बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समन्वय समितिले आफ्ना सबै उम्मेदवारहरुलाइ उत्साहका साथ निर्वाचनको मैदानमा जान जनताका बिचमा आफ्ना नितिहरु सहित मतदानका लागि अपिल गर्न निर्देशन गरेको छ । राजमो लुम्बिनी समन्वय समितिले आफ्ना उम्मेदवार सम्पुर्णलाई बिजयको लागि हार्दिक शुभकामना पनि व्यक्त गरेको छ ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समन्वय समितिका अध्यक्ष जितामित्र सुनार द्वारा २०७९ बैशाख १७ गते जारी गरिएको प्रेस बक्तब्यमा उक्त कुरा बताइएको छ । अध्यक्ष सुनार द्वारा जारि उक्त बक्तब्यमा अगाडी भनिएको छ – “१. आगामी ३० गते हुन गइरहेको दोस्रो पटकको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा समन्वय समितिले “प्रदेश संसद र सरकार खारेज गरौ ! अधिकार स्थानीय तहलाई हस्तान्तरण गरौ ! !“ भन्ने मूलनाराका साथ उपयोग गर्ने नीति लिएको छ । यो पटकको निर्वाचनमा हामीले स्वतन्त्र उम्मेदवार दिएर चुनावी मैदानमा जाने निर्णय भएको छ र जस अनुसार यस लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ लगायतका विभिन्न जिल्लामा विभिन्न पदको लागि उम्मेदवारी दरखास्त दिइ निर्वाचनमा भाग लिइएको छ । सबै उमेदवार कामरेडहरु उत्साहका साथ निवार्चनको मैदानमा जानु हुनेछ र जनताका बीचमा आफ्ना नीतिहरुसहित मतदानकोलागि अपिल गर्नु हुनेछ । हामी सम्पुर्ण उम्मेदवार कामरेडहरुलाई विजयीको लागि हार्दिक शुभकामना दिन चाहन्छौ ।
२. राष्ट्रिय जनमोर्चाको संस्थापन पक्षको केन्दीय नेतृत्वले अहिलेको निर्वाचनको सन्दर्भमा आफ्नो दक्षिणपन्थी नीति अनुसार प्रतिक्रियावादी एवं राष्ट्रघाती शक्ति नेपाली काँग्रेससँग तालमेलको नीति लिएको छ । चुनावी तालमेलको नीति मात्रै होइन, सत्ता गठबन्धनको आधारमा विभिन्न आयोग, पद र राजनीतिक नियुक्तिमा भागबन्डाको नीति अवलम्बन गरि सत्तालिस्साको मानसिकतामा लिप्त भएको छ । त्यसैले पार्टीको क्रान्तिकारी नीति, सिद्धान्त, विचार र सङ्गठनको रक्षाका लागि राष्ट्रिय जनमोर्चा समन्वय समिति निर्माण गरिएको र यसले राष्ट्रघाती, प्रतिगामी, प्रतिक्रियावादी र विखण्डनकारी शक्तिका विरुद्ध स्थानीय निर्वाचन उपयोगको नीति लिएको हो ।
३. हाम्रो संगठनले केन्द्रीय स्तरबाट स्थानीय तह निर्वाचन–२०७९ का सन्दर्भमा निर्वाचन घोषणा पत्र जारी गरेको छ । घोषणापत्रमा समेटिएका नीति कार्यक्रम बाहेक स्थानीय तहमा त्यहाँको बेग्लाबेग्लै प्रकृतिका थप समस्याहरु हुन सक्छन् । त्यस प्रकारका स्थानीय तहका समस्याहरुलाई समेटेर उम्मेद्वारहरुको तर्फबाट पनि स्थानीय स्तरमा पर्चा एवं प्रतिबद्धता पत्र जारी गर्न सकिनेछ ।
४. कतिपय स्थानीय तहको वस्तुस्थिति र आवश्यकता अनुसार देशभक्त, जनतन्त्रिक तथा वामपन्थी शक्तिहरू सित तालमेल, सहकार्य गरिएको छ भने प्रतिकृयावादी, प्रतिगामी र बिखण्डनवादी शक्तिहरु सित तालमेल हुने छैन ।
५. स्थानीय तहको निर्वाचन उपयोग पनि जनचेतना र आन्दोलनको रूपमा उठान गर्नुपर्ने नीति अनुसार जनताका बीचमा स्थानीय विकास सम्बन्धी मुद्दा उठाउनुका साथै राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका समास्याहरुको पनि उठान गरिनेछ । भ्रष्टाचार, महंगी, विकृति, विसंगतिको विरुद्ध चुनावी प्रचारप्रसार अभियान बनाइएको छ । ५ दलिय गठबन्धनले सत्ता गठबन्धन र चुनावी गठबन्धन जोगाउनकै लागि कथित व्याख्यात्मक टिप्पणीको बहानामा राष्ट्रघाती एमसीसी सम्झौता नेपाल माथी थोपरिएको छ । त्यसको खारेजीको लागि भण्डाफोर गर्ने प्रयत्न गरिनेछ ।
६. क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरण, ध्रुवीकरण, शुद्धीकरण र सुदृढीकरण गर्दै क्रान्तिकारी पार्टी र आन्दोलनको पुनर्गठन गर्दै अगाडि बढ्न आवश्यक भएकोले हाम्रो पार्टीले त्यसतर्फ पनि प्रयत्न गरिरहेको छ । यस सन्दर्भमा विभिन्न वामपन्थी घटकलाई सम्मीलित गराएर संयुक्त क्रान्तिकारी मोर्चा, नेपाल निर्माण गरिएको छ । यस मोर्चाले एमसीसी विरुद्ध कार्यगत एकता गरि संघर्ष समेत गरेको थियो । यो निर्वाचनमा उक्त मोर्चामा सम्मीलित पार्टीहरुका उम्मेदवारहरु तथा विभिन्न दलहरुबाट विद्रोह गरी स्वतन्त्र उमेद्वार बनेका कतिपय स्वच्छ, स्वाभिमानी, जनसेवी, क्रान्तिकारी र देसभक्तहरुलाई विजयी गराउनका लागि हामीले भोट आदानप्रदानमा जोड दिन चाहन्छौं ।
७. निर्वाचन साध्य होइन, साधन हो । साध्य क्रान्ति, परिवर्तन र समाज विकास सम्पन्न गर्नु हो । त्यसैले निर्वाचनलाई कार्यनीतिको रूपमा उपयोग गरिएको हुनाले यो रणनीति मुखरित अर्थात रणनीतिलाई फाइदा पु¥याउने प्रकारले कार्यक्रम बनाउने प्रयत्न हुनेछ । हाम्रो नीति बुर्जुवा पार्टीले झैं संसदीय पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थको लागि फाइदा घाटाको रूपमा निर्वाचनको कार्यक्रम प्रयोग गर्न नपाइने भएकोले हामी र बुर्जुवा पार्टी वा शक्तिका बीचमा भिन्नता रहेको छ । त्यसैले हामी उच्च क्रान्तिकारी मनोबलका साथ निर्वाचन कार्यक्रममा सहभागी हुनेछौं र नीतिगत रूपमा हामी सम्पुर्ण तहमा विजयी हुनेछौं ।”