक्तिदाता नभई अन्ततः हानिकारक हुन्छ । वास्तवमा मानिसका लागि धर्म पनि त्यस्तै हो ।
एंगेल्सले प्रारम्भिक ईसाई धर्मको तुलना आधुनिक समाजवादसँग गर्नुभएको छ । आधुनिक समाजवादको स्थापनाका निम्ति संघर्षरत मदजुरवर्गप्रति जुन अभद्र व्यवहार गरिन्छ, ठीक त्यसरी नै प्रारम्भिक ईसाई धर्म र इसा मसीहप्रति त्यो बेलाको शासकवर्गले पूरै दुव्र्यवहार गरेको थियो । ईसा मसीहलाई फाँसीसम्म दिइएको थियो । वैज्ञानिक समाजवाद र ईसाई धर्म दुवै उत्पीडित मानवजातिका मुक्तिका सिद्धान्त हुन् । पहिलोले यसै धर्तीमा मानवीय मुक्तिको मान्यता पेश गर्दछ भने दोस्रोले स्वर्गमा । त्यति मात्र होइन, धार्मिक आन्दोलनको प्रगतिशील भूमिकाप्रति पनि माक्र्स–एंगेल्सले राम्रो प्रकाश पार्नुभएको थियो । यूरोपीय मध्ययुगमा जब इसाई धर्मको क्याथोलिक शाखा पूरै कट्टर बनेर सामन्तवादको रक्षाका लागि वैचारिक हतियार बनेको थियो, ठीक त्यसैबेला त्यसै धर्मको अर्को शाखा प्रोटेस्टेन्टले सामन्तवाद र कट्टरपन्थका विरुद्धको संघर्षमा महत्वपूर्ण भूमिका खेलेको थियो । माक्र्सवादले यो संघर्षको उच्च मूल्यांकन गरेको छ ।
धर्मप्रतिको माक्र्सवादी दृष्टिकोणलाई विकसित गर्ने कार्यमा लेनिनको महत्वपूर्ण भूमिका रहेको छ । धर्मलाई व्यक्तिगत मामिला बताउने अवसरवादी चिन्तनको विरोधमा लेनिन भन्नुहुन्छ–“जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मान्नुपर्दछ । तर जहाँसम्म पार्टीको सवाल हो, हामी धर्मलाई कुनै पनि प्रकारले व्यक्तिगत मामिला मान्न सक्दैनौं ।” यहाँ लेनिनले धर्मप्रतिको माक्र्सवादी दृष्टिकोणबारे दुई कुरामाथि राम्रो प्रकाश पार्नुभएको छ । पहिलो कुरा, माक्र्सवादीहरुको आफ्नो दर्शन द्वन्द्वात्मक भौतिकवाद हो र त्यसैले उनीहरु धर्म मान्दैनन् । यो उनीहरुको आन्तरिक पक्ष हो । दोस्रो कुरा, माक्र्सवादीहरुको के मान्यता छ भने धर्मका मामिलामा राज्यले कुनै पनि प्रकारको हस्तक्षेप गर्नुहुन्न र यस प्रश्नमा जनतालाई स्वतन्त्रता दिनुपर्दछ । राज्यले धर्मसापेक्षता होइन, धर्मनिरपेक्षको पक्षपोषण गर्नुपर्दछ । यो धर्मप्रतिको कम्युनिस्टहरुले अवलम्वन गर्ने मूल नीतिको सैद्धान्तिक पक्ष हो ।
धर्मको विरोध गर्ने काममा यान्त्रिक भौतिकवादको महत्वपूर्ण भूमिका रहेको थियो तर त्यो अपूर्ण थियो । धर्मको विरोध गर्ने कुरा गर्दा यान्त्रिक भौतिकवादी वा अनीश्वरवादी दृष्टिकोण मात्र पर्याप्त हुँदैन । त्यसका लागि द्वन्द्वात्मक भौतिकवादी अर्थात् माक्र्सवादी पनि बन्नुपर्दछ । लेनिन भन्नुहुन्छ–“हामीले धर्मको विरोध गर्नुपर्दछ –यो समस्त भौतिकवादको र त्यसैले माक्र्सवादको कखरा हो । तर माक्र्सवाद कुनै यस्तो भौतिकवाद होइन, जुन कखरामा नै रुकोस् । माक्र्सवाद अगाडि बढ्दछ, हामीले धर्मको विरोध कसरी गर्ने भन्ने कुरा बुझ्नुपर्दछ र त्यसो गर्नका लागि हामीले जनसमुदायलाई धर्म तथा विश्वासको उत्पत्तिको स्रोत र कारणबारे भौतिकवादी तरिकाले सम्झाउनुपर्दछ । धर्मका विरुद्धको संघर्षलाई अमूर्त वैचारिक उपदेशसम्म मात्र सीमित गर्नुहुँदैन, त्यसलाई यस्ता उपदेशको रुप दिनु नै हुन्न । यो लडाइँलाई ठोस वर्ग आन्दोलनसँग जोड्नुपर्दछ । जसको लक्ष्य धर्मका सामाजिक जराहरुको उन्मूलन हो । धर्मको प्रभाव सहरी सर्वहारावर्गका पछाडि परेको हिस्सामा, अर्ध सर्वहारावर्गका ठूलो हिस्सामा र कृषक जनतामा किन कायम छ ? जनताको अज्ञानको कारण । यो उत्तर हो पुँजीवादीको,उग्रवादीको अथवा बुर्जुवा भौतिकवादीको र त्यसैले धर्म मुर्दावाद र अनीश्वरवाद जिन्दावाद,अनीश्वरवादी विचारहरुको प्रसारण नै हाम्रो मुख्य काम हो । माक्र्सवादी के भन्दछ भने यो गलत हो, यो एक सतही एक संर्कीण बुर्जुवा उदारवाद हो । यो सोचले धर्मका जराहरुबारे स्पष्ट पार्ने काम गर्दैन । यसको भौतिकवादी व्याख्या होइन, अपितु आदर्शवादी व्याख्या हो । आधुनिक पुँजीवादी राज्यहरुमा यी जराहरु मुख्यतः सामाजिक हुन्छन् ।” यहाँ लेनिनले धर्मका जरा सामाजिक जीवनमा आधारित हुने कुरामाथि राम्रो प्रकाश पार्नुभएको छ । साथै उहाँले धर्मबारेको माक्र्सवादी विश्वदृष्टिकोणलाई पनि राम्रोसँग स्पष्ट पार्नुभएको छ । लेनिनले के बताउनुभएको छ भने माक्र्सवादीहरु भौतिकवादी हुन् र यस अर्थमा उनीहरु धर्मप्रति विश्वास गर्दैनन् । परन्तु, उनीहरु भौतिकवादी मात्र होइन, द्वन्द्वात्मक भौतिकवादी पनि हुन् । त्यसैले उनीहरुले धर्मलाई यान्त्रिक होइन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा वर्गसंघर्षसँग जोडेर हेर्दछन् । लेनिन भन्नुहुन्छ–“कुनै पनि माक्र्सवादी व्यक्ति भौतिकवादी अर्थात् धर्मको शत्रु हुनुपर्दछ । किन्तु त्यो द्वन्द्वात्मक भौतिकवादी हुुनुपर्दछ अर्थात् यस्तो जुन धर्मविरोधी संघर्षलाई अमूर्त रुपमा होइन । अत्यन्तै सैद्धान्तिक, जटिल व्याख्यानबाजीका आधारमा होइन, अपितु ठोस रुपमा वर्गसंघर्षका आधारमा चलाउँछ, जुन व्यवहारमा जारी छ र जसले जनसमुदायलाई अत्यन्तै राम्रो शिक्षा प्रदान गर्दछ । हरेक माक्र्सवादीमा ठोस परिस्थितिको ठोस मूल्यांकन गर्ने योग्यता हुनुपर्दछ । उसमा अराजकतावाद र अवसरवादका बीच लक्ष्मण रेखा निर्धारित गर्ने योग्यता हुनुपर्दछ ।” यहाँ लेनिनले धर्मप्रति माक्र्सवादी दृष्टिकोण र धर्मबारे कम्युनिस्ट पार्टीले अवलम्वन गर्नुपर्ने नीति र त्यो प्रक्रियामा देखा पर्ने विभिन्न प्रकारका गलत प्रवृत्तिहरु र विचलनका विरुद्ध वैचारिक संघर्ष चलाउनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ ।
धर्मप्रतिको नीति निर्धारण गर्ने वा धर्मलाई हेर्ने सन्दर्भमा कम्युनिस्ट आन्दोलनको इतिहासमा अवसरवादी धारा र क्रान्तिकारी धाराका बीच निरन्तर सैद्धान्तिक संघर्ष चल्दै आएको छ । यस प्रकारका अवसरवादीहरु मूलतः उग्रपन्थी, दक्षिणपन्थी र मध्यपन्थीका रुपमा देखिने गर्दछन् । उग्रपन्थीहरु जनतामा आफ्ना विचार थोपर्ने र जनताको धार्मिक आस्था, भावना वा स्वतन्त्रतामा आघात पार्न चाहन्छन् । दक्षिणपन्थीहरु धार्मिक स्वतन्त्रता वा जनताको धार्मिक आस्थाको सम्मान गर्ने नाममा सम्झौतावाद वा उदारतावादको सिकार हुन पुग्दछन् । मध्यपन्थीहरु धर्मप्रतिको माक्र्सवादी दृष्टिकोण र अवसरवादी दृृष्टिकोणका बीच डोलायमान हुने गर्दछन् । सच्चा क्रान्तिकारी माक्र्सवादी ती हुन्, जसले धर्ममबारेका यसप्रकारका सबै असवरवादी दृष्टिकोणको दृढतापूर्वक खण्डन र विरोध गर्दछन् ।
धर्मका साथै जनताका बीचमा विद्यमान विचारधारात्मक समस्याको समधानका प्रसंगमा माओको सोंच निकै महत्वपूर्ण रहेको छ । माओ भन्नुहुन्छ–“हामी प्रशासनिक आदेशद्वारा धर्मलाई उन्मूलन गर्न सक्दैनौं न त मानिसहरुलाई धर्ममाथिविश्वमा नगर्नका लागि करकाप नै गर्न सक्दछौं । हामी मानिसहरुलाई आदर्शवादलाई त्याग्न बाध्य गराउन सक्दैनौं, न त उनीहरुलाई माक्र्सवाद अंगाल्न नै बाध्य गराउन सक्दछौं । जनता बीचका विचारधारात्मक प्रकृतिका प्रश्नहरु वा विवादास्पद मामिलाहरुलाई हल गर्ने एक मात्र उपाय करकाप र दमनको पद्धति नभई जनवादी पद्धति, छलफल, आलोचना, प्रोत्साहन र शिक्षाको पद्धति नै हो ।” धर्म र जनताका बीचमा विद्यमान विचाराधारत्मक समस्याहरुको समाधानका सन्दर्भमा माओका यी भनाईहरु विशेष मननीय रहेका छन् । धर्मप्रति माक्र्स, एंगेल्स, लेनिन र माओद्वारा प्रस्तुत यसप्रकारको दृष्टिकोण वैज्ञानिक रहेको छ । परन्तु, धार्मिक कट्टरतावादीहरु यसप्रकारको वैज्ञानिक दृष्टिकोणको पूरै विरोध गर्दछन् । उनीहरुको यसप्रकारको विरोधका पछाडि मूलतः सत्य, विज्ञान तथा वैज्ञानिक विश्वदृष्टिकोणको सामना गर्न सक्ने क्षमताको अभाव, धर्मका नाममा आर्थिक तथा राजनीतिक उत्पडिन जारी राख्ने चाहना र वैचारिक क्षेत्रमा धार्मिक एकाधिकार कायम गर्न खोज्ने धृष्टता जस्ता कारणहरुले काम गरेका छन् । कम्युनिस्टहरुको धर्मप्रतिको दृष्टिकोणको विरोध गर्नेमा मुख्यतः धर्मसापेक्षतावादी पर्दछन् । धर्मसापेक्षतावाद वस्तुतः आधुनिकताविरोधी रहेको छ । धार्मिक कट्टरतावादीहरु कम्युनिस्टहरुको मात्र हैन सबै धर्मनिरपेक्षतावादीहरुको पनि विरोध गर्दछन् ।
