– सीमा नेपाली
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइदै आइरहेको छ । यो दिवस महिलाहरुले गरेको ठूलो संघर्षबाट पाएको अधिकारको रुपमा स्थापित छ । त्यसैले पनि यो दिन महत्वपूर्ण छ महिलाहरुको लागि । यसो भनिरहँदा लैगिक समानता र महिला अधिकारको क्षेत्रमा के कति उपलब्धिहरु भए भन्ने कुराको अध्ययन गर्न आवश्यक छ । अन्तराष्टिय श्रमिक महिला दिवस श्रमिक महिलाहरूको आन्दोलनबाट स्थापित अधिकार हो । सन १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरुले काम गर्ने घण्टा कम गर्न, तलब बृद्धि गर्न, र महिलाहरुलाई मतदानको अधिकार दिनुपर्छ भनेर प्रदर्शन गरेका थिए ।
त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्यो । उक्त दिनलाई अन्तराष्ट्रिय बनाउने विचार कम्युनिष्ट अभियानकर्मी र महिला अधिकारवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगनमा भएको महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो प्रस्ताव पेश गरेकी थिइन । त्यो सम्मेलमा १७ देशका १ सय महिला प्रतिनिधिहरु उपस्थित थिए सो सम्मेलनमा उपस्थित सबै महिलाहरुले क्लाराको प्रस्तावलाई स्वीकार गरे । स्वागत गरे । विश्वका केही महिलाहरुले संगठित रुपमा शुरु गरेको यो प्रयासलाई कदर गर्दै सोही दिनको स्मरणमा अन्तर्राट्रिय महिला दिवस पहिलो पटक सन् १९११ मा मनाइयो । त्यसपछि यसलाई अन्तराष्ट्रिय नारी दिवसको रुपमा हरेक वर्ष मनाउदै आइरहेको छ । संयुक्त राष्ट संघले सन् १९७५ बाट औपचारिक रुपमा नारी दिवस मनाउन थालेको थियो ।
संसारमा महिलालाई मताधिकारको व्यवस्था सन् १९०९ सम्म तीन देश न्युजिल्यान्ड, अस्टेलिया र फिनल्यान्डमा थियो । महिलालाइ पुरुष सरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट संघबाट नारी दिवस मनाउन थालेपछि मात्र बेलायत, अमेरिका, फ्रान्स, जापान, इरान र स्विट्जरल्यान्डमा महिलालाई मतदान दिने अधिकारको व्यवस्था भएको थियो । नेपालमा वि.स.२००४ सालदेखि महिला नेतृत्वले मताधिकार तथा निर्वाचनमा उम्मेदवार बन्ने समान अधिकारको खोजी गर्न थाले । नेपालमा विस २००८ सालमा महिलालाई मताधिकार र निर्वाचनमा उम्मेदवारीको अधिकार दिइयो । यसपछि महिला सहभागिताले विस्तारै बढ्दै गयो ।
इतिहासमा हेर्दा अन्तराष्ट्रिय महिला दिवस हरेक वर्ष मार्च ८ मा मनाउँदै आएकोमा सन् १९७२ डिसेम्बर १८ का दिन संयुक्त राष्ट संघको साधारण सभाले प्रस्ताव पारित गरेर सन् १९७५ (वि.स. २०३२) मा अन्तर्राष्टिय नारी दिवस र अन्तराष्टिय नारी वर्षको रुपमा मनाउदै आएको छ । नेपालले सन् १९७५ देखि नै ८ मार्च मा अन्तराष्ट्रिय नारी दिवस मनाउँदै आएको छ ।
मार्क्सवादी महिला नेतृ क्लारा जेटकिनले शुरु गरेको यो अभियानलाई संसारका पुँजीवादी महिलाहरुले पनि मनाउदै आएका छन् । यसको लक्ष्य भनेकै महिलाहरुलाई माहिला भएकै कारण सामाजिक, आर्थिक, राजनीतिक र शारीरिक रुपमा विभेद र अपमान सहन नपरोस भन्ने नै हो । अन्तरष्ट्रिय महिला दिवसलाई विश्वमा एउटा चाडको रुपमा मनाउदै आइरहेका छन् । विभिन्न देशका विभिन्न संघ सस्थामा आवद्ध महिलाहरुले एक भएर नारी दिवसको बारेमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । यसको महत्वको बारेमा उल्लेख गर्दै विभिन्न सचेतना मूलक कार्यक्रम गर्दै आइरहेका छन् ।
राजनीतिक र कानुनी रुपमा हेर्दा पुरुष सरह समान हैसियत, समान कानुनी व्यवस्थाको निर्माण भएको पाइन्छ । नेपालको सन्दर्भमा महिलाको राजनीतिक अवस्था हेर्दा २००७ सालपछिको प्रजातान्त्रिक व्यवस्थापछि २०११ सालमा त्रिभुवनले पुर्नगठित सल्लाकार समितिमा ४ जना महिलालाई प्रतिनिधित्व गराए । २०१५ सालमा प्रतिनिधिसभाको चुनावमा द्वारिकादेवी ठकुरानी विजय भएकी थिइन । त्यतिबेला देखि महिलालाई राजनीतिमा समाबेश गरेको पाइन्छ । २०४६ सालपछि महिलाहरुको शिक्षा स्तरमा बृद्धि भयो । शिक्षित महिलाको सरकारी तथा निजी सेवा पहुँच बृद्धि भएको पाइन्छ । २०४७ को संविधानमा महिलालाई शैक्षिक सामाजिक, आर्थिक, सांकृतिक रुपमा उच्च दर बढाउनको लागि योगदान दिएको छ ।
२०४७ को नेपाल अधिराज्यको संविधानमा महिला र पुरुषमा भेदभाव गर्न नहुने उल्लेख गरिएकोछ । यसपछि विभिन्न गैरसरकारी संस्थाहरुको विकास भयो । उनीहरुले महिलाको विषयलाई अझ प्रभावकारी रुपमा उठाउन थाले । त्यसैगरी विभिन्न सामाजिक र राजनैतिक परिवर्तनहरुले महिलालाई अझ सशक्तिकरण गरायो । पछिल्लो २०६२÷६३ सालको ऐतिहसिक जनआन्दोलनले नेपालमा संबैधानिक राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्यो । यो राजनैतिक परिवर्तन सँगै महिलाहरुको अधिकारलाई कानुनीरुपमा स्थापित गरेको छ ।
२०७२ को नेपालको संविधानले राजनैतिक दलहरूलाई चुनावका बेला महिला उम्मेद्वारी दिनैपर्ने, सङ्घीय संसदमा एक–तिहाइ महिला हुनैपर्ने, समानुपातिक निर्वाचन प्रणालीमा सबै लिङ्ग तथा वर्गको प्रतिनिधित्व हुनेगरी उम्मेद्वारी दिनुपर्ने, स्थानीय तहका वडा सदस्यमा अनिवार्य रूपमा दलित तथा अल्पसङ्ख्यक जातिका महिला हुनपर्ने लगायतका विभिन्न व्यवस्थाहरू गरेको छ । यी राजनीतिक परिवर्तन र उपलब्धिहरु प्राप्त गर्नको लागि महिलाहरुले महत्वपूर्ण भूमिका निभाएका छन् । कुनै पनि आन्दोलनमा महिलाको सहभागिता र योगदान पुरुष सरह नै रहेको छ । ज्यानको बाजी लगाएर पाएका राजनीतिक र संबैधानिक उपलब्धिलाई नीति निर्माणको तहमा पुगेर त्यसलाई कार्यान्वयन गर्नुपर्ने जरुरी छ ।
अहिलसम्म भएको महिला अधिकार सम्बन्धी भएका संबैधानिक र कानुनी अधिकारलाई पूर्णरुपमा व्यवहारमा लागु गर्न आवश्यक छ । तब मात्र ८ मार्चको महत्व र महिलाहरुले गरेको बलिदानीपूर्ण संघर्षको सार्थकता रहने छ । होइन भने खाली हरेक वर्षमा शहरको ठूला ठूला होटलमा ८ मार्च लेखेको ब्यानर राखेर दिवस मनाएर केही अर्थ हुने छैन । ती कार्यक्रमले गाउँबस्तीमा रहेर बर्षौसम्म विभेद भोगिरहेका महिलाहरुको बास्तविक मुक्ति हुने छैन । महिलाहरुले एकजुट भएर महिला मुक्तिको आवाजहरुलाई अझ बुलन्द बनाएर लैजानुपर्छ । महिला माथि हुने हरेक प्रकारका विभेद र हिंसालाई अन्त्य गरे मात्र महिला आन्दोलन र महिला दिवसको महत्व रहेको मानिनेछ । राज्यले पनि महिलाको समान अधिकार र स्वतन्त्रताको लागि कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्छ ।
अहिले पनि महिलालाई महिला भएकै कारण हुने विभेदबाट मुक्त हुन सकेको देखिदैन । भन्दा महिला र पुरुष समान छन् भने पनि व्यवहारमा त्यो देखिदैन । हाम्रो समाज पितृसतात्मक सोचले भरिएको समाज छ । महिला र पुरुषको काम क्षमताको आधारमा नभइ महिला र पुरुषको आधारमा निर्धारण गर्दछ । जबसम्म महिला सामाजिक, आर्थिक र शैक्षिक रुपमा सबल हुदैनन, तबसम्म महिलाको अवस्था परिवर्तन हुदैन । महिला राष्टपति, महिला सभामुख , न्यायलयमा महिला प्रधानन्यायाधीश भइ नेतृत्व गरिसकेका छन् । पहिलेको तुलनामा परिवर्तन नभएको भन्ने त होइन तर पनि ८ मार्च मनाइरहदा संबैधानिक र कानुनी रुपमा प्राप्त महिलाका अधिकारलाई संस्थागत गर्ने, महिलालाई सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा अगाडि बढाउनको लागि हौसला दिन पुरुषले पनि उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने र महिला माथि हुने विभेद अन्त्य गर्नको लागि हामी सबै जुट्नुपर्ने विषयलाई सधै उठाउनुपर्छ ।
यो वर्ष पनि ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च अर्थात् नारी दिवस २०२४ (तदनुसार २०८०।११।२५ गते) को अन्तर्राट्रिय नारा “ INVEST IN WOMEN: ACCELERATE PROGRESS” छ भने राष्ट्रिय नारा “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने मूल नाराका साथ मनाइदै छ । यस दिवसमा लैङ्गिक समानता, महिला अधिकार र महिला स्वतन्त्रतालाई स्थापित गर्नको लागि विश्वव्यापी रुपमा आवाज बुलन्द गराइरहेका छन् । यस दिवसले विश्वभरका मानिसहरूलाई महिला अधिकारलाई अगाडि बढाउने र समतामूलक समाजको निर्माण गर्न प्रतिबद्धताको लागि ऐक्यबद्ध गराउँदै आएको छ । निरन्तर आइरहने छ ।

