सरकारको राष्ट्रघाती तथा फासिष्ट प्रकारका नीतिको विरोध गर्ने निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारको राष्ट्रघाती तथा फासिष्ट प्रकारका नीतिहरुको विरोध गर्ने निर्णय गरेको छ । २०८० माघ २५ र २६ गते बसेको मशालको केन्द्रीय समितिकाको बैठकले सो निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले “चार वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु पिपिपि (पब्लिक –प्राइभेट पार्टनरशिप) मोडेलमा भारतीय अडानी गु्रपलाई ठेक्कामा दिन लागेको, गौतम बुद्धको मावली घर मानिएको नवलपरासी पश्चिमको रामग्राम क्षेत्रको ११६ विघा जमिन निजी कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिएको, भारतलाई १० हजार मेघावाट विद्युत दश वर्षमा दिने सम्झौता र भारत आफैले छनौट गरी देशको कुनै पनि भागमा बीस करोड अनुदान दिने सम्झौता गरेको, देशका महत्वपूर्ण विद्युत परियोजनाहरु भारतलाई सुम्पेको” स्पष्ट गर्दै मशालले सरकारको राष्ट्रघातका विरुद्धमा उभिन आम जनतालाई आह्वान गरेको छ । मशालले २०८० फागुन १५ देखि २५ सम्म “राष्ट्रिय स्वाधीनताको रक्षाका लागि संघर्ष गरौं !” भन्ने मूल नारा सहित जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ।
सरकारले “केही समयदेखि सार्वजनिक सभा, भेला हुने ठाउँहरु निषेध गरेको, निर्दोष व्यक्तिहरुको हत्या गरेको” स्पष्ट गर्दै मशालले सरकारको त्यसप्रकारको नीतिलाई फासिष्ट प्रकारको नीति भनेको छ । मशालको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको बताइएको छ । “देशमा दलाल तथा नोकरशाही पुँजीवादले प्रभाव जमाउँदै गएको, पुनर्उत्थानवादीहरु राजसंस्था ल्याउन प्रयास गरेको, जनतामाथि लुट, भ्रष्टाचार, राष्ट्रघात तथा जनघातको सिलसिला नरोकिएको” मशालको बैठकले ठहर गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा हुन थालेको अवसर पारेर मशालले हिरक वर्ष मनाउने ठेगान गरेको छ । पार्टीको प्रशिक्षण, अन्तक्र्रिया, मार्च आदिको कार्यक्रम गर्दे आगामी चैत्र महिनामा हिरक वर्ष मनाउने मशालले निर्णय गरेको छ । ७५ वर्षमा कम्युनिष्ट आन्दोलनका उपलब्धिहरु केके हुन् ? नेपाली कम्युनिस्ट आन्दोलनको सकारात्मक र नकारात्मक पक्षहरु के के हुन् ? ७५ वर्षको गम्भीर समीक्षा गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा प्रष्ट गर्दै अगाडि बढ्नु पर्ने वर्तमानको ऐतिहासिक दायित्व बनिरहेको बेला निसन्देह नै मशालको हिरक वर्ष मनाउने कार्यक्रमले ऐतिहासिक महत्व राख्ने छ ।
बैठकमा पार्टी एकतालाई निश्कर्षमा पु¥याउनेबारे छलफल भएको जनाइएको छ । स्मरणरहोस्, नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बीचमा पार्टी एकताका लागि छलफल चल्दै आएको छ ।
बैठकपछि जारी वक्तव्यमा भनिएको छ, “देश र जनतालाई कष्टपूर्ण अवस्थाबाट मुक्त गर्न”, “नयाँ जनवादी व्यवस्थाको स्थापना गर्नु आजको न्यूनतम आवश्यकता हो ।” नेकपा (मशाल) केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव सन्तबहादुर नेपालीले २०८० फागुन १ गते जारी गरेको प्रेस वक्तव्यको पूर्ण पाठ यसप्रकार छ,“नेपाल कम्युनिस्ट पार्टी (मशाल) केन्द्रीय समितिको बैठक यही २०८० माघ २५ र २६ गते दुई दिनसम्म बसेको थियो । बैठकले पारित गरेका निर्णयहरुलाई सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
बैठकले देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल ग¥यो । देशमा दलाल तथा नोकरशाही पुँजीवादले प्रभाव जमाउँदै गएको, पुनर्उत्थानवादीहरु राजसंस्था ल्याउन प्रयास गरेको, जनतामाथि लुट, भ्रष्टचार, राष्ट्रघात तथा जनघातको सिलसिला नरोकिएको, भर्खरै सरकारले ४ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु पीपीपी मोडेलमा भारतीय अडानी ग्रुपलाई ठेक्कामा दिन लागेको, गौतमबुद्धको मावली घर मानिएको नवलपरासी पश्चिमको रामग्राम क्षेत्रको ११६ विघा जमीन निजी कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिएको, भारतलाई १० हजार मेघावाट विद्युत दश वर्षमा दिने सम्झौता र भारत आफैले छनौट गरी देशको कुनै पनि भागमा बीस करोड अनुदान दिने सम्झौता गरेको, देशका महत्वपूर्ण विद्युत परियोजनाहरु भारतलाई सुम्पेको, केही समयदेखि सार्वजनिक सभा, भेला हुने ठाउँहरु निषेध गरेको, निर्दोष व्यक्तिहरुको हत्या आदि जस्ता थुप्रै जनविरोधी, राष्ट्रघाती तथा फासिष्ट प्रकारका नीतिहरुको विरोध गर्ने बैठकले निर्णय ग¥यो ।
२०८० फागुन १५ देखि २५ सम्म “राष्ट्रिय स्वाधीनताको रक्षाको लागि संघर्ष गरौं” भन्ने मूल नाराका साथ आफ्नो जिल्लाको अनुकूलतामा कुनै एउटा दिनमा विरोध कार्यक्रम राख्ने, चैत्र महिनामा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुग्न लागेको अवसरमा हिरक वर्ष मनाउने, त्यस अवसरमा पार्टीको प्रशिक्षण, अन्तक्र्रिया, सम्भव भएका ठाउँमा मार्च आदि सहितका कार्यक्रम आयोजना गर्ने, लेनिन शतवार्षिकी स्मृति वर्षको अवसरमा लेनिनका योगदान प्रचार प्रसार हुने गरी कार्यक्रमहरुको आयोजना गर्ने, भारतका कतिपय शहरहरुमा भारतस्थित नेपालीहरुका विषयमा अन्तक्र्रियाहरुको आयोजना गर्ने, कलाकारहरुको टिम व्यवस्थित गर्ने, पार्टी नजिकका प्रकाशनहरुलाई व्यवस्थित गर्ने लगायतका निर्णयहरु बैठकले गरेको छ ।
बैठकमा पार्टी एकतालाई निष्कर्षमा पु¥याउने विषयमा पनि छलफल भएको छ । कम्युनिस्ट आन्दोलन भित्रैबाट हुर्के बढेको संशोधनवादले दलाल पुँजीवादलाई बलियो बनाउँदै गएको सन्दर्भमा सच्चा कम्युनिस्टहरुको काँधमा नेपाली जनताको जनवाद, जनजीविका, जनअधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी आएको ऐतिहासिक सन्दर्भलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
आज सामान्य मजदुर किसानहरुको जीवन अत्यन्त कष्टपूर्ण रहेको छ । देश र जनतालाई यो कष्टपूर्ण अवस्थाबाट मुक्त गर्नु र पुनर्उत्थानवादी सामन्तवाद र दलाल तथा पुँजीवादी व्यवस्थाको अन्त गरेर नयाँ जनवादी व्यवस्थाको स्थापना गर्नु आजको न्यूनतम आवश्यकता भएकाले त्यो दिशामा सबै देशभक्त, जनवादी, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरु अगाडि बढ्नु पर्ने आवश्यकता छ ।”

