यो पुस्तकले अन्तर्जातीय विवाहलाई बुझ्नका लागि मात्र होइन, विवाह प्रणालीलाई समग्र रूपमा बुझ्न मद्दत पुर्‍याउने छ भन्ने आशा गर्न सकिन्छ

 

– मोहन विक्रम सिंह

मैले का. रामबहादुर बुढाको “अन्तर्जातीय विवाह” को पाण्डुलिपि पढें । त्यो पढ्दा थाहा हुन्छ, त्यो गहन अध्ययन र अनुसन्धान पछि तयार पारिएको कृति हो । यसको विषयवस्तु अन्तर्जातीय विवाह नै हो । तर त्यो विषयको चर्चा गर्ने क्रममा उहाँले विवाह पद्धति र त्यसका विभिन्न पक्षहरूमाथि विस्तृत रूपमा प्रकाश हाल्ने प्रयत्न गर्नुभएको छ । त्यसका साथै उहाँले छुवाछुत प्रथामाथि पनि विभिन्न कोणबाट प्रकाश हाल्ने प्रयत्न गर्नुभएको छ । त्यो पुस्तकमा उहाँले यो पनि देखाउनुभएको छ कि समाजले अन्तर्जातीय विवाहमा प्रतिबन्ध लगाएको भएपनि त्यसका विरुद्ध लहर बढ्दै गइरहेको छ । उक्त पुस्तकमा उहाँले विश्वभरमा प्राचीन कालदेखि नै बेग्लाबेग्लै प्रकारका विवाह प्रथाहरू, त्यससम्न्धी विभिन्न रीतिरिवाज र कानुनहरू समेतको अन्तर्राष्ट्रिय र ऐतिहासिक रूपमा पनि विस्तृत चर्चा गरेको पाइन्छ । त्यसैले यो पुस्तकले खाली अन्तर्जातीय विवाहलाई बुझ्नका लागि मात्र होइन, विवाह प्रणालीलाई समग्र रूपमा बुझ्न पनि धेरै मद्दत पुर्‍याउने छ भन्ने आशा गर्न सकिन्छ ।

ऐतिहासिक कालदेखि नै संसारमा विवाहका बेग्लाबेग्लै प्रथाहरू प्रचलित हुँदै आएका छन् । सबै देशहरूमा समाज वा कानुनले विवाहलाई धेरै प्रकारले व्यवस्थित वा नियन्त्रण गर्न खोजेको पाइन्छ । यौन सम्बन्ध उच्छृङ्खल रूपमा देखापर्न नदिनका लागि त्यस प्रकारका प्रयत्नहरूलाई पूरै गलत भन्न सकिँदैन । त्यो समाजको आवश्यकताको पनि परिणाम हो । तर विवाहलाई त्यसरी व्यवस्थित र नियन्त्रण गर्ने नाममा त्यसमा कैयौँ प्रकारका विकृति वा कुरीतिहरू पनि देखा परेका छन् । त्यसको परिणामस्वरूप विवाह वा परिवारको सम्पूर्ण स्वरूप नै अत्यन्त दूषित वा विषाक्त हुन गएको छ । तर त्यसका साथै विवाहलाई सही र स्वच्छ रूपमा अगाडि बढाउनका लागि सबै देशहरूमा प्राचीन कालदेखि नै प्रयत्न हुँदै आएका छन् । त्यसको अर्थ हो, विवाहित जोडीहरूका सबै प्रकारका अन्यायपूर्ण पक्षहरू वा सामाजिक कुरीतिहरूका विरुद्ध संघर्ष । प्रथमतः स्वतःस्फूर्त रूपमा नै त्यस प्रकारका प्रयत्नहरू हुँदै आएका छन् । त्यो बाहेक वैचारिक र दार्शनिक तह वा राजनीतिक, सामाजिक वा सांस्कृतिक स्तरमा पनि त्यो दिशामा कैयौँ प्रयत्न वा संघर्षहरू हुँदै आएका छन् । त्यो संघर्ष अहिले पनि चलिरहेको छ र भविष्यमा पनि लामो समय चलिरहने छ वा चल्नुपर्ने आवश्यताछ छ । यो संघर्ष त्यो बेलासम्म चलिरहने छ, जबसम्म विवाह वा परिवार एउटा मानवीय, स्वतन्त्र, सुखी र सुन्दर धरातलमा स्थापित हुँदैन । बताइरहनु पर्ने आवश्यक छैन कि विवाह वा परिवारको त्यस प्रकारको रूप समाजको विद्यमान अवस्थामा चल्ने संघर्षको नै एउटा अंग हुनेछ र अहिलेको सामाजिक व्यवस्थामा आमूल परिवर्तनका साथै विवाह र परिवारको रूपमा पनि परिवर्तन हुनेछ । तर त्यो क्रममा विवाह वा परिवारका आजका नै रूपहरू कायम रहनेछन् भन्न सकिन्न । किनभने ऐतिहासिक कालदेखि नै विवाह र परिवारका रूपहरुमा परिवर्तन हुँदै आएको छ र भविष्यमा त्यसले अरू कुन रूपमा विकास गर्ने छ ? त्यो अहिले भन्न सकिन्न । यो निश्चित छ कि समाजको भौतिक स्वरूप र सामाजिक संरचनामा परिवर्तन हुँदा साथै विवाह र परिवारको रूप पनि बदलिँदै जानेछ ।

विवाहको प्रधान पक्ष महिला र पुरुषका बिचको सम्बन्ध नै हो । त्यो सम्बन्धका दुईवटा मुख्य पक्षहरू रहने गरेका छन् ः एउटा हो यौन सम्बन्ध र अर्को हो प्रेम । विवाहमा ती दुवै पक्षहरू आपसमा जोडिएका हुन्छन् । ती दुवै पक्षहरूको मेलले नै विवाहलाई सफल बनाउँछ । तर ती दुवै पक्षहरू मध्ये कुन प्रधान हो ? त्यसमा दार्शनिक, सामाजिक, नैतिक, सांस्कृतिक र व्यावहारिक तहमा पनि प्रश्नहरू उठ्ने वा छलफल हुने गरेको छ । त्यो क्रममा कैयौँ मतभेदहरू पनि देखापर्ने गरेका छन् ।

यो कुरालाई अस्वीकार गर्न सकिन्न कि यौन पक्ष विवाहको महत्वपूर्ण पक्ष हो । समाजको विकासका साथै विवाहका रूपहरुमा बारम्बार परिवर्तन हुने गरेको छ । तर त्यससित जोडिएको यौन सम्बन्ध सधैँ कायम रहने गरेको छ । त्यसको अर्थात् यौन सम्बन्धको, सम्बन्ध खाली विवाह वा पारिवार सित मात्र छैन। त्यसको सम्बन्ध सम्पूर्ण समाजको विकास र सृष्टिको निरन्तरतासित पनि छ । खाली मानिसहरूमा मात्र होइन, सबै प्राणीहरूमा त्यो तत्व अनिवार्य रूपमा हुन्छ । त्यसको अभावमा प्रजनन वा सृष्टिको काम अगाडि बढ्न नै सक्दैन । तर यौन सम्बन्धसित सधैँ प्रेम जोडिएको हुन्छ भन्ने होइन । प्रेम बिना पनि समाजमा यौन सम्बन्ध व्यापक रूपमा हुने गर्दछन् । स्वयं विवाहका सम्बन्धमा पनि प्रेम तत्व सधै र अभिन्न रूपमा जोडिएको हुन्छ भन्ने होइन । समाजमा प्रेम विना पनि विवाह भएका वा विवाह भएपछि पनि आपसमा प्रेम नभएका, आपसका प्रेम टुटेका र प्रेम नभएका थुप्रै उदाहरणहरू पाइन्छन् ।

पहिले जुनबेला बेग्लाबेग्लै प्रकारका सामूहिक विवाहप्रथाहरु प्रचलित थिए, दुई जना पुरुष र महिलाका बिचमा व्यक्तिगत प्रकारको प्रेम शायद कमै हुन्थ्यो होला । प्राचीन कालदेखि नै वेश्यावृत्ति सबै समाजमा रहने गरेको पाइन्छ । बताई रहनुपर्ने आवश्यक छैन कि त्यस अन्तरगतको यौन सम्बन्धमा प्रेम जस्तो कुनै कुरा विद्यमान भएको कुरा सोच्न मुश्किल पर्दछ, यद्यपि कतिपय कथा वा सिनेमामा त्यो अवस्थामा पनि प्रेम भएको र उनीहरूका बीचमा प्रेम भएको प्रसंगहरू पनि आउँछन् । वेश्याको कुरा गरौँ, वैवाहिक जीवनमा पनि प्रेम अनिवार्य विद्यमान हुँदैन । कतिपय अवस्थामा पुरुषहरूका लागि नारीहरू खाली यौन सन्तुष्टि, सन्तान प्राप्ति वा सेवाका लागि नै हुन्छन् । अर्कातिर प्रेम खाली प्रेमी–प्रेमिकाका वा पतिपत्नीका बीचमा मात्र सीमित हुन्छ भन्ने होइन । त्यसको क्षेत्र यौन वा विवाहभन्दा फराकिलो छ । छोराछोरी, आमा–बुवा, बाबु–आमा, दिदीबहिनी, समाज, देश र सम्पूर्ण मानव जाति आदिसम्म कैयौँ रूपमा प्रेम फैलिएको हुन्छ । यो लेख खाली वैवाहिक जीवनसित सम्बन्धित प्रेमको चर्चासम्म मात्र सीमित हुनेछ । तर मुख्य विचारणीय प्रश्न यो हो ः प्रेम बिनाको वैवाहिक वा दाम्पत्य जीवन सही हुन्छ वा हुन्न ।

त्यस सन्दर्भमा समाज एकातिर, कट्टरपन्थी वा रूढिवादी र अर्कातिर, प्रगतिशील धारमा बाँडिन्छ । ती दुवै पक्षहरूका बीचमा संसारभरि लामो समयदेखि विवाद चल्दै आएको छ र अहिले पनि चलिरहेको छ । जस्तो कि इतिहास वा समाजका सबै क्षेत्रहरूमा हुन्छ, रूढिवादी विचारको ठाउँमा प्रगतिशील विचारको विजय हुँदै आएको छ र अन्तमा विवाहको सन्दर्भमा पनि प्रेम तत्त्वको विजय हुने कुरा निश्चित छ । त्यसको अर्थ हो अन्तमा समाजमा खाली प्रेममा आधारित विवाह मात्र बाँकी रहनेछ र, अर्को शब्दमा, विवाह र प्रेम आपसमा अभिन्न रूपमा जोडिने छन् । त्यही नै सुखी परिवारको आधारशिला हुनेछ ।
परम्परागत रूपमा समाजमा विवाहका लागि प्रेम अनिवार्य ठानिँदैन । त्यसैले पुरानो समाजमा युवक युवतीका बीचमा विवाहको कुरा स्वयं उनीहरूले होइन, उनीहरूका अभिभावकहरूले टुङ्ग्याउने गरिन्थ्यो र आज पनि त्यो प्रथा पूरै समाप्त भएको छैन । कतिपय स्थानहरूमा विवाह अभिभावकहरूका बीचमा लेनदेन वा व्यापारको विषय पनि बन्दछ । कैयौँपल्ट साना बालबालिकाहरूको पनि विवाह गरिन्छ, जसलाई विवाहबारे पनि केही थाहा हुन्न, प्रेम ता धेरै टाढाको कुरा भयो । कैयौँपल्ट ठुलाबडा मानिसहरू वा राजा महाराजाहरूले जबर्जस्तीपूर्वक कन्याहरूलाई वा विवाहित महिलाहरूलाई पनि जबर्जस्तीपूर्वक लैजाने गर्दथे । कैयौँपटक ता एकै पटक राजा महाराजाहरूले सयकडौं महिलाहरूलाई एकैपटक जबर्जस्तीपूर्वक लुटेर लगेर पत्नीहरू बनाएका उदाहरणहरू पाइन्छ । यस सन्दर्भमा द्वितीय विश्वयुद्धको बेलाको एउटा उदाहरण उल्लेखनीय छ, जुन बेला जापानीहरूले कोरियाबाट करिब दुई लाख महिलाहरूलाई जबर्जस्ती लुटेर लगेर वेश्या बनाएका थिए । त्यस प्रकारको विवाह वा वेश्यावृत्तिहरूमा यौन पक्ष नै प्रधान हुन्थ्यो र त्यहाँ प्रेमको कुनै प्रश्न नै उठ्दैनथ्यो । तर समाज र चेतनाको विकासका साथै विवाहमा प्रेम तत्त्वको पनि प्रवेश हुन थाल्यो र अब त्यो नै त्यसको (विवाहको) प्रधान र निर्णायक पक्ष पनि बन्दै गएको छ। निश्चय नै त्यो कुरा स्वभाविकरूपले विकसित अवस्था होइन।त्यसका लागि संसारभरमा महिला र न्यायप्रेमी जनताले लामो र कडा संघर्ष गर्नुपरेको छ ।

परम्परा वा धर्मले यो कुरा मान्दछ कि एकपल्ट विवाह भएपछि त्यो सधैं कायम रहिरहनु पर्दछ। हिन्दु धर्मले ता यो कुरामा जोड दिन्छ एकपल्ट विवाह भएपछि त्यो सम्बन्ध सात जन्मसम्म रहन्छ वा रहनु पर्दछ तर त्यो नियम मुख्यत: महिलाहरू माथि नै कडाईपूर्वक लागू गरिन्छ। अधिकतर समाजमा पुरुषका लागि त्यस प्रकारको बन्धन लगाइएको हुँदैन । त्यसैले प्रत्येक महिलाले जन्मभरि पतिव्रता धर्मको नियम पालना गर्नुपर्ने हुन्थ्यो भने पुरुषहरुका लागि बहुविवाहका लागि स्वतन्त्रता थियो। तर समाजमा प्रगतिशील चेतनाको विकास हुनुका साथै त्यसमा दुइटा प्रवृत्तिहरुले विकास गर्न थाले । प्रथम, पुरुषहरुको बहुविवाहको प्रचलन माथि नियन्त्रण गर्न थालियो र एकनिष्ठ विवाहमा जोड दिन थालियो । द्वितीय, महिलाहरूलाई जीवनभरि नै एउटै पुरुषसँग बाँधिएर बस्ने प्रचलनलाई खुकुलो पार्दै लगियो। त्यसका लागि उनीहरुलाई सम्बन्ध विच्छेद गर्ने वा विधुवा भएपछि पनि विवाह गर्न पाउने अधिकार दिन थालियो ।

अब यो कुरा आम रूपमा स्वीकृत भएको छ कि विवाहको प्रधान पक्ष प्रेम नै हो र हुनुपर्दछ । त्यसैले आपसमा प्रेम बिना युवक वा युवतीलाई विवाहका लागि जोर जबर्जस्ती गर्ने प्रचलन पूरै नै समाप्त नभएको भए पनि धेरै नै कम भएर गएको छ । अब या त युवक र युवतीका बिचमा प्रेम भएपश्चात् वा दुवै पक्ष मञ्जुर भएपछि मात्र विवाह हुने गरेको छ । दुवैमध्ये कुनै पनि पक्षमाथि जोर जबर्जस्ती गर्ने प्रचलन कम हुँदै गएको छ । अब पति र पत्नीका बीचमा प्रेम टुटेमा उनीहरूलाई अलग हुने स्वतन्त्रताको पक्षमा पनि सामाजिक वा कानुनी मान्यता प्रबल हुँदै गएको छ । पहिले पनि सामान्यतः त्यस्तो हुने गर्दथ्यो । पतिलाई त त्यसका लागि छुट नै थियो । उसले एउटीका ठाउँमा अर्को पत्नी ल्याउन पनि सक्थ्यो । एउटी पत्नी, बहुपत्नी वा कतिपय राजा महाराजाहरूले सयकडौं–हजारौं पत्नीहरू पनि ल्याउन सक्थे । त्यसो गर्नुलाई पनि अनैतिकता वा पाप मानिँदैनथ्यो । किनभने धर्म वा परम्पराले नै उनीहरूलाई त्यसका लागि छुट दिएको थियो । तर पत्नीहरूका लागि त्यस्तो गर्ने स्वतन्त्रता थिएन । तैपनि आफ्नो लोग्ने मन नपरेपछि वा उसको व्यवहार नराम्रो भएपछि कैयौं पत्नीहरू अर्कै मानिससित पनि भागेर जान्थे । तर त्यसलाई अनैतिक कार्य मानिन्थ्यो । त्यसो गर्दा उनीहरूलाई कडा दण्ड सजाय दिइन्थ्यो ।

अब धेरै देशहरूमा कानुनले नै सम्बन्ध विच्छेदलाई स्वीकृति दिएको छ । त्यो बाहेक सम्बन्ध विच्छेदको अवस्थामा महिलालाई अंश वा सम्पत्ति दिने कानुनी व्यवस्था पनि धेरै देशहरूमा भएको छ । तैपनि विवाहका लागि प्रेम नै प्रधान तत्व हो भन्ने कुरा समाजमा पूरै स्वीकृत भएको छैन । यसले गर्दा कैयौँ मानिसहरू, पुरुष वा महिला, विवाह पछि प्रेम बिना पनि सँगै बस्न बाध्य हुन्छन् । त्यसप्रकारको बाध्यता मुख्यतया व्यावहारिक परिस्थिति वा बदनाम भइने भयका कारणले हुन्छ । तर प्रेम बिना पनि पतिपत्नीहरू सँगै बस्नुपर्ने बाध्यता अत्यन्त पीडादायक र नारकीय हुन्छ । त्यो कुरालाई एङ्गेल्सले पनि गम्भीररूपले उठाएका छन् । तर समाजको परम्परा वा धर्मले सँधैदेखि विवाहसित सम्बन्धित प्रेमको तत्वलाई अस्वीकार गर्दै वा त्यसलाई गौण महत्त्व दिँदै आएको छ । त्यसरी विवाहसित प्रेमको सम्बन्धलाई कति महत्त्व दिने त्यो कुरा समाजमा सधैँ विवाद र संघर्षको प्रश्न बन्दै आएको छ ।

जातीय आधारमा विवाहमा नियन्त्रण गर्ने प्रचलन पनि हिन्दू समाजमा परम्परादेखि नै चल्दै आएको छ । हाम्रो समाजमा त्यसको मुख्य रूप छुवाछुत प्रथासँग सम्बन्धित छ । दलित र ‘उच्च’ जातका बिचमा विवाहलाई कडा रूपमा निषेध गरिएको छ । त्यसप्रकारको विवाह भएमा त्यसका लागि कडा दण्ड, सजायको व्यवस्था गरिएको छ । पहिले कानुनले नै त्यसका लागि कडा सजाय दिने व्यवस्था गरेको थियो । अब कानुनी रूपमा त्यसप्रकारको सजायको व्यवस्था छैन । तर समाजले अझै पनि त्यसप्रकारको विवाह सम्बन्धलाई सहजैसित स्वीकार गर्दैन र त्यसका लागि विवाहित दम्पतीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रताडना दिने वा समाजबाट बहिष्कार गर्ने गरिन्छ । त्यसका कैयौँ ताजा उदाहरणहरू हाम्रा अगाडि छन् ।

रुकुम (पश्चिम)को एकजना ठकुरीकी छोरीको जाजरकोटका दलित युवासित प्रेम सम्बन्धका कारणले ६ जना युवाहरूलाई हत्या गरेको उदाहरण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो । हालै पर्सामा एउटा दलित जातिको युवकलाई प्रेम गरेको कारणले स्वयं युवतीका बा–आमाले सामाजिक बेइज्जतीको डरले आफ्नी छोरीलाई नै जलाएर मारेको घटना पनि समाचारमा आएको छ । स्वयं ‘पानी चल्ने’ जातका बिचमा अन्तर्जातीय विवाहलाई पनि समाजले सजिलैसित स्वीकार गर्दैन । त्यसले के बताउँछ भने विवाहसम्बन्धी त्यसप्रकारको रूढिवादी विचारले समाजमा गहिरो जरा हालेको छ । निश्चय नै कानुनले मात्र त्यो समस्यालाई हल गर्न सक्ने छैन । त्यसका लागि राजनीतिक, सामाजिक अवस्था, आमूल परिवर्तन वा सांस्कृतिक चिन्तनमा व्यापक रूपान्तरणको आवश्यकता छ । लेखकले आफ्नो पुस्तकमा दिएका उदाहरणहरूबाट त्यसप्रकारको रूढिवादी चिन्तनका विरुद्ध समाजमा लहर उठ्न थालेको देखिएको छ । तर अहिलेको सम्पूर्ण सामाजिक वा सांस्कृतिक अवस्थाको तुलनामा त्यो एकदम कम र अपर्याप्त छ र त्यो दिशामा अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ । धेरै नै संघर्ष गर्नुपर्ने आवश्यकता छ ।

अहिले अन्तर्जातीय विवाहको जुन लहर उठ्न थालेको छ, त्यसको कारण प्रगतिशील चेतना मात्र हैन, त्यसका पछाडि मानिसहरुमा भएको प्राकृतिक भावना पनि मुख्य हो। जसको पछाडि प्रेम तत्वले मुख्य काम गरेको हुन्छ । अन्तरजातीय विवाहका पक्षमा कानुन बन्नुभन्दा पहिले पनि अर्थात जुन बेला त्यसका लागि कानुनमा कडा सँजायको व्यवस्था थियो, अन्तर्जातीय रूपमा प्रेमहरू हुने गर्दथे। कुनै बेला उनीहरू भागेर बच्न सक्थे भने कुनै बेला उनीहरूलाई कडा सजाय पनि दिने गरिन्थ्यो। तैपनि त्यसप्रकारका अन्तर्जातीय प्रेम सम्बन्धका कैयौँ घटनाहरू हुने गर्दथे। त्यसले के बताउँछ भने मानिसहरू प्रेमको भावना प्रबल भयो भने उनीहरूले जातीय सीमा तोड्न पनि तयार हुन्छन्। प्राचीन कालदेखि नै त्यस प्रकारका कैयौँ उदाहरण वा कथाहरु पाइन्छन् । त्यस प्रकारका कैयौँ कथा काल्पनिक हुन सक्दछ । ती काल्पनिक कथाहरुले पनि प्रेम सम्बन्धी सामाजिक वा जातीय बन्धन वा सीमाहरूका विरुद्ध संघर्ष गर्ने मानिसहरूको मानवीय भावनालाई नै ब्यक्त गर्दछ । अहिले यस पुस्तकका लेखकले आफ्नो पुस्तकमा अन्तर्जातीय विवाहका जुन उदाहरणहरू दिनु भएको छ , तिनी मध्ये धेरै जसोका पछाडि पनि कुनै प्रगतिशील चेतनाले भन्दा प्रेमको मानवीय इच्छाले नै काम गरेको कुराको अनुमान गर्न सकिन्छ। तर पहिलेको तुलनामा अहिले समाजमा भएका परिवर्तनहरू र प्रगतिशील चेतनाको विकासको कारणले अन्तर्जातीय विवाह गर्ने व्यक्तिहरुलाई पनि पहिले जस्तो कडा परिस्थितिको सामना गर्नु पर्दैन । यद्यपि अहिले पनि अन्तरजातीय प्रेमका कारणले रुकुम (पश्चिम)मा ६ जना युवकहरुको हत्या र पर्सामा बाउ ,आमाद्वारा आफ्नी छोरीको हत्या गर्ने जस्ता घटनाहरू हुने गरेका छन्। सायद यी अन्तिम घटनाहरू होइनन् र भविष्यमा पनि यस्ता घटनाहरूको पुनरावृत्तिको सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिँदैन। किनभने यस्ता घटनाका पछाडि जुन रूढिवादी चिन्तन वा मानसिकताले काम गरेको छ, त्यसले समाजमा धेरै तलसम्म र व्यापक रूपमा जरा हालेको छ–वर र पिपलका बृक्ष जस्तै ।

हामीले रुकुम (पश्चिम)मा हत्या गरिएका ६ जना युवकहरू प्रति उच्च सम्मान र उनीहरूका परिवारप्रति समवेदना प्रकट गर्नुपर्दछ। पर्सामा हत्या गरिएकी युवतीको हत्या घटना अत्यन्त मार्मिक छ र उनीप्रति जति श्रद्धाञ्जली प्रकट गरे पनि कम हुन्छ। तर उनीहरूको परिवारप्रति समवेदना प्रकट गर्नका लागि कोही बाँकी रहेको छैन, किनकि उनको बाबु, आमाले नै आफ्नी छोरीको हत्या गरेका थिए। यो कति धेरै अमानवीय र निर्मम कारबाही थियो ? तर शायद त्यसका लागि ती आमाबाबुभन्दा समाज नै जिम्मेवार छ, समाजबाट हुने बदनामीका डरले उनीहरूले आफ्नी छोरीको पनि हत्या गर्न पुगेका थिए। ती घटनाहरू ता केही प्रतिनिधि उदाहरण मात्र हुन्। समाजमा त्यसप्रकारका सयौँ, हजारौँ उदाहरणहरू छन्। त्यसप्रकारका उदाहरणहरूमध्ये कैयौँ आमाहरूले आफ्ना शिशुहरूलाई हत्या गरेका उदाहरणहरू पनि अर्हन्छन्। कैयौँ आमाका अवैध गर्भबाट जन्मेका सन्तानहरूले जन्मभरि नै आफ्ना आमाको जीवन बिगार्नुपर्ने गर्छन्। यी उदाहरणहरूले बताउँछन्, आज समाजको रूढिवादी चिन्तनका विरुद्ध कति धेरै सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ।

संसारका अन्य देशहरूमा जातीय आधारमा विवाहमाथि शायद कमै नियन्त्रण गरिन्छ होला। किनभने छुवाछूत प्रथा मुख्य रूपमा नेपाल र भारतमा नै पाइन्छ। लेखकले विश्वका विभिन्न देशहरूमा पनि बेग्लाबेग्लैरुपमा छुवाछूत प्रथाहरु प्रचलित भएको कुरा लेख्नुभएको छ। त्यसप्रकारको छुवाछूत प्रथाले विवाहमा कति नियन्त्रण गर्ने गरेको छ ? त्यसको जवाफ दिनुभन्दा पहिले विषयमाथि अरू अध्ययनको आवश्यकता पर्ने छ। तर यस सन्दर्भमा संसारभर प्रचलित एउटा अर्को पक्ष विशेष रूपमा उल्लेखनीय छ। त्यो हो विवाहसित सम्बन्धित रगतको शूद्धताको प्रश्न। संसारका प्रायः सबै देशहरूमा विभिन्न जातिहरूले आफूभन्दा ‘तल्लो’ वा बेग्ले जातिसित रगतको मिश्रणमा नियन्त्रण गर्ने प्रयत्न गर्दै आएका छन्। त्यसका पछाडि उनीहरूको यो सोचाइले काम गरेको हुन्छ कि तल्ला वा बेग्लै जातिको रगतको मिश्रणले उनीहरूको श्रेष्ठतामा आँच पुग्दछ। अन्तर्जातीय विवाहमा रोक लगाउनुको पछाडि पनि प्रथमतः जातिगत रूढिवादी चिन्तनले नै काम गरेको छ। तर सम्भवतः त्यसपछि विकसित मानसिकता हो। सर्वप्रथम रगतको शुद्धता कायम गर्ने दृष्टिकोणले नै अन्तर्जातीय विवाहमा पनि रोक लगाउने प्रयत्न गरियो। तर त्यही कुरा सम्पूर्ण रूपमा सत्य पनि होइन। किनभने एउटै प्रजातिका बेग्लाबेग्लै जात वा जातिहरूका बिचमा पनि विवाहमा रोक लगाउने गरिन्छ। उदाहरणका लागि क्षेत्री, बाहुन, सन्यासी आदि र दलितहरू एउटै आर्य प्रजातिका मानिसहरू हुन्। उनीहरू सबैमा एउटै प्रजातिको रगत बग्दछ। तैपनि उनीहरूका बिचमा कैयौ जातीय भेद गरेर विवाहमाथि नियन्त्रण गर्ने गरिन्छ। सर्वप्रथम र मुख्य कारण त्यसका पछाडिको रगतको शुद्धताको अवधारणाले नै काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन। त्यसले पछि जातीय भेदभावको रूपमा विकास गरेको हुन सक्छ।

आफ्नो जातिभन्दा ‘तल्लो’ वा बेग्लै जातिसित रगतको मिश्रण वा विवाह हुन नदिने प्रचलन प्राचीन कालदेखि नै संसारभरका धेरै जातिहरूमा पाइन्छ र त्यसलाई कडाइपूर्वक लागू गर्ने प्रयत्न गरिँदै आएको छ। तर त्यसका बाबजुद विश्वव्यापी रूपमा नै रगतको मिश्रण हुँदै आएको छ। खास गरेर जुन जातिका मानिसहरूको परस्पर सम्बन्ध हुने गर्दछ, उनीहरूका बिचमा रगतको सम्मिश्रणलाई पूरै रोक्न सम्भव हुँदैन। उनीहरूका बिचको विवाहलाई रोक्न अंशतः सम्भव भए पनि‘ उनीहरूको बिचको यौन सम्बन्धलाई रोक्नु पूरै सम्भव हुँदैन । त्यसले गर्दा विभिन्न जातिहरूको बिचमा रगत सम्मिश्रण हुँदै जान्छ र त्यसको परिणामस्वरूप विभिन्न जातिहरूको शारीरिक र मानसिक संरचनामा पनि केही परिवर्तनहरू हुँदै जान्छन् । तैपनि विभिन्न देशहरूमा त्यसप्रकारको रगत मिश्रण वा विवाहमा नियन्त्रण गर्नको लागि बारम्बार वा लगातार प्रयत्न गर्ने गरिएको छ । त्यसका लागि कैयौ धार्मिक वा कानुनी नियमहरू बन्ने गरेका छन् वा ती नियमहरूको उल्लङ्घन प्रति कडा सजायको व्यवस्था गर्ने गरिएको छ ।

रगतको शुद्धताको अवधारणा सबैभन्दा विकृत र बर्बर रूपमा हिटलरले जर्मनीमा देखायो । हिटलरले रगतको शुद्धतामा धेरै नै जोड दिएको थियो । उसको व्याख्याअनुसार जर्मन जाति संसारको सर्वश्रेष्ठ र आर्य जाति थियो । त्यसैले त्यसको रगत शुद्ध राख्नुपर्ने आवश्यकतामा उसले धेरै नै जोड दियो । एउटा सर्वश्रेष्ठ जातिको रगतमा यौन सम्बन्ध वा विवाहद्वारा अन्य निम्न जातिहरूसँग मिश्रण भयो भने एउटा श्रेष्ठ जाति वा उसको संस्कृति र सभ्यताको पनि पतन हुनु अनिवार्य थियो । अर्कातिर उसले यहुदीलाई संसारकै सबैभन्दा निकृष्ट जातिको रूपमा व्याख्या गरेको थियो । यहुदीहरू जर्मनी र पूरै युरोपमा ठूलो सङ्ख्यामा बस्दथे । त्यसैले हिटलरले यो निष्कर्ष निकालेको थियो कि त्यो जातिसँको सङ्गतको मिश्रणबाट एउटा श्रेष्ठ जातिको पतन हुने कुरा निश्चित थियो । त्यसैले त्यसले ‘अन्तिम समाधान’ ( Final Solution ) का नाममा यहुदी जातिलाई समूल रूपमा उन्मूलन गर्ने नीति अपनाएको थियो । हिटलरको त्यसप्रकारको नीतिपछि ठूलो पैमानामा यहुदीहरूलाई देशबाट निष्कासित गर्ने, उनीहरूका पसलहरूमा खुलेआम लुटपाट मच्चाउने, उनीहरूका उद्योग, व्यवसायहरूलाई नष्ट गर्ने, सबै प्रकारका नोकरी, विद्यालयहरूमा उनीहरूलाई प्रवेश नदिने वा लाखौँको सङ्ख्यामा गिरफ्तार गर्ने, कन्सेन्ट्रेसन क्याम्पहरूमा राख्ने वा नरसंहार गर्ने नीति अपनाएको थियो । त्यस सिलसिलामा द्वितीय विश्व युद्धको कालमा युरोपमा ६० लाख यहुदीहरूको हत्या गरिएको थियो, जसमा यहुदीहरूको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश पोल्याण्डमा मात्र ३० लाख यहुदीहरूको हत्या गरिएको थियो । त्यसप्रकारको सम्पूर्ण बर्बर कारबाही रगतको शुद्धताको नाममा गरिएको थियो । आफ्नो त्यस प्रकारको चरम प्रकारको अन्धजातिवादी अवधारणालाई सही ठहराउन त्यसले कैयौँ प्राकृतिक, जीवशास्त्रीय वा दार्शनिक मान्यताहरूलाई अगाडि सारेको थियो ।

रगतको शुद्धताको लागि गरिने त्यसप्रकारका प्रयत्नहरूका बाबजुद प्रकृति वा समाजको मूल प्रवृत्ति रगतको मिश्रण प्रति नै हुने गरेको छ । समाजको विकासका साथै एकअर्काभन्दा बेग्लै र कबिला जनजातिहरूमा छुट्टिएर बस्ने मानिसहरूको बिचको सम्बन्ध बढ्दै जान्छ । उत्पादक शक्तिहरुको विकासले त्यो प्रक्रियालाई अरु तीब्रता दिन्छ । त्यो क्रममा जाति भाषा र संस्कृति , यहाँ सम्म कि राष्टियताका सीमाहरु पनि टुट्दै जान्छन् । ती सबै कुराले एक अर्काबाट टाढा भएका मानिसहरुलाई नजिक ल्याउँछ । अहिले पनि जाति, भाषा , धर्म, संस्कृति आदिका नाममा मानिसहरुको भेदभावलाई कायम राख्न संसारभरि नै प्रयत्न भइरहेका छन् तर अहिलेसम्मको मानव जातिको इतिहासले बताउँछ, मानिसहरूलाई त्यसरी संकीर्ण घेरामा थुन्ने प्रयत्नहरु असफल हुँदै गइरहेका छन्।

मानिसहरूका बिचमा सम्बन्धको विस्तारको प्रवृत्ति नै शक्तिशाली छ । आत्मगत रूपमा विभिन्न जातिहरूका बिचको सीमा वा रगतको शुद्धता कायम राख्ने प्रयत्न भइरहन्छन् । तर समाज अगाडि बढ्दै जान्छ । केही उदाहरणहरूबाट त्यो कुरा प्रष्ट हुन्छ । फ्रान्स पहिले कैयौँ सानातिना कविला, जाति, भाषा, सम्प्रदाय आदिमा बाँडिएको थियो । तर पहिले सामन्ती विकास र पछि पुँजीवादको विकासले त्यो अन्तरहरूलाई मेटाउँदै गयो र एउटा फ्रेन्च राष्ट्र अस्तित्वमा आयो । त्यही कुरा जर्मनी र अन्य कैयौँ देशहरूबारे पनि सत्य हो । अमेरिकामा पहिले युरोपबाट गएका बेग्लाबेग्लै जातिहरू बस्दथे । तर ऐतिहासिक विकासको क्रममा ती सबैका बिचमा एकीकरण भएर एउटा अमेरिकी राष्ट्रको निर्माण भयो ।

नेपालकै कुरा गरौँ । पहिले विभिन्न जाति वा जनजातिहरू बेग्लाबेग्लै स्थानहरूमा बसोबास गर्दथे । तर सामन्ती विकासका साथै उनीहरू एक अर्काका नजिक आउँदै गए । उनीहरू देशका विभिन्न भागहरूमा फैलिँदै गए र उनीहरूको अन्य जातिसित सम्बन्धको विस्तार हुँदै गयो । एउटा जातिको अन्य जातिसित मात्र होइन, एउटा प्रजातिको अन्य प्रजातिका मानिसहरूसितको वैवाहिक सम्बन्ध पनि बढ्दै गयो । त्यसको परिणाम स्वरूप जात, जाति, धर्म, संस्कृति आदिका पहिलेका सीमाहरू खुकुलो हुँदै, कमजोर हुँदै वा टुट्दै गइरहेका छन् । विभिन्न जातिहरूका बिचको रगतको सम्मिश्रणबाट जन्मेका मानिसहरूको संख्या बढ्दै गइरहेको छ । समाजका कट्टर पन्थीहरूले ती भत्केका बाँधहरूलाई बाँध्नको लागि अहिले पनि प्रयत्न गरिरहेका छन् । तर अन्ततः विकासका लागि निर्णयात्मक पक्ष भौतिक शक्ति नै हुन्छ । भौतिक पक्षको विकासलाई रोक्नु उनीहरूको बसभन्दा बाहिरको कुरा हो ।

गत सय, दुईसय वर्षको कुरा छाडौँ, पचास, साठी वर्षको मात्र कुरा गर्ने हो भने पनि सामाजिक बन्धनहरू धेरै नै खुकुलो, कमजोर वा टुट्दै गइरहेको कुरा बुझ्न गाह्रो पर्दैन । खाली एउटै प्रजातिका बेग्लाबेग्लै जातहरूका बिचमा मात्र होइन, बेग्लाबेग्लै प्रजातिका बिचमा पनि विवाह सम्बन्धहरू बढ्दै गइरहेका छन् । त्यसरी अन्तरजातीय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि सामाजिक एकीकरणको प्रक्रिया बढ्दै गइरहेको छ । अरू पचास, साठी वा सय, दुईसय वर्षको बिचमा यो प्रक्रिया कति धेरै बढेर जानेछ ? त्यो कुरा कसैले सजिलैसँग अनुमान गर्न सक्दछ । त्यो बेला अहिलेका सङ्कीर्ण वा रूढिवादी जातीय वा सामाजिक घेराहरू इतिहासका विषयहरू बन्नेछन्, जस्तो कि हिटलरको रगतको शुद्धता र त्यसको रक्षाको लागि अपनाएका बर्बर तरिकाहरू इतिहासका विषयहरू बनेका छन् । आखिरमा कसैले समाजको वर्तमान अवस्थालाई कायम राख्न वा त्यसलाई पछाडि धकेल्न जति प्रयत्न गरेपनि, अन्त्यमा समाज अगाडि बढ्दै जान्छ र त्यो प्रकृति र इतिहासको नियम हो ।

लेखकले अन्तर्राष्ट्रिय रूपमा र हिन्दू धर्मशास्त्रहरूमा भएको छुवाछुत प्रथा वा शूद्रहरूको स्थितिबारे विस्तृत र गहन प्रकारले प्रकाश हाल्नु भएको छ । त्यस सन्दर्भमा एउटा अर्को पक्षको चर्चा गर्नु पनि सायद अप्रासंगिक हुने छैन । त्यो पक्ष हो – खसहरूबारे । खसहरू आर्य प्रजातिका भएपनि उनीहरू वैदिक वा हिन्दू आर्यहरू होइनन् । हिन्दू आर्यहरूले खाली आफ्नो प्रजातिका तल्लो वर्गका मानिसहरूलाई मात्र होइन, गैरहिन्दू आर्य जातिका मानिसहरूलाई पनि शूद्र जातिमा राख्ने गरेका थिए । खसहरू हिन्दू आर्यहरू नभएकाले हिन्दू आर्यहरूले उनीहरूलाई पनि शूद्र जातिको रूपमा राखेका थिए । तर हिन्दूहरूको प्रभाव बढ्दै गएपछि खसहरूले पनि आफ्नो हिन्दूकरण गर्दै गए । उनीहरूले हिन्दू धर्म, देवी देवता, वर्णाश्रम आदिलाई अपनाउँदै गए । गढवाल र कुमाउँमा पहिले खसहरूको ठूलो सङ्ख्या थियो । त्यहाँ पनि उनीहरूलाई शूद्र नै मानिन्थ्यो । खस एउटा ऐतिहासिक र लडाकु जाति थियो । तर दर्शन, संस्कृति, साहित्य आदिका दृष्टिले त्यो वैदिक आर्यभन्दा धेरै पछाडि थियो । वैदिक आर्यहरू वेद, उपनिषद, पुराण, रामायण, महाभारत आदि धार्मिक कृतिहरूद्वारा सम्पन्न थिए । तर त्यो दृष्टिले खसहरू धेरै पछाडि थिए । त्यसले उनीहरूले हिन्दू आर्यभन्दा आफूलाई हीन सम्झन थाले र उनीहरूको हिन्दू आर्यमा विलय हुँदै गयो । तर उनीहरूको हिन्दूकरण हुँदै गएपछि अब त्यहाँ खस जातिको कुनै अवशेष पनि पाइन्न ।

खसहरूले नेपालमा प्रवेश गरेपछि उनीहरू कैयौँ राज्यहरूको निर्माण गर्न सफल भए । त्यसले गर्दा उनीहरूको सामाजिक प्रतिष्ठा र प्रभाव बढ्दै गयो । त्यसपछि उनीहरूले आफूलाई पनि हिन्दूका रूपमा स्थापित गर्न थाले । उनीहरूले जनै लगाउन थाले, वा हिन्दू वर्णाश्रम अपनाउँदै गए । त्यसरी हिन्दू धर्मले पहिले शूद्र भनेर फालिएका खसहरू ‘उच्च ‘ जातमा सामेल हुँदै गए । गढवाल र कुमाउँमा जस्तै नेपालमा खस जातिको अस्तित्व मेटिएको छैन र अहिलेसम्मै नेपालमा खस जातिको रूपमा जानिने मानिसहरूको ठूलो सङ्ख्या छ ।

अब नेपालका खसहरूले पनि गढवाल, कुमाउँका खसहरूले जस्तै आफूलाई खसको रूपमा परिचय दिनुलाई आफ्नो अपमानको कुरा ठान्दछन् । उनीहरू यो कुरा स्वीकार गर्न तयार हुँदैनन् कि पहिले उनीहरूलाई शूद्र मानिन्थ्यो र पछि उनीहरूको हिन्दूकरण भएको थियो । तर त्यसले यो वास्तविकतामाथि पर्दा हाल्न सक्दैन कि उनीहरूलाई पनि पहिले हिन्दू धर्मले शूद्र नै घोषित गरेको थियो । तर त्यो कारणले उनीहरूले आफूलाई हीन ठान्नुपर्ने आवश्यकता छैन । किनकि उनीहरू वैदिक आर्यभन्दा बेग्लै जातिका मानिसहरू थिए र खाली वैदिक आर्यहरूले उनीहरूलाई शूद्र भनेर अपमान गर्ने प्रयत्न गरेका थिए । जेहोस्, खस जातिको मूल रूप अहिले पनि सुदुर पश्चिमका केही जिल्लाहरूमा मतवाली क्षेत्रीको रूपमा कायम छ । यो भन्न सकिन्छ मतवाली क्षेत्रीहरू नेपालका खसहरूका आदिम रूप हुन् ।

प्रस्तुत पुस्तकमा संसारका विभिन्न देशहरूका विवाहप्रथाहरूको पनि विस्तृत रूपमा चर्चा गरिएको छ । त्यसबाट पुस्तकको उपयोगिता अरू बढेर गएको छ । पुस्तकको अन्तमा नेपालमा अन्तरजातीय रूपमा विवाह गरिएका कैयौँ उदाहरणहरूको चर्चा गरिएको छ । त्यसबाट नेपालमा जातीय बन्धनहरूलाई तोड्दै अन्तरजातीय विवाहको पक्षमा वातावरण बढ्दै गएको प्रयत्नलाई मात्र बताउँदैन, त्यसले सबै जात जातिहरूका बिचमा बढ्दै गएको सामाजिक एकीकरणलाई पनि बताउँदछ, जो भविष्यका लागि अत्यन्त सकारात्मक संकेत हो । कुरा यतिमात्र होइन कि नेपालमा त्यसप्रकारको सामाजिक एकीकरणको प्रक्रिया बढ्दै गइरहेको छ, तर त्यो प्रक्रिया नेपालमा मात्र सीमित रहने छैन र भविष्यमा अन्तर्राष्ट्रिय रूपमा पनि त्यसप्रकारको एकीकरणको प्रक्रिया बढ्दै जानेछ । अहिले पनि संसारमा त्यसप्रकारको प्रक्रिया बढ्दै गइरहेको छ र भविष्यमा त्यसले अरू व्यापक रूप लिने कुरा निश्चित छ ।

लेखकले खाली अन्तरजातीय विवाहको मात्र होइन, विवाहको सम्पूर्ण पद्धतिबारे नै विस्तृत र गहन चर्चा गरेकोमा उहाँलाई धेरै नै धन्यवाद छ । भविष्यमा हामीले उहाँबाट त्यही प्रकारका अन्य अध्ययन मूलक र अनुसन्धान मूलक कृतिहरूको पनि आशा गर्दछौँ ।

अन्तमा हामीले उहाँको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछौँ ।

— मोहनविक्रम सिंह
२०७७ माघ ८

 

(प्रस्तुत लेख मोहन विक्रम सिंहले रामबहादुर बुढाद्वारा लिखित पुुस्तक ‘अन्तर्जातीय विवाह ’ का लागि लेखेको भूमिका हो । )

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित