‘कम्युनिष्टहरु’ फुटाई र जुटाईको सकस

कार्तिक –१६, काठमाडौं । आफुलाई ‘कम्युनिष्ट’ बताउने पार्टीहरुमा फुटाई र जुटाईको सकस देखिएको छ । ।नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र नेकपा (बिप्लब ) मा विभाजन र एकताको हुण्डरी चलेको छ ।

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक हिजो कात्तिक १५ गते  पार्टी मुख्यालय पेरिडाँडाँमा बसेको थियो ।  बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल भएको थियो । । नेकपा (एकीकृत समाजवादी) ले  शुक्रबार कात्तिक १४ गते मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । नेकपा (एकीकृत समाजवादी) ले पार्टी एकता सम्बन्धी गरेको निर्णय माथि समेत छलफल गर्न र त्यस बारे निर्णय लिन कात्तिक १५ गते नेकपा ( माओवादी केन्द्र) को सचिवालयको बैठक बसेको हो ,यद्यपि माओवादीकेन्द्रले यसअघि नै केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टीहरूबीचको एकताको लागि निर्णय लिएको थियो ।

माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक प्रचण्डले बैठकमा एकता प्रक्रिया बारे ब्रिफीङ गरेका थिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एमालेबाट विद्रोह गरेको प्रेमबहादुर सिंह नेतृत्वको समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विद्रोह गरेको चिरने सी समूहका बीचमा एकताका लागि टुंगो लागेको छ । माओवादी केन्द्रले भोलि १७ कात्तिकमा केन्द्रीय आयोजक कमिटीको बैठक बोलाउने तयारी गरेको छ । वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू  टुङ्गो लागेको र प्राविधिक र सांगठनिक कुरामा छलफल चल्दै गरेको बैठकमा सुनाइएको थियो ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूको बीचमा पार्टी एकता हुने भने पनि ती पार्टीहरू भित्र पार्टी एकता गर्नु हुन्न भन्ने मत पनि रहने गरेको छ। फरक मत राख्ने कुरा मात्र नभईकन पार्टी एकतामा नमिसिने समूहहरू पनि ठूलै हुने देखिन्छ । फरक मत राख्नेहरुले बेग्लै पार्टी निर्माणको प्रक्रियामा अगाडि बढेको पनि देखिन्छ । माओवादी केन्द्रमा जनार्दन शर्माले पार्टी एकता प्रक्रियामा नमिसिने मत प्रकट गरेका छन् भने नेकपा एकीकृत समाजवादीमा झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायतले पार्टी एकता प्रक्रियामा नजाने स्पष्ट गरेका छन् । पार्टी एकता सम्बन्धी निर्णय लिन बसेको एकीकृत समाजवादीको कार्तिक १४ गतेको बैठक पछि संचार माध्यमलाई जानकारी दिँदै एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले १४ गतेको बैठक नै अन्तिम बैठक भएको र अब बैठकमा नजाने निष्कर्ष सुुनाइन । कार्तिक १५ गते नै सुकेधारामा एक बैठक गरी झलनाथ खनाल संरक्षक र घनश्याम भुसालले पार्टीको नेतृत्व गर्ने गरी पार्टी पुनर्गठन प्रक्रिया अगाडि बढाएको समेत जानकारी हुन आएको छ। माधव नेपाल पक्षले झलनाथ –घनश्याम समूहलाई एमालेमा फर्किनका लागि एकता प्रक्रियामा सहभागी नभएको बताएका छन्। झलनाथ खनालले एमालेसँग पार्टी एकता हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । उनले एमालेले बहुदलीय जनवादको कार्यक्रम त्यागेमा पार्टी एकता हुन सक्ने बताएका छन् । अहिले एमालेले बहुदलीय जनवादको कार्यक्रमलाई तत्काल त्याग्न सक्ने सम्भावना कमे छ । तर जे भएपनि एकीकृत समाजवादी सग्लो रुपमै माओवादी केन्द्रसँग पार्टी एकता नगर्ने पक्का भएको छ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादी संगको पार्टी एकतालाई अस्वीकार गरेका छन्। उनले कार्तिक १५ गतेको सचिवालयको बैठकमा आफ्ना कुरा राखेर बैठक छाडेर हिँडेका थिए । बैठकबाट बाहिरिएपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले बैठक छाडेको र आगामी केन्द्रीय कमिटीको बैठकसम्म आउने कुरा बताएका थिए। जनार्दन शर्माले एमालेको बहुदलीय जनवादलाई स्वीकार गर्न नसकिने, माओवाद ,महाविचारधारालाई परित्याग गर्न नसकिने,सहिदका सपनाहरूलाई छोडेर जान नसकिने भएको हुँदा यो एकता प्रक्रियामा जान नसकिने बताएका थिए। माओवादी केन्द्रका एक केन्द्रीय नेताले हाँकसित भने जनार्दन शर्मा किन यसरी पार्टी र पार्टी नेतृत्वको विरुद्धमा लागिरहेका छन् भन्ने कुरा बुझ्न सकिएको छैन। जनार्दन शर्मालाई जान्नेहरुले उनले विगतमा २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा पार्टी एकता गराउनका लागि महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् र उनले माओवाद, विचारधारा छोड्न नसकिने, एमालेको बहुदलीय जनवादलाई स्वीकार गर्न नसकिने भन्ने कुरामा कुनै दम छैन – उनका आलोचकहरुले भन्ने गरेका छन्। तर कतिपय विश्लेषकहरुले यसलाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन जनार्दन शर्मामा कम्युनिस्ट आन्दोलनप्रतिको सकारात्मक सोचको विकास भएको पनि त हुन सक्छ भन्ने धारणा राख्ने पनि गरेका छन् र कतिपयले अहिले जे जति फरक मत प्रचण्डकै रिसका कारणले राखेका हुन् भन्ने भनाइ पनि राख्ने गरेका छन्। शर्माले आफूलाई विभिन्न मान्छे लगाएर आफ्नो विरुद्धमा गुटबन्दी गरेको र आफूलाई एक्लो पार्न लगाइएको, पार्टीबाट लखट्न खोजिएको छ भनेर नेतृत्वप्रति आक्रोश पोखिरहेका छन् । शर्माले प्रचण्डको नेतृत्वमा एकीकरण प्रक्रिया अगाडि बढेमा नेकपा माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताएका छन् ।  यसरी हेर्दा नेकपा माओवादी केन्द्र पनि सग्लो रुपमा नै एकीकरण प्रक्रियामा जाने सम्भावना देखिँदैन।

यो एकीकरण प्रक्रियामा नेत्रविक्रम चन्द विप्लव तत्कालका लागि छुट्ने भएका छन्। नेकपाका नेता चिरनपुनले त्यस पार्टीबाट विद्रोह गरेर माके र एस सँगको एकता प्रक्रियामा जाने भएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । चिरनले सामाजिक सञ्जालमा बिप्लबको नाममाचिठी सार्वजनिक गरेका  छन्। उनले चिठीमा भनेका छन् –

“ प्रिय एबम आदरणीय महासचिव
कमरेड बिप्लव सी,
अभिवादन !
आरम छु आरमै चाहन्छु । निकै मीठो हाम्रो सहकार्य भएको अब १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ । एकताको बिषयमा हाम्रो कुरा मिलेन । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवस्यकता हो । बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ । तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवस्यक छ । त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । यो नै नवौ केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र आजको वस्तुगत आवास्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो । छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन !”

कात्तिक १५ गते पुन महासचिव रहनेगरी ७५ सदस्यीय केन्द्रीय समिति घोषणा समेत गरिएको छ । त्यस्तै साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको पुनले दाबी गरेका छन् । समाजवादी मोर्चामा आवद्ध दलहरुसँग एकता गर्नका लागि आफूले विद्रोह गरेको पुनको दाबी रहेको छ ।

चिरन पुन नेकपा मसालबाट राजनीति सुरु गरेका थिए। २०६३ सालमा तत्कालीन नेकपा एकता केन्द्र मसाल विभाजित भएर तीन समूह बन्दा उनी रामसिंह श्रीसले नेतृत्व गरेको नेकपा एकीकृतमा आबद्ध भएका थिए। पछि उनी नेकपा एकीकृत परित्याग गरी विप्लव समूहमा आबद्ध भएका थिए। १४ वर्ष विप्लव समूहमा काम गरेका उनी अहिले विप्लव समूहबाट विद्रोहको नेतृत्व गर्ने व्यक्ति बनेका छन् । उनले विप्लवका नाममा सार्वजनिक गरेको चिठी वा पार्टीबाट विद्रोह गर्दा सामाजिक सञ्जालमा राखेको स्टाटस माथि प्रतिक्रिया जनाउनेहरूले चिरनको स्टाटस कुनै राजनीतिक विषय नभइकन त्यो एउटा भावनात्मक कुरा मात्रै भएको बताएका छन्।

माओवादी केन्द्रका एकजना पोलिट ब्युरो सदस्यले हाँकलाई बताए विप्लवले आफूलाई नेतृत्व चाहिन्छ भनेर दाबी गरेका कारणले एकीकरण हुन नसकेको हो। लोकनारायण सुवेदीले नेतृत्व गरेको नेकपाका एक नेता लक्ष्मण उप्रेतीले नेत्रविक्रमचन्द र चिरनपुनको एकता र विभाजनमा क्रान्तिकारी आन्दोलनको दृष्टिकोणबाट कुनैे अर्थ नभएको बताए । उनका अनुसार यी दुईजना नै संसदीय यात्राका दुई पात्र हुन् ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुलाई लक्षित गर्दै आफ्नै घर फर्कन आह्वान गरेका छन् तर स्वयं नेकपा एमाले भित्र विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने र केपी शर्मा ओलीले पद छोड्ने वा नछोड्ने जस्ता विषयहरूमा विवाद बढिरहेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एक नेताले यी विभिन्न आफूलाई कम्युनिष्ट पार्टी बताउने दलहरुको एकता र विवादका बारेमा भने – क्रान्तिकारी आन्दोलनको निम्ति त्यसको खास अर्थ छेन । उनका अनुसार ती सबै संसदीय पद, लाभको झगडा र विवाद हुन । तिनीहरुको एकता र विभाजनले जनताको जीवन स्तरमा कुनै फरक ल्याउँदैन ।

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित