काठमाण्डौ । सरकारले आन्दोलनरत शिक्षकहरुमाथि दमन गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत्र २० गतेबाट राजधानी केन्द्रित आन्दोलन जारी राखेको छ । आन्दोलनको २६ औं दिनमा शिक्षकहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले पानीका फोहोरा हान्नुका साथै आन्दोलनरत शिक्षकहरुलाई तितरवितर पार्न लाठी चार्ज समेत गरेको छ । शिक्षक र प्रहरीकोबीचमा भएको झडपमा परी केही शिक्षकहरु घाइते भएका छन् । सरकारले शिक्षकहरुको मागको सुनवाइ गर्नुको सट्टा उल्टै दमनमा उत्रिएको छ । आन्दोलनको महिनादिन पुग्न थाल्दा सरकार शिक्षकहरुमाथि दमनमा उत्रिएको हो । शिक्षकहरुको माग सम्बोधन गर्न नसक्दा केही दिन पहिला शिक्षा मन्त्री विद्या भट्राईले राजीनामा दिएकी थिइन् । तर पनि सरकारले गम्भीरतापूर्वक लिन सकेको छैन । शिक्षकहरुको आन्दोलनका कारण विद्यालयमा नयाँ भर्नादेखि दिएर कक्षा १२ को घोषित परिक्षा समेत स्थगित हुन पुगेको छ । नयाँ शैक्षिक वर्षको भर्ना ,पठनपाठन सबै ठप्प छन् । नेपाल शिक्षक महासंघले सबै शिक्षक कर्मचारीहरुलाई राजधानी केन्द्रित आन्दोलनमा आउन आह्वान गरेको छ । नयाँ शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गर्न संवेदनाशीलता देखाउन सकेनन् ।