बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा २३ मंसिर २०७९ मा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विप्लवले हालको ‘नेता व्यवस्थापन संघीयता’ भन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औल्याए ।
उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्यमाथि समेत प्रश्न उठेको भन्दै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको र राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने दावी गरे ।
महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए । उनले ४ मंसिरको निर्वाचनको औचित्य पुष्टि नभएको पनि टिप्पणी गरे। ‘४ मंसिरको निर्वाचनले जनतामा खुसी दिएन’, उनले भने, ‘अब अहिलेको अभ्यासको संघीयता र निर्वाचन प्रणालीको पनि औचित्य सकिएको छ ।’