काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा ऐतिहासिक जित हासिल गरेको छ । घरेलु मैदान त्रिबिबि क्रिकेट मैदानमा ५ फागुनमा भएको खेलमा नेपालले लिग टु को शीर्ष स्थानमा रहेको पाहुना टोलि स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।
नेपालको जितमा दिपेन्द्र सिंह ऐरि र कुशल मल्ल नायक बने । दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट व्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । छैटौं विकेटका लागि यो जोडीले १०० रनको साझेदारी गरेपछि कुशल मल्ल आउट भए । छैटौं विकेटका लागि ओडिआईमा नेपालको यो दोस्रो शतकीय साझेदारी हो । यसअघि गत जुनमा लिग टु मै अमेरिका विरुद्ध आरिफ सेख र सोमपाल कामीले १०६ रनको साझेदारी गरेका थिए।
नेपालले लक्ष्य पछ्याउने क्रममा आक्रमक सुरुवात गर्दै २ ओभरमा ३१ रन जोडेको थियो । पहिलो ओभरमा कुशल भुर्तेलले ४ चौका प्रहार गर्दा नेपालले २३ रन जोडेको थियो । दोस्रो ओभरमा आसिफले २ चौकासहित ८ रन जोडे । तर तेस्रो ओभरमा नेपालले दुई विकेट गुमायो । कुशल भुर्तेल १६ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । त्यसपछि आसिफ शेख पाँचौ ओभरमा ९ र कप्तान रोहित पौडेल नवौँ ओभरमा ६ रनमा आउट भए । ११औ ओभरमा सन्दिप जोरा ५ रनमा आउट हुँदा नेपाल ७७(५) को नाजुक अवस्थामा पुगेको थियो । तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्गस सम्हालेका थिए ।
कुशल मल्ल आउट भएपछि दीपेन्द्रले गुल्शन झा सँग मिलेर इनिङ्स अघि बढाए । दीपेन्द्र र गुल्शनले ४३ रनको साझेदारी गरे । गुल्शनले १७ रन जोडे । दीपेन्द्रले सोमपाल कामीसँग मिलेर नेपाललाई जितसम्म पुर्याए । यो जोडीले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरे । सोमपालले ३२ बल खेल्दै ३ चौका मद्दतमा अविजित २४ रन बनाए । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले ३(३) विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिए । यसअघि नामिविया विरुद्ध ५ विकेट लिएका करण केसीले स्कटल्याण्डविरुद्ध विकेट लिन सकेनन् । ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६८ रन खर्चिए । ललित राजवंशीको स्थानमा खेलेका गुल्शन झाले २ ओभर मात्र बलिङ गर्दा २१ रन खर्चिए ।
हारका बाबजुद पनि स्कटल्याण्ड लिग टु को शिर्ष स्थानमा कायमै रहेको छ । लिगका ३६ खेल मध्य स्कटल्याण्डले ३४ खेल खेलिसक्दा २३मा जित र ९मा हार ब्यहोर्दै ४८ अङ्क बनाएको छ । पुरै खेल खेलेको ओमन ४४ अङ्कका साथ दोश्रो स्थानमा रहेको छ भने नामिबिया ३७ अङ्कका साथ तेश्रो स्थानमा रहेको छ । उस्ले ३२ खेल खेलिसकेको छ भने अझ ४ खेल खेल्न बाँकी छ । लिगको चौथो स्थानमा अमेरिका रहेको छ । उसले पुरै ३६ खेल खेलिसक्दा १६ मा जित, १७ मा हार र एकमा बराबरी खेलेर कुल ३५ अङ्क बटुलेको छ । लिगको पाचौ स्थानमा युएई रहेको छ । उसले खेलेका २६ खेलमा १२ मा जित निकाल्दै कुल २७ अङ्क जोडेको छ । लिगमा अहिले सम्म नेपालको स्थान छैटौं रहेको छ । कुल २६ खेल खेलेको नेपालले १० मा मात्र जित हासिल गरेको छ । नेपालको कुल२२ अङ्क रहेको छ । लिगको पुछारमा अर्थात सातौ स्थानमा पपुवा न्युगिनी रहेको छ । कुल २८ खेलखेलिसक्दा उस्ले जम्मा ५ अङ्क जोडेको छ ।
लिगको पहिलो र तेस्रो स्थानमा रहेका टोलिहरूलाई लगातार हराएर नेपालले यो लिग चरण पार गर्ने आफ्नो सम्भावनालाई जिवित राखेको छ ।