माक्र्सवादीहरुको मूल मान्यता धार्मिक उत्पीडन र अन्धविश्वासको विरोध गर्नु हो । नेपालको सन्दर्भमा भन्नुपर्दा धार्मिक उत्पीडनको पछिल्लो रुप राज्यलाई हिन्दु अधिराज्य घोषणा गर्नु हो र यसले इतरधर्म अर्थात् बौद्ध, इस्लाम, इसाई, सिख आदिप्रति दमन, भेदभाव वा असहिष्णुता अख्तियार गर्दछ । यसका साथै नेपालमा धार्मिक उत्पीडनको अर्थ हिन्दुधर्मको वर्णाश्रम व्यवस्थाद्वारा सिर्जित जातपात, छुवाछूत र पितृसत्तात्मक भेदभाव आदि रहेका छन् र यसप्रकारका उत्पीडनका सिकार सबैभन्दा बढी दलित, महिला र विभन्न जनजाति समुदाय हुँदै आएका छन् । माक्र्सवादीहरु यसप्रकारको धार्मिक उत्पीडनको विरोधी रहेका छन् । नेपालमा लामो समयदेखि अनेकौं प्रकारका अन्धविश्वास, रुढीबादी जस्तो कि बोक्सी, धामी, झाँक्री, झारफुकलगायतका प्रथा रहेका छन् र तिनको पनि माक्र्सवादीहरुले विरोध गर्दछन् । यसप्रकारका धार्मिक अन्धविश्वासहरु वैज्ञानिक चेतना र आधुनिक शिक्षाको अभाव मात्र नभई सामाजिक तथा वर्गीय उत्पीडनका अभिव्यक्ति समेत हुन् । सामाजिक क्रान्तिको प्रक्रियामा जति जति मानिसमा वैज्ञानिक तथा वर्गीय चेतनाको विकास हुँदै जान्छ, त्यति त्यति उनीहरु पनि धर्मबाट अलग हुँदै जान्छन् । माक्र्सवादले यसप्रकारको वर्गीय तथा वैज्ञानिक चेतनाको विकासका लागि कुनै हतारो होइन, दीर्घकालीन वैचारिक संघर्ष र रुपान्तरणको प्रक्रिया आवश्यक ठान्दछ । त्यसैले माक्र्सवादीहरु धर्मको विरोधको कामलाई वर्गसंघर्षसँग जोडेर अगाडि बढाउँदछन् र धार्मिक उत्पीडन तथा अन्धविश्वासको विरोध गर्ने काममा विशेष जोड दिन्छन् ।
जहाँसम्म सिंगो हिमाली उपमहाद्वीपसहित नेपालमा पनि धर्मलाई वस्तुको स्वभाव वा गुण, लोक स्वीकार्य वैज्ञानिक मान्यता र मानवीय नैतिक सद्गुण आदिका रुपमा ग्रहण गरिने लामो ऐतिहासिक तथा सांस्कृतिक परम्पराको प्रश्न हो त्यसको महत्वलाई माक्र्सवादीहरु बेहिचक अंगीकार गर्दछन् । माक्र्सवादीहरु सिंगो मानव जातिद्वारा लामो ऐतिहासिक प्रक्रियामा विकसित सबै वैज्ञानिक विचार र जनपक्षीय नैतिक मूल्य मान्यताहरुको दृढ पक्षपोषण गर्दछन् । भारतीय उपमहाद्वीपीय सन्दर्भमा भन्नुपर्दा वेद, महाभारत, उपनिषद्, नवदर्शन, पुराण आदिलाई माक्र्सवादीहरु विश्लेषणात्मक आधारमा हेर्दछन् र त्यहाँ समाविष्ट सम्बन्धित समय सन्दर्भका समुचित मान्यतासहित समस्त वैज्ञानिक तथा लोकपक्षीय विचारहरुको दृढ समर्थन र अवैज्ञानिक तथा लोकविरोधी विचारहरुको विरोध गर्दछन् । मानव जातिको सिंगो इतिहास र सांस्कृतिक परम्पराप्रतिको माक्र्सवादी दृष्टिकोण सून्यवाद होइन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित रहेको छ ।
नेपालमा हिन्दु धर्मद्वारा महिला, दलित, जनजाति तथा विभिन्न जनसमुदायमाथि हुँदै आएको उत्पीडनको विरोधमा धार्मिक रुपमा पनि अनेकौं आन्दोलनहरु विकसित हुँदै आएका छन् । यसप्रकारका आन्दोलनहरुमा जोशमनी सन्त, आर्य समाजीहरुको उल्लेखनीय भूमिका रहिआएको छ । यहाँसम्म कि हिन्दु र बौद्ध धर्ममा लामो समयदेखि व्याप्त रहिआएको पञ्चमकारवादी मान्यताले पनि जातीय, लैगिक भेदभाव र धार्मिक उत्पीडनको विरोध रधर्म निरपेक्षताको पक्षमा सशक्त आवाज उठाउने काममा माक्र्सवादवादीहरुले महत्वपूर्ण भूमि निर्वाह गर्दे आएका छन् ।
हिन्दुधर्म, पुरोहितवाद अर्थात् ब्राहम्णवाद र राजतन्त्र परस्पर सम्बन्धित रहेको छन् र नेपालमा राजतन्त्रको विरोध र गणतन्त्रको स्थापनाका लागि लामो समयदेखि जुन संघर्ष चल्दै आएको छ, त्यो हिन्दुधर्मको उत्पीडनकारी भूमिका र धर्मसापेक्षतावाद विरुद्धको संघर्षसँग अभिन्न रुपमा जोडिएको छ । हाम्रो यो आन्दोलनको विरोधमा भारतका हिन्दु अतिवादीहरुबाट लगातार हस्तक्षेप गर्ने काम हुँदै आएको छ । महान् जनयुद्ध र उन्नाइसदिने जनआन्दोलनको प्रक्रियामा अहिले नेपाल धर्मनिरेक्षप राज्य घोषित भइसकेको छ । साथै, नेपालमा राजतन्त्रको अन्त पनि भइसकेको छ र नेपाल संघीय लोकतान्त्रिक गणराज्य पनि घोषित भएको छ । यो नेपाली जनताको एउटा ठूलो विजय हो । तर अझै पनि गम्भीर विडम्वना के छ भने कट्टरपन्थी हिन्दु अतिवादीहरु नेपाली जनताको यो निर्णय मान्न तयार छैनन् ।
समग्रमा धर्मप्रतिको माक्र्सवादी दृृष्टिकोणबारे चर्चा गर्दा तीन कुरामाथि विशेष ध्यान दिन जरुरी छ ः पहिलो, माक्र्सवादीहरु धर्मविरोधी हुन्छन् र धर्मको विरोधको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि प्रचारप्रसारको क्षेत्रमा आफ्ना कामहरुलाई व्यवस्थित तुल्याउनु आवश्यक छ । दोस्रो, धर्मको विरोध गर्ने प्रक्रियामा सबैखाले अवससरवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै जान र धर्मको विरोधको कामलाई वर्गसंघर्षसँग जोड्न जरुरी हुन्छ । तेस्रो, धर्मको जन्म विशेष सामाजिक ऐतिहासिक सन्दर्भमा भएको हो र त्यसका कारण पनि यसै सन्दर्भभित्र खोज्नुपर्दछ ।
(लेखक मोहन वैद्य ‘किरण’ को पुस्तक “माक्र्सवाद र संस्कृति” (२०६६) बाट यो लेख लिइएको हो । लेखकको “चैतन्य” नामबाट लेखिएको उक्त पुस्तकलाई सहिद स्मृति प्रकाशनले प्रकाशित गरेको थियो । यो लेख अहिले सान्दर्भिक भएकाले यहाँ दिइएको छ ।)

