– लालबहादुर जाग्री
नेपाली समाजमा अहिले अत्यधिक चर्चा परिचर्चाको विषय यो छ कि देशमा भ्रष्टाचार, कमिशनतन्त्र, दलाली र परनिर्भरताले देशको अर्थतन्त्र र स्वाधीनता समाप्त हुँदैछ । नेपालमा केही गर्ने वातावरण र अवस्था छैन । त्यसकारण दक्ष तथा अदक्ष युवा जनशक्ति विदेश पलायन हुँदै गएका छन् ।
अहिलेका रुलिङ पार्टीहरू नेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र) र संसदको प्रमुख प्रतिपक्ष पार्टी नेकपा (एमाले) तथा अन्य संसदवादी पार्टीहरु र यिनका नेता प्रति नयाँ पुस्तामा व्यापक घृणा, अनास्था, अविश्वास विभिन्न माध्यमबाट अभिव्यक्त हुँदै आएका छन् । देशको यो स्थितिलाई सुधार गर्न कतिपयले नेताहरु (व्यक्ति), कतिपयले दल र केहीले व्यवस्थाको विकल्प खोज्नु पर्छ भन्ने गरेका छन् । राजनीतिमा व्यक्ति, दल, व्यवस्था भन्नु पानीको धाराको टुटी, पाइप र मुहान जस्तै हो । सफा शुद्ध पानी पिउनका लागि धाराको टुटी मात्र परिवर्तन गरेर वा पाइप परिवर्तन गरेर हुँदैन । पानीको मुहान नै अशुद्ध भएको हुँदा पानीको मुहान नै सफा गरेमा वा मुहान नै फेर्न सकेमा सफा र शुद्ध पानी पाइप हुँदै धाराको टुटीसम्म आउँछ । ठीक त्यसैगरी अहिले व्यवस्थामा आएको खराबीबाट मुक्ति पाउन व्यक्ति वा दल परिवर्तन गरेर हुँदैन व्यवस्थाको नै परिवर्तन गर्न जरुरी छ ।
यस लेख देशको अवस्थामा आमुल सुधार (गुणात्मक) परिवर्तन गर्ने वा सुधार (मात्रात्मक) परिवर्तन गर्ने ? सुधार केमा गर्ने ? व्यक्ति, दल वा व्यवस्थाको विकल्प खोज्दा वैकल्पिक प्रगतिशील विचार,दर्शन, राजनीतिबाट निर्देशित भएको व्यक्ति, दल र व्यवस्थाले मात्र सही व्यवहार स्थापित हुन्छ र त्यसको परिणाम समग्र देशको अवस्थाको आमूल परिवर्तन हुन सक्छ भन्ने विषयमा केन्द्रित रहने छ । व्यक्ति भन्दा व्यवस्था र दल परिवर्तन प्रधान पक्ष हो । यही भित्र व्यक्ति र समाज रहेको हुन्छ ।
व्यक्तिः घरपरिवार, सामाजिक रीतिरिवाज, चालचलन, धर्म, मुल्यमान्यता, संस्कार र सँस्कृति र राजनीतिक दर्शन, सिद्धान्त, विचार, मूल्य मान्यताको प्रभावले कुनै पनि व्यक्तिको सोच वा धारणा निर्माण हुन्छ । त्यसको प्रभाव व्यवहारमा अभिव्यक्त हुन्छ । मजदुर र किसान परिवारमा हुर्कि बढ्यो वा सामन्ती जमिन्दार, व्यापारी परिवारमा हुर्कि बढ्यो भन्ने कुराले व्यक्तिको जीवनशैली, सोचाइ, व्यवहारलाई निर्धारण गर्ने गरेको हुन्छ । कतिपयको भनाइ रहेको छ अहिले रुलिङ पार्टीमा रहेको नेताहरु बृद्ध, लालची, स्वार्थी, लोभी, दम्वी, अहँकारी, अविश्वासी र राष्ट्रघाती भए । सोही पार्टीका युवाहरुले नेतृत्व गरेमा जनताको जीवनस्तर परिवर्तन हुने थियो कि ? कुनै पनि पार्टीमा प्रौढ, युवा किशोर सबै उमेरका व्यक्तिहरुले आ– आफ्नो तहमा नेतृत्व गरेका हुन्छन् । स्वास्थ्यले साथ दिंदासम्म राजनीतिबाट देश जनताको सेवा गर्ने अवसर जो सुकैले पाउन पर्ने हुन्छ । किशोर, युवा वा प्रौढ जुन उमेरका व्यक्तिले पार्टीको नेतृत्व गरे पनि हुन्छ । प्रौढले कुन राजनीतिक दर्शन, सिद्धान्त र विचार बोकेर पार्टीको नेतृत्व गरेका छन् सोही राजनीतिको फलो गरेर किशोर होस् वा युवाले पनि पार्टी सञ्चालन गर्नु पर्ने हुन्छ । उही सिद्धान्त, विचार, राजनीति, आचरण बोकेर उही व्यवस्थामा जुन सुकै उमेर समुहका व्यक्तिले नेतृत्व गरे पनि परिणाम आउने एउटै हो । २०६२÷२०६३ को परिवर्तन पछि दलाल लोकतान्त्रिक व्यवस्थामा देशका प्रधानमन्त्री पदमा व्यक्तिहरु गिरिजा प्रसाद कोइराला, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, वावुराम भट्टराइ ,के.पि शर्मा ओली, झलनाथ खनाल, शुशिल कोइराला र राष्ट्रपतिमा रामवरण यादव, विद्यादेवी भण्डारी र रामचन्द्र पौडेल भए । व्यक्ति–व्यक्ति धेरै परिवर्तन भए तर देश र जनताको अवस्था दिनप्रतिदिन नाजुक हँुदै आएको छ । यसले के कुराको पुष्टि गर्दछ भने व्यक्ति परिवर्तन हुँदैमा वा पानीको धाराको टुटी र पाइप फेरिदैमा पानी शुद्ध भइ हाल्दैन । एउदै दर्शन, सिद्धान्त, विचार, आचरण र व्यवस्था बोक्ने पार्टी भित्रका व्यक्ति परिवर्तन हुँदैमा कुनै फरक पर्दैन । त्यसकारण व्यक्ति मात्र फेरिनुले राजनीतिमा खासै फरक नपर्ने कुरा यसले प्रष्ट गरेको हुँदा व्यक्ति होइन, व्यवस्था नै परिवर्तन गर्नुपर्छ । करिव २० वर्षको दलाल संसदीय व्यवस्था अन्तर्गतका प्रधामन्त्री, राष्ट्रपति पदमा व्यक्तिहरु धेरै परिवर्तन भए तर जनता र देशको अवस्थामा कुनै परिवर्तन भएन । घुम्दै फिर्दै रुम्जाटार भने झै जनताको जीवनस्तर खस्किदै गएको छ । यसले पनि पानीको धाराको टुटी, पाइप होइन, मुहान नै सफा गर्नुपर्छ भन्ने कुरा प्रष्ट गरेको छ ।
दल–व्यवस्थाः निश्चित सिद्धान्त अनुशरण गर्ने उस्तै विचार भएका निश्चित वर्गको प्रतिनिधित्व गर्ने व्यक्तिहरु मिलेर औपचारिक रुपले संगठित राजनीतिक संस्था नै दल हो । नेपालका सन्दर्भमा विभिन्न दलले समाजमा रहेका विभिन्न वर्गको प्रतिनिधित्व गर्ने गरेको छ । मुलभूतरुपमा रुलिङग पार्टीका बारेमा यहाँ चर्चा गरिने छ । राप्रपा पुनरुत्थानवादी सामन्त एव पूर्वपञ्चहरुको पार्टी हो । काँग्रेस जमिन्दार, विदेशका दलाल र धनाढ्य व्यापारीहरुको प्रतिनिधित्व गर्ने पार्टी हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नव धनाढ्य पुँजीपति एवं दलालहरुको प्रतिनिधित्व गर्ने पार्टीहरु हुन् । रास्वपा अमेरिका र युरोपियन युनियनबाट पालित पोषित यही व्यवस्थाभित्र व्यक्ति मात्र परिवर्तन गर्नपर्छ भन्ने विचार बोकेका समूहहरूको पार्टी हो । हामीले मेला र आमसभामा सहभागी भएको भीडमा फरक देख्नुपर्ने हुन्छ । मेलामा जम्मा भएको भीडको उद्देश्य मेला हेर्ने रमाइलो गर्ने हुन्छ भने कुनै पार्टीको सभामा सहभागी भीडको उद्देश्य सो पार्टीको विचार, कार्यदिशा बुझ्ने हुन्छ । कतिपय व्यक्ति सभामा सहभागी जनाउनुको अर्थ सो पार्टीको कार्यक्रममा हेलिनु हुन्छ भने कतिपयले केवल उनीहरूको कुरा बुझ्ने मात्र हुन्छ । रास्वपा भन्ने पार्टीको सभा र भेलामा सहभागी भएका व्यक्ति सबै उनीहरूका प्रतिबद्ध मान्छे होइनन् । केही सीमित व्यक्ति मात्र त्यहाँ प्रतिबद्ध छन् । रास्वपामा प्रायः विचारविहीन भीड जम्मा भएका छन् । मधेशवादी पार्टी मधेशका जमिन्दाहरुको हित गर्ने मूलतः भारतीय शासकबाट पालित पोषित पार्टीहरु हुन् । यी पार्टीहरुले आ–आफ्नो वर्ग समुदायका लागि मात्र हितहुने गरी काम गरिरहेका छन् । नेपालका किसान, मजदुर, गरिखाने वर्ग, समुदायको प्रतिनधित्व गर्ने आमूल परिवर्तनकारी लक्ष्य बोक्ने पार्टी नेकपा(मशाल) हो । राजनीतिक दलले आफ्नो पार्टीको लक्ष्य उद्देश्य कार्यान्वय गर्न देशमा आफ्नो शासन गर्ने प्रणाली (व्यवस्था) कायम गर्ने गरेका हुन्छन् ।
अहिलेको दलाल संसदीय व्यवस्था भनेको यथास्थितिवादी संसदवादी मूलतः कांग्रेसहरुको नीति र विचार लागु गर्ने शासकीय प्रणाली हो । संसदीय व्यवस्थाभित्रका यी पार्टीहरुलाई देश र जनताको बर्बादी, दुःख, पीडा प्रति कुनै चिन्ता चासो छैन । केवल सरकारमा को जाने र मालदार मन्त्रालय कसले पाउने, राज्यका पदहरुको नियुक्ति, बढुवा, नियुक्तिमा के, कसरी, कसवाट घुस, कमिसन असुल गर्ने ? आफ्नो विचारविहीन झोले कार्यकर्तालाई राज्यको स्रोत दोहन गर्ने ठाउँमा कसरी पु¥याउने वा राज्य स्रोतको सानो अंश भए पनि कार्यकर्तालाई कसरी पु¥याउने ? अर्को चुनावमा जित्न आजैदेखि कसरी रुपियाको जोहो गर्ने भन्ने मात्र चिन्ता र चासो रहेको अवस्थामा यी दलहरुको विकल्प खोज्नु पर्दछ त्यसका निम्ति जनताको चेतनास्तर परिवर्तन गर्नु जरुरी छ । कतिपय व्यक्तिहरु विचार, राजनीति, सिद्धान्त भन्दा मेरो बुबा, बाजेले कांग्रेस, एमाले, माओवादीलाई भोट हाल्दै आएका हुन् म नाति पनि यिनै पार्टीलाई मत दिन्छु भन्ने चेतना र केही व्यक्तिहरुको सरकारमा यिनै पार्टी छन् यी पार्टीमा लागेमा मेरो केही व्यक्तिगत काम लिन सकिएला भन्ने उद्देश्यले लागेको देखिन्छ । यी र यस्तै जनताको मतलाई परिवर्तन गरी जनताले नै यी दल वा व्यवस्थाको विकल्प खोज्नका लागि संघर्ष गर्नुको विकल्प छैन ।
अवको विकल्प भनेको मजदुर, किसान, डाक्टर, वकिल, प्राध्यापक, युवा, विद्यार्थी, लेखक, पत्रकारहरु समेतका व्यवसायिक संगठनको प्रतिनिधित्व हुने गरी जनप्रतिनिधि सभा हुनुपर्छ । भ्रष्टाचार, कमिशन, घुस लिने, दिने व्यक्तिहरु, देशका सुचना बिक्रि गर्ने, डिबि र पिआरधारीहरु, राष्ट्र, समाजलाई अहित आफु आफ्नो परिवार हित हुने गरी गरिने कार्य व्यवहारलाई अपराध घोषणा गरी त्यस्ता व्यक्तिहहरुलाई अपराधको मात्रा प्रकृति र अवस्था हेरी ३ वर्ष देखि जन्मकैद सम्मको व्यवस्था गरिने कानुन व्यवस्था गरिनु पर्छ । जनता प्रति उत्तरदायी जनन्याय प्रणाली, जनसेना पनि जनप्रतिनिधि सभाले निर्माण गरेको कानुन अनुसार व्यवस्थापन र सञ्चालन हुनु पर्ने हुन्छ । मूलभूत रुपमा शिक्षाले देशभक्त स्वाभिमानी श्रमको सम्मान गर्ने नागरिक उत्पादन गर्दै शिक्षा, सीपमूलक र देशको आवश्यकताका आधारमा निर्धारण गरिनुका साथै डाक्टर, वकिल, पाइलट, इन्जिनियरको शिक्षा सर्वसुलभ र निःशुल्क गरिनु पर्ने हुन्छ । नेपालको अर्थतन्त्रमा रहेको भारतीय एकाधिकारलाई अन्त गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने शासन व्यवस्थाले मात्र अहिलेको राजनीतिक संकटको निकास दिन सक्दछ । सो व्यवस्था नयाँ जनवादी व्यवस्था भएकोले यसको स्थापनाका लागि नै संघर्ष अगाडि बढाउनुको विकल्प छैन ।

