छुटेका बालबालिकालाई देशभरि एकैसाथ खोप लगाइँदै

काठमाडौं । खोप लगाउन छुटेका बालबालिकाहरुलाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन लागेको जनाएको छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिएका छन् ।
उनले दुई दिन खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने र कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि अभियान नै सञ्चालन गरिएको बताए ।
रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्षसम्म उमेरका बालबालिकालाई विभिन्न रोगविरुद्धको खोप लगाइन्छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएका, २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएका र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको छ ।
खोप लगाउन छुट भएका सबै बालबालिकालाई खोप लगाई नेपाललाई पूर्ण खोप सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्न थालिएको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुकुमार लालले जानकारी दिए । उनले खोप लगाउन छुट्ने क्षेत्रको बच्चा पत्तालगाइ खोप अभियान सञ्चालन गरिने बताए । केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको सङ्ख्या बढेर दादुरा र रुवेलाको महामारीसमेत देखा परेकाले छुटेको खोप दिन थालेको जनाउँदै मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन समेत आग्रह गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित