रामबहादुर बुढा
नेकपा ( मसाल) को नवौं महाधिवेशन हुँदैछ । यदि पार्टी नेतृत्वले फरक मतलाई किनारा लगाएर पार्टी फुटाल्ने अभियान नचलाएको भए हामी पनि मसालको नवौं महाधिवेशनको प्रकृयामा सहभागी बनेका हुने थियौँ । फरक विचार राखेकै कारण हामीलाई षड्यन्त्रपूर्ण तरिकाले पाखा लगाइएको थियो र हामीले नेकपा( मशाल)लाई पुनर्गठन गर्नु परेको थियो ।
२०७६ जेष्ठको आठौं महाधिवेशन पछि यति छिटै नवौं महाधिवेशन हुनुमा तत्कालीन आठौं महाधिबेशनका अल्पमत पक्षलाई नै श्रेय जान्छ । लामो समय सम्म महाधिवेशन नहुनु गलत हो भन्दै हामीले राजनीतिक दस्तावेजमा नै ५ वर्ष भित्र महाधिवेशन हुने व्यवस्था उल्लेख गर्न जोड दिएका थियौँ र दस्तावेजमा त्यो कुरा लेखिएको पनि थियो । तसर्थ यो महाधिवेशनशन बेलैमा हुनु तत्कालीन अल्पमत पक्षकै योगदान हो ।
महाधिवेशन भनेको विचार मन्थनको थलो हो । क्रान्तिकारी विचार निर्माणका पक्षमा महाधिवेशनका सहभागीहरूले आफ्ना मत प्रकट गर्न सक्नु भयो भने त्यो एउटा सकारात्मक काम हुनेछ । रमाइलो कुरा त के छ भने पार्टी नेतृत्वले लगातार काङ्ग्रेस, माओवादी केन्द्र ,जनमोर्चा सहितको सरकारी गठबन्धनको औचित्यता सिद्ध गर्न भागीरथ प्रयत्न गर्दा गर्दै नवौं महाधिबेशन पूर्ब नै गठबन्धन भत्किसकेकोछ । कति कमजोर धरातलमा टेकेर कार्यनीति आपनाइएको रहेछ भन्ने कुरा महाधिवेशनमा समीक्षा हुनु पर्दैन रु कुन स्वार्थ द्वारा प्रेरित भएर यी सब भइरहेकोछ छलफल हुनु पर्ने होइन र ?
नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीजीले गत चैत्र २१ गते हाँक साप्ताहिकमा एउटा लेख लेखेर मसालको नवौं महाधिवेशनलाई शुभकामना दिनुभएकोछ । महासचिव नेपालीले त्यो लेखमा नेपाली क्रान्तिको कार्यदिशा, नेपाली समाजको वर्ग बिश्लेशण, नेपाली जनताको मुख्य अन्तर्विरोध, संघर्षको स्वरुप, वस्तुगत परिस्थिति अनुरुपको कार्यनीति, चुनावको प्रश्न लगायतका विषयमा मसालले अपनाउँदै आएको दक्षिणपन्थी दिशाको समीक्षा गर्दै मसालको नवौं महाधिवेशनका प्रतिनिधिहरूले त्यसलाई सच्चाउन र क्रान्तिकारी नीति तय गर्न सफल होउन् भनेर शुभकामना दिनु भएकोछ । मसालको अहिलेको साँगठनिक स्वरुप,उसले अहिले अपनाइरहेका नीति सबै कुरालाई विचार गर्दा मसालले नवौं महाधिबेशनबाट आफ्नो दक्षिणपन्थी नीतिलाई सच्चाउला भनेर आशागर्ने ठाउँ देखिन्न । आठौं महाधिबेशनको भन्दा झनै दक्षिण पन्थी दिशातिर मसाल जाने नै बढी सम्भावना छ । त्यो अबस्थामा क्रान्तिकारी विचार राख्ने साथीहरूले पार्टीलाई चरम दक्षिणपन्थी दिशामा भासिन नदिन कोसिस गर्नु नै उनीहरूको कर्तब्य हुन्छ । जुन हद सम्म त्यहाँ भित्रका कार्यकर्ताले त्यसप्रकारको प्रयत्न गर्ने छन् ,त्यस हद सम्म उनीहरूको प्रयासलाई सकारात्मक र स्वागतयोग्य भन्नु पर्दछ ।
के अब पनि क्रान्तिकारी आन्दोलन अगाडि बढ्छ र रु हुने केही होइन, जीवनभरि लागेको पार्टी छोडेर कहाँ जानू , यस्तै यथास्थितिवादी र निराशावादी सोँचाइ मसाल भित्र मात्र होइन आफूलाई कम्युनिस्ट बताउने धेरै पार्टीका नेता तथा कार्यकर्तामा पाइन्छ । वस्तुगत परिस्थितिमा निरन्तर परिवर्तन भइरहन्छ, कमजोर स्थितिबाट बलियो स्थिति पनि निर्माण हुन्छ, निराशाको काल हटेर उत्साह र उमँगको काल पनि आउँछ भन्ने मार्क्सवादी द्वन्द्ववादी चिन्तनलाई आत्मसात गर्न नसक्दा उपरोक्त प्रकारका चिन्तन मान्छेहरूमा हाबी हुने गर्दछ । विश्व कम्युनिस्ट आन्दोलनको इतिहास हेरौं । पेरिस कम्युनको विघटन भयो, ठूलो निरासाको काल आयो तर फेरि रूसमा अक्टोबर क्रान्ति भयो फेरि उत्साहको काल आयो । स्टालिनको मृत्यु पछि शोभियत रूसले दक्षिणपन्थी बाटो ल्यायो निरासाका दिन सुरू भए तर चिनको सर्वहारा साँस्कृतिक क्रान्तिले आसाको दीप जगायो तर फेरि साँस्कृतिक क्रान्ति पनि असफल भयो र कम्युनिस्ट आन्दोलनमा निरासा छायो । नेपालकै कम्युनिस्ट आन्दोलनको ईतिहास हेरौं , २०१९ को तेस्रो महाधिवेशन पछि नेकपा तितरबितर भएको थियो । चरम निरासा छाएको थियो । धेरै नेताहरू जेलमा थिए , केही भारत गएका थिए र नेपालमा भएका धेरै नेता कार्यकर्तालाई पन्चायतले किनेको थियो, बिकुवा माल भएका थिए । केही सीमित विद्यार्थीहरूले सहरमा राष्ट्रियता र प्रगतिशीलताको आवाज उठाउँथे । त्यसो गर्दा पनि जोगिन मुस्किल थियो । कल्पना गर्दा पनि अनुमान गर्न सकिन्छ । कति ठूलो निरासा थियो होला १ सीमित आसावादीहरूले आन्दोलनलाई अगाडि बढाए । पन्चायती व्यवस्था बदनामित हुँदै गयो । बिस्तारै देशभरिएका छरिएका कम्युनिस्टहरू जोडिन थाले फेरि नयाँ उत्साहको दिन आयो। आज जताततै कम्युनिस्ट आन्दोलनमा निरासा छाए पनि फेरि पनि नयाँ उत्साहको दिन आउने छ । हामीले आफ्ना संकीर्णता र जडताका बन्धनहरूलाई तोडेर क्रान्तिकारी धारको निर्माण कसरी गर्न सकिन्छ भनेर छलफल गरौं ।
यो वा त्यो पार्टी भन्दा पनि समग्र कम्युनिस्ट आन्दोलन ध्वस्त हुँदै गएको छ । कम्युनिस्ट पार्टीहरूले लिएको ६० प्रतिशत भोट भन्दा ज्यादा भोट भनेरकम्युनिस्टको शक्ति आँकलन गर्न मिल्दैन । कम्युनिस्टको नाममा जनताले दिएको मतलाई अवसरवादीहरूले साम्राज्यवादीहरूको सेवामा लगाइरहेका छन् । पहिलो कुरा, पार्टी कार्यदिशा नै अवसरवादी बोके पछि त्यो कम्युनिस्ट पार्टी समाप्त हुँदै जाने हो । दोस्रो कुरा नेता, कार्यकर्ताहरूको आचरण, नैतिकता,जीवनशैली भ्रष्ट भए पछि कुनै प्रतिक्रियावादी आएर कम्युनिस्टलाई खतम गर्नु पर्दैन । त्यो आफै सकिदै जाने हो । यस कोणबाट हेर्दा हामी अहिले कहाँ छौँ ,महाधिवेशनमा यस्ता विषयमा छलफल भए राम्रो हुन्थ्यो ।
आफ्ना कमजोरी महसुस गर्नु , त्यस प्रति आत्मालोचना गर्नु र कमजोरीलाई सच्चाउन सक्दो प्रयास गर्नु हरेक कम्युनिस्टको दायित्व हो । यो ७५ वर्षको ईतिहासमा नेपाली कम्युनिस्ट आन्दोलनको सकारात्मक उपलब्धि के रहे ,नकारात्मक पक्ष के रहे , यी सबैको समीक्षा गरी अहिलेको वस्तुगत परिस्थितिको ठोस मूल्यांकन गरी सही कार्यदिशाको विकास गर्नु आजको आवश्यकता हो । शान्तिपूर्ण तरिकाले संसदीय व्यवस्था भित्रबाटै समाजवाद स्थापना गर्ने पार्टी लाइन एमाले , माओवादी केन्द्र ,एकीकृत समाजवादीले अपनाएका छन् । त्यो लाइन सारतःयही प्रतिकृयावादी व्यवस्थालाई बचाउने लाइन हो । संसदीय व्यवस्था भन्दा बाहिरबाट सत्ता कब्जा गर्ने कार्यदिशा लिएका पार्टीहरूमा अहिले पनि कतिपय पार्टीहरूले दीर्घकालीन जनयुद्धको कार्यदिशालाई मूल कार्यदिशा बनाएका छन ,यद्यपि ब्यबहारमा त्यस तर्फ कुनै योजना देखिन्न । ग्रामीण क्षेत्रमा स्थायी आधार ईलाका निर्माण गरी गाउँले शहर घेर्ने नीति नेपालको सन्दर्भमा सम्भव नहुने कुरा दस वर्षे माओवादी जनयुद्धबाट पनि स्पष्ट भएको छ । उनीहरूले सदरमुकाम आक्रमण गरे तर एक दिन पनि सदरमुकाम कब्जा गरेर बसिरहन सकेनन् । माओको नेतृत्वमा हजारौं लालसेना राजधानी पेकिङ ९अहिले बेइजिङ० प्रबेश गर्दा एउटा गोली पनि खर्च भएकोथिएन । सबै बिरोधी सेनाले आत्मसमर्पण गरेका थिए । नेपालको सन्दर्भमा वर्गसंघर्षको बिकास गर्दै सहरीया सशस्त्र बिद्रोहद्वारा सत्ता कब्जा सही कार्यदिशा हुन सक्छ । शान्तिपूर्ण जनआन्दोलन भनिए पनि कुनै न कुनै रूपमा बलप्रयोग सहित जनआन्दोलनले सीमितरूपमा भए पनि परिवर्तन ल्याएको उदाहरणहरूलाई हेर्दा सहरीया सशस्त्र विद्रोह नै सही बाटो हुन सक्दछ । त्यो कार्यदिशाको विकास गर्न त्यही किसिमको संगठन र कार्यक्रमिक योजनाको विकास गर्दै जानू पर्दछ । कम्युनिस्ट आन्दोलका यी महत्वपूर्ण विषयमा छलफल गर्दै अगाडि बढ्न जरुरी छ ।
कम्युनिस्ट आन्दोलनलाई ठीक दिशामा लैजान प्रयत्न गर्नु हामी सबैको साझा कर्तव्य हो । साँचो क्रान्तिकारी भावना भएमा क्रान्तिकारीजरू एक ठाउँमा हुनेछन् । क्रान्तिकारी आन्दोलनले सच्चा क्रान्तिकारीहरूलाई एउटै बाटोमा डोर्याउने छ ।