लेनिनको मृत्युका सय वर्ष ः युगौंयुगसम्म अमर रहनेछन्

– सन्तबहादुर नेपाली
रुसी समाजवादी क्रान्तिका महानायक भ्लादिमीर इल्यिच लेनिनको जन्म २२ अप्रिल १८७० मा भएको थियो । उहाँको मृत्यु २१ जनवरी १९२४ मा भएको थियो । उहाँको मृत्यु भएको एक सय वर्ष पुगेको छ । यो सय वर्षको अवसरमा संसारका थुप्रै कम्युनिस्ट पार्टीहरुले यो वर्ष लेनिन स्मृति शतवार्षिकी मनाएका छन् र मनाइरहेका छन् । माक्र्सले सर्वहारावर्गको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद गरी तीन संघटक अंगबारे सिद्धान्तको प्रतिपादन गर्नुभयो । ती सिद्धान्तहरुलाई व्यवहारमा प्रयोग गर्ने कुरा कैयौं जटिल र पेचिलो थियो । महान लेनिनले बाल्यकालदेखि नै माक्र्सवादप्रति रुचि राख्नु हुन्थ्यो । उहाँले त्यसको अध्ययन गर्नुु भयो । अध्ययनको सिलसिलामा उहाँ कैयौं पटक पक्राउ पर्नुभयो । निर्वासित हुनुभयो । तर अध्ययनलाई निरन्तरता दिईरहनु भयो । वास्तवमा उहाँले माक्र्सवादको अध्ययन मात्र गर्नु भएन, त्यसलाई रुसी समाजमा लागु पनि गर्नुभयो । लागु गर्ने क्रममा माक्र्सवादका तीनवटै संघटक अंगको विकास गर्नुभयो ।

माक्र्सले तात्कालिक पुँजीवादी व्यवस्थाको अध्ययन गरेर पुँजीवादको प्रतिक्रियावादी चरित्रको विश्लेषण गर्नुभयो । त्यसले समाजलाई कसरी भ्रष्ट बनाएको छ र सर्वहारावर्गलाई कसरी शोषण गरेको छ ? भनेर विश्लेषण मात्र गर्नु भएन, सर्वहारावर्गले आफ्नो हातमा राज्यसत्ता लिनका लागि दार्शनिक, वैचारिक र सांगठनिक हतियार पनि प्रदान गर्नु भयो । दुनियाँमा समाजवाद त्यतिबेलासम्म एउटा परिकल्पना मात्र थियो । त्यसको व्याख्या मात्र गरिन्थ्यो । तर लेनिनले रुसी भूमिमा समाजवादी क्रान्ति गरेर समाजवाद व्यवहारमै लागु गर्नुभयो । रुसी जनताले ल्याएको समाजवादलाई विघटन गराउन चारैतिरबाट साम्राज्यवादी देशहरुले हमला पनि गरे । त्यसका विरुद्ध झुठा प्रचार पनि गरेर । तर उनीहरुका सबै प्रयत्नहरु असफल भए र संसारमा पहिलो पटक रुसी भूमि समाजवादी देशको रुपमा संसारभरी चिनियो ।

संसारमा पहिलो पटक समाजवादी व्यवस्था स्थापना गर्ने लेनिनलाई कैयौं पटक मार्ने प्रयत्न भएको थियो । लेनिनको नजिक रहेर उहाँको सेक्रेटरी समेत भएर काम गरेकी एक जना नेतृ लि.अ. फोतियेवा लेनिनको पछिल्लो हत्याको प्रयत्नको बारेमा विस्तृत चर्चा गरेकी छिन् । उनले लेखेकी छिनः अगस्तको महिला आउँदा आउँदै देश लडाईको मोर्चामा एउटा बलिरहेको अवस्थामा घेरिइसकेको थियो । ती परेशानीका दिनमा देशी तथा विदेशी दुवै प्रकारका प्रतिक्रान्तिकारीहरुले सोभियतसत्ता प्रति आप्mनो कट्टर घृणाको कारण, क्रान्तिलाई नेताविहीन बनाउन र यसरी उसलाई असफलतातिर धकेल्ने प्रयासमा षडयन्त्र रचियो र सोभियत जनतन्त्रको विरुद्ध आतंकवादी कार्वाही गरियो ।” ३० अगस्तकादिन विहान असाधारण आयोगका अध्यक्ष मो.सो. उरीत्स्की, जसलाई प्रतिक्रान्तिको मुकाबिला गर्न अधिकार दिइएको थियो, लाई पेत्रोग्रादमा मारिएको थियो । त्यसै दिन साँझ लेनिनको पनि हत्या गर्न प्रयत्न गरिएको थियो ।

सदा झैं शुक्रबारका दिन लेनिन मजदुरहरुको बीचमा कारखानाहरुमा गएर भाषण दिनुहुन्थ्यो । वास्मान्नी जिल्लामा भाषण दिएर लेनिन पुरानो भिखेल्सन कारखानामा भाषण गर्न जानु भयो । त्यो दिन भाषणको विषय दुई सत्ता (सर्वहारा वर्गको अधिनायकत्व र पुँजीपतिवर्गको अधिनायकत्व) थियो । लेनिनले त्यो दिन प्रतिक्रान्तिकारी शक्तिहरुलाई पराजित गर्न आफ्नो सबै शक्ति संगठित गर्न आह्वान गर्नु भएको थियो । अन्तमा यो भनेर भाषणा टुंग्याउनु भएका थियो,” हाम्रो निरन्तर (पार गर्न) का लागि एक मात्र बाटो छ, विजय वा मृत्यु ।

भाषण सकेर बाहिर आएपछि एक जना काप्लान नाम गरेकी आतंकवादी महिलाले लेनिनमाथि गोली चलाइन । उनले दक्षिणपन्थी समाजवादी क्रान्तिकारी पार्टीको केन्द्रीय समितिको आदेश अनुसार गोली चलाएकी थिइन् । उनले चलाएको तीन गोली मध्ये दुई गोलीले घाइते मात्र बनाएको थियो भने तेस्रो गोली पिठ्यूँमा लागेको थियो । ती गोलीहरुभित्र विषालु तत्वराखेर बनाइएको थियो । तर संयोगले गोलीभित्र फुट्न पाएन । डाक्टरहरुले सुरक्षित प्रकारले बाहिर निकाली दिएका थिए । केही समय लेनिनलाई आराम गर्नु परेको थियो । डाक्टरहरुले काममा फर्कन स क्ने सुझाव दिएपछि काममा फर्कनु भयो । तर उहाँको स्वास्थ्य स्थितिमा सुधार हुन सकेन। अन्ततः २१ जनवरी १९२४ मा उहाँको मृत्यु भयो ।


मजदुरहरुका प्रिय नेता लेनिनमाथि गोली चलाइएको खवरले रुसी मजदुरहरु मर्माहत भएका थिए । छाला कारखाना मजदुर संघका एक जना सदस्यले लेखेका थिए , “तपाई बाँच्नुहुन्छ, यो सर्वहारावर्गको इच्छा हो” हजारौं मजदुरहरुले स्वास्थ्यलाभको पत्र पठाएका थिए । ती सबैको निष्कर्षमा प्राब्दाले लेखेको थियो, “ले निन आफ्नो विमारका विरुद्ध लडिरहनु भएको छ । उहाँले विमारमाथि विजय प्राप्त गर्नु हुनेछ । सर्वहारावर्ग यही चाहेको छ, यही इच्छा गरेको छ र यसरी उसले भाग्यलाई आदेश दिन्छ ।” पाको ओ तहसिलका किसानहरुले लेखे “हामीलाई खुशी राख्न र साम्राज्यवादीहरुलाई जलाउनका लागि तपाई सन्चो हुनु पर्छ ।” यसरी लाखौं लाख सर्वहारा जनताले लेनिनको स्वास्थ्यलभाको कामना गरेका थिए । विमारीको समयमा पनि लेनिनको मजदुर,किसान, कार्यकर्ताहरु तथा जनतासित सम्पर्क एकछिन टुटेन । उहाँ निरन्तर सम्पर्कमा रहनु भयो र कमिटीहरुलाई निरन्तर निर्देशन पनि दिइरहनु भयो ।

यस्ता महान पुरुषको ५४ वर्षको उमेरमा प्रतिक्रान्तिकारीको षडयन्त्रबाट मृत्युको मुखमा धकेलियो ।
लेनिनले जीवनको अन्तिम सास लिंदासम्म समाजवादी निर्माणलाई देशी र विदेशी दुश्मन शक्तिबाट कसरी बचाउने भन्ने कुरा चिन्तित रहनुभयो । उहाँ आराम गरिरहेको बेलामा पनि कैयौं दस्तावेज तथा लेखहरु मुखले भनेर लेखाउने गर्नुभयो । त्यति मात्र होइन,देशभरीबाट आएका रिपोर्टहरुको अध्ययन गर्नु हुन्थ्यो र निर्देशनहरु पनि दिनु हुन्थ्यो । आफू मरिन्छ कि बाँचिन्छ भन्ने कुराको कुनै निश्चितता नभएको बेलामा पनि उहाँ आराम गर्न मान्नु हुन्थ्यो ।

सन् १९०० ताक जर्मनीमा बसेर त्यहाँका सामाजिक जनवादीहरुको सहयोगमा “इस्क्रा” नामक पत्रिका प्रकाशन गर्नु भयो । त्यसबाट माक्र्सवादी विचारको प्रचार गर्नुभयो । प्रत्येक अंकमा लेनिनका लेखहरुको व्यग्रताका साथ पाठकहरुले प्रतिक्षा गरिरहेका हुन्थे । आखिर संगठन निर्माणका लागि त्यही “इस्क्रा” महत्वपूर्ण आधार पनि बन्यो । १९०२ मा लेनिनको “के गर्ने ?” भन्ने पुस्तक प्रकाशित भयो । त्यसको लगत्तै “गाउँका गरिबसँग” भन्ने पुस्तक प्रकाशित भयो । त्यसैगरी १९०४ मा “एक कदम अगाडि, दुई कदम पछाडि” नामक कृति प्रकाशित भयो । खास गरेर त्यति बेला मेन्शेविकहरुसँग पार्टी भित्र विवाद चर्किरहेको थियो । “जनवादी क्रान्तिमा सामाजिक जनवादका दुई कार्यनीति” “भौतिकवाद र अनुभवसिद्ध आलोचना” थुप्रै कृतिहरु प्रकाशित हुँदै गए ।

१९०३ मा दोस्रो महाधिवेशन भयो । सबै पार्टी कार्यक्रम पारित भयो । तर नियमावली पारित हुने बेलामा पार्टी सदस्यताबारे विवाद भयो । लेनिनको विचारमा, सदस्य त्यो हुनुपर्छ, जसले पार्टी कार्यक्रमलाई मान्छ, पार्टीलाई आर्थिक सहयोग गर्छ, पार्टीको कुनै एउटा संगठनमा बसेर काम गर्छ । तर मार्तोभको मत यो थियो कि पार्टी सदस्य त्यो हुनुपर्छ, जसले पार्टीको कार्यक्रम मान्छ, पार्टीलाई आर्थिक मद्दत गर्छ, तर संगठनमा बस्नुपर्ने आवश्यकता पर्दैन । यसरी शुरु भएको मतभेद १९०५ सम्म झनै चर्कियो । कार्यनीतिको सवालमा लेनिनले १९०४ मा “एक पाइला अगाडि, दुई पाइला पछाडि” नामक पुस्तक लेख्नु भएको थियो । १९०५ मा बोल्शेविक र मेन्शेविकका दुई अलग अलग महाधिवेशनहरु सम्पन्न भए । १९०५ को क्रान्ति अगाडि बढिरहँदा पार्टी भित्र कुन प्रकारको कार्यनीति अपनाउने भन्ने विषयमा पनि मतभेद भयो । त्यही दौरानमा लेनिनको “दुई कार्यनीति” प्रकाशित भयो । त्यसले सही कार्यदिशा अँगाल्न मद्दत पु¥यायो ।

पार्टीभित्र खास गरेर प्लेखानोभ, मार्तोभ, ट्राटस्की लगायतका मेन्शेविहरुले क्रान्तिको प्रश्नमा, विश्वयुद्धको प्रश्नमा, समाजवाद स्थापना गर्ने प्रश्नमा हरेक विषयमा बाधा हाल्ने काम गरे । तर लेनिनले ती स बै विषयमा माक्र्सवादी ढंगले व्याख्या विश्लेषण गरेर अगाडि बढ्नु भयो । मेन्शेविकहरु पराजित हुँदै गए र अन्तमा लेनिनको नेतृत्वमा १९१७ को फरवरीमा जारशाह विरुद्ध क्रान्ति भयो । त्यो क्रान्तिले जारशाहको शासन अन्त भयो ।

२७ फरवरीमा जार शाहीको सरकारको समाप्ती पछि अस्थायी सरकारको गठन भयो । लेनिनले त्यसमा भाग लिनु भएन । अस्थायी सरकारमा विभिन्न खाले पुँजीवादी प्रतिक्रियावादीहरु थिए । उनीहरु क्रान्तिको उपलब्धिहरुलाई समाप्त पार्न चाहन्थे । लेनिनले एकातिर अस्थायी सरकारका गलत नीतिका विरुद्ध संघर्ष गर्नु भयो । अर्कोतिर, समाजवादी क्रान्तिको लागि तयारी शुरु गर्नुभयो । ट्राटस्कीले केन्द्रीय समितिले विद्रोह गर्ने ठेगान गरेको मितिलाई सार्वजनिक गरिदिए । लेनिनले त्यो ठेगान गरेको मिति भन्दा एक दिन पहिले नै विद्रोहका लागि निर्देशन पठाउनु भयो । विद्रोह अत्यन्त सफलतापूर्वक सम्पन्न भयो । एक थोपा रगत नबगाइकन सत्ता कब्जा भयो । यसरी समाजवादी क्रान्तिको विजय भयो ।

लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्न भए पछि उहाँमाथि हत्याको प्रयास भयो । उहाँ घाइते अवस्थामा रहेर पनि समाजवादलाई कसरी मजबुत बनाउने भन्ने प्रश्नमा दिन रात खट्नु भयो । स्वास्थ्यको कारणले दिन प्रतिदिन कमजोर बन्नु भयो । त्यसपछि सन् १९२२ मा नेतृत्व जोसेफ स्टालिनलाई सुम्पिनु भयो । स्टालिन एउटा जुझारु, संघर्षशील तथा महान् विचारक हुनुहुन्थ्यो । लेनिनले अधुरो छाडेका समाजवादी निर्माणका कार्यलाई अगाडि बढाउनु भयो । १९२४ देखि १९५३ सम्म स्टालिनले अविछिन्न नेतृत्व गर्नुभयो । यो अवधिमा स्टालिनले रुसलाई संसारका सबै समृद्ध देशहरुको दाँजोमा पु¥याउन ससफल हुनुभयो । समाजवाद कार्यान्वयन गर्नुभयो । जातीय समस्यालाई हल गर्नुभयो । रुस संसारको विकसित देश बन्यो । तर स्टालिनले समाजवाद भित्र पनि वर्ग रहन्छन् र पुँजीपति वर्गले कुनै पनि बेला सत्ता पल्टाउन सक्छ भनेर हेक्का राख्नमा चुक्नुभयो । उहाँले जसलाई विश्वास गर्नुभयो, खु्रश्चेभ जस्ता घोर पुँजीवादी तत्वहरुले समाजवादलाई समाप्त पारे, पुँजीवादलाई पुनस्र्थापना गरे । यसले के प्रमाणित गरिदियो भने सर्वहारावर्गको अधिनायकत्व समाजवादीकालमा पनि आवश्यक हुँदोरहेछ । तर समस्या कहाँ रहेछ भने पार्टी भित्र विचारधारात्मक संघर्ष नभएपछि पुँजीवादीहरु लुकेर बस्ने मौका पाउँदा रैछन् । स्टालिनले त्यो अवस्थाबारेमा बुझ्नसक्नु भएन । चीनमा पनि त्यही कुरा दोहोरिन गयो । हवाकोफेंग जस्ता द्वैध चरित्र भएका मध्यमार्गीहरुलाई माओले चिन्न सक्नु भएन ।चिनियाँ समाजवादी व्यवस्था विघटन भयो र त्यहाँ पनि पुँजीवादको पुनस्र्थापना भयो । आज विश्वमा नै समाजवादी व्यवस्था कुनै देशमा रहेन । तर अर्को सकारात्मक पाटो के पनि हो भने यी दुई देशमा भएका घटनाले विश्वभरीका कम्युनिस्टहरुलाई ठूलो शिक्षा प्रदान गरेका छन् ।

नेपालमा पनि झापा विद्रोहका नेताहरु,माओवादी जनयुद्धको नेताहरु र स्वयं उग्र“वामपन्थी” भट्कावका विरुद्ध जीवनभरी संघर्ष गरेका मसालका नेताहरु आज दक्षिणपन्थी संशोधनवादमा पतन भइ राखेका छन् । जनतालाई क्रान्ति र परिवर्तनको सपना देखाएर जनतालाई बीच बाटो मै छोडेर पुँजीवादतर्फ कुलेलम ठोकेका छन् । तर पनि क्रान्तिकारी धारलाई रक्षा गर्न हजारौं कम्युनिस्टहरु आज पनि संघर्षरत छौं ।

लि.अ. फोतियेवाले लेनिनलाई मस्को रेल्वे स्टेशनका रेल मजदुरहरुले “इन्जन ड्राइवर” चुनेको प्रसंग उल्लेख गरेकी छिन् ।
मजदुरहरुले लेनिनलाई एउटा पत्र सहित रेलको इन्जन प्रदान गरेका थिए । त्यो पत्रमा भनिएको थियो, “२० मईमा जब मस्को डिपोका मजदुरहरु वार्षिकोत्सव मनाउन जम्मा भए, त्यतिखेर सर्वसम्मतिबाट यो निर्णय गरियो कि तपाईलाई, भ्लादिमीर इल्यीच, सम्मानित इन्जीन ड्राइवर चयन गरियोस् । तपाईको हातमा यो इंजन समर्पित गर्दै हामीलाई यो कुरामा अलिकति पनि शंका छैन कि एउटा अनुभवी इंजन ड्राइवरले जस्तै, तपाई, भ्लादिमीर इल्यीच, हामीलाई उज्ज्वल भविष्य तर्फ लैजानु हुनेछ ।”
“यही इन्जीनले भ्लादिमीर इल्यीचको ताबुत (काठको बाकस) लैजाने रेलगाडीलाई तानेर गोर्कीबाट मस्को ल्याएको थियो । यस समय त्यो इन्जीन मस्कोमा पवेलेत्स्की रेल्वे स्टेशन नजिक एउटा रोशन (उज्यालो) मंडपमा राखिएको छ ।”
अन्तमा उनले लेखेकी छिन, “जनताको यति ठूलो विश्वास पात्र र यति धेरै माया पाउनेवाला लेनिन जस्तो अर्को नेता संसारले देखेको छैन”

फोतियेवाको यो वाक्यले पनि के बताउँछ भने लेनिन मजदुर किसानको बीचमा कति लोकप्रिय हुनु हुँदोरैछ । विश्वका तथा देशभित्रका प्रतिक्रियावादीहरुले उहाँलाई समाप्त पारेपछि सर्वहारावर्गको राज्यसत्ता आउन सक्दैन भनेर हत्या गर्न प्रयास गरे । तर रुस तथा विश्वका सर्वहारावर्गले आफ्नो साथीको रुपमा माया गरिरहेका छन् । आज पनि विश्वका प्रतिक्रियावादीहरुले उहाँको शालिक ढाल्ने काम गरे । उहाँका कृतिहरु नष्ट गरे । तर विश्वका मजदुरहरु, किसानहरुले, सर्वहारावर्गले, महान् समाजवादी विचारक, प्रतिभाशाली, निर्भिक तथा सर्वहारावर्गका प्रिय साथी मानेर सम्झिरहन्छन् । लेनिन आज पनि अमर छन् र युगौं युगसम्म अमर रहनेछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित