छठ पर्व –२०८२

काठमाडौं । आज २०८२ कार्तिक १० गते छठ पर्व परेको छ । छठ पर्व मूलतः मधेशी समुदायले मनाउने पर्व हो तर पछिल्लो अवधिमा पहाडमा पनि यो पर्वलाई महत्वका साथ मनाउन थालिएको छ । एका तिर मधेशी समुदायको पहाडमा पेशा, व्यवसायले आगमन बढेकाले र अर्को कुरा , पहाडीया समुदायले पनि यो पर्व मनाउन थालेकाले पहाडमा यसको महत्व बढ्दै गएको हो । सूर्य र नदीको पूजा गरिने हूँदा यो पर्व एक प्रकारको प्रकृति पूजा गर्ने पर्व हो  ।नेपाल सरकारले छठ पर्वका दिन सार्वजनिक विदा दिएको छ ।

काठमाडौंमा गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा छठ पर्व मनाउन रोक लगाएको छ । रानी पोखरी निर्माणाधिन अवस्थामा नै रहेकाले यो वर्ष छठ पर्व मनाउन नदिइएको महानगरपालिकाले जानकारी गराएको छ । तिहारको भाइटिकाको दिन भने रानी पोखरी सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।

छठको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी पर्दछ । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।

 

अरबाको दिन छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरू सफा गर्ने गरिन्छ । यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू सजाइएका खोला, नदी, तलाउमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।

छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन् । छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरू आवश्यक पर्छन् । ती खाद्यान्नहरूलाई साँझपख बाँसको चोयाले बुनेको छैँटीमा सजाएर खोला, नदी र तलाउ किनारमा लैजाने गरिन्छ ।

नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित