- रामबहादुर बुढा
सहिद कृष्ण कुमार तामाङ ः उनको जन्म २०२३ मंसिर ५ गते भएको थियो । उनको बुबाको नाम दुर्गाबहादुर तामाङ हो । उनको जन्मस्थल भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ५ आहालेमा भएको थियो ।
सहिद सिताराम तामाङ ः उनको जन्म २०२२ साल भाद्र ९गते भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १ देउरालीमा भएको थियो । उनको बुबाको नाम डुकबहादुर तामाङ थियो ।
सहिद चन्द्रकुमार तामाङ ः उनको जन्म भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ५ बोखिम भन्ने ठाउँमा भएको थियो । उनको बुबाको नाम रामबहादुर तामाङ थियो ।
पंचायतकालमा पञ्च र कांग्रेसको मिलेमतोमा कैयौं अखिल पक्षीय विद्यार्थीहरुको हत्या भएका थिए । मोरङमा फणिन्द्र तिमिल्सीना, चितवनमा शिव पौडेललाई नेविसंघहरुले आक्रमण गरी हत्या गरेका थिए । २०४२ वैशाख १८ गते चितवनमा नै तत्कालिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आठौं केन्द्रीय समितिका केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पसका निर्वाचित स्ववियु सभापति मित्रमणि आचार्यलाई पञ्च–कांग्रेस मिलेमतोमा हत्या गरिएको थियो । आचार्यको हत्या हुनुभन्दा केही समय पहिले २०४२ वैशाखको पहिलो हप्तामा भोजपुरमा नेवि संघका कार्यकर्ताहरुले तीन जना अखिलका विद्यार्थीहरुलाई चक्कु हानेर हत्या गरेका थिए ।
अनेरास्ववियु आठौं केन्द्रीय समितिले एउटा पर्चा प्रकाशित गरेको थियो । त्यो पर्चाको शीर्षक थियो–“वीरयोद्दा मित्रमणि आचार्य तथा सूर्यबहादुर तामाङ, सीताराम तामाङ, कृष्णबहादुर तामाङको हत्याको शोकलाई दुश्मनका विरुद्धको घृणा र बदला लिने भावनामा परिणत गरौं ।”
त्यसैगरी प्यूठान स्ववियु, काठमाडौंले पनि २०४२ वैशाख २९ गते एउटा पर्चा प्रकाशित गरेको थियो । त्यो पर्चामा यस्तो लेखिएको थियो –“भोजपुर जिल्लामा हाइस्कूलमा अध्ययन गर्ने सूर्यबहादुर तामाङ, सिताराम तामाङ र कृष्णबहादुर तामाङको सरकारी गुण्डाहरुद्वारा हत्या गरियो । यसरी देशभरी नै नेविसंघ र मण्डलेबाट प्रगतिशील विद्यार्थीहरुको हत्या भइरहेको छ । सरकारले हत्यारालाई सजाय हैन सघाइरहेको छ ।”
घटना यस्तो थियो–“विद्योदय मावि भोजपुर बजारमा अखिल पक्षीय विद्यार्थीहरु र मण्डले नेविसंघका बीचमा झडप भइरहन्थ्यो । एक दिन धारामा पानी खाने विषयलाई लिएर विवाद भयो । धारामा पानी खाने निहुँमा हत्या गर्ने तयारीमा मण्डले–नेविसंघहरु थिए । त्यसै दिन उनीहरुले विद्यालय बाहिरका गुण्डाहरुलाई समेत चक्कु छुरी हतियार लिएर विद्यालय पसेका थिए । विद्यालय भवनको माथिल्लो तलामा कक्षा १० को कोठा थियो । कक्षा कोठाबाट तल झरिरहेका विद्यार्थीहरुलाई समाउँदै गुण्डाहरुले चक्कु हानिरहेका थिए । घटनास्स्थलमै विद्यार्थी कृष्ण कुमार तामाङ र सिताराम तामाङको मृत्यु भएको थियो । भाईहरुमाथि आक्रमण भयो भनेर बजारबाट पनि मान्छेहरु आए । गुण्डाहरुले राजेन्द्र तामाङलाई पनि घाइते बनाए । चन्द्रकुमार तामाङ र राजेन्द्र तामाङलाई उपचार गर्न विराटनगर पु¥याइयो । चन्द्रकुमार तामाङको विराटनगरमा अस्पतालमै मृत्यु भयो भने राजेन्द्र चाहिं बच्न सफल भएका थिए । पछि सिताराम तामाङले धरानस्थित अञ्चल अदालतमा मुद्दा दायर गरे । वकिल भरतमोहन अधिकारी र रामप्रसाद श्रेष्ठले मुद्दालाई अगाडि बढाइदिएका थिए । वकिल रामप्रसाद श्रेष्ठले मुद्दामा बहस गरेका थिए । ११ जना अपराधीहरु पक्राउ परेर जेल गएका थिए । स्मरणीय छ ती तिनै जना मृतक विद्यार्थीहरु कक्षा १० मा अध्ययनरत थिए ।” (वामपन्थी नेता सिताराम तामाङले दिएको जानकारी )
अखिल आन्दोलनमा क्रियाशील रहँदा कैयौं विद्यार्थीहरुले सहादत प्राप्त गरेका छन् । सहिदहरुको सपनामाथि अहिले घात गर्ने काम वाम आन्दोलन भित्रबाटै भइरहेको छ । सहिदको रगतले रंगिएको रातो झण्डालाई ढल्न नदिने प्रण गर्ने युवाहरुको जमात चाहिएको छ ।