काठमाडौं । लामो समयदेखि प्रतिक्षा गरिएको नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता हिजो वैशाख १८ गते काठमाडौंमा सम्पन्न भएको छ । दुई पार्टीको एकता अधिवेशन गरी सो एकता गरिएको हो । नवगठित पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राखिएको छ । २०७९ फागुनमा तीन पार्टी नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) का बीचमा गरिएको छलफलबाट नै “क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल” पार्टीको नामाकरण टुंग्याइएको र यसपटक पार्टी एकता गर्दा पनि सोही नामलाई निरन्तरता दिइएको बताइएको छ ।
एकता अधिवेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले यो पार्टी एकता केवल दुई पार्टीको एकता मात्र नभएर नेपाली जनताको पनि एकता हो भन्नुभयो । वैद्यले एकता संयोजक समितिले तय गरेका एकताका मान्यताहरुलाई सबैले दृढतापूर्वक पालना गर्नुपर्ने बताउनुभयो । अध्यक्ष किरणले बाह्य अन्तर्विरोध हल गर्न वर्गसंघर्षको विकास गरेर जानु पर्ने र पार्टीभित्रको अन्तर्विरोध हल गर्न एकता–संघर्ष–रुपान्तरणको प्रक्रियाबाट अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले स्पष्ट गर्नुभयो, “यो एकता केवल एकताका लागि होइन, क्रान्ति सम्पन्न गर्नका लागि हो । आगामी एकता महाधिवेशनसम्म राजनीतिक कार्यदिशा र सामरिक कार्यदिशालाई समृद्ध बनाउँदै लैजाने छौं ।”
नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले यो एकता वस्तुगत आवश्यकता हो भन्नु भयो । नेपालीले अगाडि भन्नुभयो, “देशमा सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको शासन छ । संशोधनवादीहरुले जनताका बीचमा भ्रम सिर्जना गरिरहेका छन् । ती सबैलाई सामना गर्न सच्चा कम्युनिस्टहरुले शक्ति सन्चय गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”नेपालीले भन्नुभयो, “पार्टी एकताका लागि वैचारिक एकता र सांगठनिक एकता भएर मात्र पुग्दैन, भावनात्मक एकता पनि चाहिन्छ । संघर्षको मैदानबाट भावनात्मक एकता पैदा हुनेछ ।” एकता अधिवेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले क्रान्तिकारीहरुको एकता समयको माग हो भन्नुभयो । उहाँले देशमा विद्यमान प्रतिक्रियावादी संसदीय व्यवस्था अराजक र निरंकुश भएको र त्यसले जनतामा उत्पीडन थोपर्दै गएको हुँदा त्यसलाई प्रतिवाद गरेर सर्वहारा शोषित वर्गको सत्ता स्थापना गर्न सक्ने सशक्त पार्टी निर्माण गर्न आवश्यक छ भन्नुभयो ।
जनयुद्धकालमा नेकपा (माओवादी) को कामीडाँडा बैठकमा प्रचण्डले दक्षिणपन्थी विचार राखेको स्मरण गर्दै बास्तोलाले कालान्तरमा खुलेआम दक्षिणपन्थी विचार अपनाएको हुँदा २०६९ मा का. किरणको नेतृत्वमा विद्रोह गर्न परेको र पछि पार्टी विभाजन पछि बनेको नेकपामा विप्लवले दक्षिणपन्थी विचार ल्याएपछि पुनः विद्रोह गरी नेकपा बहुमत बनाउँदै एकता गर्नु परेको स्पष्ट गर्नु भयो । वास्तोलाले भन्नुभयो, “हामी सबै विद्रोहबाट आएका शक्तिहरु एकजुट हुँदैछौं । यसले जनतामा सकारात्मक सन्देश दिएको छ ।”
एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा एकता संयोजन समितिका हरिभक्त कंडेलले अन्तरिम कालका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । नेकपा (मशाल) का पि.वि.एम तथा पार्टी एकता संयोजन समितिका सदस्य चिन्तामणि पौडेलले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको अन्तरिम विधान एकता अधिवेशनमा प्रस्तुत गर्नुभयो । राजनीतिक प्रतिवेदन र अन्तरिम विधान दुवै मस्यौदा दस्तावेजलाई अनुमोदन गर्न एकता अधिवेशनको अध्यक्षता गर्नु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य एवं वरिष्ठ नेता सिपी गजुरेलले हाउस समक्ष प्रस्तावित गर्नुभयो र दुवै दस्तावेज हाउसले पारित गरेको थियो । एकता अधिवेशनको अध्यक्षता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य एवं वरिष्ठ नेता सि.पि. गजुरेल (गौरव), संचालन नेकपा (मशाल) का पोलिट्व्यूरो सदस्य कृष्णराज पौडेल र स्वागत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य रामसिंह श्रीसले गर्नु भएको थियो ।
एकता अधिवेशनबाट पार्टीको अन्तरिमकालका लागि पारित अन्तरिम राजनीतिक प्रतिवेदनमा एकताको महत्वबारे भनिएको छ, “इतिहासले सबै सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाइ एकताबद्ध तथा आम जनसमुदायलाई गोलबन्द गरी वर्गदुश्मन माथि बज्रप्रहार र संशोधनवादको भण्डाफोर गर्दै नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद र साम्यवाद तर्फ अगाडि बढ्नका लागि विशेष युगान्तकारी ऐतिहासिक जिम्मेवारी सुम्पेको छ ।”
प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिबारे भनिएको छ–“प्रथमः उत्पीडित राष्ट्र र जनतामाथि जवरजस्ती युद्ध थोपरिएको छ र त्यहाँका प्राकृतिक स्रोतहरुमाथि दोहन गरिएको छ । दोस्रो, साम्राज्यवादी उत्पीडनका कारण हरेक देशका मानिसहरु विस्थापित हुने गरेका छन् । जसबाट विश्वव्यापी रुपमा असुरक्षित प्रवासन तथा आप्रवासनको समस्या पैदा भएको छ । तेस्रो, साम्राज्यवादी उत्पादन पद्धतिको कारण विश्वको सन्तुलित पर्यावरण विनास भैरहेको छ, अस्वाभाविक मौसम परिवर्तन भैरहेको छ । चौथो, विश्वभर महिलामाथि चरम उत्पीडन थोपरिएको छ र व्यापारिक प्रयोजनका लागि बेचविखन बढ्दै आएको छ । पाँचौं, उत्पादनमा अत्याधुनिक प्रविधिको प्रयोगमा हुने असन्तुलनको कारण गरिब र धनी, कमजोर र शक्तिशाली बीचको दुरी व्यापक बनेको छ ।
आजको युग भूमण्डीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । अमेरिकी साम्राज्यवाद र रुसी राजकीय पुँजीवादका बीचको होडबाजीले अहिले युक्रेनमा युद्ध चलिरहेको छ । नेटोको विस्तार नगर्ने पूर्व सहमति विपरीत विभिन्न यूरोपियन देश सहित युक्रेनसम्म सदस्यता विस्तार गर्ने अमेरिकी षडयन्त्र, विश्वबजार नियन्त्रणमा होडबाजी, यूरोपियन जनताको रुसमाथि ऊर्जा निर्भरता यो युद्धका प्रमुख कारण हुन् । अमेरिकी साम्राज्यवादले चीनलाई समेत युद्धमा धकेल्न चीनकै भूभाग ताइवानमाथि युद्धका लागि दुरुत्साहन मात्र गरेको छैन, एसिया, अफ्रिका, ल्याटिन अमेरिका र यूरोपका विभिन्न भागहरुमा युद्ध भड्काउने काम समेत गर्दै आएको छ । “साम्राज्यवाद भनेको युद्ध हो” भनने लेनिनको स्पष्ट उक्ति जस्तै अमेरिकी साम्राज्यवाद युद्धको पर्याय बनेको छ ।
आज विश्व साम्राज्यवाद आर्थिक राजनीतिक तथा सांस्कृतिक रुपमा गम्भीर संकटका बीचबाट गुज्रिरहेको छ र क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै गएको छ , तर पनि क्रान्तिकारीहरुको आत्मगत परिस्थिति प्रतिकुल रहेको छ र अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । त्यसैले यस अवस्थामा क्रान्तिकारीहरुको आत्मगत स्थिति बलियो बनाउनका लागि एकातिर क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणमा जोड दिन आवश्कय छ भने अर्कोतिर साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको निर्माण गर्न जरुरी छ ।”
प्रतिवेदनको राष्ट्रिय परिस्थिति शीर्षक अन्तर्गत देशभित्रको अन्तर्विरोधबारे लेखिएको छ, “अन्तर्विरोधहरुमा अहिले एकातिर समग्र उत्पीडित नेपाली जनता र अर्कोतिर दलाल–नोकरशाही पुँजीपति तथा बचेखुचेका सामन्तवर्गका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हो । यी आधारभूत अन्तर्विरोधहरुसँगै अहिलेको नेपालमा केही महत्वपूर्ण अन्तर्विरोधहरु देखा परेका छन् । त्यसमा पहिलोः गरिब किसान र भूमाफियाका बीचको अन्तर्विरोध, दोस्रो वैदेशिक व्यापारी र स्थानीय व्यापारीहरु बीचको अन्तर्विरोध, तेस्रो ः दलाल पुँजी र राष्ट्रिय पुँजीबीचको अन्तर्विरोध, चौथो, उत्पीडित र उत्पीडक जातिका बीचको अन्तर्विरोध, पाँचौं उत्पीडित महिला र उत्पीडक पितृसत्तात्मक समाज बीचको अन्तर्विरोध, छैठौं, दलित जातको रुपमा छुवाछूतमा पारिएको समुदाय र कथित उच्च जातबीचको अन्तर्विरोध छन् ।”
प्रतिवेदनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता स्पष्ट गर्दैै लेखिएको छ –“आर्थिक, राजनीतिक तथा साँस्कृतिक रुपमा वर्तमान राज्यसत्ता भीषण संकटको भूमरीमा फँस्दै गएको छ । सत्ताधारी वर्ग, तिनका राजनीतिक दल तथा संसदीय व्यवस्थाप्रति जनतामा अविश्वास तथा वितृष्णा बढ्दै गएको छ । संसदीय व्यवस्था अन्तर्गतका सबै गठबन्धन सरकार निकै अस्थिर बन्दै आएका छन् । विश्वमा बढ्दै गएको पर्यावरणको असर नेपालमा पनि पर्दै आएको छ र यसले पनि स्थिति भयावह बन्दै गएको छ । नेपाली जनता बैकल्पिक राजनीतिक शक्ति तथा सत्ताको खोजीमा रहेका छन् । यसरी हेर्दा देशमा क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको छ । परन्तु, नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको वर्चश्व रहिआएको छ र क्रान्तिकारीहरुको आत्मगत परिस्थिति अझै प्रतिकुल रहेको छ ।
यसप्रकारको स्थितिमा सैद्धान्तिक हिसाबले माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारा पथप्रदर्शक सिद्धान्त बोकेको, संगठनात्मक हिसाबले जुझारु क्रान्तिकारी, राजनीतिक हिसाबले क्रान्तिकारी सिद्धान्त भएको र कार्यक्रमका हिसाबले विद्यमान समाजको अर्थराजनीतिक विश्लेषणको आधारमा राजनीतिक तथा सामरिक रणनीतिको सन्तुलन मिलेको क्रान्तिकारी कार्यदिशा, कार्यनीति र कार्यक्रमको समग्र श्रृंखला अवलम्वन गरेको तथा सांस्कृतिक हिसाबले उच्च नैतिकता तथा कम्युनिस्ट आचरण भएको सर्वहारा वर्गको अग्रदस्ताको रुपमा कम्युनिस्ट पार्टी निर्माणको आवश्यकता छ ।”
पार्टी एकताको आधारबारे प्रतिवेदनमा लेखिएको छः
“१) माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने ।
२) नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने ।
३) नयाँ जनवादलाई आम र वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रमका रुपमा अंगीकार गर्ने ।
४) क्रान्तिमा बल प्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने ।
५) सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्वन गर्ने र महान सर्वहारा सांस्कृतिक क्रान्ति संचालन गर्दै जाने ।
६) सर्वहारा अन्तर्राष्ट्रियतावादलाई स्वीकार गर्ने ।
७) जनवादी केन्द्रीयताको सिद्धान्तअनुुसार संगठन परिचालन गर्ने ।”
प्रतिवेदनमा “पार्टी, नीति तथा कार्यक्रम र कार्यदिशा” “पार्टीको आम कार्यक्रम” “आगामी कामको रेखांकन” समेत दिइएको छ । पार्टीको अन्तरिम विधानमा संयोजक र सहसंयोजकहरु, कार्यालय, सचिवालय, केन्द्रीय समितिको व्यवस्था गरिएको छ ।
कार्यक्रमका अध्यक्षको अनुमतिले संचालक कृष्णराज पौडेलले पार्टीको एकता महाधिवेशन आयोजक समितिको नामावली प्रस्तुत गर्नुभएको थियो । सहिदहरुप्रति एक मिनेट मौनधारण “अन्तर्राष्ट्रिय” गीत, रक्तिम र सामना परिवारको कलाकारहरुको स्वागत गीत सहित कार्यक्रम अगाडि बढेको थियो ।


