जेनजी विद्रोहले ल्याएको राजनीतिक स्थितिबारे

 

रामसिंह श्रीस

नेपालका संसदमा भाग लिएका राजनीतिक पार्टीहरू २०८४ सालको संसदको निर्वाचनमा आप्mनो हैसियत बलियो बनाउने योजनामा थिए । त्यही योजना अनुसार ती राजनीतिक पार्टीहरू ०८४को मिसन भन्दै अगाडि बढिरहेका थिए । तर ०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोहले देशको राजनीतिक अवस्था अर्कै ठाउँमा पु¥याई दियो । भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र २६ वटा सामाजिक संजालमाथि लगाइएको प्रतिबन्धको फुकुवाको माग राखेर सुरु भएको जेनजी विद्रोहले दुई ठुला दल एमाले र नेकाको संयुक्त सरकार अपदस्थ भएको छ । पूर्व न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भएको छ, संसद विघटन भएको छ र ०८२ साल फागुन २१ गते संसदको निर्वाचन तोकिएको छ । विघटित संसद पुनस्र्थापनाको लागि सर्वोच्चमा रिट निवेदन परेको छ । पार्टीहरूमा टुटफुट विभाजन, धु्रवीकरण र नयाँ पार्टीहरूको स्थापना भइरहेको अवस्था छ । यो विद्रोहले साम्राज्यवादी, विस्तारवादी, प्रतिगामी र यथास्थितिवादी शक्तिहरूको भूमिकालाई पनि सतहमा ल्याइदियो ।

कुनै पनि घटनाको पछाडि कारणहरू हुन्छन् । जेनजी विद्रोह हुनुमा पनि कारणहरू छन् । ती कारणहरू आन्तरिक र बाÞय छन् । आन्तरिक कारणहरूमा नेपालमा मौलाउँदै गएको भ्रष्टाचार, कुशासन, बेरोजगारी, नातावाद, कृपावाद आदिले जनतामा गुम्सिएको निरासा र आक्रोश नै हो । पञ्चायती व्यवस्थाको पालादेखि सुरु भएको नवउदारवादी आर्थिक नीतिलाई बहुदलीय व्यवस्था आएपछि पनि सरकारमा पुगेका राजनीतिक दलहरू मुख्यत: नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र ०६३ सालपछि नेकपा (माओवादी केन्द्र)ले निरन्तरता दिँदै आए । यही नीतिको कारणले देशको स्वतन्त्र राष्ट्रिय अर्थनीतिको विकास त भए न नै, सीमित मात्रामा रहेको उद्योगहरूलाई पनि ध्वस्त पारियो ।

उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि लगायत सबै क्षेत्रमा निजीकरणलाई तीव्र बनाइयो । यसको परिणामस्वरूप देशमा राष्ट्रिय अर्थतन्त्रको विकास हुन सकेन । देशको सम्पूर्ण अर्थतन्त्र दलाल पुँजीपतिहरूको हातमा गयो । जसको परिणाम देशमा बेरोजगारी बढ्यो । रोजगारीको लागि देशको युवा शक्ति विभिन्न देशहरूमा जानुपर्ने बाध्यात्मक अवस्था आयो । अर्कोतिर पञ्चायती व्यवस्थाको अन्तपछि सरकार बनाउन सफल भएका राजनीतिक पार्टीहरू मुख्यतस् नेका, एमाले र माओवादी केन्द्रले जनतामा सुशासन दिने कुनै प्रयास गरेनन् । उनीहरूले दलाल पुँजीपति, विचौलिया, तस्कर, भूमाफियाहरूको स्वार्थको लागि काम गरे । मजदुर, गरिव किसान, सुकुम्बासीहरूको हितमा कुनै काम गरेनन् । अर्कोतिर भ्रष्टाचारलाई नियन्त्रण गर्ने त कुरै छोडौं त्यसलाई संस्थागत गर्दै लगियो । हरेक क्षेत्रमा घुस नदिएसम्म जनताको कुनै पनि काम हुन नसक्ने अवस्था आयो । महाकाली सन्धिदेखि एमसीसीसम्मको राष्ट्रघाती सन्धिहरू यिनै दलहरूले गरे । यी तमाम कारणहरूले गर्दा जनतामा एक प्रकारको आक्रोस चरम उत्कर्षमा पुगेको थियो । यही असन्तोष जेनजी विद्रोह हुनुमा आन्तरिक कारण थियो ।

जेनजी विद्रोह हुनुमा बाÞय कारणहरू पनि छन् । त्यो कारण भनेको साम्राज्यवादी र विस्तारवादीहरूको भूमिका हो । दोस्रो विश्वयुद्ध पछि साम्राज्यवादीहरूले नवऔपनिवेशिक नीति अवलम्वन गरे । यो नवऔपनिवेशिक नीति अनुसार उनीहरूले प्रत्यक्ष शासन नगरेर सम्बन्धित देशहरूमा आफ्ना दलालहरू तयार पार्ने र उनीहरूलाई सत्तामा पु¥याउने काम गर्दै आएका छन् । त्यसको लागि उनीहरूले परिस्थिति अनुसार कही चुनावको माध्यमबाट कहीं विद्रोहबाट र कही सैनिक विद्रोहको माध्यमबाट आफ्ना दलालहरूलाई सत्तामा पु¥याउने गर्दछन् । साम्राज्यवादको हितमा काम गर्दा उनीहरूको दलालहरू जनताबाट नाङ्गिंदै जान्छन् । त्यो अवस्थामा उनीहरूले नयाँ र अन्य विश्वासपात्र दलालहरूलाई सत्तामा ल्याउने प्रयास गर्दछन् ।

जेनजीहरूले भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र सामाजिक संजालमाथि लगाइएको प्रतिबन्ध फुकुवाको माग राखेर आन्दोलन सुरु गरेका थिए र त्यो आन्दोलन शान्तिपूर्ण हुने बताएका थिए । उनीहरूको आन्दोलन आमूल परिवर्तनको लागि थिएन केवल आंशिक सुधारको लागि थियो । जव जेनजीहरूको आन्दोलन सुरु भयो । तव एकातिर अमेरिकाद्वारा आर्थिक लगानी गरिएका विभिन्न आइएनजीओहरू बारबरा फाउण्डेसन, अमेरिकी युथ काउन्सिल, समता फाउण्डेसन, फ्रि तिब्बत स्टुडेन्ट मुभमेन्ट, टिओवी, हामी नेपाल जस्ता गैरसरकारी संस्थाहरू अर्कातिर भारतीय जनता पार्टी र त्यसमा पनि राष्ट्रिय स्वयंसेवक सङ्घका एजेण्टहरूले जेनजीहरूको आन्दोलनलाई अपहरण गरेर मुठभेडको दिशातिर अगाडि बढाए । सरकारले त्यसलाई सही तरिकाले समाधान गर्न सकेन । अनावश्यक बल प्रयोग ग¥यो । जसको परिणाम भाद्र २३ गते १९ जना सिधा साधा जेनजीहरूको गोली लागेर मृत्यु भयो । त्यसपछि जेनजी आन्दोलनले विद्रोहको रूप लियो । जेनजी समूहले सुरु गरेको आन्दोलनलाई हाइज्याक गरेर अगाडि बढ्नुमा साम्राज्यवादी र विस्तारवादीहरूको आ– आफ्ना स्वार्थहरू थिए । यी दुवैको साझा स्वार्थ भनेको तत्कालीन केपी ओलीको सरकारलाई ढाल्नु थियो । त्यसको लागि भदौ २४ गते देशव्यापी रूपमा सिंहदरबार, राष्ट्रपति भवन, संसदभवन, सर्वोच्च अदालत लगायत सरकारी भवनहरू, उद्योगहरू, व्यक्तिका घरहरू, होटलहरू, सुपरमार्केटहरूमा आगो लगाएर ध्वस्त पारियो । राजा ल्याउने प्रयास गरियो । सरकारको निर्देशन सेनाले मानेन् । केपी ओलीले प्रधान मन्त्रीबाट राजीनामा दिए । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा कठपुतली सरकार बन्यो । यो सरकार मुख्यतस् अमेरिकी तथा भारतीय शासकवर्ग र तिनका नेपाली दलालहरूका बिचको अन्तरिम सम्झौताको परिणाम हो । यसरी यो जेनजी विद्रोहमा बाÞय कारणको पनि भूमिका छ ।

नेका, एमाले र माओवादी केन्द्रले वास्तवमा सत्तामा जान र सत्तामा टिकीरहनका लागि साम्राज्यवादी र विस्तारवादीहरूको स्वार्थ अनुरूप काम गर्दै आएका राजनीतिक पार्टीहरू हुन् । महाकाली सन्धि, एमसीसी सम्झौता जस्ता राष्ट्रघाती सन्धि सम्झौता लगायत राष्ट्रहीत विपरीत थुप्रै कामहरू गर्दै आए । तर नेका, एमाले र तत्कालीन माओवादी केन्द्रले राष्ट्रहित र जनहित विपरीत कामहरू गर्दै आएको, सुशासन दिन नसकेको, भ्रष्टाचारलाई संस्थागत रूप दिंदै गएको हुनाले उनीहरू जनताबाट नाङ्गिदै गएका थिए । यी ठुला भनिने तीन पार्टीहरूप्रति जनताको तीव्र आक्रोश बढ्दै गएको थियो । त्यो अवस्थामा साम्राज्यवादी तथा विस्तारवादीहरूले आफ्ना नयाँ दलालहरूलाई सत्तामा ल्याउन यो प्रयास गरिरहेका छन् ।
जेनजी विद्रोह पछिको अहिलेको राजनीतिक अवस्था भनेको यथार्थमा पुरानै संसदीय व्यवस्थाभित्रको तुफान मात्र हो । तर पनि ०८२ भदौ २४ गते भन्दा पहिलेको र अहिलेको स्थितिमा फरक छ । त्यो फरक भनेको ०४६ सालदेखि लगातार सरकारमा वा प्रतिपक्षमा रहेका दलहरू अहिले सत्ताबाहिर सडकमा छन् । उनीहरूले आफ्नो विगतको साख जोगाउन कोही एकतामा लागेका छन् भने कोही आन्दोलनमा लागेका छन् । यो नयाँ राजनीति परिस्थितिले एकातिर प्रायस् सबै राजनीतिक पार्टीभित्र विवाद र फुटको स्थिति सिर्जना गरेको छ । अर्कोतिर नयाँ नयाँ राजनीतिक पार्टीहरूको जन्म भएको छ । भ्रष्ट नेता र पार्टीहरूप्रति जनताको आक्रोश देखिन्छ । २०८२ फागुन २१ गते संसदको लागि निर्वाचन मिति घोषणा गरिएको छ । निर्वाचन हुन सक्ने वा नसक्ने अन्यौल पनि छ ।

जेनजी पुस्ताले उठाएका मागहरूबारे पनि केही कुरा उल्लेख गर्न जरुरी छ । सब भन्दा पहिले जेनजी पुस्ताले भ्रष्टाचारको अन्त्यको कुरा उठाएका छन् । यो एकदमै सही कुरा हो । तर भ्रष्टाचार हुनुको मुलकारण के हो ? त्यो कारण समाप्त नगरेसम्म भ्रष्टाचारको अन्त्य हुँदैन । भ्रष्टाचार हुनुको मुख्य कारण व्यक्तिगत सम्पत्ति हो । जहाँ व्यक्तिगत सम्पत्ति हुन्छ । त्यहाँ भ्रष्टाचार हुन्छ । आज विश्वमा अमेरिका, युरोप, जापान जहाँ हेर्नुहोस् त्यहाँ पनि भ्रष्टाचार छ । फरक यति हो कि भ्रष्टाचार गर्ने तरिका र परिमाण (मात्रा) फरक फरक हुन सक्छ । त्यसकारण भ्रष्टाचारलाई अन्त्य गर्नको लागि व्यक्तिगत सम्पत्ति राख्ने व्यवस्थाको अन्त्य गरी सामाजिक सम्पत्ति रहने समाज व्यवस्था ल्याउनुपर्दछ । त्यसको लागि वैज्ञानिक समाजवादी व्यवस्था हुँदै साम्यवादी समाजमा जानुपर्दछ । तर अहिले आन्दोलन गरिरहेका जेनजी प्स्ताले यो कुरालाई प्राथमिकताका साथ उठाएको पाइएन । उनीहरूले एउटा भ्रष्टाचारीलाई हटाएर त्यसको ठाउँमा अर्को असल मान्छे ल्याउने कुरा गर्दछन् । निश्चित रूपमा असल मान्छे आउँदा भ्रष्टाचारको न्यूनीकरण हुन सक्छ । यो पनि सकारात्मक कुरा हो । त्यसकारण भ्रष्टाचारीहरूको विरुद्धको सङ्घर्षलाई तेज बनाउनुपर्दछ । तर भ्रष्टाचारको अन्त्यको लागि वैज्ञानिक समाजवाद र साम्यवादमा नै जानुपर्दछ ।

जेनजी पुस्ताले उठाएको अर्को कुरा बेरोजगारको अन्त्य हो । बेरोजगारीको अन्त्य कसरी हुन सक्छ ? जब देशमा उद्योगधन्दा कलकारखानाहरू विकास हुन्छ, कृषिको आधुनिकीकरण हुन्छ त्यसबेला नेपालका जनताले आफ्नै देशमा रोजगार पाउनेछन् । बेरोजगारको अन्त्य हुने छ । तर आज देशमा राष्ट्रिय अर्थतन्त्रको विकास छैन । देशमा उद्योगधन्दा कलकारखाना विकास हुन सकेको छैन । अगाडि चर्चा गरिए झैं पञ्चायतकालको अन्ततिरबाट देशमा नवउदारवादी अर्थनीति अपनाइयो । त्यसले कैयौं राष्ट्रिय महङ्खवका उद्योगहरू पनि समाप्त भए । सरकारले नै राज्यबाट संचालित राष्ट्रिय महङ्खवका उद्योगहरू निजीकरणको नाममा कौडीको भाउमा बेच्ने काम ग¥यो । बेरोजगार अन्त्य गर्नको लागि सर्वप्रथम नवउदारवादी अर्थनीतिलाई बन्द गर्नुपर्दछ ।

राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने नीति ल्याउनुपर्दछ । यसो गर्दा साम्राज्यवाद र विस्तारवादले आफ्नो हितको लागि कमजोर देशहरूमाथि लाद्ने नीतिको विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । समग्रमा भन्दा साम्राज्यवादी र विस्तारवादी नीतिको विरुद्ध सङ्घर्ष गरेर मात्र राष्ट्रिय स्वतन्त्र अर्थतन्त्रको विकास हुन सक्छ र देशमा बेरोजगारको अन्त्य हुने छ । अहिले आन्दोलन गरिरहेका जेनजी पुस्ताले बेरोजगारको अन्त्यको कुरा त गरेका छन् तर नवउदारवादी अर्थनीतिलाई बन्द गरेर स्वाधीन राष्ट्रिय अर्थनीतिको विकासको बारेमा कुरा गरेका छैनन् । तर अब जेनजी पुस्ताले राष्ट्रिय अर्थतन्त्रको विकासको लागि नवउदारवादी अर्थनीतिको विरोध गर्नुपर्दछ । अहिले जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको विद्रोहले कतिपय नकारात्मक कामहरूको बाबजुद राजनीतिक क्षेत्रमा एउटा उपलिब्धमूलक काम गरेको छ, त्यो हो युवा वर्गमा राजनीतितर्फ चासो र सक्रियता ल्याउनु प्रतिक्रियावादी शक्तिहरूले विद्यार्थीहरूलाई अर्थात् नव युवाहरूलाई राजनीतिबाट अलग राख्ने काम गरिरहेका छन् ।
राजनीति भनेको फोहोरी खेल हो त्यसमा लाग्न हुन्न, राजनीतिबाट टाढा रहनुपर्दछ भन्ने शिक्षा दिक्षा दिए र दिँदै छन् । जब कि हरेक देश, हरेक समाजमा राजनीति नभई नहुने कुरा हो । कुनै पनि देशको विकास र विनास हुने कुरा राजनीतिसित सम्बन्धित हुन्छ । राजनीति फोहोरी खेल हो भन्ने भाष्य निर्माण गरियो । तर राजनीति सुन्दर कुरा हो । व्यक्तिले त्यसलाई (राजनीतिलाई) फोहोरी बनाएको हो । ठुलो युवा पङ्क्तिलाई सत्ताधारी वर्गले राजनीतिबाट विमुख बनाउन प्रयास अहिले पनि जारी छ । तर यो जेनजी विद्रोहले केही मात्र भए पनि युवा पिंढी राजनीतिप्रति आकर्षित भएका छन् र सक्रिय भइरहेका छन् । कतिपय सैद्धान्तिक, वैचारिक प्रश्नहरूमा मतभिन्नता भए पनि युवा पुस्ता राजनीतिमा आकर्षित हुनु सकारात्मक कुरा हो ।

यो भदौ २३/२४को जेनजी विद्रोहले नेपाललाई आफ्नो प्रभावमा पार्न साम्राज्यवादीहरूले कसरी भूमिका खेलिरहेका रहेछन् भन्ने कुरा पनि सतहमा ल्याइदिएको छ । नेपालको सार्वभौमिकता, अखण्डता, स्वाधीनताको अवस्था कस्तो रहेछ भन्ने कुरा पनि सर्वसाधारण जनताले पनि बुझ्ने गरी सतहमा आयो । नेपालको स्वाधीनता र सार्वभौमिकता अत्यन्तै खतरामा छ । अब समग्र परिस्थितिले के कुरा माग गरिरहेको छ भने स्वाधीनताको रक्षा प्रमुख भएर आएको छ ।

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि क्रान्तिकारी संयुक्त मोर्चाको निर्माण र स्वाधीन संयुक्त सरकारको गठन अहिलेको आवश्यकता हो । साम्राज्यवाद, विस्तारवाद, प्रतिगमन र यथास्थितिवादको विरुद्ध सङ्घर्ष गर्दै अग्रगामी दिशामा अगाडि बढ्नको लागि स्वाधीन संयुक्त सरकारको गठन गर्ने दिशामा सङ्घर्षलाई अगाडि बढाउनुपर्दछ । २०८२/०८/१४

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित