चितवन, ४ असोज । अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरूको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले दु꞉ख पाउँदै आएका छन् ।
भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ) डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताए । उनले भने, “यसले हाम्रो मस्तिष्कको कार्यक्षमतामा समेत ह्रास ल्याउँछ । ” उनले भविष्यमा के गर्ने भनेर योजना बनाउने कुरा, आज के खान्छु ? कस्तो लुगा लगाउँछु ? जस्ता कुरामा समेत असर पार्ने बताए ।
आमनागरिकले यो रोगलाई बुढेसकालमा लाग्ने रोग र बिर्सने समस्याका रुपमा बुझ्ने गरेको भन्दै उनले भने, “यो केही हदसम्म सही पनि हो, तर कतिपय समाजमा कतिपय मानिसहरूलाई सानै उमेरमा पनि यो समस्या आउने र धेरैजसो बिर्सने रोग अल्जाइमर्स मात्र नभएर थप अरु रोग पनि हुनसक्ने सम्भावना हुन्छ । ”
अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उनले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताए ।
विश्वमा करिब पाँच करोड व्यक्ति अल्जाइमर्स रोगबाट पीडित रहेको उनको भनाइ छ । सन् २०५० सम्म यो सङ्ख्या अहिलेको भन्दा तीन गुणासम्म बढ्न सक्ने अनुमान गरिएको उनी बताउँछन् । नेपालमा एकिन तथ्याङ्क उपलब्ध नभएता पनि करिब ८० हजारदेखि एकलाख २० हजारसम्म व्यक्तिलाई बिर्सने समस्या भएको गौतमले जानकारी दिए । उनले भने, “तीमध्ये एक नम्बर कारण अल्जाइमर्स नै रहेको छ । ”
अल्जाइमर्स पहिचान गर्न कठिन हुने जनाउँदै उनले भने “यसको लक्षण सुरु भए पनि धेरै मानिसहरूले बुढ्यौलीपनकै समस्या भन्ने ठानेर त्यसलाई नजरअन्दाज गरेर बस्नुहुन्छ । ” आफ्नो दैनिक काम नै गर्न नसक्ने धेरै जटिल अवस्थामा पुगेपछि मात्र अल्जाइमर्स हो कि भनेर बिरामीलाई चिकित्स कहाँ लिएर आउने गरेको उनको अनुभव छ ।
जनमानसमा बुढ्यौलीपन र अल्जाइमर्सको बिर्सनेपन छुट्याउन कठिनाइ भएको कारणले गर्दा जटिल अवस्थामा मात्र बिरामीलाई चिकित्सक कहाँ ल्याउने गरेको उनको भनाइ छ । उनले भने, “धेरैजसो अल्जाइमर्स ६५ वर्ष कटेपछि नै हुन्छ, धेरै कम अल्जाइमर्स जसलाई हामी जेनेटिक अल्जाइमर्स पनि भन्छौं त्यो चाहिँ ६५ वर्ष उमेरभन्दा सानोमा पनि सुरु हुन्छ । ”
विश्वव्यापी सङ्ख्याले ६५ देखि ७५ वर्षको उमेरमा करिब एक हजार जना मानिसमध्ये पाँच जनालाई अल्जाइमर्स हुने र यो सङ्ख्या ८५ वर्ष उमेर कटेकामा भने एक हजार जनामध्ये ३७ देखि ४० जनामा हुने उनको भनाइ छ । उमेर बढ्दै जाँदा त्यसैगरी अल्जाइमर्स देखिँदै जान्छ ।
उमेरबाहेक उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, शारीरिक व्यायामको अभावजस्ता कारणले अल्जाइमर्स हुने डा गौतम बताउँछन् । स्वस्थकर खानपान र सक्रिय जीवनयापन गर्नुपर्ने भन्दै उनले भने, “चिल्लोपना, अत्यधिक मद्यपान र धूमपानले पनि अल्जाइमर्सलाई बढाउँछ । ”
अल्जाइमर्र्स आफँैमा क्रमश꞉ बढ्दै जाने रोग भए पनि यो एकदमै विस्तारै हुन्छ । डा गौतमले भने, “अल्जाइमर्र्स आफँैबाट मृत्यु चाहिँ हुँदैन, हेरचाह राम्रो भयो भने ज्यानको खतरा हुँदैन । ” बुढेसकालमा सबैलाई अल्जाइमर्र्स हुन्छ नै भन्ने नभएको भन्दै उनले बिर्सने समस्या बढ्दै गएपछि चिकित्सकको परामर्श लिनुपर्ने बताए ।
अल्जाइमर्र्सको औषधि दिएर कत्तिको सुधार हुन्छ भनेर हेर्नुपर्ने बताउँदै उनले भने, “कसैलाई राम्रो फाइदा पनि हुन सक्छ, कसैलाई फाइदा गरेन भने औषधि रोक्नुपर्ने हुन सक्छ । ” बिरामीलाई घरपरिवारले राम्रो हेरचाह गर्नुपर्ने उनको भनाइ छ ।

