कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

महेन्द्रनगर, २८ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति छन् ।

विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन् । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ”, उनले भने । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोल्नुभयो । वन विभागको अनुमति लिनुभएका पन्तले भने, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।”

काठमाडाँैमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गर्नुभएका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिनुभयो । हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन् ।

“वार्षिक रु १८ लाखदेखि रु २० लाखसम्मको कारोबार हुन्छ”, पन्तले भने । महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उनले खेती गर्न थाल्नुभएको हो । पन्तले भने, “व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन ।”

सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थाल्नुभएका पन्तले उत्पादन गर्नुभएका बिरुवा स्थानीय बजार, सङ्घसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन् । “श्रीखण्डको भित्री काठ अहिले रु तीन हजार पाँच सयदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेको छ”, उनले भने, “रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन ।”

सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताउँछन् । “अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु”, उनले भने । महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उनले जानकारी दिए ।

कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए । उनले आफ्नो फार्ममा एक जनालाई रोजगार दिएको छ । व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उनको भनाइ छ ।

बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताए । सुरुआतमा रु तीन लाखको लगानीमा खेती सुरु गर्नुभएका उनले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताए । छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन् ।

धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ । रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त बताउँछन् । एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित