काठमाण्डौ । देशमा भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबारे अनेकौं जिज्ञाशा र प्रश्नहरु रहेको एक कार्यक्रममा वक्ताहरुले बताउनु भएको छ । २०८२ कार्तिक १५ गते राजनीतिक संवाद थालनीको आयोजनामा काठमाण्डौको हात्तिसारस्थित हिमालयन रेष्ट्रोमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । “जेनजी विद्रोह र अबको बाटो” विषयक अन्तरक्रियामा संगीतश्रोताले प्रश्तुत गरेको अवधारणा पत्रमाथि आफ्नो धारणाहरु राख्दै जेनजी युवाहरु तथा बुद्धिजीविहरुले जेनजीहरुप्रति प्रश्न र जिज्ञाशाहरु रहेको धारणा राख्नु भएको हो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले जेनजी आन्दोलनले विचारको स्पष्टता लिनु पर्ने, नेपालको भौगर्भिक अवस्थाको बारेमा ख्याल गर्नु पर्ने, वर्गीय पक्षधरताबारे धारणा स्पष्ट पार्नु पर्ने लगायतका विषयमा आ –आफ्नो धारणाहरु राख्नु भएको थियो । कार्यक्रममा खगेन्द्र संग्रौलाले कुशासन, भ्रष्टाचार नातावादको ज्वालामुखी बलिरहेको थियो ,त्यसको साथमा सामाजिक संजालमाथिको प्रतिबन्धले विस्फोटको रुप लिएको धारणा राख्नु भयो । वहाँले जेनजी बहकाउमा लाग्ने कति हो ? स्वतन्त्र कति हो ? भन्नु भयो । जेनजी विद्रोहको लगाम वालेन गुरुको हातमा भएको देखिन्छ भन्दै संग्रौलाले यसबाट स्वतन्त्र बनाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो । त्यस्तै वहाँले सुदन गुरुङ के हैसियतले त्यहाँ छन् भन्दै प्रश्न गर्नु भयो –सुदन गुरुङ र असली जेनजीहरुकोबीचमा खडा भएको भ्रम चिर्न पनि जेनजीहरुलाई अनुरोध गर्नु भयो । अहिलेको सरकार निकै कमजोर अवस्थामा रहेको भन्दै संग्रौलाले सरकार नभएमा रिक्तता हुने र धमिलो पानीमा माछा मार्न जो पनि आउने भन्दै यो समस्यालाई पार गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा अर्का वक्ता झलक सुवेदीले देशमा राजनीतिक शक्तिको खाँचो रहेको बताउनु भयो र सानो ठुलो जस्तो भए पनि जेनजीहरुले पार्टी खोल्नु पर्ने सुझाव दिनु भयो । अहिले देशलाई जोगाउन सकिन्छ कि सकिँदैन भन्ने स्थिति आएको बताउँदै दक्षिणपन्थी दल नभएको , वामपन्थीप्रति पनि विश्वास नभएकोले राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनु भयो ।
त्यस्तै अर्का वक्ता भास्कर गौतमले अहिले देशमा जेनजी आन्दोलन र अबको आन्दोलनमा गम्भीर बहसको आवश्यकता रहेको बताउनु भयो । जेनजी आन्दोलनको क्रममा सेना परिचालन भएको पनि र नभएको पनि बताउँदै नेताहरुलाई जोगाउन सेना परिचालन भएको तर संरचना जोगाउन सेना परिचालन नभएको बताउनु भयो । देशमा दण्डहीनता संस्थागत भइरहेको बताउनु भयो । भ्रष्टाचार संस्कार जन्य समस्या हो भन्दै वहाँले जेनजी आओस् अरु कुनै आओस् भ्रष्टाचार कुशासनले दण्डहीनता नियन्त्रण हुँदैन भन्नु भयो । वहाँले दलभित्र खुलेर बोल्ने वातावरण नभएको भन्दै पार्टीमा गुट उपगुटको श्रृङखला रहेको बताउनु भयो ।
नवीन तिवारीले पात्रहरु फेरिँदैमा केही नहुने धारणा राख्नु भयो । युवा पुस्ता आउँदैमा वा महेश वस्नेत आउँदैमा केही नहुने भन्दै नयाँ पुराना पार्टीहरु सबै एकै ठाउँमा हुनु पर्ने धारणा राख्नु भयो र दल बिनाको लोकतन्त्र के हुन्छ भन्दै प्रश्न गर्नु भयो ।
युग पाठकले जुन दलहरु आए पनि त्यस्तै भन्दै जनतामा व्यापक निराशाको कारण जेनजी विद्रोह भएको भन्दै अहिले जेनजी आन्दोलनमा भएको क्षतिको कसैले जिम्मा लिएको छैन । जंगी अड्डाबाट प्रधानमन्त्री नियुक्त गरेर पठाएको भन्ने छ, देश संक्रमणकालमा छ ,यो अवस्थामा जसको शक्तिले सक्यो उसैले गर्ने अवस्था छ भन्नु भयो र वहाँले जेनजी आन्दोलनले वैचारिकताको थप विकास गर्नु पर्ने विचार व्यक्त गर्नु भयो । अहिले देशमा विचार विहीनताको अवस्था रहेको भन्दै बाटो बनायो, विकास गाउँ पुग्यो मान्छे छैन । यो कहाँ समस्या भएको हो ? यो वैचारिकताको विषय हो । उहाँले अहिले कृषि उन्मूलतिर छ, जरा उखेलिँदै छ भन्नु हुँदै जेनजी आन्दोलनमा आगो लगाउन हिँडे ,उठीबास गराउने काम भयो र दूश्मनको पनि आगो लगाउनु हुँदैन भन्दै उल्टो राजनीतिलाई सुल्टो पार्नु पर्ने सल्लाह दिनु भयो । भ्रष्टाचार पनि वैचारिक विषय रहेको धारणा राख्नु भयो । देशमा केही हुँदैन,केही छैन भन्ने निराशामुखी सोच हावी रहेको भन्दै पाठकले आर्थिक, राजनैतिक, सामाजिक रुपले जनतामा उत्साह जगाउने काम गर्नु पर्ने धारणा राख्नु भयो ।
धम्केज नेपालीले जेनजी विद्रोह पछि अब राजनीतिक संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल हुनु पर्छ भन्नु भयो । अहिलेको व्यवस्था पुँजीवादी नवउदारवादी छ भन्दै उहाँले यो व्यवस्थाले नीजि सम्पत्ति राख्ने र कमाउने छुट दिएको छ त्यसैले भ्रष्टाचार गराएको छ भन्नु भयो ।
करुणा पराजुलीेले देशमा जसरी पनि सरकारमा जाने र कमाउने भन्ने मानसिकताको विकास भएको छ भन्नु हुँदै वामपन्थी भन्नेहरुमा क्रान्तिकारिता कम भएको धारणा राख्नु भयो । उहाँले भूराजनीतिको पनि ख्याल गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले जेनजीहरुको वर्गीय पक्षधरता केहो ? भन्दै प्रश्न गर्नु भयो । उहाँले वामपन्थीहरु वर्किङ क्लासको मुद्दासँग सचेत हुनु पर्ने धारणा राख्दै संस्थागत विचार निर्माण गरेर जानु पर्ने कुरा औंल्याउनु भयो ।
मोनिकाले जनतामा रहेको व्यापक निराशा, वितृष्णा भएको कारण जेनजी विद्रोह भएको धारणा राख्नु भयो । प्रहरीको बर्बर दमनको कारण देशमा आगो लागेको बताउँदै आन्दोलनमा घुसपैठ पनि भयो होला तर हाम्रो देशको सुरक्षा निकाय , गुप्तचर निकायहरु के हेरेर बसेका ? थिए भन्दै प्रश्न गर्नु भयो । अब देशमा वर्गको राजनीति पर्यावरणीय न्याय ,राजनैतिक सहकार्य गर्न अपरिहार्य रहेको बताउनु भयो ।
त्यसैगरी रिजन राना मगरले हाम्रो समाज शोषण र दमनको चिहान भएको कारण भदौ २३ र २४ गतेको जेनजीविद्रोह भएको बताउनु भयो । उहाँले अघिल्लो पुस्ताका अग्रजहरुले पनि सबैलाई उचालेको धारणा राख्नु भयो । यहाँ विभेद रहेकोले सिंहदरबार , अदालत जलेको भन्दै वहाँले विभेद नहटेमा फेरी पनि जलाइन्छन् भन्नु भयो । वहाँले अहिले जेनजीहरुकोको विचार के हो ? भनेर सोध्दा विचार ठ्याक्कै छैन भन्नुहुँदै छलफल गर्दै अगाडि जाने र छलफल सहकार्य गर्दै अगाडि बढ्ने विचार व्यक्त गर्नु भयो । राष्ट्रिय जेनजी पार्टीका किरणले दलहरुमा वितृष्णा रहेको र देशमा एक प्रकारको उकुशमुकुशको वातावरण रहेकाले जेनजी विद्रोह भएको बताउनु भयो । उहाँले बहकिएको जेनजी आन्दोलनलाई सही दिशामा ल्याउनु पर्ने बताउनु भयो र जेनजीहरुलाई बहसको केन्द्रमा ल्याउनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा प्रतिक कार्कीले जनतामा रहेको आक्रोशको कारण विद्रोह भएको भन्दै नेपाल मै बसेर साधारण जीवन पनि जिउन नसकिरहेको अवस्थामा नेपालीहरु रहेको धारणा राख्नु भयो ।
कार्यक्रमको सञ्चालन देव व्रतको रहेको थियो ।
जेनजी विद्रोहबारे प्रश्न र जिज्ञाशा रहेको वक्ताहरुको भनाइ
Comments

