कुर्सीको खेलमा रम्दै संसदवादी दलहरू हौसिंदै प्रतिगामी शक्तिहरू ⁄

फागुन १०, काठमाडौं । संसदवादी दलहरू कुर्सीको खेलमा रूमल्लिंदै जाँदा प्रतिगामी शक्तिहरू भने हर्षित हुँदै जान थालेका छन् । संसदवादी दलहरू यतिबेला राष्ट्रपति, उपराष्ट्रपति आ–आफ्नो पोल्टामा पार्न कसिकसाऊ गरिरहेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमाले पौष १० को सहमति अनुसार राष्ट्रपति आफूले पाउनु पर्ने अड्डीमा कायम छ । उता प्रचण्ड सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस पनि राष्ट्रपति आफ्नो पोल्टामा पार्न दिलोज्यान दिएर लागि परिरहेकै छ । कसरी हुन्छ राष्ट्रपतिको कुर्सी आप्mनो पोल्टामा पार्ने ध्याउन्नमा नेकपा एमाले र नेपाली कांग्रेस लागिरहेकै छन् । संसदवादी दलहरू यसरी कुर्सीको खेलमा केन्द्रित भइरहँदा देश र जनतासँग सम्बन्धित एजेण्डाहरू भने अलपत्र पर्दै गइरहेका छन् । जनतामा चरम प्रकारको नैराश्यता विकसित हुँदै गइरहेको छ । जनतामा व्याप्त त्यही नैराश्यतालाई प्रतिगामी शक्तिहरूले उपयोग गर्ने प्रयास गरिरहेका छन् । संसदवादी दलहरूको गैरजिम्मेवारीपन र जनतामा व्याप्त नैराश्यताको फाइदा उठाउन प्रतिगामी शक्तिहरू लागि परिरहेका छन् । प्रजातन्त्र दिवसका अवसरमा पूर्व तानाशाह ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देश र दुर्गा प्रसाईँले १ फागुनमा मेची पुलबाट शुरू गरेको अभियानले संसदवादी दलहरूको कुर्सी केन्द्रित राजनीतिबाट प्रतिगामी शक्तिहरू हर्षको भेलमा पौडिन थालेको प्रष्ट भएको छ ।
ज्ञानेन्द्र शाहको दुश्साहस
सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर देशमा आफ्नो तानाशाही सैनिक शासन लादेका पूर्व तानाशाह ज्ञानेन्द्र शाहले संसदवादी दलहरूसँग सत्ता सहकार्यको प्रस्ताव राखेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा ज्ञानेन्द्रद्वारा जारी शुभकामना सन्देशमा उक्त प्रस्ताव गरिएको छ । “अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनैतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्व गर्नु हुँदैन ।” ज्ञानेन्द्र शाहद्वारा २०७९ फागुन ७ गतेको मिति राखेर ६ फागुनको साँझ नै जारी गरिएको उक्त शुभकामना वक्तव्यमा भनिएको छ–“यो वर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔं । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्म सहितको नेपाली पहिचानको सम्बद्र्धन गर्ने गराउने ध्येय नै मूल मान्यताका रूपमा स्थापित गरौं ।”
यसरी पूर्व तानाशाह ज्ञानेन्द्र शाहले संसदवादी राजनैतिक दलहरूलाई प्रजातन्त्रको पाठ पढाउँदै सत्ता सहकार्यका लागि खुलमखुला प्रस्ताव मात्र गरेका छैनन्, जनताको महान बलिदानीबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताका विरूद्धमा विषवमन नै गरेका छन् । उनले “राजतन्त्र” र “हिन्दुु राज्य” फर्काउन सिधै आह्वान गरेका छन् । तर यो नेपाली जनताका लागि कदापि मान्य हुने छैन । हो, संसदवादी राजनैतिक दलहरूका गतिविधिबाट नेपाली जनता सन्तुष्ट छैनन् । आफूले आशा गरे अनुरूपको परिवर्तन देशमा हुन नसक्दा जनता संसदवादी दलहरूप्रति रूष्ट हुँदै गैरहेका छन् । तर यसको अर्थ जनता, पुरानै राजतन्त्रकालीन कालरात्रीमा फर्कन चाहान्छन् भन्ने कदापी होइन । शाह वंशीय जहाँनिया राजतन्त्रात्मक शासनले अन्याय र अत्याचारको सीमा नाघेपछि नै नेपाली जनता सडकमा उत्रिएर राजतन्त्र मुर्दावादको नारा लगाएका थिए । गणतन्त्रको माग गर्दै सडकमा निस्किएको जनसागर माथि तानाशाह ज्ञानेन्द्रले बर्बर दमन गरेका थिए । सम्झना ताजै छ हाम्रो मनमा ०६२÷६३ को जनआन्दोलनमा उक्त दमनको प्रवाह नगरी जनता आन्दोलनको मैदानमा झनै अघि बढेका थिए । “ज्ञाने चोर देश छोड”, “आर्यघाटले के भन्छ–ज्ञाने पारस ले भन्छ”, “हत्यारा ज्ञाने मुर्दावाद”– आन्दोलनको नेतृत्व गरिरहेका तत्कालीन सात दलहरूले तय गरेका नारा भन्दा बाहिर गएर सबै भन्दा बढी तिनै नारा घन्काएका थिए जनताले सडकमा । किसान, मजदुर, विद्यार्थी, शिक्षक, डाक्टर, प्राध्यापक, महिला, युवा हरेक क्षेत्र आन्दोलित थियो । धार्मिक मठमन्दिरहरूबाट समेत भक्तजनहरू “लैजाऊ भगुमान यो ज्ञानेलाई नर्कमा” भन्दै भजन गाउँदै आन्दोलनमा सहभागी भएका थिए । तिनै जनताले अहिले आएर ज्ञानेन्द्रलाई स्वीकार्ने कल्पना कदापि गर्न सकिंदैन । दलहरूप्रतिको असन्तुष्टिका कारण केही मान्छे आफूप्रति झुम्मिएको देखेर हौंसिदै पुनः राजतन्त्र फर्काउने जुन सोचाइ ज्ञानेन्द्रले उक्त वक्तव्य मार्फत् प्रकट रूपमा अगाडि ल्याएका छन्, त्यो उनको दिवा सपना मात्र हो ।
ज्ञानेन्द्रले आफ्नो वक्तव्यमा राजतन्त्रको इतिहासको गलत व्याख्या गर्दै, राजनैतिक दलहरूलाई धम्की समेत दिएका छन् । “नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौं ।” वक्तव्यमा ज्ञानेन्द्रले लेखेका छन्–“ राज्य सत्ताको बागडोर जस जसका हातमा दोहोरिंदै, तेहरिंदै आए पनि वा फेरिंदै बदलिंदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिंदैन ।”
यसरी ज्ञानेन्द्रले वक्तव्य मार्फत् अब आफू नेपालमा राजतन्त्र फर्काउने अभियानमा लागेको घोषणा गरेका छन् । त्यसका लागि उनले जनआन्दोलनको सफलतापछि आफू देश छोडेर नजानुलाई देशभक्तिपूर्ण कार्य बताउँदै जनतामा भ्रम छर्ने प्रयास गरेका छन् । सर्पलाई जतिसुकै दुध खुवाएर पाले पनि एकदिन उसले मानिसलाई डस्न पुग्छ । यस्तै बाघले अब कुनै बाख्रा खाने छैन भनेर वाचा ग¥यो भन्दैमा बाघ र बाख्रालाई एकै खोरमा थुनियो भने त्यसले त्यो बाख्रालाई जीवित रहन दिंदैन । ज्ञानेन्द्रको पछिल्लो वक्तव्यले पनि जनतालाई डस्न फेरि ऊ अग्रसर हुन चाहेको प्रष्ट पार्दछ । जनतामाथि त्यति अत्याचार र दमन गर्ने तानाशाहलाई जनआन्दोलनको सफलता पश्चात् राजनैतिक दलहरूले फाँसीको तख्तामा झुण्डाउनु या जेलका चिसा सिंढीमा थुन्नु पर्दथ्यो । तर दलहरूले ज्ञानेन्द्रमाथि सदासयता देखाए । उसलाई सुविधा सम्पन्न निवासको व्यवस्था मिलाए । त्यसैको परिणाम अहिले देखिंदै गएको छ । राजतन्त्र रूपी सर्पले आफ्नो फणा जगाउन थालेको छ । बाघले बाख्रा खाने मेसो मिलाउन थालेको छ । ज्ञानेन्द्रको पछिल्लो वक्तव्यले त्यही कुरा प्रष्ट पार्दछ ।
वक्तव्यमा ज्ञानेन्द्रले आफू र राजतन्त्रलाई राष्ट्रवादी शक्तिका रूपमा प्रस्तुत गरेका छन् । त्यो सफेद झुट हो । इतिहास साक्षी छ–देशमा ठूलाठूला राष्ट्रघात राजतन्त्रकालमा पनि भएका थिए । नेपालको कालापानीमा भारतीय सेनाहरूलाई बस्ने अनुमति तत्कालीन राजा महेन्द्रले नै दिएका थिए । सुस्ता, महेशपुर, पशुपतिनगर र मानेभञ्ज्याङमा अतिक्रमण राजतन्त्रकालमै भएको थियो । गोर्खाभर्ती केन्द्र राजतन्त्रकालबाटै सुरू गरिएको थियो । देशका बहुमूल्य मूर्तिहरू राजतन्त्रकालमै विदेशीलाई बेचिएको थियो । यस्ता कैयौं उदाहरणहरू छन् जसले राजतन्त्रको कृतिम राष्ट्रवादी मुकुण्डोको उजागर गर्छन् । त्यसैले राजा वा राजतन्त्रले देशको राष्ट्रियताको रक्षा गर्छन् भन्ने त्यो एक भ्रम मात्र हो । हो यो देशको एकीकरण गर्न र आज जुन स्वरूपको नेपाल छ यसलाई बचाउन कुनै बेला राजाहरूले पनि सकारात्मक भूमिका खेलेका थिए । तर त्यो भूमिका भित्र पनि उनीहरूको सत्ता स्वार्थ नीहित थियो । निस्वार्थ देशप्रेमको भावनाले, विशुद्ध राष्ट्रप्रेमको भावनाले भन्दा पनि ‘रैति’ र ‘प्रजा’ माथि शासन गर्ने, महत्वकांक्षा र अभिलाशाले नै उनीहरूले ती राष्ट्रवादी केही कार्य गरेका थिए । नेपालको राष्ट्रियता आजसम्म जुन रूपमा जोगिन सकेको छ–त्यो नेपाली जनताको देशभक्तिपूर्ण आन्दोलन र खबरदारीका कारण जोगिएको हो । नेपाली जनतामा निहित त्यही देशभक्तिपूर्ण भावनालाई उपयोग गरेर राजतन्त्रले फेरि आफ्नो फणा जगाउने दुश्प्रयास गरेको एक दृष्टान्त हो ज्ञानेन्द्रको पछिल्लो वक्तव्य ।
पार्टीहरू सुधारिनु आवश्यक
पूर्व तानाशाह ज्ञानेन्द्र शाहले हौसिंदै राजनैतिक दलहरूलाई सहकार्यको प्रस्ताव गर्ने हिम्मत कहाँबाट प्राप्त गरे ? यो निकै विचारणीय प्रश्नहो । वास्तवमा राजनैतिक दलहरूका गल्ती कमजोरीहरूले नै ज्ञानेन्द्रलाई त्यो हौसला दिने काम गरेका हुन् । राजनैतिक दलहरूले जनआन्दोलन र सशस्त्र संघर्षका मर्म र भावनाहरूलाई आत्मसात गर्न सकेको देखिएको छैन । देश र जनताप्रतिको दायित्वबाट उनीहरू च्यूत हुँदै गैरहेका छन् । ठूला–साना प्रायः सबै पार्टीहरूमा सामन्ती चिन्तनशैली र व्यवहार हावी देखिन्छ । देशको सार्वभौमिकता, राष्ट्रियतता र स्वाधिनता भन्दा व्यक्तिगत महत्वकांक्षा, नातावाद, कृपावाद प्रमुख दलका नेताहरूको प्राथमिकताका विषयहरू बन्दै गइरहेका छन् । देशमा राष्ट्रघात र जनघातका श्रृंखलाहरू रोकिएका छैनन् । दण्डहीनता, अराजकता, महंगी, अनियमितता, भ्रष्टाचार बढ्दै गइरहेका छन् । जुन सपना बोकेर जनता जनआन्दोलन र सशस्त्र संघर्षमा होमिएका थिए ती अझै अधुरा रहेका छन् । आफूले चाहेको र खोजेको परिवर्तन देशमा नपाउँदा जनतामा व्यापक रूपमा नैराश्यता छाउँदै गएको हो । यो तथ्यलाई संसदवादी राजनैतिक दलहरूले समयमै बुझ्नु जरूरी देखिन्छ । तर आफ्ना ती कमीकमजोरीबाट प्रमुख भनिने राजनैतिक दलहरूले अझै पनि पाठ सिक्न सकेको देखिंदैन । अहिले पनि उनीहरू पार्टीगत र समूहगत स्वार्थमा अल्झिरहेको देखिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको पद आ–आफ्नो पोल्टामा पार्न संसदवादी प्रमुख भनिने दलहरू अहिले पनि षडयन्त्रका तानावान बुन्नमै केन्द्रित देखिन्छन् । संसदवादी दलहरू कुर्सी तानातानको खेलमा रमाइरहेका छन् । उनीहरूको यो खेलले प्रतिगामी शक्तिहरू हौसिदै गइरहेका छन् । वैदेशिक शक्तिकेन्द्रहरूले नेपालभित्र आफ्नो चलखेल बढाउँदै लगिरहेका छन् । परिस्थिति झन भन्दा झनपछि जटिल बन्दै गइरहेको छ । यसर्थ राजनैैतिक दलहरूले अब गम्भीर भएर सोच्नु पर्दछ । पार्टी र आप्mनो गुटको स्वार्थ भन्दा माथि उठेर समग्र देशको राष्ट्रियता र सार्वभौमिकतालाई केन्द्रमा राखेर पार्टीहरूले सोच्नु जरूरी देखिन्छ । नयाँ राष्ट्रपति र उपराष्ट्रपति छान्दा पनि पार्टीहरूले दलगत स्वार्थ भन्दा माथि उठी समग्र राष्ट्रिय हितलाई ध्यान दिन जरूरी छ ।\
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित