काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा २०७९ साउन २३ गते बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिएका हुन् । मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेको जानकारी दिंदै मन्त्री राइले त्यस्ता ठेकेदारलाई बिस्तारै तह लगाइने बताए । ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्तारै ठिक पार्छाैँ ।’–मन्त्री राईको कथन थियो ।
उक्त अवसरमा मन्त्री राईले सार्वजनिक गाडीमा भने वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । स्वचालित मूल्य प्रणालीअनुसार नै भाडा समायोजन भइरहेको उनको दावी थियो । यदि कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको उनले बताए ।