कविता ः संसार बदल्नुअघि

रामसिङ विक.

म संसार परिवर्तन गर्न भनेर हिँडेको मान्छे,
आफू कति परिवर्तन भएको छु—थाहा छैन।

अरूका घाउ देखेर मल्हम बन्न खोजेँ,
आफ्नै मनका चोटहरू कहिल्यै गनेको छैन।

व्यवस्था बदल्ने सपना बोकेर हिँडिरहेँ,
तर आफ्नै सोचका पर्खालहरू भत्काउन सकेको छैन।

अँध्यारोमा अरूलाई बाटो देखाएँ,
आफ्नै पाइला भने कतै हराइरहेका छन्।

संसारलाई नयाँ बनाउन निस्केको म,
हरेक दिन आफैंभित्र पुरानो हुँदै गएँ।

उज्यालो संसारमा धेरै वस्तु देखेपनि,
साँझ परेपछि म कता हराए थाहा भएँन।

दौडिरहेको छु म गन्तव्यसम्म पुगिन्छ कि,
काँडैकाँडाको बाटो रहेछ पुग्न सकिन म।

मैले बुझेअब अप्ठ्यारो सँग कसरी लड्ने
त्यसैले भनिदो रहेछ
सायद संसार बदल्नु अघि
आफूलाई बदल्नुपर्ने रहेछ—
तर विडम्बना,
म अझै पनि
संसार परिवर्तन गर्ने यात्रामै छु,
आफूलाई बदल्न खोज्दै छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित