फेसबुकका नकारात्मक कमेन्टले सत्य कुरा लुक्दैन

–विमल शर्मा
कम्युनिष्ट आन्दोलनलाई सहयोग पुग्दछ कि भन्ने उद्देश्यले काठमान्डौको कपनमा भवन खरिद तथा बुटवलमा भवन (पछि त्यसको केही भागलार्ई कम्युनिष्ट संग्राहलय बनाइयो) निर्माणमा सयौं कार्यकर्ता, हजारौं जनताको रगत र पसिनाले ती भवनहरु निर्माण भएका थिए । त्यसरी निर्माण भएका भवन अहिले जसरी प्रयोग गरेको देखिन्छ त्यसले खरिद गर्दाका उद्देश्यहरु ओझेलमा पर्दै गइरहेको देखिन्छ । कुनै समयमा पार्टीमा निर्णय भएको छ अफिस भवनलाई आवासिय नबनाउने र अफिसियल रुपमा मात्र प्रयोग गर्ने । तर अहिले त्यसलाई अफिसियलभन्दा बढी आवासीय रुपमा प्रयोग गरेको देखिन्छ । के त्यसपछि अफिसलाई आवासिय रुपमा प्रयोग गर्ने निर्णय भएको छ ? ती भवन निर्माण गर्दा आम जनतासंग सहयोग लिने समयमा तपाइहरुको सहयोगलाइ गलत प्रकारले प्रयोग हुन दिइने छैन भनेर कबुल गरिएको थियो । हामीले कार्यालयलार्ई व्यवस्थापन गर्ने त्यो कबुललाई पुरागर्न कोशिस गरिरह्यौं । भवन खरिदको सुरुवात देखि अन्तसम्मको प्रक्रियाको बारेमा अलग्गै लेख लेख्नुपर्ने हुन्छ । जसले भवन खरिद गर्दा कुन प्रक्रिया अपनाइयो ? कसरी र कसको नाममा घरलाई पास गर्न खोजिएको थियो ? कसरी कसरी विषयहरुलाई गुमराहमा राखियो । उसबेला नै भवन खरिद बारे एउटा पीपीएमले महामन्त्रीलाई भवन खरिद बारे कसरी आलोचना गरेका थिए आदि विषय बताउनुपर्ने हुन्छ । त्यसका साथै भूकम्प पीडितको रकमबारेको विषय अलग्गै छ । यस्ता सत्य विषय पत्रिका वा फेसबुकमा लेखेपछि त्यसमा धेरै व्यक्तिगत नकारात्मक कमेन्ट, गालिगलौज गर्ने गरिएको छ त्यस्ता नकारात्मक कमेन्टले सत्य कुरालाई लुकाउन सक्दैन ।

हामीले भवन निर्माणका विषय मात्र होइन पार्टी केन्द्रमा आउने सबै रकमलाइ पारदर्शी बनाउन कोशिस गरियो । पार्टी नेतृत्वमा रहेका व्यक्तिहरुले आर्थिक विषयमा कसरी हिसाबलाई गोलमटोल पार्दा रहेछन् त्यो कुरा हिसाब जाँच गर्दा देखियो । विभिन्न स्थानबाट सहयोग आएको रकमको हिसाब राख्ने जिम्मा पाएका व्यक्तिको हिसाब जाँच गरियो । हिसाब जाँच गर्दा हिसाबमा वेरुजु देखियो । ती विषयहरु पार्टीको केन्द्रीय कार्यालय, केन्द्रीय समितिमा राख्यौं तर तिनीहरुबारे कुनै सुनवाई भएन । किन सुनवाइ भएन भने पक्षधरताका आधारमा व्यक्तिगत गल्तिहरुलाई संरक्षण गर्ने काम भए । हामीले कार्यालयमा राखेका प्रमाणहरु कार्यालयले कहिल्यै कार्यकर्तालाई बताएन । पार्टीमा अन्तरसंघर्षको दौरानमा राजनीतिक अन्तर संघर्षका साथै आर्थिक अनियमितता वारे पनि हामीले उल्लेख गरेका छौं । मसालभित्र आर्थिक अनियमितता केवल भवन निमार्णमा मात्र थिएन । पार्टीमा प्राप्त हुने सदस्यता, लेभि, भैलो, आर्थिक अभियान, हाँक साप्ताहिकलाई प्राप्तहुने विज्ञापन र ग्राहकको रकम आदि विषयहरुमा समेत थिए । जसलाई हामीले मसालमा रहँदै कार्यालय र केन्द्रीय समितिमा समेत उल्लेख गरेका छौं । अहिले कार्यालयमा रहेका व्यक्तिले हामीहरुलाई जसरी आरोपित गरिरहेका छन् त्यो हेर्दा हामीले मसालमा रहँदा राखेका प्रस्ताव वा विषयहरु सार्वजनिक गर्नुपर्ने हुँदै गइरहेको छ । मसालभित्र त्यस प्रकारको आर्थिक हिनामिना सहित नेतृत्वले गर्ने दुरुपयोगको लामो फेहरिस्त छ । जो वषौं वर्षदेखि हुँदै आएको कुरा हामीभन्दा पहिलेका नेता तथा कार्यहरुले बताउँदै आएका छन् । त्यसवारे हामीले कैयौं प्रस्ताव राखेको र लेखहरुमा उल्लेख पनि गरिसकेका छौं ।

कम्युनिष्ट पार्टी वा नेता तथा कार्यकर्ताहरुले कम्युनिष्ट आन्दोलनको नीति तर्फ जनतालाई आकर्षण गर्न र समर्थन गराउन सैद्धान्तिक तथा व्यवहारिक विषयमा ध्यान दिनुपर्दछ । त्यो सैद्धान्तिक र व्यवहारिक विषय बस्तुस्थितिको तथ्यमा आधारित हुनु पर्दछ । तथ्य र व्यवहारमा आधारित नहुनुको परिणाम क्रान्तिकारी आन्दोलन कम्जोर हुन्छ र राष्ट्रीयता, जनतन्त्र र जनताका दैनिक समस्याहरूलाइ एकातिर राखेर व्यक्तिमा ध्यान केन्द्रित हुन्छ । व्यक्तिको प्रचार प्रसारले आन्दोलन नेताले गर्ने हो र उनिहरुको पछि लाग्ने चेतनाले विकास गर्दै जान्छ । यस्तो भयो भने जनताले कम्युनिष्ट आन्दोलन चाहेर पनि प्राप्त गर्न सक्दैनन् । बस्तुस्थितिमा ध्यान पुगेन भने, कम्युनिष्ट र त्यसका विरोधीको व्यवहार नैतिकता एउटै भयो भने जनताले के कारणले कम्युनिष्ट नीतिलाई समर्थन गर्दछन् ? अवश्य गर्दैनन् । कम्युनिष्ट नेता वा कार्यकर्ताले बाहिर राम्रो जस्तो देखिने, पार्टीभित्र सैद्धान्तिक वकालत गर्ने तर व्यवहारमा ढाँट छल गर्ने, झुट बोल्ने, भ्रष्ट हुने, अनैतिक कार्यमा सामेल हुने गरेमा जनताले र कार्यकताले पनि उसको व्यवहार हेरिरहेको हुन्छ । त्यस प्रकारका नेता वा कार्यकर्तालाई सुधार गर्न प्रयत्न गर्नु पहिलो कार्य हो । तर पदीय घमण्ड र बहुमतको आडमा गलत नीति र व्यवहारलाई प्रश्रय दिइयो भने त्यो सोचाई र व्यवहारले प्रतिकृयावादीसंग सम्झौता गराउदै आन्दोलनमा धोका दिन्छ र विसर्जन गराउँछ । ती कार्यहरु भर्खरै प्रत्यक्ष नदेखिए पनि क्रमशः देखिंदै जान्छन्् ।

यो कुरा कपन कार्यालय वारेमा सत्य हो । व्यवहारिक रुपमा लामो समय केन्द्रिय कार्यालयमा काम गरेका र हिसाब राखेका गंगा पौडेलले “मैले राजिनामा किन दिंए” भन्ने लेखमा भवन, कार्यालयको आर्थिक र खर्चको पद्धतिबारे कैयौं विषय उल्लेख गरेका छन् । साथै केन्द्रिय कार्यालयमा रहेर हिसाब किताव राख्ने गरेका ओमबहादुर केसीले आफ्नो लेखमा प्रमाणहरु पेश गरेर केही विषय उल्लेख गरेका छन् । उनिहरुले ती विषयहरु अहिले पार्टीबाट निकालिएपछि उठाएका विषय होइनन् । उनीहरु पार्टीभित्र रहँदै उठाएका विषयहरु हुन् । त्यही प्रसंगमा गत माघमा काठमाडौं कपन घर खरिद गर्दा १० हजार भन्दा बढी सहयोग गर्ने सहयोग दाताको नाम शिलालेखमा लेखेर त्यहाँ राख्ने काम भएको रहेछ । पहिलो कुरा त त्यसरी शिलालेखमा नाम लेखेर राख्ने जुन कार्य भएको छ त्यसलाई धन्यवाद दिनु पर्दछ । किनभने हामीले विगत ५–७ वर्षदेखि उठाउँदै आएको एउटा विषय पूरा भएको छ । अहिले राखिएको नामावलीमा छुट व्यक्तिहरुको नाम पनि त्यसमा सामेल गरिनु पर्दछ । फेसबुकका कमेन्ट र कुराकानीका दौरानमा कैयौं साथीहरुले आफ्नो नाम छुटको बताएका छन् । बाराका एकजना साथीले रसिद नम्बर नै उल्लेख गरेर त्यो कुरा बताएका छन् । पूर्वी नेपालका एकजना साथीले “तत्कालीन जनकपुर सगरमाथा क्षेत्रको हिसाब सिन्धुलीको हकमा मान बहादुर जी र मैले नाम लेख्नी गरि पैसा दिएका थियौ । सिन्धुली पार्टीको बैठक पुस्तिकामा पनि उल्लेख गरेको छ । युएइबाटकोे प्रती ब्यक्ति ५०० दिरामको दरको रकम, वारा, भक्तपुर आदिबाट आएका पत्र” भनेर उल्लेख गरेका छन् । जो व्यक्तिहरुले भवनलाई सहयोग गरेका छन् उनीहरुको नाम छुट्नु हुँदैन, कुनै कारण छुटेको भए त्यसमा सामेल गरिनु पर्दछ । त्यसका साथै भवनका लागि उठेको रकमको हिसाब पारदर्शि हुनुपर्दछ । आम्दानी–खर्चको हिसाब सार्वजनिक गर्ने भनिए अनुसार सार्वजनिक गर्नुपर्दछ ।

शिलालेखमा लेखिएका नाम सार्वजनिक गर्ने कार्यक्रममा आनन्द शर्माले ओम बहादुरले हिसाब राखेको र विमल शर्माले जाँचेको पाइयो । उहाँहरुले धेरै मेहनत गरेर एउटा सानो चिर्कटो समेतको हिसाब राखेको देखिएको भनेर भाषण गरेका छन् । उनले सत्य नै भनेका छन् । ओमबहादुरलाई हिसाब राख्ने जिम्मा दिएपछि उनले हिसाब राखेका छन् र केही हिसाब जाँच मैले पनि गरेको छु । भवनको विषयमा ओम बहादुर भन्दा पहिले हिसाब राखेका व्यक्तिको हिसाब जाँच गर्दा कैयौं अनियमितता, भ्रष्टाचार भएको विषयहरु, व्यक्तिले लगेका वा नतिरेका विषयहरु हामीले उल्लेख गरेर कार्यालयमा रिपोर्ट पेश ग¥यौं तर तिनीहरुबारे निर्णय भएन । ओमबहादुरले बारम्बार कार्यालयको हिसाब अडिट गराउन प्रस्ताव गरे तर उनको हिसाब अडिट भएन ।

भवन खरिद बारे हिसाब जाँच गर्दा हिसाब नमिलेकोले जापानबाट उठेको रकमबारे विवाद भएको थियो । जापानसित पत्रचार गर्दा समेत त्यो हिसाब मिल्न सकेन । त्यसबारे ओमबहादुर केसीले आफ्नो लेखमा उल्लेख गरेका छन् । जापानमा चन्दा उठाउँदा जापानी १० मानको १ लाख भनी नाम टिपिएको र अहिले नामावली लिस्टमा प्रकाशन गर्दा त्यसै अनुसार नै कतिपय नाम प्रकाशन गरिएको छ । त्यसमा सटहीमा तलमाथि परेको भन्ने विषय कसरी उठ्यो ? सत्य कुरालाई झुटो बताउने छुट प्रस्तुतकर्तालाई कसरी प्राप्त भयो ? जापान र भक्तपुरबाट उठेको रकममा अनियमितता भएको देखिन्छ । हिसाब राख्ने व्यक्तिले नै आफ्नो लेखमा उल्लेख गरेका छन् जापानबाट उठेको रकममा करिब ५ लाख र भक्तपुरको रकममा भ्रष्टाचार भएको छ । नत्रभने उठेको रकम कार्यालयमा दर्ता नभएर कहाँ जान्छ ? कुनै जिल्लाले रकम उठाएर कार्यालयमा पठाएको छैन भने त्यो रकम त्यो जिल्लामा रहनु पर्दछ वा पर्दैन ? दुवै स्थानमा रकम नभएपछि त्यो भ्रष्टाचार भएको हुन्छ कि हुन्न ? त्यसमा को जिम्मेवार छ त्यसबारे छानविन भएर विषय सार्वजनिक होला ?

फागुन ९ गते हाँक साप्ताहिकमा कपन भवन खरिदको हिसाब राखेका र हेरेका ओमबहादुर केसीको एउटा लेख प्रकाशित भएको छ । लेखमा केसीले कपन भवन खरिद गर्दा उठेको रकममा भ्रष्टाचार भएको विषय उल्लेख गरेका छन् । उनले ती विषय उल्लेख गर्नुभन्दा पहिले भवनमा शिलालेखमा नाम सार्वजनिक गर्ने कार्यक्रममा आनन्द शर्माले उनका बारेमा बोलेका केही भ्रामक कुराहरुलाई पनि स्पष्ट पारेका छन् । मैले त्यो लेख पढेपछि त्यसलाई आफ्नो फेसबुक पेजमा सेयर गरेको छु । मैले त्यो लेख सेयर गरेपछि करिब १०० कमेन्ट आएका छन् । कमेन्ट गर्ने धेरैजसो मसाल समर्थक नेता तथा कार्यकर्ताहरु छन् । जसले लेख पूरा नपढिकन गालिगलौज, कमेन्ट गरेको स्पष्ट देख्न सकिन्छ । किनभने लेखको विषयवस्तुभन्दा बाहिर गएर नै बढी गालिगलौज, नकारात्मक कमेन्ट गरिएको छ । केही व्यक्तिहरुले विषयवस्तुमाथि कमेन्ट गरेका छन् । त्यो लेख मद्वारा लेखिएको होइन, मैले त्यो लेखलाई सेयर मात्र गरेको छु तर कमेन्ट गर्नेले म सहितका साथीहरुमाथि नै बढी गालि र आक्रोश व्यक्त गरेका छन् । त्यसले मसालभित्र हामीहरुका विरुद्ध कसरी स्कूलिङ गरिएको छ त्यसलाई दर्शाउँछ । यी विषयहरुले भ्रष्टाचारलाई सहयोग पु¥याइरहेको छ र पु¥याइरहने छ । त्यसको अन्तिम परिणाम पार्टीभित्र उपल्लो निकायमा रहेका केही व्यक्तिले तल्ला कार्यकर्तालाई गुमराहमा राखिराख्ने र उनीहरुको शोषण गरिरहने हुनेछ ।

भवनको नाम सार्वजनिक गर्ने कार्यक्रममा हिसाब व्यवस्थित राखेको, हिसाब निकाल्न धेरै परिश्रम गरेको विषयलाई धन्यवाद दिने आनन्द शर्माले त्यही भवनलाई सहयोग गरेका साथीहरुले दिएको रकम हिनामिना भएको छ, विषयलाई तोडमोड गरेर भाषण गरियो, विषय यस्तो हो भनेर प्रमाण प्रस्तुत गरेर लेखिएको लेख सेयर गर्दा उनले फेसबुक कमेन्ट गर्दै “यो भित्तामा नाम लेख्ने काम तपाईहरुले लेख्नु पथ्र्यो । तपाइहरुको गलत मनशायले गर्दा लेख्नु भएन भन्ने लाग्छ” भनेका छन् । हामीले विगत कैयौं वर्षदेखि शिलालेखमा नाम लेखौं भन्दा प्रस्ताव राख्दा, भवनका हिसाबमा गडबड छ भनिरहँदा किन त्यसलाई ध्यान दिइएन, किन छानविन गरिएन ? किन त्यसका विरुद्ध उभिनु परेको थियो ? उस बेलाका कुरा छाडौं अहिले हामीले सार्वजनिक रुपमा भनिरहेका छौं भवनको हिसाब पारदर्शी बताऔं किन बताउन सकिंदैन ? भवन सहयोग दाताको नाम लेखौं, हिसाब पारदर्शी देखाऔं, भ्रष्टाचार गर्नेलाई कारवाही गरौं, आर्थिक विषय पारदर्शि हुनुपर्दछ भनेर प्रस्ताव राख्दा “गलत मनशाय” हुन्छ भने हामीहरुद्वारा राखिएका ती प्रस्तावका विरुद्ध उभिनुमा कुन मनसायले काम गरेको छ ? त्यही कमेन्टमा अगाडि लेखिएको छ “तपाइहरुको घटिया सोचाइ के रह्यो भने हिसाबमा गडबडी छ र त्यो देखाएर मोहन विक्रम र चित्रबहादुर केसीलाई बदनाम गर्न सकिन्छ भन्नेमा केन्द्रित रह्यो ।” हामीले भनिरहेका छौं मोहनविक्रमको हिसाबमा अपारदर्शिता, उनले पार्टीको सम्पत्तिलाई व्यक्तिगत बनाउने प्रपञ्च जुन गरेका छन् त्यो गलत छ हामी त्यसका विरुद्ध पहिले पनि थियौं अहिले पनि छौं । जसले पार्टीको सम्पत्ति व्यक्तिगत बनाउन उनलाई सहयोग गरिरहेका छन्, नेतृत्वको आडमा पार्टीले बनाएको नियमका विरुद्ध हिसाब जाँच गर्न दिंदैनन्, शक्तिको दुरुपयोग गरेर स्वार्थ पूर्ति गर्दछन्, साथि भाइको व्यवहार मिलाइ दिए वापत रिश्वत लिन्छन्, परिवार फुटाउन गुटवन्दी गर्दछन्, उनले हामीलाई विभिन्न आरोप लगाएका छन् र लगाउँदै जान्छन् । फेसबुक कमेन्टमा त्योभन्दा कैयौं बढी आरोप लगाइएको छ गालिगलौज गरिएको छ । मोहनविक्रम र चित्रबहादुरका गलत क्रियाकलापको हिसाबमा मात्र होइन सबै गलत विषयमा विरोध गर्नुपर्दछ । “हिसाबमा गडबढी छ” र त्यसको विरोध गर्नु “घटिया सोचाई” हुन्छ भनेर कमेन्ट गरेपछि “उच्च” विचार भएकाले हिसाब गढबढीलाई संरक्षण गर्नुपर्दछ, पार्टीभित्र भ्रष्टाचार गर्नुपर्दछ त्यही “उच्च” विचार हुन्छ होला ? के त्यही नीतिका आधारमा अहिले मसाल नेतृत्वतह चलिरहेको त छैन ?

हामीले सिद्धान्त, विचार र व्यवहार बारेमा केही लेखहरू लेख्ने गरेका छौं । त्यसको आधार नेपाल कम्युनिस्ट पार्टी मसालको आठौं महाधिवेशनसम्म अहिले सम्म आउँदाको तुलनात्मक अध्ययनको हो । सवैले सिद्धान्त, सामाजिक विचार र व्यवहारको आधारमा नै लेख्ने गर्दछन् । नेपालको कम्युनिष्ट आन्दोलनमा भएको मसालको व्यवहारमा अपनाइएको भ्रष्ट र अवसरवादी प्रवृत्तिको बारेमा कमैले कलम चलाएको देखिन्छ । हुन त मेरो त्यस विषयमा कम अध्ययन र प्राप्त रिपोर्ट भएर पनि हुन सक्दछ । जे होस सिद्धान्त र विचारलाई समर्थन गर्ने त्यसलाई व्यवहारमा लागू गर्न नपर्ने त्यो अचम्मको विषय हुँदो रहेछ । विभिन्न प्रकारका सरकार, नेता वा कार्यकर्ताहरूले कहिँ पनि र कहिल्यै पनि अनैतिक र भ्रष्ट व्यवहार गर्नहुन्छ भनेर बताउँदैनन् । तर व्यवहारमा भ्रष्ट र अनैतिक तर्फ मुख फर्काएर बसिरहेका छन् । मुख नजिकै भ्रष्ट र अनैतिकता आउँदा बित्तिकै क्वाप्प पार्न पछि परेका छैनन् । कम्युनिष्ट आन्दोलन त्यसबाट अछुतो नभएकोले भ्रष्ट र अनैतिक व्यवहारका विरुद्ध पनि संघर्षको कति आवश्यकता हुने रहेछ स्वतः स्पष्ट छ । २०८० फागनु १७

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित