बाल बिकास माविको ६२औ वार्षिकोत्सव सम्पन्न

घोराही । घोराही– १४ नयाँ बजारस्थित बालविकास माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढाको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले परेका थिए ।

वार्षिकोत्सव तथा अभिभावक भेलाको उदघाटन गर्दै नगर प्रमुख चौधरीले एक वडा एक नमूना विद्यालय बनाउने गरी कार्यक्रम लागु गर्न थालेको बताउँदै सामुदायिक विद्यालयहरु कुनै पनि रुपमा कमजोर छैनन् भन्ने सन्देश दिने गरी शिक्षामा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए । उनले शिक्षक दरबन्दी मिलान गरेर शैक्षिक सुधार गर्ने उल्लेख गर्दै समुदायको मन जित्ने गरी स्थानीय सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक झग्गु पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न वक्ताहरुले विद्यालयको उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, मावि रझेनाका अध्यक्ष जीवन गौतम, विद्यालयका सल्लाहकारहरु चन्द्रराज पन्त, रामदयाल गुप्ता, कृतिमान पुन, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुकुम बुढाथोकी र बाल क्लवका सचिव गणेश वि.क.ले विभिन्न सुझावसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक श्रीधर पोख्रेलले गत आर्थिक वर्षको करीव ३ करोड ९५ लाख बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । उनले घोराही उपमहानगरपालिका लगायत विभिन्न संघ संस्था एवं व्यक्तिहरुले भौतिक पूर्वाधार निर्माण र अन्य क्षेत्रमा पु¥याएको योगदानको विवरण प्रस्तुत गरेका थिए । साथै कक्षा कोठाको अभाव, शैक्षिक दरवन्दीको कमी लगायतका समस्या र समाधानका उपायहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षक, शिक्षिका र विद्यार्थीहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिनुका साथै विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयकी पूर्व शिक्षिका पुष्पा गौतमले आफ्नी स्व. आमा रोहिणीदेवी शर्माको संझनामा स्थापना गर्नुभएको नौ हजार ५ सय राशीको पुरस्कार छात्रा ज्योति गुप्तालाई प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक यादव आचार्य र शिक्षिका लक्ष्मी के.सी.ले गरेका थिए । सो विद्यालयमा हाल १ हजार ८ सय १३ विद्यार्थी अध्ययनरत छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित