काठमाडौं । साम्राज्यवाद विरुद्ध संयुक्त विरोध कार्यक्रम सम्पन्न भएको छ । संयुक्त संघर्ष समिति, नेपालको आयोजनामा २०८२ कार्तिक ११ गते माइतीघर मण्डलामा सो कार्यक्रम सम्पन्न भएको हो । “साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौं ! राष्ट्रिय स्वाधीनता,सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं !!” भन्ने नारा सहित सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले कम्युनिस्ट, बामपन्थी र देशभक्त शक्तिहरु एक जुट हुनपर्ने बताउनुभयो । साम्राज्यवादीहरु घर घरै आइपुगेको स्पष्ट गर्दै नेपालीले सुशिला कार्की नेतृत्वको सरकार साम्राज्यवाद र विस्तारवादको मिलेमतोमा बनेको सरकार हो भन्नुभयो । नेपाललाई विदेशीहरुले रणमैदान बनाउन खोजेको हुँदा देशलाई त्यो स्थितिमा पुग्न नदिन संघर्षको मैदानमा आउनुपर्ने नेपालीको भनाई थियो । उहाँले देशको आजको स्थिति आउनुमा देशका दलाल पार्टीहरु जिम्मेवार रहेको पनि स्पष्ट गर्नुभयो ।
नेकपाका संयोजक लोकनारायण सुवेदीले अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार दलाल पुँजीवादले नेपालका दलाल नेताहरुलाई संचालन गरिरहेकोले देश बचाउने आन्दोलन आवश्यक रहेको बताउनुभयो । नेकपा (बहुमत) का बद्री चौलागाईले संसदीय व्यवस्थालाई फालेर राष्ट्रिय स्वाधीन सरकार बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका रुपा सुनार, कम्युनिस्ट समाजवादीका इन्दिरा अधिकारी, अर्का नेकपाका रामबहादुर भण्डारी, समाजवादी कम्युनिस्ट पार्टीका हरिकृष्ण गजुरेल, रेड फोर्सका सि.वि.सिंह, अशोक सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन नेकपाका नेता नारायण शर्माले गर्नु भएको थियो ।
साम्राज्यवादका विरुद्ध संयुक्त विरोध कार्यक्रम
Comments

