– ओम बहादुर के. सी .
कुनै पनि ब्यक्तिले कुनै कामको जिम्मा लिए पछि त्यो काम पूरा भयो भएन भनेर आफुले गरेको कामलाई दोहोराइ तेहराइ चेक गरेर मात्र सार्वजनिक गर्नु राम्रो हुन्छ । त्यसो गर्दा नै भएका कमजोरीलाई सच्याउन सकिन्छ । यदि आफ्नो कामको जिम्मालाई मूल्यांकन, पुनर्मूल्याङ्कन गरिएन भने गल्ती कमजोरी हुन सक्छ । त्यसो गर्दा पनि कमजोरी भए सच्च्याउने आँट गर्नु पर्दछ । कमजोरी भएमा कसैले आलोचना ग¥यो भने त्यो आलोचनालाई सहन सक्ने क्षमता राख्नु पर्दछ । अनि मात्र विश्वासको वातावरण तयार हुन्छ । मसालमा ÷ राष्ट्रिय जनमोर्चामा आफुले गरेपछि त्यो सबै ठीक छ ठीक नभए पनि सबैले मान्नुपर्छ कसैले विरोध गर्न पाइँदैन भनेर गलत निर्णय वा झुठा कुरालाई जवर्जस्ती लाद्ने काम गरिन्छ । यस्तै प्रवृतिले नै पार्टीमा अविश्वासको वातावरण बनेको हो । यो प्रवृति विगतदेखि नै थियो अहिले पनि छ । आफुलाई क्रान्तिकारी भन्ने र अरु भन्दा फरक छौ भन्ने पार्टी, सङ्गठन र व्यक्तिले त झन यस्ता विषयमा गम्भीर ढङ्गले सोचेर लागू गर्नुपर्ने हो । कुनै पनि विषय असन्तुष्टि, कमजोरी गल्तीहरु सापेक्ष हुन्छन निरपेक्ष हुँदैनन तर आफुले गरे पछि सबै ठीक र आफ्नो मन नपरेको मान्छेले गरे सबै गलत सोच्ने सबै आफु नै ठीक छु भन्ने कार्य ठीक होइन ।
मैले राष्ट्रिय जनमोर्चाको कपन कार्यालय भवन खरिद र त्यहाँको भ्रस्टाचारको बारेमा वास्तविकता के थियो भनेर २०८० फागुन १० गतेको हाँक टुडे अनलाइन मार्फत् लेख लेखेको थिएँ र त्यसलाई शेयर पनि गरेको थिएँ । हाँक साप्ताहिकले पनि त्यो लेख छापेको थियो । त्यसलाई विमल शर्मा र अरु साथीहरूले पनि शेयर गर्नु भएको थियो । जसबाट आम साथीहरुलाई त्यहाँको वास्तविकता थाहा होस भनेर मैले लेख लेखेको थिएँ । त्यो लेख प्रकाशित भए पछि फेसबूकमा आएका प्रतिकृयाहरु हेर्दा अझै थप प्रमाण सहित बोल्नु पर्ने भएकाले यो लेख लेखिएको छ ।
मैले लेखेको र शेअर गरेको लेखलाई मेरो फेसबूक पेजमा सामान्य र कम प्रतिकृया आएका छन । त्यो मेरो लेखलाई शेयर गर्ने बिमल शर्मालाई एकसय भन्दा धेरै जनाले अपवाद बाहेक सबैले गाली गर्नुभएको छ । चित्त नबुझे पछि म लेखकलाई भन्नू पर्ने हो तर विमल शर्मालाई अत्यन्तै निम्न स्तरमा उत्रिएर गाली गरियो । यसबाट मसालका साथीहरू कति पूर्वाग्रही र यान्त्रिक हुनुहुन्छ भन्ने कुरा छर्लङ्ग भएको छ । तथ्यको अध्ययन नगरिकन आफ्नो पहिले देखिको बनिबनाउँ बुझाईलाई प्रदर्शन गर्नु कत्तिको राम्रो हो?त्यो पछि स्पष्ट हुँदै जानेछ । मैले भनिरहेको छु कि मेरो लेख चित्त बुझेन वा तथ्य र प्रमाण भन्दा बाहिर छन् भने प्रमाण पेश गर्नुस । यो होइन यो हो भनेर तथ्य ल्याउनुहोस् । म विश्वस्त छु मैले प्रमाणविहीन कुरा लेखेको छैन । यो रकम यो ठाउँमा यसरी लेखिएको छ खोज्नुस भनेर बरु खोजेर नमिलेको भए भन्नुस मिलेन भनेर म बताउला तर खोज्न र बुझ्न तिर नलाग्ने उल्टै हावामा बन्दुक पड्काएर तर्साउने गर्न लाग्नु भयो । अर्को कुरा जति साथीहरुले फेसबुकमा प्रतिक्रिया दिनुभएको छ के उहाँहरु त्यो व्यवहारका जानकार हुनुहुन्छ त? स्पष्ट छ उहाँहरू पूर्वाग्रह पोख्ने काम मात्र गर्नु भएकोछ । मेरो लेखमा म जो जसको नाम उल्लेख गरेको छु उहाँहरु बोल्नु भएकोछैन, उहाँहरुले स्पष्टीकरण वा खण्डन गर्नु भएको छैन । त्यो व्यवहार सँग टाढा रहेका साथीहरु गाली गलौजमा उत्रिरहनु भएकोछ । आफ्ना अगुवाहरूलाई ओमबहादुर केसीले पेश गरेका तथ्यहरू सही हुन् कि होइनन भनेर प्रश्न सोध्ने आँट छैन तपाईहरू सित ?
आफुलाइ कम्युनिस्ट पाको कार्यकर्ता, सचेत अगुवा, सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने ब्यक्तिले हरेक चिजको अध्ययन गर्ने सबैको विचारलाई बुझ्ने र आफ्नो धारणा बनाएर मात्र बिचार बाहिर लैजाँदा राम्रो हुन्थ्यो तर यहाँ त हिजोका एउटा दुइवटा कुरालाई आधार बनाएर सदैव एउटै धारणा र व्यवहार गर्ने जुन पुर्वाग्रही चिन्तन प्रणाली देखियो । त्यसले वास्तविक तथ्यलाइ ओझेलमा राखेर गलत चिजलाई अगाडि ल्याउँछ । यो तरिका गलत हो ।
शक्तमान बुढाथोकीजीले दुईवटा कुरा उठाउनु भएको छ एउटा त जनमोर्चाको २०७२ को तेस्रो सम्मेलनमा रु ३०,०००÷ दिएको मेरो नाम आएन भन्नु भएको छ । उहाँ आफैले दिएको रकम आफै भुल्नुभएको छ । वास्तवमा उहाँले तेतिबेला दिएको रकम रु ३५०००÷ हो । त्यो रकम सम्मेलन कोटा भनेर देश बाहिरबाट माग्ने तर त्यसलाई भवन खरिदको रिण तिर्ने भन्ने निर्णय भएको थियो र उहाँले जस्तै विभिन्न ठाउँबाट गरी रु ८,०५,०००÷जम्मा भएको थियो । त्यो रकमको बारेमा भित्तामा नाम लेख्ने वा नलेख्ने कुनै निर्णय भएको थिएन । त्यसबारे त अहिले नाम लेख्ने बेलामा पार्टीले निर्णय गर्नुपथ्र्यो, खोज्नु पथ्र्योे त्यो किन गरेन उहाँहरुलाई नै सोध्नुहोला । अर्को कुरा शक्तमान जीले उठाउनुभएको छ पहिले बुझाएको रु १०००००÷ (एकलाख) । त्यो उहाँले होइन हङकङ को समितिले रु १०५०००÷ बुझाएको हो । त्यो उहाहरुले तेसको बिबरण मागेर नाम लेख्नुपर्ने होइन र ? त्यो हङकङ को कोटा हो बरु अहिले उहाँको मात्र नाम रु १०००००÷ लेखिएको छ । आनन्द शर्माले भने जस्तै हामीले विभिन्न ठाउँबाट आएका तिनै कागजका टुक्रा समेत राखिदिएको हो।जसले विवरण बुझायो राखियो बुझाएनन त हामी कहाबाट ल्याएर राख्ने ? उहाँले त्यो विवरण किन बुझाउनु भएन ?
धेरै साथीहरु र स्वयम् आनन्दजीले समेत नाम नलेख्नुमा हामीलाई दोष थोपरेर आफुहरु कार्यकर्ता सामु पानीमाथिको ओभानो बन्ने कोसिस गर्नु भएको छ । यसबारे विमल शर्माले आफ्नो लेखमा धेरै स्पष्ट गरिसक्नु भएको छ । हामीले तेतिबेला नाम लेख्न र अरु आर्थिक कारोवारलाई व्यवस्थित र पारदर्शी तरिकाले लैजानु पर्छ भनेर कति संघर्ष गर्यौ ? अहिले यहाँ उल्लेख गरेर त तपाईंहरु नपत्याउनुहोला तर हामीले लिखित रुपमा पार्टीमा राखेका कुरा प्रकाशित गरिदिने हो भने स्पष्ट हुनुहोला । उहाँहरुले हामीलाई घटिया सोच भएको भन्नू भएको छ । हामीले कार्यालयमा आएको रेकर्डलाइ व्यबस्थित राखी दिएको कुरा त उहाँ आफै बोल्नुभएको छ त्यो काम गर्ने मान्छे कसरी घटिया भयो? तर कार्यालयमा राखेको रेकर्ड नहेरी हचुवाको भरमा नाम प्रकाशित गर्ने व्यक्तिलाइ के भन्ने ? खासगरी अहिले उहाँहरुले प्रकाशित गरेको नामवलीमा अरु साथीहरुको नाम पनि छुटेको छ । मैले अघिल्लो लेखमा लेखेको छु कर्ण थापा (बारा), तेस्तै कास्कीका राम प्रशाद शर्माको पनि नाम छुटेको छ । अरु कैयौं सहयोगी हरुको नाम आएको छैन । साउदी अरबका साथीहरूले आफ्नो नाम न आएको भन्नुहुन्छ । दुवैका साथीहरुले त्यही कुरा उठाउनुभएको छ । काठमाडौमै केही साथीहरुले आफुले जहाँबाट रकम मागियो र पार्टीलाई बुझाएको हो त्यो नाम लेखियन्छ भन्नुहुन्छ । अझै यस्ता कुराहरु कति आउलान किनभने त्यो प्रकाशित नामावली अरु धेरैले हेरेका छैनन । यसबाट स्पस्ट हुन्छ कि त्यहाँ भएको कुनै रेकर्ड नहेरी पहिले जे थियो तेसैमा जापानको नाम कतारका साथीहरुको छुटेको नाम लगायत थप गर्नुभयो तर आम्दानीका रसिदहरु त हेर्नू भएन । त्यही कारणले यस्ता कमजोरी रहे । अहिले आएर आफ्नो कमजोरी लुकाउन यो प्रयत्न गर्नुभएको छ ? तेसो गर्नुभन्दा राम्रो त फेरि एकपटक राम्रो सङ्ग हेरेर छुटेका साथीहरुको नाम थपिदिदा राम्रो हुन्थ्यो कि ? यो प्रकृया त चलिरहने होला । यो भन्दा पछि पनि सहयोग गर्ने साथीहरुको नाम पनि त लेख्ने होला । छुटेका साथीहरुको नाम पनि थप्नै त पर्ने होला नि ।
भारत शाखाबाट प्राप्त नामावली र उपत्यका व्युरोबाट प्रकाशित नामवली लगायत सबै नाम कार्यालयबाट दिएर हाँक मा प्रकाशित भएको भनेर भन्नुहुन्छ । यदि त्यसो हो भने त्यहाँका सबै सहयोगी हरुले १००००÷ वा त्यो भन्दा बढीमात्र दिए, यो भन्दा कम रकम दिएनन ? सबै अर्थात धेरै थोरै रकम दिनेको लिस्ट कार्यालयमा हुनु पर्ने हो नि ! जस्तो कतार , मलेसियाको छ उपत्यका ब्युरो को त उहाँहरु आफै हो जिम्मेवार व्यक्ति । आफै भन्नुहुन्छ थोरै दिने मान्छेको रेकर्ड यही जिल्ला पार्टीमा छ । त्यसो भए धेरै दिनेको मात्र नाम पठाएको कुरा त उहाँहरु आफैले दिएको हुन्न र?आफ्नो गल्ती लुकाउन अरुलाइ दोष थुपरेर फुर्सद मिल्दैन बरु त्यसलाई सच्याए राम्रो हुन्छ । भारत शाखामा पनि १००००÷ भन्दा कम रकम दिने सहयोगी थिए होलान । उनीहरुको नाम पनि त भारत शाखामा होला । हामीले तेस्तो कुरा त उठाएका छैनौ नि । त्यसैले त्यो नामावली प्रकाशित गर्नेबेला भवन खरिदको लागि कहाँबाट कति रकम आयो त्यो आम्दानी हेरेर त्यसको नामावलिको विवरण मागेर खोजेर मिलाउने बाँकी रकम त्यो जिल्ला मोर्चा वा क्षेत्रको नाम मा लेखेको भए त यो समस्या आउँदैनथियो होला नि ? जस्तो कतारको भएको छ । त्यतिबेला त्यहाँबाट आएको सहयोगीहरुको लिस्टलाई हेरेर जसको रु १००००÷ वा त्यो भन्दा माथिछ उहाको नाम लेख्ने लिस्ट र बाँकी रकम कतार जि स को नाम मा रु ८०३००० ÷बनाएर राखिदिएको थिय र अहिले त्यही प्रकाशित गर्नुभयो । त्यस्तै अरु ठाउँको पनि तेसरि नै गर्नु पर्दथ्यो ।
मैले भक्तपुर को र जापानको रकम खोजी गर्दा उहाँहरुको जवाफ छ दक्षिण भारतको खोजी गरेको खोइ भन्नुभएको छ । जहाँसम्म दक्षिण भारतको बारेमा मलाई थाहा छैन त्यहाँ के भएको हो भन्ने । यदि त्यहाँ अनियमितता भएको छ भने तपाइहरुले किन कुरा उठाउनुभएन ? जसलाई थाहा छ त्यसैले कुरा उठाउने चेक जाँच गर्ने र समाधान गर्ने होइन र ? मलाई थाहा भएको कुरा त भारत शाखाले रु ५५०००००÷ कोटा बुझाउने बाँकी रकमले दिल्लीको घरको तला थप्ने कुरा भएको हो । त्यसैले त्यहाँ मेरो ध्यान गएको थिएन र भारत शाखाले आफ्नो कोटा पूरा गरेको थियो । अब तपाइहरुलाई त्यहाँ अनियमितता भएको कुरा थाहा रहेछ त किन अहिले सम्म आवाज उठाउनुभएन ? एउटा पार्टीमा भएको अनियमितता थाहा पाएर पनि नबोलेर लुकाउनु ले त तपाइहरुमाथि अरु धेरै प्रश्न उठाउनुपर्ने भयो । जहाँसम्म जापानको कुरा छ त्यो त प्रस्ट छ कि त्यहाँ बोल कबोल गर्ने र दिने साथीहरुको हिसाब कुनैको सटहिमा फरक नपर्ने र कुनैको फरक पर्ने हुन्छ र ? अरु सबै को हिसाब ठिक आउने तर तुफान केसीले उठाएको रकमको मात्र सटही घट्ने हुन्छ त । उहाँको लिस्टमा रु ८६००००÷ उठाएको विवरण छ तर कार्यालयमा उहाँबाट मात्र ३५७०००÷बुझाएको देखिन्छ अरु ठाउँको रकम अरु साथीहरुले उठाएर पठाएकोमा सबैको हिसाब मिलेको देखिन्छ यसरी हिसाब प्रस्ट भएर पनि त्यो हिसाब खोजेर पारदर्शि रुपमा राख्नुको सट्टा भ्रम दिने प्रयत्न किन गर्नुहुन्छ र ? एउटा गल्ती लुकाउन अरु धेरै गल्ती गर्दै हुनुहुन्छ ।
रकम उठाएको र काम सम्पन्न भएको यति धेरै पछि भित्तामा नाम लेख्नु वा ढिलो गर्नुको कारण अहिले प्रस्ट भएको छ ताकि लामो समय पछि धेरै साथीहरुले बिर्सन्छन । गल्ती भएपनि आवाज उठाउँदैनन भन्ने कुनियत लुकेको कुरा प्रष्ट भएकोछ । यति लामो समय पछि सहयोगी साथीहरु कुनैको मृत्यु भयो । धेरैले पार्टी छोडे । कसैले आफुले दिएको रकम भुले पनि ।
तर राम्रो तरिकाले प्रकाशित गरेको भए कसैले आवाज उठाउदैन थियो । लापरवाही तरिका अपनाएछि गल्ती हुन्छन र गल्ती देखिन्छ र अहिले आवाज उठिरहेको छ । अझ कति उठने हो त्यसको समाधान भनेको फेरि एकपटक रुजु गरेर छुटेकालाई समावेश गर्नु नै हो । दोहोरी खेलेर यसको समाधान हुँदैन । यो किन आवस्यक छ भने हुन त तपाइहरु भन्दै हुनुहुन्छ पहिले निर्णय भएको थियन भनेर तर यो कुरा पहिले नै भएको थियो रु १००००÷ भन्दा थोरै रकम दिनेको विवरणको बुकलेट निकालेर सार्वजनिक गर्ने भनेर त्यो काम गर्न पनि सबै ठाउँको सहयोगीहरुको विवरण त चाहिने होला नि त्यसोे गर्दा त आउलानी हिसाब पनि ।
यहाँ फेसबूकमा प्रतिकृया दिने साथीहरुको भनाइ छ त्यो हाम्रो पार्टीको हो तिमीहरु छोडेर गएका मान्छेलाई के को मतलव ?तर त्यो भवन अहिले तपाइहरुले प्रयोग गरे पनि त्यो सबैको हो सबैको लगानी लागेको छ । हिजो जे बोलियो जे निर्णय गरेको हो त्यसलाई पूरा गर्नुपर्दछ र हिसाब पनि पारदर्शी हुनुपर्दछ । हामीले त त्यति मात्र होइन बुटवलको भवनको पनि कुरा उठाएका छौ । तेस्तै त्यतिबेला पार्टीले नै निर्णय गरेर भुकम्प पीडितलाई उठाएको रकमको पनि विवरण सार्वजनिक गर्ने कुरामा किन ढिलाइ भएको छ ? यसबारेमा पनि हामी बोल्ने छौं ।

