काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’चेतावनीसहित दिएको समयसीमा सकिन १० मिनेट अघि युद्धविरामको सहमति भएको हो।
वार्ताको मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम ‘तत्कालै लागु हुने’बताएका थिए। शहबाज शरीफले इरान युद्धको समाधानका लागि भन्दै एप्रिल १०मा इस्लामाबादमा दुवै पक्षका प्रतिनिधिमण्डललाई आमन्त्रण गरेका छन्।इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्।युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने बताएएको छ। भविष्यमा इरानविरुद्ध आक्रमण नगर्ने सुनिश्चितता, स्ट्रेट अफ होर्मुजमा इरानको नियन्त्रणको निरन्तरता, युरेनिअम प्रशोधनका लागि स्वीकृति दिइनुपर्ने लगायतका अडान इरानले वार्तामा राख्दै आएको छ ।
तत्काल लागु युद्धविरामले मध्यपूर्वमा अमेरिका र इजरेलसँग चर्किएको इरानको तनाव कम हुने अपेक्षा गरिएको छ। तर विश्लेषकहरूले दीर्घकालीन शान्ति हुन अझै कठिन चुनौतीहरू कायमै रहेको बताएका छन्।युद्धविरामको सहमतिसँगै इन्धनको मूल्य घट्ने क्रम सुरु भएको छ। इरानले आफ्नो भौगोलिक अवस्था देखाउँदै होर्मुज जलमार्गमा नियन्त्रण आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको बताएको छ। इरानको परमाणु कार्यक्रम पनि वार्ताको अर्को जटिल विषय हो।

