काठमाण्डौमा काफल बेच्ने धन बहादुर तामाङ

काठमाडौ ।  चैत महिनाको टन्टलापुर घाममा कलङ्कीको ब्यस्त चोकमा उमेरले ६० वर्ष नाघिसकेका धन बहादुर तामाङ डालीमा राता राता काफल बोकेर उभिएकाछन । उपत्यका भित्र प्रबेश गर्ने र उपत्यका बाहिर जाने ,काठमाडौको रिङ रोड घुम्ने  अनि कलङ्कीबाट शहरको भित्री भाग तिर कालीमाटी ,रत्नपार्क ,बानेश्वर तिर छिर्ने हजारौं गाडीहरु गुडिरहेकै छन। सडक पेटीबाट हजारौं मानिसहरु पैदल यात्रा पनि गरिरहेकाछन । त्यो भीडको एउटा चोकमा धन बहादुर तामाङ उभिएका छन । मानिसहरुलाई आकर्षित गर्न पटकपटक “ ए ! काफल ,काफल “. आवाज दिन्छन् । 

दिउसोको टन्टलापुर घाममा काफल बेच्ने मान्छे बारे उत्सुकता जाग्यो सडकमा हिड्दै गरेको यो हाँकको प्रतिनिधिलाई पनि ।

नाम, थर ,ठेगाना सोध्नु भन्दा पहिले उनले आफ्नै काफलको मूल्य भन्न थाले । ठूलो भाडोको २५०, मझौला भाडोको १०० र सब भन्दा सानो भाडोको ५० उनले मूल्य सुनाए ।

सानो भाडोको रु ५० को काफल किने पछि उनले आफ्नो बारे भन्न थाले। धन बहादुर तामाङ सिन्धुपाल्चोक हिलेबाट आएका रहेछन।  काफल धनबहादुरले बारीबाट वा जङ्गलबाट आफै टिपेर लिएका हैनन। उनले सुनाए, “ कहाँ  को आफै टिपेर लिएको हुनु नि हजूर !  धादिङ बाट ठेकेदारले काफल खरिद गर्छ । हामीले ठेकेदारबाट किन्ने र बजारमा बेच्ने हो। “ धन बहादुरले स्वयम्भू बाट ठेकेदार सित किनेर डालीमा बेच्दै हिड्दा रहेछन् ।

जीवन गुजारा कसरी चलेकोछ,काफलबाट कति नाफा घाटा हुन्छ भन्ने जिज्ञासामा धनबहादुरले भने,“ एक दिनमा करिब ४ हजारको काफल खरिद गर्छु । दिनभरीमा डुलाउदै हिडे पछि बेचेर सकियो भने एक हजार रुपैयाँ सम्म नाफा बस्छ । नत्र दिनमा पाच सय ,सात सय नाफा हुन्छ । गाउँबाट  मजदूरी गर्न आएका साथीहरु सित कोठामा बसेकोछु । मिलेर भाडा तिर्छौ। “

समाचारहरुमा दाङ ,सल्यान तिर किसानहरुले आफै वनमा गई काफल टिपेर ल्याई बजारमा बेचेको थाहा थियो तर काठमाडौमा ठेकेदारबाट नै खरिद गर्छन खुद्रा ब्यापारीहरु।

धनबहादुरका एक श्रीमती ,दुई छोरा र दुई छोरी रहेछन् । घरको खेतीले खर्च नचल्ने भएपछि धनबहादुरले काठमाडौ आई सिजन अनुसार काफलको खुद्रा ब्यापार गर्दा रहेछन। उनले भने ,“धेरै बर्ष देखि मैले यो ब्यपार गर्छु।“ गर्मी महिनामा काफल ,काफल भन्दै काठमाडौका गल्लीगल्लीमा घुम्ने धनबहादुर तामाङ जस्ता थुप्रै खुद्रा ब्यापारीहरु प्रायः ठेकेदारबाट काफल खरिद गरेरै व्यापार गर्दछन। उनीहरु ठेकेदारबाट ठगिएका हुन्छन ।

कैयौ ठाउँमा समाजका ठूला ठालु ठानिनेहरुबाट हेला र अपमान पनि सहनु परेको हुन्छ । तर पनि “काफल ,काफल “ भन्दै शहरका गल्ली गल्ली वा सडकका पेटी पेटी दिउसोको चर्को घाम वा हुरी बतास सहदै हिड्नु परेकोछ किनकि जसरी पनि जीवन चलाउनु छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित