हरिश ढकाल
बुटवल । रुपन्देहीको तिलोत्तमा ४ नयाँमिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेशन २९ असार स्थापना गरिएको छ । कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेशनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सकिने क्षमता रहेको छ । स्टेशनमा १ हजार केभिए क्षमताको नेको ट्रान्सफरमर जडान गरिएको र ७ वटा चार्जिङ्ग मेसिनबाट दोहोरो सेवा प्रदान गरिएको शशिला मोटर्स प्रा.लि.का महाप्रबन्धक अशोक सुवेदीले जानकारी दिए ।
चार्जिङ्ग स्टेशनको शुभारम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले मुलुकको आर्थिक विकासका लागि ईन्धन आयात घटाउनु पर्ने कुरामा जोड दिँदै यसका लागि स्वदेशमा उत्पादित बिद्युत खपत बढाउनु पर्ने बताउनु भयो । पछिल्लो समय मुलुकका बिभिन्न शहरमा फैलिईरहेको उच्च बायु प्रदुषण र बढ्दो तापक्रम रोक्न बिद्युतिय सवारी साधनको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै नगर प्रमुख खाणले यसको प्रयोगले आयात प्रतिस्थापन गर्न एकप्रकारले सहयोगी हुनसक्ने धारणा राख्नु भयो ।
पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले विद्युतीय सवारी साधनले प्रदान गर्ने सेवाको गुणस्तर उच्चस्तरको हुनुपर्ने बताउदै अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । बिद्युतिय सवारी साधनप्रति आम जनताको बिश्वास स्थापित गर्न सेवालाई गुणस्तरिय बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष खरेलले चार्जिङ्ग स्टेशनमा अटो वर्कसप र अटो पार्टस्को व्यवस्था समेत गरिनु पर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा शशिला अटो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा, महाप्रबन्धक अशोक सुवेदी, विद्युत प्राधिकरणका सहायक प्रवन्धक रामप्रसाद ज्ञवाली, यातायात ब्यबसायी बाबुराम खरेललगाएतले नेपालमा बिद्युतिय सवारी साधनको प्रयोग र यसबाट लिनसकिने लाभका बारेमा चर्चा गरेका थिए । सो अवसरमा शशिला मोटर्स प्रा.लि.बाट हाईगर कम्पनीको विद्युतीय सवारी साधन खरिद गर्ने तिन जनालाई साँचो हस्तान्तरण गरिएको थियो ।
![]()

