महादेव रानाभाट ••
यदि हामी इतिहासलाई हेर्यौ भने हामीले देख्ने छौँ कि खेलकुद प्राचीन कालदेखि नै अत्याधिक महत्व दिँदै आइरहेको छ । मानिसले खेलकुदमा अधिक रुचि राख्छन् र खेलकुदमा राम्रो छन् भन्ने ती मानिसहरू अधिक सक्रिय र स्वस्थ जीवन जिउन सक्छन् । अब हामी बिचार गरौँ खेलकुद मानिसको जीवनमा कतिको महत्व रहेछ ।
खेलकुद जीवनको एउटा अभिन्न अङ्ग हो । जसले शारीरिक विकासको साथसाथै मानिसको मानसिक विकासमा राम्रो सहायता गर्छ । खेलकुदलाई जीवनमा अपनाएर तनाव मुक्त खुसीयाली जीवन जिउन सकिन्छ तथा खेलकुदले मानिसलाई इमानदारी, सहनशीलता, सद्भावना, क्षमा गर्न सक्ने जस्तो गुणहरूको विकास गर्दछ । मानिसलाई नैतिकताको पाठ पनि पठाउँछ । खेलकुदले स्वास्थ्य मात्र उत्तम नभई मानिसको चरित्र पनि उत्तम बनाउँछ । खेलाडीको लागि राम्रो जागिरको लागि पनि प्रस्ताव आउने गर्छ र त्यस माध्यमबाट धन, सम्पत्ति आर्जन गर्ने माध्यम पनि बन्न सक्छ । खेलकुदले हाम्रो शरीरलाई स्वास्थ्य, लचिलो, फुर्तिलो, ऊर्जावान, बलवान् बनाउँछ र डाक्टरले पनि स्वास्थ्य रहनको लागि रोगीलाई खेलकुद खेल्नको लागि सल्लाह दिने गर्छन् । खेलकुदले मानिसबाट अल्छिपन टाढा हुन्छ र त्यस मानिस आफ्नो हरेक कार्यहरू खुसीका साथ पूर्ण गर्दछन् । खेलकुदले अनुशासन सिकाउँछ र अनुशासनले जीवनमा आनन्दित र सबैको प्रिय बनाउँछ । खेलकुद खेल्नाले दिमागको कसरत हुन्छ र दिमाग तेज हुन्छ । खेलकुद जीवनमा सन्तुलन बनाउनको लागि अति आवश्यक छ । खेलकुदले हामीहरूलाई तनाव मुक्त राख्दछ र खेलकुद खेल्नाले शरीर र मन शान्त राख्दछ । शरीरमा रक्तको प्रभाव वा रक्त संचार राम्रो बनाउँछ र खेलकूद खेल्ने मानिसहरूको रक्तसँग जोडिएको बिरामीबाट बच्न सक्छन् ।
प्राचीन कालमा पनि खेलकुदको महत्व थियो । तर खेलकुद त्यो समयमा केवल मनोरञ्जनको रूपमा खेल्ने गरिन्थ्यो । तर आजको दिनहरूमा विद्यार्थी जीवनमा खेलकुदको अत्यन्तै जरुरी देखिएको छ । पढाइ गरेर विद्यार्थीहरूले केवल आफ्नो मानसिक विकास गर्न सक्छन् । तर शारीरिक विकासको लागि खेलकुदमा भाग लिन अथवा आबद्ध हुन आवश्यक छ । खेलकुद बढ्दै गरेका बच्चाहरूको लागि अति आवश्यक हुन्छ । यसले उनीहरूको शारीरिक विकास धेरै राम्रो तरिकाले हुन्छ । खेलकुद बच्चाहरूको साथसाथै ठुला मानिसहरूको जीवनमा पनि त्यति नै महत्व राख्दछ । त्यसैकारणले सबैको स्वस्थ मस्तिष्क र स्वस्थ शरीरको लागि कुनै न कुनै प्रकारको शारीरिक गतिविधि वा खेलकुदलाई आफ्नो जीवनमा अपनाएर एक स्वस्थ जीवनतर्फ आफ्नो कदम बढाउन आवश्यकता छ ।
खेलकुदमा न हार्न जरुरी छ, न जित्न जरुरी छ । जीवन एक खेल हो यसलाई खेल्न जरुरी छ । राज्यले व्यावसायिक खेलाडीलाई प्रोत्साहन गर्नैपर्छ । व्यावसायिक खेलाडी बाहेक आम जनताले कुनै न कुनै रूपमा शारीरिक अभ्यास हुने गरी कुनै न कुनै खेल खेल्दा उपयुक्त हुन्छ । आफ्नो शारीरिक र मानसिक स्वस्थताको लागि खेलप्रति लगाव हुनु जरुरी छ ।
सकारात्मक सोचले मात्र राष्ट्रलाई योगदान गर्न सक्छ । सकारात्मक सोचको निर्माणका लागि शारीरिक रूपले तन्दुरुस्त हुनु जरुरी छ । त्यसैले हामी भन्ने गर्छौँ राष्ट्रको लागि खेल स्वास्थ्यको लागि खेल र एउटा स्वास्थ्य व्यक्तिले मात्र आफ्नो व्यक्तित्व र नेतृत्व क्षमताको विकास र ज्ञानको वृद्धि गरी समाजलाई परिवर्तन गर्न सक्छ र समृद्ध राष्ट्र निर्माणका लागि र राष्ट्रको गौरव बढाउनको लागि राष्ट्रलाई पहिचान र राष्ट्रको झन्डा उच्च शिखरमा पुर्याउन खेलाडीहरूको ठुलो महत्व तथा योगदान हुन्छ ।
(लेखक गोजुरियो कराँतेका जिल्ला प्रशिक्षक हुनुहुन्छ । )

